गाउँको सरसफाईमा जुटे महिला

- गोकर्ण गौतम

धेरै पनि भएको छैन, नामटार–१, निम्तीटोलकी सिता हटुवाललाई एक गांग्रो खानेपानी लिन २० मिनेट हिड्नुपर्ने बाध्यता थियो । तर वर्ष अगाड उनको घर छेउमै धारा आयो । मुहानबाट प्रशोधित गरि ल्याइएको पानी धारामा चौबिसै घण्टा आउँछ । त्यसैले उनी दंग त छिन् । तर उनी खुशी भएको कारण भने खानेपानीको सहज उपलब्धताले मात्र होइन, बरु सरसफाईमा आएको चेतनाले सिता थप फुरुंग बनेकी हुन् । “पहिले पानी मात्र पाए सबथोक हुन्थ्यो जस्तो लाग्थ्यो,” सिताले सुनाइन्, “तर अहिले घर, आँगन र समाज सबै सफा राख्नु पर्छ, तब मात्र स्वस्थ भइन्छ भन्ने महसुस भएको छ ।” त्यसैले त आफ्नो धारा वरपर र घर सफा गर्न उनी आफैं कम्मर कसेर लागेकी छन् । उनी धारा स्वयम: सेविका समेत हुन् ।

नामटार–५, घैराङकी ठूलीमाया दोङ पनि धारा स्वयम: सेविका हुन् । अब स्वयम: सेविका नै भएपछि घर र समाज सफा राख्न उनी अग्रसर त हुने भइहालिन् । एकातिर खानेपानी नजिकै उपलब्ध हुनु, अर्को तिर सरसफाई प्रति सचेतना बढनुले नामटारको स्वरुप नै फेरिएको छ । त्यसमा पनि अझ सकारात्मक परिवर्तन के देखिएको छ भने सरसफाई अभियानमा महिलाले नेतृत्व लिएका छन् । ठूलीमायाको घर भएको क्षेत्रमा २६ धारा छन्, जसमध्ये ७ वटामा मात्र पुरुष स्वयम: सेवक छन् । बाँकी १९ धारा र वरपरको क्षेत्रको सरसफाईमा महिलाले नेतृत्व लिएका छन्. । त्यस्तै, सिताको गाउँका २५ मध्ये १८ धारामा महिलाको संरक्षण र सरसफाईको जिम्मा महिलाले नै लिएका छन् । वाटरएड्को साझेदारीमा नेपाल स्वास्थ्यको लागि पानी (नेवा)को सक्रियतामा नामटारमा धारा बन्नुको साथै सरसफाई प्रति सचेतना आएको छ । “महिला सरसफाईमा अग्रसर हुँदा गाँउको मुहार नै फेरिएको छ” नेवाकी सरसफाई सहजकर्ता लक्ष्मी थापा भन्छिन्, “किनभने उनीहरुले जानेको कुरा परिवारका सबै सदस्य र आफन्तलाई पनि सिकाउँछन् ।” उनका अनुसार यस भेगमा प्रत्येक घरमा फोहोर फाल्ने खाडल, भाडा सुकाउने ठाउँ र स्ल्यावसहितको छुट्टै बाल्टी समेत छ ।  

नामटारको खानेपानीको उपलब्धता र सरसफाईमा महिलाले खेलेको नेतृत्वदायी भूमिका धेरैका लागि सामान्य हुनसक्छ । तर यसको बहुआयामीक प्रभावका बारेमा कमैको मात्र ध्यान पुग्छ । खानेपानीमा ८६ प्रतिशत र सरसफाईमा ८५ प्रतिशत जनताको पहुँच पुराइएको सरकारी दाबी छ । भलै यो तथ्यांकमा विकास साझेदारहरु सहमत छैनन् । अनि सन् २०१७ सम्म सबै जनतालाई शुद्ध खानेपानी पुराउने सरकारको लक्ष्य छ । नयाँ संविधानमा स्वच्छ खानेपानी र सरसफाइमा पहुँचलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ तर सोही अनुरुप सरकारले सक्रियता नलिदा यो लक्ष्य पुरा नहुने सम्भवना छ । त्यसैले साझेदार संस्थाहरुको सहयोग र स्थानीयको सहभागीतामा खानेपानी तथा सरसफाईमा प्रगती गर्नु आफैंमा सकारात्मक परिवर्तन हो । सहजकर्ता थापाको भनाई छ, “नामटार त एउटा नमूना मात्र हो, त्यसैगरी अन्य क्षेत्रमा पनि खानेपानी र सरसफाईमा सचेतना आउने हो भने सरकारी लक्ष्य पुरा हुनुका साथै टिकाउ पनि हुन्छ ।” 

 

 

प्रकाशित: चैत्र ३, २०७२