शाकिरा होइन, इन्दिरा

  • म नायिका होइन, गायिका हुँ । मलाई गाउने रहर पुगेको छैन । गीतमा सरप्राइज दिनै बाँकी छ ।

- राजकुमार बानियाँ

नेपाली संगीतको खुसी–सेक्सन अलिक गरिब लाग्छ । गायकगायिकादेखि श्रोतासम्मको पहिलो रोजाइ ‘स्याड सङ’ नै हुन्छ । नयाँ पुस्ताकी जल्दीबल्दी गायिका इन्दिरा जोशीसँग पनि श्रोताले सेन्टिमेन्टल नम्बरै फर्माइस गरिरहन्छन् । उनले त्यस्ता गीत गाउँदै नगाएकी होइनन् तर नगन्य मात्र । भन्छिन्, “कतिपय ह्यापी गीत त गीतै होइन जस्तो गर्छन् । तर, मेरो फस्ट च्वाइस त्यही हो ।”

‘उध्रेको चोली...’, ‘रातो घाँघर...’ आदि धमाकेदार आइटमले सांगीतिक दुनियाँलाई उखरमाउलो पारेकी यी सेलिब्रिटीको अनुभव बोल्छ, खुसीका गीत गाउन विशेष ऊर्जा चाहिन्छ । उनी उफ्रीउफ्री गाउँछिन् आवाजमा भाव ल्याउन । यी नत्थीवाला गायिका हट, सेक्सी, ग्ल्यामरस आदि नानाभाँती फुर्को बाँधिने फिल्मी हिरोइन या सुपरमोडलको भावभंगीमा दिन सिपालु पनि छन् ।

इन्दिराको चटक्क मिलेको ज्यान, जोसिलो नाच अनि हिस्सी परेको अनुहार देखेर फिल्म निर्माता–निर्देशक अफरमाथि अफर थपिरहन्छन् । उनी तिनलाई सजिलै टारिदिन्छिन्, ‘म नायिका होइन, गायिका हुँ । मलाई गाउने रहर पुगेको छैन । गीतमा सरप्राइज दिनै बाँकी छ ।’

गायनको अभूतपूर्व भोक छ उनमा । यत्ति हो, कुनै गायिकाकै बायोपिक बन्यो भने चाहिँ इन्दिराले विचार गर्न सक्छिन् । उनी रियालिटी सो ‘नेपाली तारा’को पहिलो संस्करणकी प्रत्यासी थिइन् । टप फाइभबाट बाहिरिएकी यी भर्सटाइल गायिकाको पोल्टामा क्लासिक मन्त्रमुग्ध आवाजको अवार्डसमेत पर्‍यो ।

व्यक्तिचित्रका लागि चैतको दोस्रो साता फ्राइडे क्याफे, लाजिम्पाटमा झुल्किएकी इन्दिरा नेपाल–बेलायत सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा १४ वटा कार्यक्रम गरेको ह्याङओभरमै थिइन् । उनको टोलीले पाँच साता लामो सांगीतिक टुर गरेको रहेछ । अर्को महिना उनी २९औँ मुलुक जाँदैछिन् बहराइन । 

अहिलेसम्म उनले साढे तीन सय कन्सर्ट गरिसकिन् । जहाँ जान्छिन्, त्यहाँ डाइहार्ट फ्यान पाउँछिन् । तर, उनी तिनलाई शुभचिन्तक मात्र भन्छिन् । हरेक कार्यक्रम राष्ट्रगानबाट सुरु हुन्छ । त्यसपछि आधुनिक, स्लो पप, हिपहप, रक नम्बर । गुनासो गर्छिन्, “नेपाली संस्थाहरूको समस्या के भने भाषणसासन ज्यादा हुन्छ । कहिलेकाहीँ त चारवटाभन्दा बढी गीत गाउनै पाइँदैन ।”

इन्दिराले जम्माजम्मी दुई सय गीत गाएकी छन् । उनका लागि श्रोताले जति मन पराए, राम्रा गीत तिनै हुन् । उनले काम नगरेका संगीतकार भनेका सुरेश अधिकारी मात्रै छन् । सुरेशसँग देखभेट हुन्छ, कुराकानी हुन्छ, सम्बन्ध पनि सुमधुर छ तर उनका गीत पाएकी छैनन् ।

उसो त कार्यक्रमका लागि बाहिरफेर जान थालेपछि उनका गीतको संख्या पातलिँदै गएको छ । बिस्तारै कार्यक्रम कम गरेर गीतको संख्या बढाउने उनले सोचिरहेकी छन् । भन्छिन्, “काठमाडौँमा नबसे गीतै पाइँदैन । मेरै भागमा परेका गीत अरूले गाइरहेका छन् ।”

स्थिति कस्तो छ भने काठमाडौँकै फ्यानले उनको प्रस्तुति हेर्न पाएका छैनन् । फेरि यहाँ पाँच हजार दर्शक अटाउने अडिटोरियम पनि छैन । आफ् नो गायनलाई उनी त्यति उम्दा ठान्दिनन् । भन्छिन्, “१० मा म आफूलाई ३.५ नम्बर मात्र दिन्छु ।”

यी गायिका स्टेज उक्लेको नर्सरी पढ्दा नै हो । परासी बजारमा हिन्दी मेलोडी नम्बर घन्किनासाथ उनको जीउ मर्किहाल्थ्यो । संगीतमा उनको औपचारिक अध्ययन एसएलसीपछि थालनी भयो । जमलको डोरेमी इन्स्टिच्युटमा ईश्वर अमात्य, भानुभक्त ढकालसँग इस्टर्न क्लासिकल सिकिन् । यही सिलसिलामा साइबाबाको भजनदेखि जिंगल र कोरससम्म भ्याइन् । आरआरसी स्टुडियोका बुद्ध सायमीले एक दिन सुझाएछन्, ‘तिमी कोरस नगाऊ । लिड गायनका लागि प्रयास गर ।’

त्यसो त स्पेनिस संगीतज्ञ नतालियासँग उनले वेस्टर्न भोकल क्लास पनि लिइन् । तिनले दिएको टिप्स हो, हार्मोनियम अगाडि बसेर होइन, ऐना हेरेर उभिएर गाउने । शरीरलाई नै इन्स्ट्रुमेन्ट बनाएर गाउने । त्यसको प्रभाव उनमा छ ।

त्यतिबेला काठमाडौँमा माइक्रोबस चढ्थिन् इन्दिरा । एफएममा उनका गीत बज्दा कसैले वास्ता गर्दैनथे । पछि उनको पहिलो एलबम आयो, रातो घाँघर । पाँच वर्षअगाडि पर्यटन बोर्डको प्रेक्षालयमा गरेको विमोचन अझै सम्झिरहेकी छन् ।

४० ठाउँमा उनको कार्यक्रम भयो, डान्स विद् मी । उनले औपचारिक रूपमा कतै नृत्य सिकेकी छैनन् । युट्युबलाई नै उनको गुरु भने हुन्छ । ड्रेसअप र स्टेपको सेन्स दिएको पनि त्यसैले हो । यी ‘स्टेज क्वीन’लाई दर्शकले नेपाली शाकिरा भनेर हुटिङ गरिहाल्छन् । सुरुसुरुमा उनले बेली डान्स पछ्याइन् । त्यो कति सजिलो भने शरीरको तल्लो भाग हल्लाए पुग्छ । भन्छिन्, “मैले कहिल्यै शाकिराको फलो गरेकी छैन । बेली डान्सका कारण शाकिरा भन्दा छायामा परेजस्तो लाग्छ ।”

स्टेजमा कलाकारको आ–आफ्नै थिम हुन्छ । पिंक फ्लोइड लाइट, लेडी गागा फेसन, बियोन्से र शाकिरा डान्समार्फत प्रस्तुति दिन्छन् । उनलाई अब शाकिरा होइन, इन्दिरा साबित हुनु छ । 

कतिपयले इन्दिरालाई ‘नाइटो देखाउने नक्कली’ या ‘उत्ताउली’ पनि भन्छन् । डान्स र ग्ल्यामरले टिकेको आरोप पनि लगाउँछन् । उनी आलोचनालाई पनि जीवनकै एक पाटो मान्छिन् । भन्छिन्, “सबैको आ–आफ्नै नजरिया हुन्छ । कतिपयलाई स्टेजमा गाउनु नै भल्गर लाग्छ । मलाई हलिउड फलो गरेनौ भन्ने पनि छन् ।”

असली कलाकार परिवर्तनका बाहक हुन् । कहिलेकाहीँ तिनीहरू समयभन्दा अगाडि हुन्छन् र क्रमभंग गरिदिन्छन् । इन्दिरा भन्छिन्, “कलाकार भनेका समाजका रोलमोडल हुन् । गलतै हुन् भने उनीहरूका गीत किन चल्छन् ? के सबै मूर्ख हुन् त ?”

हालसालै हलिउड गायक सन किङ्स्टनसँग ‘यू एन्ड मी..’ बोलको गीत गाएकी इन्दिराको आफ्नै दौड छ । हर्ट ब्रेकर र ट्रेजर ब्यान्डमा रहेर अंग्रेजी गीत पनि गाइन् उनले । उनलाई थाहा छ, गीतका आ–आफ्नै स्वाद हुन्छन् । कतिपयले हिपहपलाई गीतै मान्दैनन् । “छोटो मिटरमा धेरै शब्द गाउनु अवश्य सजिलो छैन । त्यसमा पनि साधना चाहिन्छ,” लोकपप, थ्रेस मेटलदेखि अन्डरग्राउन्ड म्युजिकसम्मकी पारखी इन्दिरा थप्छिन् ।

६ छोरी र एक छोराको जम्बो परिवारकी राइँली छोरी हुन् इन्दिरा । आफ्नो बाल्यकाल नवलपरासीको बञ्जरियामा बिताएकी उनले निरन्तर सफलताको सिँढी चढेर परिवारलाई बेखुसी हुने मौकै दिइनन् । गीत गाएरै काठमाडौँमा घर र स्कोडा गाडी जोडेकी छन् । 

उनका सबै दिदीबहिनी विदेशमा छन् । कोही अमेरिका, कोही क्यानडा, कोही अस्ट्रेलिया त कोही माल्दिभ्समा । भन्छिन्, “दिदीबहिनी कति मिल्थ्यौँ भने ड्याडीममीले छुट्टाछुट्टै पलङ राखिदिनुभएको थियो तर हामी पलङ जोडेर सुत्थ्यौँ ।”

मन परेका गीत दुई–तीन सयचोटिसम्म सुन्छिन् इन्दिरा । दिनभरि त्यो बजेको बज्यै हुन्छ । यो मुटुलाई कसरी सम्झाई बुझाऊँ (नारायण गोपाल), बादल बनाइदेऊ (दीपक खरेल) आदि । पेन्टिङ उनको अतिरिक्त सोख हो । पोट्रेट या स्केचमा उनको चाख छ । एमबीएस (मास्टर्स इन बिजिनेस स्टडिज) गरेकी इन्दिराले एकल प्रदर्शनीबारे भने सोचेकी छैनन् । उनको विश्वास कति छ भने स्टेज प्रवेश गर्नुअघि गणेश मन्त्र पढिहाल्छिन् । सातपटकदेखि २१ पटकसम्म । गीताको अडियो सुन्छिन् । साउथ इन्डियन भजनले उनलाई छुट्टै ऊर्जा दिन्छ । काली, सरस्वतीलाई उनी नारी शक्तिको प्रतीक मान्छिन् ।

इन्दिरा कति फेसनेबल हुन् भने ६० जोर त जुत्तै छन् । सबैभन्दा महँगो १२ हजार रुपियाँमा किनेकी छन् । उनलाई लाग्छ, सस्तोमा केही न केही खराबी हुन्छ । कस्मेटिक्स, पफ्र्युम ब्रान्डेड नै ठीक हुन्छ । भन्छिन्, “आइमाई हुन गाह्रो छ । केटालाई जस्तो सर्ट, पाइन्ट र टाईले पुग्दैन ।”

समाजसेवा उनको परिचयमा प्लस भइसकेको छ । जुन मुलुकमा गए पनि एक–दुइटा च्यारिटी भइहाल्छन् । भूकम्पपीडितदेखि मिर्गाैलापीडित उनैलाई गुहार्छन् । एचआईभी प्रभावित बालबालिकालाई स्टेसनरी सामान बाँड्न होस् या चेपाङ बस्तीमा नयाँ लुगा पुर्‍याउन उनी पुगेकै हुन्छिन् । भन्छिन्, “सानो सहयोगले सकारात्मक परिवर्तन आउँछ भने चारवटा गीत गाउन कन्जुस्याइँ गर्दिनँ ।”

‘३० नकटेकी केटी’ बताउने इन्दिरालाई अन्त्यमा सोधिने प्रश्न हो, बिहे कहिले गर्ने ? स्कुले उमेरमै प्रेमपत्र आउन थालेपछि उनले ‘ब्वाइज हेटिङ ग्रुप’ बनाएकी थिइन् । केटाहरूसँग त स्कुलको बिदाइ कार्यक्रममा मात्रै बोलचाल भयो । रोलक्रम अनुसार अब बिहेको पालो इन्दिराकै हो । भन्छिन्, “मलाई ब्वाइफ्रेन्ड, बिहे र बुढ्यौलीको फिक्री छैन ।”

प्रकाशित: चैत्र २४, २०७२