जंगे-- ग्याङ्स्टरमार्का फिल्म

  • निर्देशक उत्कल थापाको फरक ‘ट्रिटमेन्ट’ र ‘स्टाइल’ले फिल्मलाई औसतभन्दा माथि राखेको छ ।

- गोकर्ण गौतम

‘मर्ने र मार्ने खेल त यहाँ चलि नै रहन्छ’ अनुप बरालले बोल्ने यही संवाद फिल्म जंगेको सार हो । सुरुआतबाटै सुरु हुने हत्याको खेल जति क्लाइमेक्स नजिक आयो, त्यति बाक्लिँदै जान्छ, पावर, पैसा र प्रतिशोध प्राप्तिका खातिर । विदेशमा त यस्ता ग्याङ्स्टर मार्काका फिल्म धेरै बन्छन्, नेपालमा पनि मुखौटा  र छड्केजस्ता फिल्म बने । त्यसैले जंगेको केन्द्रीय विषयवस्तुमा नयाँपन नभेटिन सक्छ, तर निर्देशक उत्कल थापाको फरक  ‘ट्रिटमेन्ट’ र ‘स्टाइल’ले फिल्मलाई औसतभन्दा माथि राखेको छ ।

फराकिलो क्यानभासको यस फिल्ममा मल्टिस्टार छन्, सबैको चाह आफूलाई शक्तिकेन्द्र बनाउनु हो । उत्कलले आममानिसमा हुने यही प्रवृत्तिलाई केलाउँदै आफ्नो निर्देशकीय क्षमता देखाउने प्रयास गरेका छन् । तर, उनी सहायक पात्र र तिनका उपकथालाई उधिन्न अनि प्रस्तुतिमा समरूपता ल्याउन चुकेका छन् ।

एउटा सामान्य परिवारको सन्की ठिटो कसरी राजनीति र षड्यन्त्रको केन्द्रमा पुग्छ र ‘मै हुँ’ भन्नेलाई ठेगान लगाउँछ भन्ने नालीबेली हो, जंगे । राजासाहेब (नरेश पौड्याल)को मुख्तियार मारिएसँगै फिल्म सुरु हुन्छ । रानी (ऋचा शर्मा)को अनुरागमा अनुप बराल नयाँ मुख्यियार घोषित हुन्छन् तर यसले मुख्तियार बन्न खुट्टा उचालेर बसेको फत्ते काजीलाई आगो बनाउँछ । राजाको आँखा छलेर उनीहरू शक्ति विस्तार र आपसी लडाइँमा सरिक हुन्छन् । यही फोहरी लडाइँमा अनुपको विश्वासपात्रका रूपमा जंगे (सुरजसिंह ठकुरी)को प्रवेश हुन्छ । बुबाको हत्याको बदला लिने प्रारम्भिक उद्देश्य बोकेर अनुप क्याम्प छिरेको जंगेको दरबार यात्रामा केन्द्रित छ फिल्म । ‘क्लाइमेक्स’को ‘ट्वीस्ट’ले कथामा रोमाञ्चकता थप्छ ।

फिल्ममा दर्जन ज्यादा पात्र छन् र ती सबै कुनै न कुनै निहित षड्यन्त्रमा छन् । आफ्नो स्वार्थ पूर्तिका लागि जस्तोसुकै निकम्मा काम गर्न तयार हुन्छन् उनीहरू । शक्ति केन्द्र र दरबारभित्र हुने यस्ता षड्यन्त्रको कथा इतिहासमा धेरै पढ्न पाइन्छ । उत्कलले त्यसलाई आधुनिक लेपनमा ढालेका छन् पर्दामार्फत । लोकेसन र पर्दामा देखिने कतिपय पात्र नौला लाग्छन् । तर, फिल्मको कथा कुन समय र परिवेशको हो भन्नेमा उनी र पटकथाकारद्वय एमएस अग्रज र सुवास कोइराला दोधारमा देखिन्छन् । मोबाइल, गाडी र लोकेसन हेर्दा वर्तमान समाजकै कथाजस्तो लाग्छ । त्यसो हो भने उनीहरूले सिर्जेको राजासाहेबवाला किस्सा आजको समाजमा विश्वसनीय छैन । बरू, उनलाई ‘भेट्रान ग्याङस्टार’को रूपमा प्रस्तुत गरेको भए पत्याउने आधार धेरै रहन्थ्यो ।

फिल्ममा यस्ता कलाकार छैनन्, जसको हातमा बन्दुक नथमाइएको होस् । कलाकारको बोलीभन्दा बन्दुकको आवाजको बोलवाला छ । जंगेमात्र होइन, अरू पात्रलाई स्थापित गर्न धेरै दृश्य खर्च गरिएको छ । न्यारेसनको प्रयोग यति छ कि घरिघरि त रेडियो नाटकको भान हुन्छ । निर्देशकलाई दृश्यमार्फत कथा स्पष्ट पार्न सक्छु भन्ने आत्मविश्वासमा कमी भएको प्रमाण हो यो ।

फिल्मका संवाद चोटिला छन् तर दुई गीत काटेर फालिदिए पनि कुनै हानी हुँदैन । यो फिल्मको सबैभन्दा सशक्त नै प्राविधिक पक्ष हो । खिचाई, लोकेसन, सेटका हिसाबले हरेक फ्रेम ‘रिच’ छ । यसको पहिलो हकदार हुन्, निर्मातासमेत रहेका छायाकार सुसन प्रजापति । उनले जति लोभलाग्दो शैलीमा फिल्म खिचेका छन्, उत्तिकै उदार भएर पैसा खर्चेका छन् निर्माताले पनि । नेपालको सन्दर्भमा यसलाई सम्झौता नगरिएको फिल्म मान्नुपर्छ । इमानविक्रम शाहको पृष्ठभूमि संगीत र उत्तम न्यौपानेको ध्वनीको स्तर विरलै नेपाली फिल्ममा सुन्न पाइन्छ । उनीहरू यो फिल्मको पर्दापछाडिका नायक हुन् ।

पात्रको हुल बाक्लो भए पनि निर्देशकले ‘मिस कास्टिङ’ हुनबाट जोगाएका छन् । एक्सन अवतारमा सुरजसिंह फिट छन् । अघिल्लो फिल्मभन्दा यसपटक उनको काममा निखार आएको छ । लुक्स त भव्य छ, हाउभाउ त्यतिकै राम्रो तर संवादमा भने स्वाभाविकता छैन । जे होस्, आफ्नो काँधमा निर्देशकले बोकाएको कथाको बोझलाई सुरक्षित अवतरण गरेका छन् उनले ।

अनुप अर्का प्रशंसालायक काम गर्ने अभिनेता हुन् । नरेश, ऋचा, सुशांक मैनालीको काम ठीकठाक छ । नाजीर हुसैन र सुशीलराज पाण्डे ‘इन्टरटेनिङ क्यारेक्टर’ हुन् । छोटो भूमिका भए पनि उनीहरूले दर्शकको मानसपटलमा दरिलो छाप छोड्छन् । शिखा शाही फिल्मकी कमजोर कलाकार हुन् ।

दक्षिण भारतीयमार्काका एक्सन फिल्मका पारखी र सुरजसिंहका फ्यानले जंगे छुटाउनु हुन्न । तर, कथामा नयाँपन र शान्त शैलीका फिल्म मन पराउनेलाई चाहिँ स्वाद नबस्न सक्छ  । सारमा सवा दुई घण्टा रमाइलोसँगै बित्छ ।

रेटिङ : २.५/५

 

प्रकाशित: वैशाख १७, २०७३