नोटबुक

- नवीन अर्याल

प्रतिनिधि गायब

नेपाली कांग्रेसको १३औँ महाधिवेशनको एक दिनअगाडि अर्थात् १९ फागुनमा जिल्ला प्रतिनिधिका लागि बसोवासको व्यवस्था मिलाउने जिम्मा पाएका नेता बलबहादुर केसी गौशालास्थित महाराजा होटलको रिसेप्सनमा निकै तनावमा देखिन्थे । सुरुमा लाग्यो, प्रतिनिधिसँगै जोडिएर आउने अतिरिक्त व्यक्तिलाई होटलले थप कोठा उपलब्ध गराउन नसकेका कारण केसी जंगिएका होलान् ।

जसै काउन्टरनजिकै पुगेँ, सुनेर झसंग भएँ । केसी कोठा उपलब्ध नगराएका कारण होइन, बुक भएका कोठामा जिल्ला प्रतिनिधि नबसेको घटनाले तनावमा रहेछन् । उनी रिसेप्सनमा सोध्दै थिए, “यति धेरै व्यक्ति कहाँ गए ?” विचरा, होटलवाला ! उसलाई कांग्रेसी राजनीति के थाहा ? नम्र हुँदै भनिरहेको थियो, “थाहा भएन हजुर ! तपाईंहरूकै मान्छेलाई एकपल्ट सोध्दा थाहा होला नि !” केसीले आफ्ना पक्षमा रहेका केही जिल्ला सभापतिलाई सोधेपछि सबै उजागर भयो ।

वास्तवमा, जिल्लाबाट आउने प्रतिनिधि होटलमा आएपछि ‘हाइ ज्याक’को शैलीमा गायब भएका रहेछन् । नेपाली कांग्रेसको संस्थापन पक्ष मानिने रामचन्द्र पौडेलको टिमको एउटा बुझाइ रहेछ, यसपालिको महाधिवेशनमा संस्थापन पक्षको भोट ५५ प्रतिशत छ र वरिष्ठ नेता शेरबहादुर देउवाको ४५ । बीचमा उठेका कृष्णप्रसाद सिटौलाले चार–पाँच प्रतिशत भोट काटे पनि निर्वाचन आफ्नो पक्षमा हुने कुरामा संस्थापन ढुक्क रहेछ । 

फेरि, खाना तथा बसोवासको जिम्माले गर्दा पनि निर्वाचनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको थियो । तर, ४१ वटा जिल्ला आफ्नो मानेर हिँडिरहेको संस्थापनको होस त्यतिबेला उड्यो, जब होटलबाटै केही प्रतिनिधि गायब भए । त्यसको असर पछि मतदानमा देखियो । निर्वाचन सकिएपछि देउवाका पक्षमा ५८.०२ प्रतिशत मत खस्यो भने पौडेलको पक्षमा ४१.२७ प्रतिशत मात्र । आखिर सभापतिको बाजी मारे, देउवाले ।

कहिले फेरिने मानसिकता ?

कांग्रेस मात्र होइन, नेपालको कुनै पनि राजनीतिक पार्टीको महाधिवेशनमा तडकभडक देखिनु सामान्य भइसकेको छ । तर, यसपालि कांग्रेसको महाधिवेशनमा प्रतिनिधि भएर आएका थुप्रै युवालाई प्रचार–प्रसारको पुरानो तौरतरिका चित्त बुझेनछ । विद्युतीय प्रविधिले चकाचौध भइसकेको अहिलेको समयमा पम्प्लेट, फ्लेक्स, भिजिटिङ कार्ड र पर्चाको बाढी देखेर असन्तुष्टि जाहेर गर्नेहरूको ठूलो जमात थियो, महाधिवेशन स्थलमा । दिउँसो भृकुटीमण्डपस्थित रत्नराज्य क्याम्पसको क्यान्टिनमा भेटिएका एक हुल युवा गुनासो पोखिरहेका थिए । भन्दै थिए, बाटोमा छरिएका पर्चालाई पाँच पैसाको हिसाबले गणना गर्दा पनि करोडौँ रुपियाँ खेर गयो होला । यो पैसाले त सानै भए पनि जिल्लातिर कम्तीमा एउटा राम्रो अस्पताल त बन्ने थियो ।”

वास्तवमा महाधिवेशनभन्दा तीन दिनअगाडिदेखि नै गरिएको भड्किलो प्रचारप्रसारले उनीहरूको कुरामा सहमति जनाउने ठाउँ थिए । रमाइलो कुरा, आफ्नो क्षेत्रका एक सभासद्, जो केन्द्रीय सदस् यमा पनि उठेका थिए । उनको प्रचार–प्रसार गरिरहेका तिनै युवा साँझमा अर्को रूपमा अवतरित भए । दिउँसो त्यति राम्रो कुरा गरेका तिनै युवा ‘डिस्कोमा नर्तकी’लाई पैसा फ्याँकेजस्तो भिजिटिङ कार्ड आकाशमाथि उडाइरहेका थिए । यो देखेपछि लाग्यो, कुरा राम्रो र चिप्लो गरेर मात्र नहुने रहेछ । समाजकै मानसिकता नबदली परिवर्तन नआउने रहेछ । र, यो परिवर्तनको संवाहक को बन्ने हो ? कांग्रेस, एमाले, एमाओवादी वा अन्य दल !

काइदाको विरोध

महाधिवेशनको केही दिनअगाडि एकाबिहानै मोबाइलमा घन्टी बज्यो । यसो हेरेको, जिल्लाबाट रहेछ । उताबाट आवाज आयो, “ल है साथी π सहयोग गर्नु पर्‍यो । यसपालि बबाल गर्नुपर्छ । म पनि उठेको छु ।” मलाई पहिले नै थाहा थियो, जुन साथीले मलाई फोन गरेको थियो, उसको अर्को साथी पनि उसँगै कोटावाला सिटबाट उम्मेदवारी दिँदैछ । जिस्क्याएँ, “अनि, साथी–साथी किन लड्न लागेको ? शोले फिल्मको जस्तै क्वाइन टस गरे हुँदैन ?”

मेरो कुरा सुनेर सुरुमा त ऊ मज्जाले हाँस्यो । पछि, आफ्नै साथीको विषयमा भन्न थाल्यो, “त्यसलाई कसले चिन्छ र भोट हाल्छन् ? त्यो आफूलाई (देशव्यापी रूपमा) कांग्रेसी भनेर चिनाउन मात्र उठेको हो । जिल्लामा दुई–तीन लाख खर्च नगरेको भए, उसलाई प्रतिनिधि भएर आउन पनि धौ–धौ थियो ।”

उसको कुरा सुनेर मलाई रमाइलो लाग्यो । अरू बेला दिनमा एकपल्ट फोनमा कुरा नगरी बस्न नसक्ने साथी नै आज आफ्नो साथीको विषयमा मज्जाले कुरा काट्दै हिँडिरहेको छ ।  सोचेँ– साथीहरूलाई फोहोरी राजनीतिले राम्रैसँग गाँजेछ । सोधेँ, पैसा खर्च नगरी प्रतिनिधि बन्न सकिन्न ? उसले झनै फुरुंग हुँदै भन्यो, “साथी ! बीपीको लैनो गाईको के कुरा गरेको π पार्टी समाजवादबाट पुँजीवादमा प्रवेश गरेको थाहा छैन ?” म त ट्वाँ परेँ !

प्रकाशित: चैत्र ५, २०७२