अनमोलकै भरमा 'ड्रिम्स'

- गोकर्ण गौतम

अनमोल केसी यो समयका सबैभन्दा बढी स्टारडम भएका हिरो हुन् । यसमा शंकै छैन । शंका केमा पनि छैन भने उनको स्टारडमको राज अभिनय कौशल होइन, चकलेटी लुक्स मात्र हो । होस्टेल र जेरीपश्चात् चुलिएको अनमोलको क्रेजले यस्तै देखाउँछ । तेस्रो फिल्म ड्रिम्ससम्म आइपुग्दा उनको यही नियतिले निरन्तरता पाएको छ । ड्रिम्सको न कथ्य संरचना बलियो छ, न अनमोलको अभिनय नै जीवन्त ।

तैपनि, हलमा थेगिनसक्नु भीड छ, त्यसमा पनि नेपाली फिल्म भन्नासाथ नाक खुम्च्याउने प्लस टू पुस्ता ! लोभलाग्दो व्यापार गरेर ड्रिम्सले एउटा अपेक्षा त पूरा गर्‍यो तर भुवन केसीको निर्देशन हुनाले अनमोलको काम र गुणस्तर उकास्न भने फिल्म चुकेको छ । कमजोर पटकथा, धीमा गति र प्रस्तुतिले ड्रिम्सलाई औसतभन्दा मुनि राखेको छ । प्राविधिक अब्बलता फिल्मको मेरुदण्ड हो ।

फूलबारी रिसोर्टका मालिक अभिरप्रताप राणा (अनमोल) र उसकी प्रेमिका काव्या (साम्राज्ञी राज्यलक्ष्मी राणा)को वरपर घुमेको छ ड्रिम्स । दुवै सन्काहा र घमन्डी छन्, तैपनि, प्रेममा पर्छन् । उनीहरूको लोभलाग्दो सम्बन्धमा कालो ग्रहण तब लाग्छ, जब अभिरले काव्या दुर्घटनामा परेर मृत्यु भएको सपना देख्छ । काव्या र परिवारलाई सपना सुनाउँछन्, कोही पत्याउँदैनन् तर अभिरमा आफ्नो सपना सत्यमा बदलिने डरले डेरा जमाउँछ । त्यसैले, जसरी पनि काव्यालाई बचाउने ध्याउन्नमा लाग्छ । ऊ सफल हुन्छ वा असफल, यो थाहा पाउन भने फिल्म नै हेर्नुपर्छ । यत्ति हो कि, आक्कलझुक्कल फिल्म हेर्नेले पनि यसको क्लाइमेक्स मध्यान्तरको केही मिनेट बित्न नपाउँदै अनुमान लगाउन सक्छन् ।

यदि तपाईंले सन् २००४ मा रिलिज भएको हलिउड फिल्म इफ वन्ली हेर्नुभएको छ भने ड्रिम्स हेर्ने कष्ट नगर्नु नै ठीक । किनभने, ड्रिम्सको कथासार इफ वन्लीसँग ठ्याक्कै मेल खान्छ । फरक कति मात्र हो भने ड्रिम्समा हिरोइनलाई अनाथ बनाइएको छ र सुरुआती दृश्यमा अभिरलाई ‘हिरो’ बनाउन जबरजस्ती एउटा गुन्डा घुसाइएको छ । हिरोको छवि र कथाको बहाव उकास्न भिलेनको प्रयोग गरिएको हुन्छ । तर, ड्रिम्सको भिलेन फिल्मको मूल कथासँग खासै सरोकार राख्दैन । जबकि, उसलाई पटक–पटक केटीमाथि दुव्र्यवहार गरेको देखाइन्छ । त्यसैले, सुरुआती २० मिनेट झेल्नै मुस्किल पर्छ । पात्रको निश्चित उद्देश्य र त्यो प्राप्तिका खातिर पात्रले गर्ने संघर्ष पटकथामा बुन्न सकिएको छ । फिल्मको केन्द्रीय कथाका विषयमा पटकथाकार सामीप्यराज तिमल्सिना स्वयं अलमलमा देखिन्छन् । अधिकांश संवाद विन्यासमा गुगलको सहायता लिइएको छ ।

कथा र दृश्यमा रोमाञ्चकता सिर्जना गर्न नसके पनि निर्देशक भुवनले पैसा र दिमाग दुवै लगानी गरेका छन् । लोकेसन, सिनेमाटोग्राफी, पृष्ठभूमि संगीत र कलाकारका पहिरन यति सुन्दर छन् कि कथामा महत्त्व नहुने दृश्य हेर्दा पनि दर्शकको आँखा बिझाउँदैन । पुरुषोत्तम प्रधानले जादुयी शैलीमा मुस्ताङलाई पर्दामा उतारेका छन् । मन छुने संगीत फिल्मको अर्को मजबुत पक्ष हो । गीत त राम्रो छ नै, त्यसको सदुपयोग सही ठाउँमा गरिएको छ ।

अनमोलको अनुहार जस्तै अभिनय सुन्दर हुँदो हो त फिल्मको वजन चुलिन्थ्यो । संवाद बोल्ने शैली र हाउभाउ अघिल्ला फिल्मभन्दा रत्तिभर सुधारेका छैनन् उनले । अनमोलको स्टारडमकै भर परेका छन् निर्देशक भुवन । बरू, साम्राज्ञीको लुक्स र अभिनय दुवै ‘सरप्राइज’ लाग्छ । पहिलो फिल्म भईकन पनि हरेक दृश्यमा परिपक्वता झल्किएको छ । उनले आफूलाई सम्भावना बोकेकी अभिनेत्रीका लहरमा दर्ज गराएकी छन् ।

अनमोलका डाइहार्ट फ्यानबाहेकले ड्रिम्स हेर्दा निराश मात्र हुनुपर्छ किनभने फिल्मको मुटु मानिने पटकथा नै एकातिर चोरिएको, अर्कोतिर सुस्त र अलमलिएको छ । 

रेटिङ: २/५

प्रकाशित: चैत्र १, २०७२