सडकले बदलेको गाउँँ

  • सात वर्षमै ओखलढुंगाको सडक सम्पर्क र सञ्जाल व्यापक र विस्तृत मात्रै भएको छैन, सडककै कारण विकासको अनुहार नदेखेका थुप्रै गाउँँको अनुहार बदलिन थालेको छ ।

- जनकराज सापकोटा, कुम्भराज राई

कुशादेवीका कलाबहादुर सार्की, ६५ लाई ठ्याक्कै हिसाब छैन, तन्नेरी छँदा कतिपटक भारी बोकेर छिमेकी जिल्ला उदयपुरको मुख्य बजार कटारी र मिर्चैया पुगियो । कतिपटक निधारका नाम्लोको डोब बोकेर, भारी लादेर कैयौँ स–साना खोला र पहाड नाघ्दै काठमाडौँ पुगियो । उमेरको उपल्लो विन्दुमा भरिया दिनका सबै सम्झना कलालाई एउटा कथाजस्तो मात्रै लाग्छ । भन्छन्, “अहिले त मेरी बाबै, के के भो के के ? स्याल कुद्ने भिरमा कसरी बाटो खन्लान् झैँ लाग्थ्यो । हेर्दाहेर्दै बाटो खने । हेर्दाहेर्दै गाडी कुद्यो भिरमा ।”

कलाजस्तै ओखलढुंगाबाट भारी बोकेर उदयपुर र सिरहाका बजारदेखि काठमाडौँसम्म धाउने भरियाहरूका निम्ति जिल्लाकै भिर–पहरामा गाडी गुड्नु अचम्मकै विषय बनेको छ । जसले ओखलढुंगाको दूर दराजसम्मकै दैनिकी मात्रै बदलिदिएको छैन, काठमाडौँ र छिमेकी जिल्लाका प्रमुख बजारसम्मको सम्पर्कले सिँगो जिल्लाको विकासको नक्सा बदलिदिएको छ । ०४० सालतिर सिरहाको लहानमा किनेको नुन र तेल उदयपुरको कटारी हुँदै सोलखुम्बुको गाउँँ गाउँँ पुगेर बेच्दा झन्डै दुई हप्ताको पैदल यात्रा गर्नुपथ्र्यो । पुराना दिन सम्झिँदै कलाले सुनाए, “सुरुमा तीन मोहर धार्नीमा भारी बोकियो, चालिस सालतिर त्यो भाउ वढेर धार्नीको सात रुपियाँसम्म पुग्यो । अहिले त सबै कथा नै भैगयो ।” 

सात वर्ष अघिसम्म ओखलढुंगाका निम्ति सडक यातायातको कुरा कल्पनामै सीमित थियो । हर्कपुरदेखि सदरमुकामसम्मको ३८ किमि कच्ची सडकमा मात्रै मोटर गुडथ्यो । अन्य जिल्लासँगको सडक सम्बन्ध सुरु नभएकै कारण भरियाको नियति कलाजस्ता दलित समुदायका थुपै्रलाई रोजीरोटीको बाटो थियो । सात वर्षमै ओखलढुंगाको सडक सम्पर्क र सञ्जाल व्यापक र विस्तृत मात्रै भएको छैन, सडककै कारण विकासको अनुहार नदेखेका थुप्रै गाउँँको अनुहार बदलिन थालेको छ । हाल जिल्लाभित्र कच्ची सडक चार सय ८७ किमि निर्माण भइसकेको छ भने कालोपत्रे सडक ५९ किमि निर्माण भइसकेको छ । जिल्लाका कुल ५० गाविस र एक नगरपालिकामध्ये कालिका, रावादोलु, भूसिँगा र रातमाटे गाविस मात्रै सडक सञ्जालमा जोडिन बाँकी छन् ।

कुटुन्जेका तुलसीबहादुर सार्की, ६७ सँग भारी बोक्दाका सयौँ कथा छन् । आफ्नै जिल्लाको सदरमुकाम पुग्न पनि दिनभर कस्सिएर हिँडनुपर्ने वाध्यता उनका निम्ति अब त सम्झना मात्रै भइसक्यो । घरछेउबाट गाडी गुड्न थालेपछि तुलसीलाई सदरमुकामको यात्रा पानी पँधेरो मात्रै भएको छैन, बिहान गाडी चढेपछि दिन नढल्किँदै काठमाडौँ पुग्न सकिने खबरले उनी झनै हौसिएका छन् । घर छाडेको २९ औँ दिनमा काठमाडौँ पुगेर भारी बोकेर सदरमुकाम फर्केको स्मृति झलझली छ तुलसीलाई । धार्नीको दुई रुपियाँका दरले १५ धार्नी कपडाको भारी बोकेको २०१८ सालको दिन सम्झिँदै तुलसीले सुनाए, अहिलेका मान्छेलाई त्यस्ता कुरा के थाहा । घर–घरै गाडी आएर मान्छे टिप्छ । एकै दिनमा कहाँ कहाँको काम भ्याउँछन् ।

जिल्ला विकास समितिले आगामी दुई वर्षभित्रै जिल्लाका सबै गाविसमा सडक सञ्जाल पुर्‍याउने लक्ष्य राखेको छ, जसले भारी नबोकी दैनिकी चलाउन नसक्ने थुपै्र तुलसीहरूको जिन्दगीको लय बदलिदिनेछ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख माधवप्रसाद भट्टराई पहिलो प्राथमिकतामा रामपुर–प्राप्चा – श्रीचौर – खिजिफटाटे र दोस्रो प्रथामिकतामा कालिका – पलापु–मूलखर्क सडक निर्माणको योजना रहेको बताउँछन् । त्यसैगरी मोलुङ एक्वायर र लिखु एक्वायर सडक निर्माणको तयारी पनि जिविसले थालिसकेको छ ।

सडक स्तरोन्नतिका लागि स्विस विकासको सहयोगमा सञ्चालित स्थानीय सडक सुधार कार्यक्रम मार्फत मात्रै गत वर्ष ७ करोडको काम सम्पन्न भएको थियो । चालु आर्थिक वर्षमा २३ करोडको काम हुने जिल्ला विकास समितिको योजना छ । जिल्लाभित्र गाविस, जिविस र विभिन्न परियोजनाबाट निर्मित सडकमध्ये १०–१५ प्रतिशत सडक मात्र ग्रेड नमिलेको पाइएको प्राविधिक प्रमुख भट्टराईले बताउँछन् । भन्छन्, आगामी दुई वर्षभित्र सदरमुकामसँग जोडिएको रामपुर र रुम्जाटार सडक कालोपत्रे सम्पन्न गर्ने गरी सर्वेको काम सुरु भइसकेको छ ।

सुनकोसी नदीमा पुल नभएका कारणमात्रै वर्षौंसम्म ओखलढुंगा राष्ट्रिय सडक सञ्जालसँग जोडिन पाएन । पुल निर्माण गर्नका निम्ति ठेक्का दिइएको १३ वर्षमा पनि काम सम्पन्न हुन नसकेपछि धेरैले सडक सञ्जालसँग जोडिने आशा मारिसकेका थिए । गत पुष ९ गतेदेखि पुल सम्पन्न भएपछि ओखलढुंगाको सीधा सडक सम्पर्क राजधानी काठमाडौँ र तराईको मुख्य बजारसँग हुन थालेको छ । जसको फलस्वरूप, व्यापार र बजारीकरणले मात्रै तीव्रता पाएको छैन, हप्तौँ लगाएर भरियाले ओसारेको चर्को मूल्यको सामान किन्नुपर्ने बाध्यता पनि हटेको छ । दैनिक उपभोग्य सामग्रीका अलावा पूर्वाधार निर्माणका सामग्रीसमेत पाँचदेखि दस रुपियाँ सस्तोमा पाइन थालेको छ । सडक सञ्जालको स्तरोन्नति र बिस्तारका क्रममा अहिले विभिन्न सात स्थानमा पक्की पुल निर्माण भइरहेका छन् । भट्टराई भन्छन्, पुल सञ्चालनमा आएपछि सदरमुकाम र गाउँँसँगको यातायात सम्पर्क हिउँद–वर्षा कहिल्यै अवरुद्ध हुँदैन ।

रामपुरका महानन्द दाहाल, ८३, सडक सञ्जालसँग गाउँँ जोडिएपछिका परिवर्तनको गति देखेर छक्क पर्छन् । ००६ सालमा भरियाको पछि–पछि लागेर ६ दिनको पैदल छिचोलेपछि काठमाडौँ पुगेर दरबार हाइस्कुलमा पढ्न जाँदाका दिन सम्झिँदा उनी अहिले पनि अचम्मित हुन्छन् । “त्यतिबेलाको कुरा के गर्नु”, दाहालले सुनाए, “अहिले त घर–घरै गाडी पुग्यो ।” रामपुरका टंक गिरी सडक सञ्जालको वढ्दो बिस्तारले रामपुर बजारको गुल्जार बन्दै गएकोमा अचम्मित छन् । “एक दशक अघिसम्म १६ किमिको दूरीमा रहेको सदरमुकामबाट भारी बोकेर गाउँँ आउँदा ठ्याक्कै चार घन्टा लाग्थ्यो”, उनले सुनाए, “अहिले एक घन्टामा छोटिएको छ ।” गिरीका अनुसार सडकको सहजताले गाउँँमा पक्की घर मात्रै थपिएनन्, गाउँँको उत्पादन सदरमुकाम पठाउने र सदरमुकामबाट सामान झिकाउने काममा समेत सहजता थपियो । अहिले रामपुरबाट दैनिक दुई बस र ६ जिप सदरमुकाम जाने–आउने गर्छन् ।

रामपुरदेखि झन्डै ८ किमिको दूरीमा रहेको प्राप्चासम्म गाडी पुग्न थालेको पाँच महिना पनि भएको छैन । त्यसअघि सम्म प्राप्चा देउराली पुग्न कम्तीमा डेढ घन्टा हिँडेर मोलुङ खोला नतरी सुखै छैन । अहिले त्यही बाटो मोटरबाट पुग्दा आधा घन्टा पनि लाग्दैन । प्राप्चा देउरालीमा नर्सरी व्यवसाय सुरु गरेका स्थानीय नेता एवं अगुवा रुद्र फुयाँल सडक सञ्जालसँग गाउँ जोडिएपछि सम्भावनाहरूके लस्कर लागेको बताउँछन । “गाउँमा उत्पादित आलु अहिले काठमाडौँको बजारसम्म पुग्न थालेको छ”, फुयालले सुनाए, “बन्दा र काउली मधेसका बजारदेखि राजधानीसम्म पुर्‍याउन सहज भएको छ ।”

प्राप्चाबाट सोझै काठमाडौँका लागि बस छुट्ने कल्पना सम्म पनि थिएन, देउरालीमा पसल चलाएर बसेका रुकमान सुनवारलाई । सुनवारले भने, “अहिले त के भन्नु, बिहान हिँडेको मान्छे साँझ नपर्दै काठमाडौँ पुग्छ । काठमाडौँबाट जे सामान चाहियो एकै दिनमा गाउँ झिकाउन सकिन्छ ।” प्राप्चाका कांग्रेस नेता गोपी कार्की गाउँमै गाडी आउन थालेपछि सहरसँगको सम्पर्क बढेको र विकासका कामले गति दिन थालेको बताउँछन् । भन्छन्, वर्षदिन अघिसम्म छिमेकी बजार रामपुरबाट खच्चरमा सामान बोकाएर ल्याउने समयको अन्त्य भयो । सडकले विकास र समृद्धि सँगसँगै ल्याउँदो रैछ ।

दुर्घटना घट्दै

सडक सञ्जालको विस्तारसँगै ओखलढुंगाका निम्ति बढ्दो सडक दुर्घटना सुरुका वर्षमा टाउको दुखाइको विषय थियो । जिल्लाभित्र सञ्चालनमा रहेका करिब तीन सय यात्रुवाहक जिप र चार सय ट्याक्टर, ट्रक र बस सञ्चालनमा रहेपनि साँघुरा, घुमाउरा सडक र ट्राफिक नियम उल्लंघनका कारण सडक दुर्घटना नियमित आकस्मिकता जस्तै भइसकेको थियो । गत आर्थिक वर्ष ०७१/७२ मा भएका ६ दुर्घटनामा २० यात्रुको मृत्यु भएको थियो भने ३४ घाइते भएका थिए । जुन संख्या चालु आर्थिक वर्षमा ह्वात्तै घटेको छ । जिल्ला प्रहरी कार्यालका अनुसार यो आर्थिक वर्षमा भएका तीन दुर्घटनामा १ यात्रुले ज्यान गुमाए भने सात घाइते भए । 

“दुर्घटना घट्नुको कारण विभिन्न स्थानमा अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरी नियमन गर्नु हो,” प्रहरी निरीक्षक दीपक साह भन्छन्, “हामीले विद्यालयदेखि गाउँगाउँ गएर पनि ट्राफिकसम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने गरेका छौँ ।” दुर्घटना बढेपछि जिल्ला प्रशासनको पहलमा यसअघि नै जिल्लाको पाँच खण्डको सडकलाई यातायात व्यवस्था विभाग मार्फत अस्थायी अनुमति समेत लिएर सञ्चालन गरिएको छ ।

सडकको अवस्था

जम्मा सडक : ४८७ किमि

कालोपत्रे सडक : ५९ किमि

सडक सञ्जालले जोडिएका गाविस : ४६ 

सडकमा लगानी 

गत वर्ष : ७ करोड रुपियाँ 

यो वर्ष : २३ करोड रुपियाँ 

 

प्रकाशित: चैत्र ४, २०७२