आजीवन आत्मनिर्भर

  • उमेरले नेटो काटे पनि क्रियाशील कर्म

- कुम्भराज राई

कपाल फुलेर कपासझैँ हुन थालिसके । मुहारमा परेको चाउरी स–साना खोल्साखोल्सीजस्तै देखिन्छन् । तर, सिद्धिचरण नगरपालिका–१३, रुम्जाटारका प्रेमबहादुर गुरुङ, ७५, को जोस, जाँगर र पेसाप्रतिको प्रतिबद्धता कुनै तन्नेरीको भन्दा कम छैन । हरदम शिरमा ढाका टोपी, दौरा–सुरुवाल र लुगुनी (ऊनको स्टकोट)मा ठाँटिएका प्रेमबहादुर बुढ्यौली उमेरमा पनि सदरमुकाममा लाग्ने शनिबारे हाट बजारमा पुगेर राडीपाखी बेच्छन् । उनले यसरी राडीपाखी बेच्न थालेको पाँच दशक भइसक्यो ।

विगतमा पूर्व तीन नम्बर (हालको ओखलढुंगा, सोलुखुम्बु र खोटाङ)को बेलादेखि सुरु भएको गुरुङको यो पेसा न फेरिएको छ, न त बेच्ने ठाउँ नै । त्यसैले, उनलाई रुम्जाटारको राडीपाखी उद्योगलाई लोप हुन नदिने अगुवा उद्यमी भनेर धेरैले चिन्छन् । खान/लाउनका दु:खले प्रेमबहादुर हाट बजारमा राडी बेच्न पुगेका होइनन् । न बुढेसकालमा छोराछोरीले हेरेनन् भन्ने पिरले नै हो । भन्छन्, “हात र शरीरले काम गरुन्जेल यही पेसा अपनाउने हो । मेरो जीवनभरि राडीपाखी त्याग्न सक्दिनँ ।” उनका दुई छोरामध्ये जेठा गंगाराम यातायात व्यवसायी हुन् । कान्छा रामबाबु चर्चित चलचित्र निर्देशक बनेका छन् । “कबड्डी कबड्डीबाटै कान्छोले कमाएको छ,” प्रेमबहादुर भन्छन्, “छोराछोरीबाट आनन्द छ, खुसी छु । दु:ख नगर्नू भन्छन् । तर, मेरो पुर्खादेखिको पेसलाई छोड्न सक्दिनँ ।”

पाखुरीमा जाँगर छउन्जेल बसेर खान हुन्न भन्ने प्रेमबहादरको बुझाइ छ । दस रुपियाँबाट राडी बेच्न थालेका उनले अहिले सात हजार रुपियाँसम्ममा बेच्छन् । भन्छन्, “छोराछोरीलाई बरू मै खर्च दिन्छु तर तिनीहरूसँग खर्च माग्दिनँ । मलाई खान पुगेन भनेर मागेको सम्झना छैन ।” प्रेम मात्रै होइनन्, जिल्लामा अरू थुपै बुढ्यौलीको उपल्लो विन्दुमा पुगेका जाँगरिलाहरू छन् । तिनका छोरा–नाति गतिलै आर्थिक हैसियतमा छन् र पनि उनीहरू दसकौँ पुरानो परम्परागत पेसा छोड्न तयार छैनन् । कामै छाडे अल्छी भइन्छ र जाँगर घटे रोगी भन्छन् भनेर उनीहरू बुढेसकालमा पनि उत्तिकै सक्रिय त छन् नै । अझ, बुढेसकालमा पनि आफ्नै खुट्टामा उभिने हिम्मतका साथ बाँचेका छन् । केतुके–४, का गंगाबहादुर तामाङ तिनै जाँगरिलामध्येका हुन्, जो विगत ४० वर्षदेखि प्रत्येक साता खसीबोका डोर्‍याएर दुई घन्टा पैदल हिँडेर सदरमुकामसम्म आउँछन् र बिक्री गरेर फर्किन्छन् ।

सिंगापुर पुलिसको नीलो ट्रयाकसुट । गोडामा गोल्डस्टार जुत्ता । शिरमा ढाका टोपी । हातमा डोरी । डोरीले बाँधिएका छन् खसीका हूल । गंगाबहादुरको नाम लिनेबित्तिकै सबैको आँखामा यही तस्बिर नाच्छ । उमेरले ६० वर्ष पुगेका गंगाबहादुर भन्छन्, “कामबाट अहिलेसम्म थाकेको छैन ।” खसी व्यापार थालेकै समय तुलना गर्ने हो भने पनि सरकारी कर्मचारीले डबल पेन्सन पकाइसक्थे । तर, उनले यो पेसा छाडेका छैनन् । भारतीय लाहुरेका छोरा गंगाले सुनाए, “सुरुमा त यही पेसामा पनि कति दु:ख खेपे । अहिले यही पेसा प्यारो छ ।” त्यसो त गंगाले खसी व्यापारअघि खुर्सानी र सुर्तीको पनि व्यापार नगरेका होइनन् । कुनै व्यापार फापेन । यही पेसाबाट घर परिवार धाने । सन्तानलाई सुखजिलो गरेर हुर्काए । धरानमा जग्गाजमिन र घर पनि जोडे ।

उमेरले बुढ्यौली सुरु भए पनि गंगाले आफ्नो पेसा निरन्तर कायम राखेका छन् । जेठो छोरा बेलायती सेनामा छन् । माइलो सिंगापुर पुलिसमा छ । कान्छो छोरा काठमाडौँमा पढ्दैछ । ‘भो बा, बुढेसकालमा दु:ख नखेप’ भनेर छोराहरूले भन्न थालेको वर्षौं भइसक्यो । तर पनि, गंगा आफ्नो पेसा छाड्न चाहँदैनन् । जसरी गंगा वर्षौंदेखि आफूले गरिआएको काम सम्पत्ति पुग्यो भन्दैमा छोड्ने मन गर्दैनन्, त्यसरी नै प्रेम पनि आफ्नो काम छोड्ने पक्षमा छैनन् । प्रेम भन्छन्, “पाखुरा चलुन्जेल अरूको भरमा बाँच्नु हुँदैन । गंगाको पनि ठ्याक्कै उस्तै बुझाइ छ, “दु:खका बेला आफ्नो उन्नति जुन पेसाबाट भयो त्यो कसरी छाड्न सकिन्छ र ?” प्रेमको चिन्ता छ, आफूले नसक्ने भएपछि यो पेसा कसले धान्ला ? उनले सुनाए, “जीवनभर गरेको काम नसक्ने भएँ भन्दैमा चटक्क छाड्दा पितृले पो सराप्छन् कि ?”

शिवबहादुर मास्के, ८२, को जोस पनि गंगा र प्रेमको भन्दा फरक छैन । बुढ्यौलीमा पनि शिव अरूको भरमा परेका छैनन् । किनभने, ६० वर्षदेखि उनी निरन्तर सानो कटेरोमा सुपारी, टाँक, सिन्दूर, जनै, १२ मसला, हिङ, गुच्चा, नीर, पिप्रा, फिटकेरी, वीरेनुन बेच्ने पेसा अँगालिरहेका छन् । छोरानाति हुर्केर आ–आफ्नो कर्म गरी खान सक्ने भइसके । आफूसँगैका थुप्रै संगाती छोरानातिको कमाइमा बाँचिरहेका छन् । तर पनि, शिवबहादुर आफ्नै पौरखमा बुढेसकाल मज्जाले गुजारिरहेका छन् । कुनै समय उनी बिक्री गर्ने सामान लिन पैदलै काठमाडौँ पुग्थे । पुराना दिन सम्झिँदै सुनाए, रोशी खोलाको बाटोमा चोर–डाँका लाग्थे । दिउँसो मात्र हिँड्नुपथ्र्यो । झाँगाझोली, रातमाटे, अक्करे भीर पैदल हिँडेको सम्झना अझै उनको मनमा गाढा गरी बसेको छ । “काठमाडौँ रित्तो हिँडेर जान एक साता लाग्थ्यो । पछि भरियासहित फर्किंदा जम्मा २२ दिनदेखि एक महिना लाग्थ्यो ।” जमानाको कुरा सुनाउँदै उनले थपे, “अहिले त बेच्ने सामान टेलिफोनको भरमा घरै आइपुग्छ ।”खिच्रिमिच्री व्यापारबाटै शिवले आफ्नो परिवार मात्रै धानेनन्, सबै छोराछोरीलाई गतिलोसँग पढाए पनि । उनका जेठा छोरा माधव जिल्लाकै गिनेचुनेका शिक्षक छन् । कान्छो छोरा राष्ट्रिय स्तरका भलिबल प्रशिक्षक हुन् । बुहारी मिसन अस्पतालमा नर्स छिन् । अधिकांश नातिनातिना जागिरे भइसके । “छोराबुहारीले धेरैपटक यो व्यापार छोडिदेऊ भने,” मास्के भन्छन्, “तर, म सकुन्जेल यो पेसा छाड्ने पक्षमा छैन ।” जानेको काम पाखुरीमा बल छउन्जेल चटक्कै छोड्नुहुन्न भन्ने राम्ररी बुझेका छन् शिवले । उनको धोको छ, मर्ने बेलासम्म अरूको भर पर्नु नपरोस् ।

समय कहाँदेखि कहाँ पुगिसक्यो । छोरानातिले देशविदेश पचाइसके । शिवबहादुर अझै पनि हिङ बेचिरहेका छन् । भन्छन्, “काम गरेर खाँदा कोही सानो हुँदैन । बरू, ज्यान नै छरितो बन्छ ।”

जीवनाथ खतिवडा, ६८, को जाँगर देख्दा छिमेकीहरू छक्क पर्छन् । नपुग्दो केही छैन र पनि उनी सधैँ काममै दत्तचित्त भएर घोटिएकै हुन्छन् । पुरोहित मूल पेसा भएका खतिवडा कृषिकर्ममा त व्यस्त हुन्छन् नै, त्यसका अलावा पण्डित्याइँमा पनि छर–छिमेक दगुर्न भ्याएकै हुन्छन् । उनका पाँचै छोरा काठमाडौँमा गतिलोसँग जीविकोपार्जन गरिरहेका छन् । जेठा छोरा रामहरि खतिवडा त क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नै भए । “सबै आ–आफ्नो इलममा काठमाडौँतिरै छन् ।” जीवनाथले भने, “काठमाडौँमा घर भए पनि हामीचाँहि यहीँ बसिरहेका छौँ ।”

खतिवडा न गाउँ छोड्ने मन गर्छन्, न आफूले वर्षौंदेखि गरिएको कर्म नै । “काठमाडौँमा दस दिनभन्दा बस्नै सक्दिनँ । मनले जतिखेर पनि घर कतिखेर पुगूँ मात्र भन्छ ।” खतिवडाले सुनाए, “बाँचुन्जेल आफ्नै व्यवहार, आफ्नै घरबारी कमाएर बस्ने मन छ ।” 

शिव, प्रेम, गंगा र जीवनाथजस्ता बुढ्यौलीको उपल्लो विन्दुमा पुगे पनि आफ्नै कर्ममा उभिएकाहरूले समाजलाई गतिशील बनाएको छ । छोराछोरीको भर नपरी पनि बुढेसकालमा बाँच्न सकिन्छ भन्ने उनीहरूको आत्मविश्वासले बुढेसकालको क्रियाशीलता त झल्काएको छ नै, कामप्रतिको सम्मानलाई पनि बढावा दिएको छ । खतिवडा भन्छन्, “कर्म गरेर थाके पो बूढो भइन्छ ।” 

ओखलढुंगाबाट

प्रकाशित: वैशाख १, २०७३