विद्रोहीकी आमा

  • आँवै मेरो स्मृतिपटलमा पहिलोपल्ट आउँदा फोसिल बनेर आउनुभएको थियो ।

- अजयभद्र खनाल

म बेला–बेलामा आफ्ना विगत खोतल्ने गर्छु । र पनि, म कहाँ, कहिले र कसरी हुर्कें भन्ने अझै भेउ पाउन सक्दिनँ । कहिले काठमाडौँमा हुन्थेँ, कहिले चितवनमा अनि कहिले तनहुँको सिम्पानीमा । मेरा संस्मरणमा घटनाहरू छन् तर घटनाक्रम जेलिएका छन् । सायद त्यतिखेर स्मृतिमा फाइल सेभ गर्दा मिति राख्ने चलन थिएन । हजुरआमासँगका संस्मरण विशेष छन् । र पनि, ती समयक्रमसँग नारिन सकेका छैनन् ।

हामी हजुरआमालाई आँवै भन्ने गथ्र्यौं । आँवैलाई सम्झँदा एउटा बिरालो र उसका बच्चा पनि सधैँ टाँसिएर आउँछन् । सायद ती बिरालाका कारण त्यतिखेरै मेरो आँवैसँगको लाक्षणिक जम्काभेट भएकाले हुन सक्छ ।

करिब ६ वर्षको छँदा म एकदिन सिम्पानीको घरको बुइँगलमा पुगेँ । त्यहाँ धान र मकैका भकारी थिए । बुइँगलमा सालका बडेमानका निदालमाथि कसैले राख्न दिएको भयंकर ठूलो खुँडा थियो । कुनामा एउटा बिरालो र उसका ६ वटा बच्चा थिए । म बिरालोका बच्चा हेर्न हरेक दिन माथि निक्लन्थेँ । हरेक दिन बिरालाको माउले बच्चा सारेर नयाँ ठाउँमा पुर्‍याउँथ्यो । तर, एउटा छाउरो भने जहिले पनि छोडेर गएको हुन्थ्यो । त्यो ख्याउटे बच्चालाई बोकेर अन्य बच्चा भएको ठाउँसम्म पुर्‍याउने मेरो दिनचर्या नै बनेको थियो । त्यो माउ र अन्य बच्चा कहिले उत्तरतिरको कौसीमा हुन्थे त कहिले पूर्वतिरको दलिनमा । तर, मेरा कैयन् कोसिसका बाबजुद माउले त्यो दुब्लाउँदै गएको बच्चालाई सायद कहिले पनि दूध खान दिएन । एकदिन बारीको कुनामा त्यो बच्चा मरिरहेको अवस्थामा मैले भेटेँ । माउको कतै पत्तो थिएन ।

तिनै दिन मैले बुइँगलमा भएको काठको सन्दुक खोतलेँ । ती सन्दुकमा प्राय:जसो हजुरबाका हस्तलिखित संस्कृतका शास्त्रहरू हुन्थे । अनि, बाबाका हरिया रंगका कृषि डायरी । त्यस दिन भने मैले सेतो कपडाको पोकोमा बेरिएका अनौठा ढुंगा भेटेँ । ती ढुंगा बोकेर दौडँदै म आमा भएठाउँ पुगेँ । आमा तल आँगनमा मकै सुकाइरहनुभएको थियो । पिँढीमा दमिनी (त्यतिखेर त्यही भन्ने चलन थियो) लुगा सिलाउँदै थिइन् । उनकी छोरी छेउमा गट्टा खेलिरहेकी थिइन् ।

आमाले भन्नुभयो, “यी आँवैले तीर्थबाट ल्याउनुभएको भगवान्का ढुंगा हुन् । यी समुद्रका छालढुंगा हुन् । यी सिपी हुन् । जहाँ थियो, त्यहीँ लगेर राख् । फेरि हराउँछन् ।”

यसरी आँवै मेरो स्मृितपटलमा पहिलोपल्ट आउँदा फोसिल बनेर आउनुभएको थियो ।

म हुर्कने बेलासम्म आँवै देवघाट लागिसक्नुभएको थियो । मेरा लागि मेरी आँवै फोसिल र सिपी अनि छाल बोकेर ल्याउने तीर्थयात्री हुनुहुन्थ्यो । त्यतिखेर तीर्थयात्रामा ठूलै टोली जाने गथ्र्यो । फेरि गाउँ फर्केर आउन पाउने/नपाउने ठेगान नभएकाले सबै जना बिदावारी भएर जाने चलन थियो रे ! धेरै जनाको तीर्थयात्राकै क्रममा मृत्यु पनि हुने गथ्र्याे र मेरी एक हजुरआमाको हैजाका कारण तीर्थयात्रामै देहावसान भएको थियो । मेरी आँवैको तीर्थयात्रा गया, बनारस, अयोध्या, उत्तराखण्डका चारधाम, द्वारका, जगन्नाथ, पुरी, तिरुपति बालाजीदेखि कन्याकुमारीसम्म भएको थियो । अहिलेसम्म पनि हामी हजुरआमाले त्यतिखेर बोकेर ल्याएका तिरुपति (बेंकटेश्वर) भगवान्का छायाचित्रको पूजा गर्छौं ।

म सानो छँदा काठमाडौँमा क्षेत्रपाटीतिरको कुनै घरमा हामी बस्थ्यौँ । सिम्पानीको बिरालोले बच्चा सारेको जस्तै हाम्रा बाबाले पनि हामीलाई डेरा सारिराख्नुहुन्थ्यो । मोटर गुडेको आवाज आउनेबित्तिकै म कुदेर झ्यालमा पुग्थेँ । मोटर भन्ने चीज त्यति नौलो लाग्थ्यो मलाई । त्यसपछि केही महिना पकनाजोलमा बस्यौँ । त्यसपछि, पुल्चोकको मन्त्री क्वार्टरमा । बाबा मन्त्री भएको केही समयपछि आँवै देवघाटबाट हामीसँग बस्न आउनुभयो । मेरो स्मृतिमा आँवैको सजीव चित्र बस्न थालेको त्यसैबेलादेखि मात्र हो । त्यतिखेर म आठ वर्षको हुँदो हुँ ।

मन्त्री क्वार्टरमा हामी छँदा म सधैँ आँवैले पकाएको चोखो भात र तिहुन खान जान्थेँ । गिलो भात, झोल तरकारी, घिउ र तुलसी आँवैको विशेषता थियो । मलाई निकै मन पथ्र्यो । आँवैले गर्ने अंकमाल म अझै सम्झन्छु । म नातिनातिनामा उहाँको सबैभन्दा प्यारो हुँ भन्ने मलाई गर्व थियो । मेरी दिदी र म आँवैसँग भजन पनि गाउने गथ्र्यौं । भजनको बोल यस्तो थियो :

मथुरा खोजेँ, द्वारिका खोजेँ, खोजेँ वृन्दावन

सारा संसार खोजिसकेँ, कृष्ण कहाँ छन् ?

कृष्ण कहाँ छन्, राधा, कृष्ण कहाँ छन् ?

बताइदेऊ न राधा प्यारी कृष्ण कहाँ छन् ?

आँवै जाडोमा आउनुभएको थियो । त्यसै साल गर्मी महिना लाग्दा–नलाग्दै देशमा कता–कता गोलमाल हुन थालेको गाईंगुईं सुन्न थालेँ । एकदिन विद्यार्थीहरूले अमृत साइन्स क्याम्पस (अस्कल)मा ढुंगामुढा गरेको सुनियो । अर्को दिन सेनाले हल्लीखल्ली गर्न थाले र मन्त्री क्वार्टर घेर्न थाले । ती मन्त्री क्वार्टरतिरै आउँदैछन् भनेर सनसनी फैलियो । पछि, मिटिङबाट बाबा आएपछि ढुक्क भएर बस्यौँ ।

त्यतिखेर हाम्रो घरमा फेरि झगडा हुन थाल्यो । सानो बाबा आएर बेलाबेलामा ठूलठूलो स्वरले कराउने गर्नुहुन्थ्यो । आमा त रुने रुने अवस्थामा पुग्नु हुन्थ्यो । त्यसका केही दिनपछि आँवै सानोबाबाको घरमा दुई–तीन दिनका लागि जानुभयो र लगत्तै देवघाट ।

आँवैलाई मैले सम्झने बत्तीसपुतलीमा बस्दा हो । हामी इतिहास शिरोमणि बाबुराम आचार्यको छोराको घरमा डेरा गरेर बस्थ्यौँ । म बूढानीलकण्ठ स्कुलमा बोर्डस् भएका कारण बेलाबेलामा मात्र घरमा हुने गर्थें । त्यहाँ आँवै लामै समय हाम्रा साथ बस्नुभयो । घरको कुरा मलाई खासै याद छैन तर हामी हरेक शनिबार बत्तीसपुतलीमा रहेको वैष्णव मन्दिरमा भजन सुन्न जान्थ्यौँ । यो क्रम लामै समय चल्यो ।

पछि हामी बत्तीसपुतली छाडेर बानेश्वर बस्न थाल्यौँ । नातिको व्रतवन्ध नगरी भएन भनेपछि ०३९ सालमा मेरो व्रतवन्ध तय भयो । मुग्लिनसम्म हामी बसमा गयौँ । त्यतिखेर मुग्लिन–नारायणघाट खण्ड चिनियाँहरूले बनाइरहेका थिए । करिब १४ किलोमिटरसम्म हामी डम्फरमा गयौँ ।

सडकबाट ओर्लेपछि फेरि निकै नै हिँड्नुपर्‍यो । चारकोसे झाडीको बीचबाट हामी साँझ देवघाट पुग्यौँ । तगारो नाघेर वैष्णव मन्दिर पार गर्दै आँवैको कटेरोमा पुग्यौँ । आँवैसँगको भलाकुसारीपछि नारायणीमा हातखुट्टा धोएर हामी फर्कियौँ । देवघाटको त्यो वैष्णव वस्तीमा हामी हूल नै पुगेपछि रौनक छाउन थालेको थियो । त्यहाँका बुढीआमैहरू धेरै नै कताकताबाट नातागोता पर्ने रहेछन् ।

त्यतिखेरको देवघाटको विशेषता मेरा लागि इमली, आँपका रूख अनि वरिपरिका गुफा र नारायणी नदीको पानी नै थियो । ८४ पूजा भर्खर गर्नुभएकी मेरी आँवै त्यतिखेरसम्म पनि आफ्ना काम सधैँ आफैँ गर्नुहुन्थ्यो ।

खौरेको टाउकोका साथ केही दिनपछि दिदी र म काठमाडौँ फर्कियौँ । मेरो व्रतवन्ध गरेको सात दिनपछि खबर आयो, आँवैलाई फेरि झट्का लागेछ । यसपालि भने उहाँ तंग्रिन सक्नु भएन । घरमा दिदी र म मात्र थियौँ । १३ दिनसम्म बारेपछि बाबा र आमा आउनुभयो । घामले बाबाको ढाड कालै बनाएर पाप्रा उक्किएका थिए ।

ठूलो भएपछि मात्र मैले आँवैको साहस र हिम्मतको कथा थाहा पाएँ ।

उहाँको चौथो सन्तानका रूपमा मेरो बाबाको जन्म भएको थियो । तर, जीवितका हिसाबमा मेरा बाबा नै जेठो सन्तान हुनुहुन्थ्यो ।

मेरा बाबाले तनहुँको पहिलो कांग्रेस शाखा ००५ सालमा सिम्पानीमा खोल्नुभएको थियो । त्यसलगत्तै गाउँमा एउटा प्रौढ साक्षरता विद्यालय खोलियो, जसको नेतृत्व आँवै (तारादेवी खनाल)ले गर्नुभयो । राजनीतिमा छोरा लागेकाले आँवै सिकिस्त बिरामी छँदा पनि बाबा कहिले बनारस त कहिले कता हुने गर्नुहुन्थ्यो ।

००७ सालको क्रान्तिका क्रममा तनहुँमा चार प्रमुख भूमिगत अखडा बनेका थिए, बन्दीपुर, तनहुँसुरको सिम्पानी, क्यामिनको पाथ्रा र नरंगा, मिर्लुङको पुलिमराङ । घना जंगल र भूपू सैनिक भएकाले पाथ्रा र नरंगामा विशेष चहलपहल थियो । ००७ सालको पुस महिनामा पोखरा कब्जा गर्न भरुवा र १२ बोर बोकेर १ सय ५० मुक्तिसेना इमानसिंह गुरुङको नेतृत्वमा तयार थिए ।

उता भारतमा वार्ता चलिरहेकाले लगभग सिजफायरकै अवस्था थियो । तर, २५ पुसमा बाबाले तनहुँसुरमा ठूलो आमसभा गरेपछि पक्राउ पुर्जी लिएर बन्दीपुरबाट १५ सिपाही सिम्पानीको घर घेर्न आइपुगे । उतिखेर बाबालाई सबैले विद्रोही भनेर चिन्थे र उहाँको सुराकी दिनेलाई पाँच हजारको पुरस्कारको घोषणा नै थियो । बाबालाई पक्राउ गरेर सिपाहीले उहाँलाई बन्दीपुर चलान गरे ।

तनहुँसुरका दलसुर राना हजुरबा र आँवैकहाँ आए र बाटोबाटै बाबालाई छुटाएर ल्याउने जिद्दी गर्न थाले । यसबारे हावासरी सन्देश फैलियो अनि गाउँगाउँबाट मानिस जम्मा भएर बन्दीपुर जुलुस लाग्यो । हुन त मेरो बाबालाई भोलिपल्टै पोखरा लगिएको रहेछ तर त्यो कसैलाई थाहा भएन । त्यस जुलुसमा महिलाको नेतृत्व आँवैले गर्नुभयो । बन्दीपुरमा हजारौँ जम्मा हुन थाले । बजारतिर बन्दुक तेस्र्याएर सिपाही ब्यारेकको सुरक्षामा थिए भने बजारमा दिनदिनै नारा लाग्ने गथ्र्याे रे ! माघे संक्रान्तिका दिन १०/१५ जना क्रान्तिकारी युवा आइपुगेछन् र सिपाहीको बन्दुक खोस्न अघि बढेछन् । होस गुम भएपछि सेनाले टाउकोमा ताकेरै गोली चलाएछन् । ६ जना खड्गदेवी थानअगाडि नै ढलेछन् । आधा घन्टासम्म गोलावारी हुँदा सबै तितरवितर भए र बजार नै सुनसान भएछ । बन्दीपुर बजारमा गोलीले छाना प्वाल नपरेका वा गारोका पाप्रा नउक्केका कुनै घर रहेनछन् ।

यी युवाहरूका पछाडि महिलाको नेतृत्व गर्दै आँवै पछि–पछि लाग्नुभएको थियो रे ! उतिखेरै ढलेका सन्तबहादुर, धर्मराज, उत्तरकुमार, चन्द्रबहादुर, धर्मध्वज र खड्गबहादुर गोदारबाहेक अन्यको उपचार गर्न यी महिला लागेछन् । दलसुर राना गम्भीर घाइते भए पनि बाँचेका रहेछन् । महिला समूहले नै दलसुर रानालाई बोकेर तल ल्याएछन् ।

गोलीको वर्षा हुँदा पनि धोती–सारी च्यातेर रक्ताम्य भएका विद्रोहीको उपचार गर्ने आँवैजस्ता साहसी महिला उतिखेर पनि रहेछन् । अनि, आँवै जब तल आउनुभयो, उहाँले सिँढीमा एउटा रक्ताम्य बच्चा देख्नु भएछ । पछि त बच्चा आफ्नै कान्छो छोरा पो रहेछ ! घाइते बच्चा लिएर गाउँ फर्किने कुरो नभएकाले आँवै केही दिन टौवामुनि बास बस्नु परेछ ।

मैले सम्झने आँवैका विभिन्न तस्बिर छन्, कुनै आफैँले भोगेका, कुनै सुनेका, कुनै पढेका । यी सबै तस्बिर मेरो स्मृतिपटलमा जेलिएर बसेका छन् फौदारकी बहिनी, विद्रोहीकी आमा, क्रान्तिकारी महिला, बुइँगलको फोसिल, भक्तिनी वैष्णव र मेरी आँवै । अझ धेरै स्वरूप त मैले थाहै पाइनँ । तैपनि, मलाई उहाँको अँगालो र वैष्णव भोजनबाटै सन्तुष्टि मिल्छ अनि कताकता गर्व पनि महसुस हुन्छ ।

प्रकाशित: चैत्र २६, २०७२