निजी स्कुल बाइबाइ

  • अभिभावक र विद्यार्थीको रोजाइ सामुदायिक विद्यालय

- जितेन्द्र साह

जनपथ टोल, विराटनगरकी निरु गौतम एक वर्षअघिसम्म तीन छोराछोरीलाई स्थानीय निजी विद्यालयमा पढाउँथिन् । विराटनगर–४ स्थित पोखरिया उच्च माध्यमिक विद्यालयमा निकै कम शुल्कमा अंग्रेजी माध्यममै राम्रो पढाइ भइरहेको थाहा पाएपछि ढिलो नगरी तीनै सन्तानलाई सारिदिइन् ।

निजी विद्यालयमा उनले छोराछोरीका लागि वार्षिक झन्डै ७२ हजार रुपियाँ खर्चिनु पथ्र्यो । अहिले उनले वार्षिक २४ हजार रुपियाँ शुल्क मात्र बुझाउनु परेको छ । वचत हुने रकमले ट्युसन र पछि कलेज पढाउने योजना उनको छ ।

मोरङका दुई सहायक जिल्ला शिक्षा अधिकारी र दुई विद्यालय निरीक्षकका चार छोराछोरी उक्त सामुदायिक विद्यालयमा पढिरहेका छन् । एक विद्यालय निरीक्षकका छोराले त्यहीँबाट प्रथम श्रेणीमा एसएलसी गरी प्लस–टू पढिरहेका छन् । “मेरी छोरी र सहकर्मी मित्रका बालबालिका पनि सामुदायिक विद्यालयमै पढ्छन्,” मोरङका सहायक जिल्ला शिक्षा अधिकारी राम ढुंगेल भन्छन्, “परिवर्तनको सुरुआत आफैँबाट गर्ने हो ।”

विराटनगरका सम्पन्न अभिभावकका छोराछोरी पनि उक्त विद्यालयमा पढ्छन् । विद्यार्थी संख्या घट्न नदिन, अनुभवी शिक्षकमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्न र प्रतिस्पर्धामा टिक्न मोरङका थुप्रै सामुदायिक विद्यालय अभिभावकको रुचि अनुरूप अघि बढ्न थालेका हुन् ।

निजी क्षेत्रबाट सञ्चालित विद्यालयको दाँजोमा निकै कम खर्चमा सरकारी विद्यालयमै अंग्रेजी माध्यममा पढ्न र पढाउन पाएपछि अभिभावक एवं विद्यार्थी दुवै दंग छन् । थुप्रै सरकारी विद्यालयले १ देखि ५ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन गराइरहेको ढुंगेल बताउँछन् । भन्छन्, “हामीले प्रोत्साहन मात्र गरेका हौँ, यसको सम्पूर्ण श्रेय विद्यालय व्यवस्थापन र अभिभावकलाई जान्छ ।”

विराटनगरमा सबैभन्दा पहिले पोखरिया उच्च माध्यमिक विद्यालयले दुई वर्षअघि कक्षा ८ र ९ का लागि अंग्रेजी माध्यममा छुट्टै बिहानी कक्षा सुरु गरेको हो । उक्त विद्यालयबाट ०७१ सालको एसएलसीमा अंग्रेजी माध्यमबाट जाँच दिएका ४१ जनामध्ये ६ जना विशिष्ट श्रेणीमा र ३५ जना प्रथम श्रेणीमा उत्तीर्ण भए ।

उक्त विद्यालयले दिउँसो नेपाली माध्यममा पढाइ गराउँछ । यसमा निम्न वर्गीय परिवारका विद्यार्थी पढ्छन् । यस विद्यालयमा ०७१ सालको एसएलसीमा नेपालीबाट जाँच दिने १ सय ८ विद्यार्थीमा १३ प्रथम श्रेणीमा र ४३ जना द्वितीय श्रेणीमा उत्तीर्ण भए । उक्त विद्यालयमा बिहानीपख अंग्रेजी माध्यममा सञ्चालित कक्षा ६ देखि १० सम्म ४ सय २ छात्रछात्रा अध्ययनरत छन् ।

चाप बढेर कक्षा ७, ८ र ९ मा दुई सेक्सन चलाउनु परेको उक्त विद्यालयका प्राचार्य खेम भट्टराई सुनाउँछन् । यसपटकको एसएलसीमा त्यहाँबाट ८७ जना अंग्रेजी माध्यमबाट र १ सय ३१ जना नेपालीबाट परीक्षा दिन गइरहेका छन् । अंग्रेजीबाट पढ्न चाहनेले विद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

५६ वर्षअघि स्थापना भएको उक्त विद्यालय अहिले मोरङकै सरकारी शिक्षण संस्थाका लागि उदाहरणीय बन्न पुगेको छ । खस्कँदो शैक्षिक स्तरका लागि अक्षम शिक्षक नै दोषी भएको आरोप लाग्न थालेपछि स्थानीय अभिभावकको दबाबमा यस्तो पाइला चालिएको भट्टराईको कथन छ । “एसएलसीको परिणाम आउँदा शिर निहुराएर वा लुकेर हिँड्ने अवस्थामा परिवर्तन आएको छ,” भट्टराई भन्छन्, “अहिले राम्रा निजी विद्यालयबाट बच्चा निकालेर हाम्रो विद्यालयमा पढाउन अभिभावकले रुचि देखाउनुको कारण पनि यो हुन सक्छ ।” 

भाषाका कारण नभई शिक्षा नीति, सामाजिक एवं पारिवारिक कारण नेपाली माध्यमबाट प्रवेशिका परीक्षामा सहभागी हुनेको परिणाम खराब आउने गरेको भट्टराईको अनुभव छ । बालबालिकाले बीचमै पढ्न छाड्ने हुनाले सामुदायिक विद्यालयमा अनुत्तीर्ण गराउन नहुने नीति छ । शिक्षकको दरबन्दी जोगाउन पनि विद्यार्थी उत्तीर्ण गराउनैपर्ने सामुदायिक विद्यालयको बाध्यता छ ।

निजी क्षेत्रबाट सञ्चालित विद्यालयमा पढाउन नसक्ने विपन्न र पिछडा वर्ग सामुदायिक विद्यालयमा आउँछन् । सामुदायिक विद्यालयमा अंग्रेजी भाषामै पढाइ हुन थालेपछि उच्च, मध्यम र निम्न मध्यमवर्गीय परिवारले राहत महसुस गरेका छन् । “अंग्रेजी पढ्नलाई बढी पैसा तिर्नुपर्ने मानसिकताले निजी विद्यालयको व्यापार बढेको हो,” भट्टराई भन्छन्, “तर, परिणाममा अंग्रेजी र नेपाली भाषाभन्दा घरायसी वातावरणले असर पार्छ, भाषाले केही गर्दैन ।”

स्थानीय अभिभावकसँगकै सल्लाह एवं आर्थिक सहयोग अनुरूप निजी विद्यालयभन्दा पाँच गुणा कम शुल्कमा उक्त विद्यालयले अंग्रेजीमा शिक्षा दिइरहेको छ । उक्त विद्यालयले अंग्रेजी माध्यममा कक्षा ६/७ का विद्यार्थीबाट वार्षिक सात हजार रुपियाँ शुल्क सहयोगका रूपमा लिन्छ । प्रतिविद्यार्थी कक्षा ८ मा आठ हजार, कक्षा ९ मा नौ हजार र कक्षा १० मा १० हजार रुपियाँ वार्षिक शुल्क लिन्छ ।

विराटनगरकै भृकुटीचोकस्थित सत्यनारायण उच्च माविले पनि न्यूनतम शुल्क लिएर गत वर्षदेखि ६ देखि ९ कक्षासम्मको पठनपाठन अंग्रेजी माध्यममै गराइरहेको छ । ती कक्षामा अध्ययनरत १ सय ३१ जनामा अधिकांश नाम चलेका निजी क्षेत्रका विद्यालय छाडेर आएका हुन् । “घर नजिक भएकाले आउन सजिलो, राम्रो सुविधा, उत्कृष्ट शिक्षक र शिक्षा पाउने देखेर यहाँ पढ्न आएँ,” कक्षा ७ का मनोजकुमार राय भन्छन् ।

सत्यनारायण उच्च माविले नेपाली माध्यममा पढ्नेका लागि बिहान र अंग्रेजीकाको हकमा दिउँसो कक्षा सञ्चालन गरिरहेको छ । आफू सरकारी विद्यालयमा पढाउने र छोराछोरीलाई निजीमा पठाउने परम्पराविपरीत शिक्षक एवं प्रधानाध्यापकले समेत छोराछोरी यहीँ पढाइरहेका छन् । उक्त विद्यालयका प्राचार्य धर्मानन्द खरेल भन्छन्, “प्रतिफल राम्रै पाएका छौँ । विद्यालयको स्रोत र अभिभावकको आर्थिक सहयोग मात्रै पर्याप्त हुन्न । अब सरकारले पनि लगानी गर्नुपर्छ ।”

विराटनगरको पानीटंकीस्थित राधाकृष्ण माविमा समेत ६ देखि ८ कक्षासम्म अंग्रेजी माध्यमबाटै पढाइ भइरहेको छ । अन्य सरकारी शिक्षण संस्थाको अनुशरण गर्दै यहाँको ८६ वर्ष पुरानो आदर्श विद्यालयले समेत हरेक वर्ष एक खुड्किला बढ्ने गरी गत वर्षदेखि १ कक्षामा नेपालीबाहेकको विषयमा अंग्रेजी माध्यममा पढाइरहेको छ ।

यो विद्यालयमा गत वर्षदेखि नै २, ३, ४ र ५ कक्षाको पाठ्यक्रम आंशिक अंग्रेजीमै छ । ती कक्षामा विज्ञान तथा गणितको अध्यापन अंग्रेजीमै भइरहेको छ । विद्यालयका प्राचार्य दुर्गाप्रसाद चुडाल भन्छन् । “यहाँ अंग्रेजी कक्षामा नेपाली बोल्न पाइन्न । अंग्रेजी माध्यममा पढ्न चाहनेका लागि आफ्नै भवनमा छुट्टै कक्षा सञ्चालनको प्रबन्ध मिलाएका छौँ ।”

उक्त विद्यालयले यो नयाँ शैक्षिक सत्रदेखि छुट्टै पूर्णतया अंग्रेजी माध्यममै पढाउने गरी कक्षा ५ देखि कक्षा ९ सम्म नयाँ भर्ना लिने भएको छ । विद्यालयभित्र र बाहिरका इच्छुक विद्यार्थीले प्रवेश परीक्षामार्फत भर्ना पाउंने चुडाल सुनाउँछन् । उनी शिक्षक तालिम केन्द्रको अंग्रेजी प्रशिक्षकको पद त्यागेर यहाँ सरुवा भएका हुन् ।

उक्त विद्यालय र केन्द्रको परिसर एउटै छ । सरकारी विद्यालयका शिक्षकका लागि ब्रिटिस काउन्सिलले तयार पारेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा कसरी पढाउने भन्ने तालिमको पाठ्यक्रम छ । उक्त विद्यालयका चार शिक्षकले यो तालिम पाएका छन् । स्थानीय विद्यालयका शिक्षकलाई चार वर्षका दौरानमा पाँचपटक तालिम गराइसकेको चुडाल बताउँछन् ।

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने फाइदाबारे अभिभावकलाई थाहा नभएकाले पनि निजी विद्यालयतर्फको अन्धो दौडमा लागेको उनको अनुभव छ । कक्षा ८ को जिल्लास्तरीय र एसएलसी सामुदायिक विद्यालयबाट पढेकाले पछि विभिन्न छात्रवृत्ति र प्रतिस्पर्धामा प्राथमिकता पाउँछन् । “पहिला अंग्रेजीमै पढाइ नहुने भएर निजी क्षेत्रबाट सञ्चालित बोर्डिङ स्कुलतर्फ गए, अब विकल्प भएपछि अरूतिर किन जाने ?” चुडालको प्रश्न छ । 

प्रकाशित: फाल्गुन २२, २०७२