गैँडामा गडबडी

  • चोरी सिकारी क्षेत्रमै स्थानान्तरण गरिँदा संरक्षणमा आशंका

- अब्दुल्लाह मियाँ

पहिले लगिएका गैँडा जोगाउन नसकेको अवस्थामा फेरि बर्दियामै गैँडा स्थानान्तरण गर्न लागिएको भन्दै चितवनवासी, मध्यवर्ती क्षेत्रका बासिन्दा र संरक्षणकर्मी विरोधमा उत्रिए । उनीहरूले १३ वर्षको अन्तरालमा हुन लागेको गैँडा स्थानान्तरण रोक्न प्रमुख जिल्ला अधिकारी ( प्रजिअ) विनोदप्रकाश सिंहसमक्ष ज्ञापनपत्र पनि बुझाए ।

विगतमा गैँडा स्थानान्तरणले संरक्षणमा टेवा नपुर्‍याएको र लगिएकाको पनि संरक्षण हुन नसकेको उनीहरूको जिकिर थियो । ज्ञापनपत्र बुझेको भोलिपल्टै तिनै प्रजिअ सिंह गैँडा स्थानान्तरण शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भए ।

गैँडा स्थानान्तरण गर्दा विगतमा जस्तो निकुञ्जले सरोकारवाला स्थानीयसँग सहकार्य नगरेको र हचुवामा गैँडा सार्न लागेको आरोप छ । तर, वन मन्त्रालयले तीन वर्षभित्रमा २० पोथी र पाँच भालेसहित २५ बर्दिया तथा एक भाले र चार पोथीसहित पाँच गैँडा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा स्थानान्तरण गर्ने निर्णय ३० पुस ०७१ मै गरेको थियो । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) रामचन्द्र कँडेल मन्त्रालयको त्यही निर्णय अनुसार गैँडा सारिएको दाबी गर्छन् ।

त्यसो त ०५८ देखि ०६१ सालसम्म बर्दियामा मात्र गैँडा मारिएका होइनन् । १० वर्षे सशस्त्र द्वन्द्वकै बेलामा चितवन निकुञ्जमा पनि गैँडा बचाउन धौ/धौ भएको थियो । चितवन निकुञ्जमै पनि चोर सिकारीले एकै वर्ष ३७ वटासम्म गैँडा मारेको तथ्यांक छ ।

चितवन निकुञ्जमा बसेर लामो समय काम गरेका र स्थानान्तरणमा सहभागी संरक्षणकर्मी विष्णु थपलियाका अनुसार सन् २००० मा गरिएको गणनाले चितवन निकुञ्जमा ५ सय ४४ गैँडा देखाएको थियो तर तीन वर्षपछि (सन् २००५ मा) गणना गर्दा त्यो संख्या ३ सय ७२ मा झरेको थियो । त्यसले चितवन निकुञ्ज पनि तस्करको आँखामा परेको पुष्टि गर्छ ।

चितवन निकुञ्जमा सन् २००८ मा ३ सय ७२ बाट गैँडाको संख्या ४ सय ८ पुग्यो भने २०११ को गणनामा ५ सय ३ र २०१५ मा ६ सय ५ पुग्यो । २०१५ को गणनाले देशभरि ६ सय ४५ गैँडा देखाएको थियो । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक फणिन्द्रराज खरेलका अनुसार प्राकृतिक वासस्थानमा नेपाल र भारतमा मात्र एकसिंगे गैँडाको वंश संरक्षण, जीवन धान्न सक्ने संख्या कायम गर्न तथा कुनै पनि महामारीलगायतका रोगव्याधि र प्राकृतिक प्रकोपबाट बचाउन गैँडा स्थानान्तरणमा जोड दिइएको हो ।

स्थानान्तरणको सुरुआत 

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् १९८६ देखि चितवन निकुञ्जबाट गैँडा लैजान थालिएको हो । सन् १९७६ मा स्थापना भएको बर्दिया निकुञ्जमा त्यतिबेलासम्म गैँडा थिएन । सन् १९८६ देखि सन् २००३ सम्मको १७ वर्ष अवधिका विभिन्न मितिमा सातपटक गरी बर्दिया निकुञ्जमा ८३ गँैडा छाडियो, तीमध्ये ४५ पोथी थिए भने ३८ भाले ।

संरक्षणकर्मी थपलियाका अनुसार ८३ मध्ये १३ गैँडा कर्णाली तटमा छाडिएका थिए भने बाँकी बबई उपत्यकामा । बबई उपत्यका कोहलपुर–सुर्खेत (रत्न राजमार्ग) सडकको दक्षिण र पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट उत्तरतिर करिब दुई सय वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यो घाँसे मैदान भएकाले गैँडाका लागि उपयुक्त भएको जानकारहरू बताउँछन् ।

विभिन्नपटक गरेर ७० गैँडा छाडिए पनि विडम्बना सन् २००८ मा गणना गर्दा बबई उपत्यकामा एउटै गैँडा भेटिएनन् । गैँडाको वंश विस्तार हुनुपर्नेमा त्यसो हुन सकेन । बबईमा गैँडाको संख्या शून्य भए पनि निकुञ्जकै कर्णाली तटमा भने २२ गैँडा भेटिए । थपलियाको बुझाइमा ती तिनकै सन्तान हुन् । सन् २०११ को गणनामा कर्णाली तटमा गैँडाको संख्या बढेर २४ पुग्यो भने सन् २०१५ मा २९ ।

बबईमा गैँडा सार्नुको मुख्य उद्देश्य संख्या वृद्धि गर्नु थियो । निकुञ्जको संरक्षणार्थ खटिएका अधिकारीहरू १० वर्षे द्वन्द्वको प्रभावले बबईमा गैँडा बच्न नसकेको बताउँछन् । “त्यतिबेला सुरक्षा नै मुख्य चुनौती थियो,” बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा भन्छन्, “सेनाको गस्ती शून्य भएको थियो भने निकुञ्जको पहुँचसमेत हुन सकेको थिएन ।”

निकुञ्जको संरक्षणका लागि खडा भएका सेनाका सुरक्षा पोस्ट द्वन्द्वका अवधिमा दुईवटामा सीमित थिए । तैपनि, तिनमा सेना बस्ने अवस्था थिएन । “त्यही मौकामा चोर सिकारीले मौका छोपे र भएभरका सबै गैँडा सखाप पारे,” थापा भन्छन् ।

डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि अनिल मानन्धर ७०/८० गैँडाको कुनै अंग/प्रत्यंग र नामोनिसानसमेत नभेटिनु दु:खद भएको बताउँछन् । “बाघ भएको भए त हाड, खुर पनि नभेटिनु स्वाभाविकै हो,” मानन्धरको विश्लेषण छ, “तस्करले खाग र खुर लगे पनि गैँडाका अन्य अंग नभेटिनु दुर्भाग्य हो ।” अध्ययन अनुसार तस्करले बाघका भने सबै अंगप्रत्यंग तस्करी गर्ने गरेको पाइएको छ ।

जोगिएलान् त ?

बर्दियामा गैँडा सार्ने प्रक्रिया सुरु हुनुअघि नै वन मन्त्रालयले बबईमा सुरक्षा मजबुत पार्नेबारे बृहत् छलफल गरेको थियो । मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरका अनुसार सरोकारवाला निकायहरू नेपाली सेनाको राष्ट्रिय निकुञ्ज निर्देशनालय, सहयोगी संस्थाहरू डब्लूडब्लूएफ नेपाल, प्रकृति संरक्षण कोषलगायतसँग बबई उपत्यकाको समग्र सुरक्षा पाटोमा छलफल भएको थियो ।

अहिले बबईको चेपाङदेखि परेवा ओढारसम्मको ४६ किलोमिटर क्षेत्रमा नेपाली सेना र निकुञ्जका आठवटा सुरक्षा पोस्ट तैनाथ छन् । त्यसनजिकै अन्य चार सुरक्षा पोस्ट पनि छन् । त्यहाँ कुनै समस्या आउनेबित्तिकै ‘मुभ’ गर्न सक्ने अन्य सहयोगी टोली पनि छन् । “गस्तीलाई प्रभावकारी बनाउन र वर्षामा पनि ओहोरदोहोर गर्न वनपथ र र्‍याफ्टिङको व्यवस्था गरिएको छ,” वार्डेन थापा भन्छन्, “गैँडालाई त्यही क्षेत्रमा भुलाउन घाँसे मैदान र पानीका ताल/सिमसार पनि छन् ।”

गैँडाको अनुगमन गर्न बबई उपत्यकामा दुई मचान बनाइएको छ । बबईसँगै जोडिएका गाउँलेहरूले केही वर्षअघि २ सय ५० वटा भरुवा बन्दुक स्वत:स्फूर्त रूपमा निकुञ्ज प्रशासनलाई बुझाएको अवस्था छ । “यी सबै परिवर्तनका संकेत हुन्,” संरक्षणकर्मी थपलिया थप्छन्, “त्यसैले गैँडा सार्नुलाई त्यति धेरै नकारात्मक रूपमा हेर्नुपर्ने देखिन्न ।”

सेनाको राष्ट्रिय निकुञ्ज निर्देशनालयका निर्देशक प्रमुख सेनानी कृष्णप्रसाद सापकोटा बर्दियामा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन ‘महाहन्ट अभियान’ र ‘स्मार्ट पेट्रोलिङ’ सुरु गरिएकाले तत्काल सुरक्षा चुनौती देख्दैनन् । प्राविधिकहरूका अनुसार यसपटक सारिएका पाँचवटै गैँडाको नियमित अनुगमन गर्न सबैका घाँटीमा ‘स्याटेलाइट जीपीएस कलर’ जडान गरिएको छ । गैँडाको घाँटीमा बाँधिएको ‘स्याटेलाइट जीपीएस कलर’का अनुसार पाँच गैँडाले पछिल्लो दुई साताको अविधमा २ सय ६७ किलोमिटर यात्रा गरेका छन् ।

तर पनि चिन्ता

बबई सारिएका गैँडाको सुरक्षा गर्न सरकारले समस्या नभएको दाबी गरे पनि संरक्षणकर्मी भने त्यसप्रति ढुक्क छैनन् । “भोलि फेरि पहिलेकै समस्या दोहोरियो भने जिम्मेवार को हुने ?” संरक्षणकर्मी प्रभु बुढाथोकीको प्रश्न छ, “त्यसैले चितवनका गैँडा सार्नुअघि बबईको सुरक्षा अवस्थाबारे विस्तृत अध्ययन गर्नुपथ्र्यो र स्थानीयलाई पनि आश्वस्त पार्नुपथ्र्यो ।”

चितवनका गैँडा बबईमा बाँच्न सक्ने/नसक्नेबारे वैज्ञानिक अध्ययन हुनु जरुरी भएको बुढाथोकीको तर्क छ । भन्छन्, “बरू, कर्णाली तटमै भएका केही गैँडालाई सारेर हेरेको भए सुरक्षा हुने/नहुने थाहा हुन्थ्यो, यसरी हतार गरेर गैँडा सार्दा पछुताउनु नपरोस् ।”

चितवन निकुञ्जका पूर्वसहायक वार्डेन टीकाराम अधिकारी बर्दिया निकुञ्ज र आसपासमा बाघ संरक्षण चुनौती भइरहेका बेला त्यही ठाउँमा गैँडा सार्नु उचित नहुने तर्क गर्छन् । भन्छन्, “बाघको चोरी सिकार रोक्नुपर्ने बेलामा उल्टै गैँडा लगेर असुरक्षित गरिँदैछ ।” ०१५ को जनवरीदेखि यस वर्षको फेब्रुअरीसम्म बर्दिया निकुञ्ज र आसपासमा १४ वटा बाघ मारिएका छन् । गैँडाले पनि यही नियति त बेहोर्नुपर्ने होइन ? 

प्रकाशित: चैत्र १५, २०७२