पुस्तकको भारी

  • पाठ्यक्रम एकातिर, पाठ्यपुस्तक, सन्दर्भ, पुस्तक र सिकाइ अर्कैतिर

- नारायण अमृत

नयाँ शैक्षिक सत्र सुरु हुँदासाथ विद्यार्थीका लागि पुस्तक किनबेचको चटारो सुरु हुन्छ । टिफिन बक्स, पानीको बोतल, शैक्षिक सामग्री, मोटा–मोटा कपी त छँदै छन्, त्यसैमाथि अनेकन् पुस्तकले भरिएको झोला बोकेर स–साना बालबालिका सकी–नसकी विद्यालय धाउँछन् । सन्दर्भ सामग्रीका रूपमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भएका यस्ता पुस्तकको भारीभित्र प्रकाशक र मूलत: निजी विद्यालयको ‘कमिसन’ पनि सँगसँगै जोडिएको हुन्छ ।

“साना बालबालिकालाई कमभन्दा कम पुस्तक बोकाउनुपर्ने हो, हामीकहाँ उल्टो भइरहेको छ” पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक गेहनाथ गौतम भन्छन्, “यसले बाल मनोविज्ञानमा असर गर्छ भन्ने कुरा बताउन थालेको धेरै भयो तर व्यवहारमा परिवर्तन भएको छैन ।” बालबालिकालाई भारी बोकाउने दुष्चक्र नरोकिएपछि विद्यालयहरूमा पाठ्यपुस्तक र पुस्तहरूको सान्दर्भिकता, उपादेयता र स्तरबारे विचारविमर्श पनि सुरु भएको छ ।

आफ्ना बालबालिकाले धेरैभन्दा धेरै पुस्तक बोक्दा अभिभावक खुसी हुनु, पाठ्यक्रम अनुसार तयार पारिएका भनिएका पाठ्यपुस्तकको समीक्षा तथा अर्थपूर्ण परिमार्जन नहुनु र त्यसैमाथि जथाभावी ढंगमा सन्दर्भ सामग्रीका रूपमा पुस्तकहरू कक्षाकोठामा भित्रिनुले बालबालिकाको सिकाइ सहज होइन, जटिल बनाउँदै लगेको छ । जस्तो : काठमाडौँको ग्यालेक्सी पब्लिक स्कुलले तीन वर्षदेखि पढाइरहेको एउटा भारतीय प्रकाशनको पुस्तकमा राष्ट्रिय चिह्न र गीत भारतकै रहेको फेला परेको थियो । पछि, अभिभावकले थाहा पाएपछि स्कुलले क्षमा माग्दै सो पुस्तकबाट त्यस्तो पाठ हटाएको थियो ।

“आर्थिक शुभलाभका कारण बालबालिकालाई पुस्तक भिडाउने प्रचलन पछिल्लो दशकमा देखियो, जुन राम्रो होइन,” शिक्षा मामिलाका जानकार तथा युलियन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछाने भन्छन्, “योबाहेक, पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षकमा पनि समस्या छ ।” ६० प्रतिशतभन्दा बढी निजी विद्यालयका प्रिन्सिपलहरू शिक्षा विषय पढेका व्यक्ति होइनन् भन्ने गुनासो पनि सुनिन्छ । उनीहरूलाई पाठ्यक्रमको मूल मर्म थाहा छैन । शैक्षिक पृष्ठभूमि फरक भएकाले यसबारे संवेदनशील हुने कुरो पनि भएन । त्यसैले, पैसा नै कमाउने ध्येय केन्द्रमा राख्ने यस्ता प्रिन्सिपलले नयाँ सत्रलाई पुस्तकबाट कमिसन कुम्ल्याउने मौकाका रूपमा लिन्छन् ।

पाठ्यक्रम विकास केन्द्रको मुख्य कमजोरी भनेको जथाभावी रूपमा आएका प्रकाशकका पुस्तकलाई स्वीकृति दिनु हो । पुस्तकको विषयवस्तु, भाषाशैली र सूचना ठीक छ कि छैन भन्ने तहमा मूल्यांकन भएको छैन । मूल कुरा त ती पुस्तकले पाठ्यक्रममा उद्देश्य र मर्मलाई आत्मसात् गर्छ कि गर्दैन भन्ने पनि स्पष्ट छैन । झारा टार्ने काम हुँदा जस्ता पनि पुस्तक सन्दर्भ सामग्रीका रूपमा अनुमोदित भइरहेका छन् । केन्द्रले हरेक वर्ष नयाँ प्रकाशक र वितरकका पुस्तकलाई सूचीकृत गर्ने गर्छ ।

अर्को कुरा, पाठ्यपुस्तक लेख्ने काम पेसा–व्यवसायका रूपमा स्थापित छ । कसले कुन विषयको पुस्तक कसरी लेख्ने हो भन्ने खास मापदण्ड पनि छैन । पुस्तक लेखनको विधि र तहगत विद्यार्थीको मनोविज्ञान सापेक्ष बनाउने प्रक्रियामा खोट देखिएपछि स्तरहीन सन्दर्भ पुस्तकको भरिया बालबालिका बन्नु परिरहेको छ । “सन्दर्भ सामग्रीका रूपमा आएका पुस्तकलाई हामी र हाम्रा विज्ञले हेरेर नै स्वीकृति दिने हो तर स्कुलहरूले यसलाई व्यापारिक उद्देश्यमा मिसाए,” पाठ्यक्रम विकास केन्द्रका उप–निर्देशक गौतम भन्छन् ।

पुस्तक र पाठ्यपुस्तक अलग कुरा हुन् । पाठ्यपुस्तक पनि एक प्रकारको पुस्तक नै हो तर सबै पुस्तक पाठ्यपुस्तक होइनन् । पाठ्यपुस्तक सरकारबाट तोकिएको कक्षामा अध्ययन/अध्यापन गराउनका लागि स्वीकृत गरिएका पुस्तक हुन् । नेपालका सबै विद्यालयले सरकारबाट स्वीकृत पाठ्यपुस्तक प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, सरकारले तयार पारेको पाठ्यपुस्तबारे अनेक प्रश्न छन् । मूलत: पाठ्यपुस्तकमा समाहित विषयवस्तु र यिनको प्रस्तुतीकरणको शैली विश्वसनीय हुन नसकेको गुनासो शिक्षाविद्हरूको छ ।

पाठ्यपुस्तकका सामग्रीले विद्यार्थीलाई रत्याउनुपर्ने, बुझ्न सहज पार्नुपर्ने र त्यसको प्रभाव गहिरो गरी विद्यार्थीमा पार्नुपर्ने हुन्छ । त्यसका लागि भाषाशैली, ले–आउटजस्ता कुरामा ध्यान दिइनुपर्छ । झन् प्राथमिक तहका पाठ्यपुस्तकमा त शब्द, वर्णन कम र चित्र बढी हुनुपर्ने हो । पाठ्यपुस्तकहरू बालबालिकाका लागि अन्तरक्रियामुखी, जिज्ञासु र रमाइलो महसुस गराउने खालका हुनुपर्छ । “त्यसैले पनि पाठ्यपुस्तकको समीक्षा हुनुपर्छ भन्ने कुरा उठेको हो,” शिक्षाविद् मनप्रसाद वाग्ले भन्छन्, “जहाँ कमजोरी छ, त्यसलाई सुधार्नैपर्छ ।

विसं ०२८ अघि शिक्षकहरू स्वयंले विषयगत रूपमा विद्यार्थीका लागि पाठ्यक्रम निर्माण गर्थे । शिक्षण पद्धतिमा रैथानी सीप र ज्ञानको प्रयोग गर्ने स्वतन्त्रता थियो । तर, नयाँ शिक्षा लागू भएपछि माथिल्लो तहबाट शिक्षकमाथि अंकुश लगाइयो र ऊ एउटा कर्मचारीजस्तो बन्यो । यो प्रक्रिया पछिल्लो दशकसम्म आइपुग्दा कस्तो नियतिमा बदलियो भने अहिले पनि ५० प्रतिशतभन्दा बढी शिक्षकलाई पाठ्यक्रमबारे थाहै छैन । न पाठ्यक्रमको मर्मबोध न सिर्जनशील शिक्षण पद्धति । यसले शिक्षक अन्योलमा मात्र देखिएन, ऊ पाठ्यपुुस्तकलाई नै सबैथोक ठान्ने अवस्थामा पुग्यो । “३० वर्षअघिको पाठ्यपुस्तकभन्दा अहिलेको पाठ्यपुस्तक सारमा अझै स्तरहीन छ,” शिक्षाविद् लामिछानेका भनाइमा, “अहिलेका पाठ्यपुस्तक र पुस्तकले समयको स्पन्दन पक्रन सकेका छैनन् ।”

समय, समाज, प्रविधि र ज्ञान– विज्ञानका कुरा बदलिएका छन् । बालबालिकाका दिनचर्या, उनीहरूको अपेक्षा र मनोविज्ञानको आयाम पनि बदलिएको छ । तर, पाठ्यपुस्तकको सापेक्ष स्तरोन्नति भएन । विषयवस्तु प्रस्तुत गर्ने र मूल्यांकन गर्ने पद्धतिमै पाठ्यपुस्तक चुकेका छन् । उदाहरणका लागि भाषा पढाउने जुनसुकै विषयमा भएको पाठलाई शिक्षकले विद्यार्थीलाई पढ्न सक्ने बनाउने हो अर्थात् सहजीकरण गर्ने हो तर हामीकहाँ ठीक उल्टो छ । शिक्षकले विद्यार्थीलाई पाठ पढाउँछन् । हुनुपर्ने के थियो भने त्यो पाठमा भएका गाह्रा शब्द र तिनका अर्थ पहिला सिकाइनु पथ्र्यो । जटिल खालको व्याकरण र त्यससँग जोडिएका वाक्य संरचना पहिला सिकाइनुपथ्र्याे । त्यसपछि बल्ल विद्यार्थीले सहज ढंगमा पाठ पढ्न सक्छ । जबकि, हाम्रा पाठ्यपुस्तकले पहिला पाठ प्रस्तुत गरेर बल्ल शब्दार्थ र व्याकरणका बारेमा विवरण प्रस्तुत गर्छन् । भाषा विज्ञान र सिकाइको तौरतरिकाका हिसाबले यो उल्टो क्रम हो ।

त्यसै गरी गणित विषयका लागि सिकाइको विश्वव्यापी वैज्ञानिक मान्यता के हो भने सबैभन्दा पहिला बालबालिकालाई जीवनसँग सम्बन्धित रहेका र तिनले ‘डिल’ गरिरहेका कुरा सिकाउने हो । यसलाई सिकाइको भाषामा ‘कंक्रिट’ कुरा भनिन्छ । त्यसपछि बल्ल अर्धजटिल पाठहरूतिर विद्यार्थीलाई लैजान सकिन्छ र अन्त्यमा जटिल अभ्यासहरू गराइन्छ । तर, हाम्रा बालबालिकालाई भने सबैभन्दा पहिला गणितीय अभ्यास गराउँदा ‘अब्स्ट्राक्ट’ (जटिल) अगाडि र ‘कंक्रिट’ पछाडि राखिएको छ । विषयवस्तु शब्द समस्या ( वर्ड प्रोब्लम) छिचोल्दै नम्बर समस्या (नम्बर प्रोब्लम)तिर जानुपर्नेमा बालबालिकाले पढ्ने गणितका पाठको संरचना उल्टो देखिन्छ । झन् शिक्षकहरू त यसैमा अभ्यस्त छन् । शिक्षकहरू सिर्जनशील नहुँदा बालबालिका गणितमा प्रारम्भमै ‘हाइपोथेटिकल’ समस्यामा रुमल्लिन्छन् । त्यसैले पनि गणित विषय हाउगुजी बनेको छ ।

त्यसै गरी पाठ्यपुस्तकले विद्यार्थीमा सहकार्य गर्ने सिकाइ पद्धतिको अपिल गर्दैन । ‘एक्ला–एक्लै पुस्तक पढ, एक्लाएक्लै पाठ अभ्यास गर र एक्लाएक्लै मूल्यांकनमा भाग लिऊ’ भन्ने मान्यता मौजुदा पाठ्यपुस्तक र सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरिने पुस्तकमा छन् । फेरि, पाठ्यपुस्तकले अन्तरविषयगत दृष्टि (इन्टरडिसिप्लिनरी अप्रोच)लाई आत्मसात् नगर्दा विद्यार्थीमा विषयगत त्रास र दबाब सिर्जना त भएको छ नै, ज्ञान समन्वय र सिकाइको प्रक्रिया पनि अधूरो र अपूरो छ ।

अर्को यक्ष समस्या भनेको हाम्रो पाठ्यक्रमको उद्देश्य एउटा छ तर त्यसलाई प्रतिविम्बित गर्ने पाठ्यपुस्तक अर्कै छन् । पाठ्यक्रम र पाठ्यपुस्तकबीचको दूरी झन् त्यतिबेला बढ्छ, जतिबेला शिक्षकले त्यसको मेलो पाउँदैन । त्यसैले पनि विद्यार्थीहरू मूल्यांकनमा खरो उत्रन नसकेका हुन् । विषयगत दक्षताको स्तर बढ्न नसक्ने कारण पनि यही हो । यस्तो समस्या सबैभन्दा बढी सामाजिक शिक्षामा छ । सरकारले आफैँ वितरण गरेका पाठ्यपुस्तकको हैसियत त यस्तो छ भने सन्दर्भ सामग्रीका नाममा व्यापार गरिएका पुस्तकको कुरै नगरौँ ।

शिक्षक र विद्यार्थीलाई पाठ्यपुस्तक नै नभई हुन्न भन्ने मान्यता नै पुरानो भइसकेको जिकिर गर्छन् शिक्षाविद् विद्यानाथ कोइराला । अहिले अनेकन् विकल्प सतहमा आइसकेको बताउँदै उनी अरू मुलुकका कतिपय अभ्यासबाट पनि सिक्न सकिने बताउँछन् । जस्तो : पाठ्यपुस्तक नै नदिने विकल्प फिनल्यान्डमा छ । क्यानाडामा पुस्तकालयमा मात्रै पाठ्यपुस्तक राख्ने र विद्यार्थीलाई सापटी दिने चलन छ । तत्स्थानमै पाठ्यपुस्तक बनाउने विकल्प नेपालले नै मातृभाषा शिक्षण कार्यमा गरेको छ । एउटै किताब दुई–तीन जनालाई पढ्न लगाउने चलन चीनमा छ । “यीमध्ये कुनै वा सबै तरिका अपनाउने हो भने नेपालले पाठ्यपुस्तकमा खर्चिने रकम बचाउन सक्छ,” शिक्षाविद् कोइराला भन्छन्, “विकल्पमा काम गरियो भने पाठ्यपुस्तकमै भर पर्ने अवस्थाबाट बाहिर आउन सकिन्छ ।” तर, यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

बालबालिकालाई स्तरहीन पुस्तक जति धेरै बोकायो, उनीहरूमा त्यति धेरै दबाब सिर्जना हुन्छ । कक्षा कोठामा शिक्षकले पढाएको बुझ्ने र त्यसलाई स्मरण गर्ने मनोदशा प्रभावित हुने मात्र होइन, यस्तो अवस्थामा गृहकार्यको चाप पनि विद्यार्थीमा थपिन्छ । “हाँस्दै, खेल्दै र रमाउँदै सिक्नुपर्ने उमेरमा यान्त्रिक प्रकृतिका झन्झटले कलिला मस्तिष्कमा विस्तृष्णा पैदा गर्छ । त्यसैले, कतिपय बालबालिकामा टोलाइरहने, छिटो रिसाउने र खुसी हुन नसक्नेजस्ता लक्षण देखिन सक्छन्,” मनोविद् सुरज अधिकारी भन्छन्, “त्यसैले धेरै देशले प्राथमिक तहका विद्यालयले व्याग र होमवर्करहित शिक्षा अभ्यास गरिरहेका छन् ।” हामीले पनि यतातिर ध्यान दिने हो कि ?

प्रकाशित: चैत्र २९, २०७२