प्रलाद योञ्जनको हरियो साइकल

  • राजनीतिमा सायद नायकहरू लोप नै भइसके । तर, संरक्षणमा प्रलाद योञ्जनजस्ता दुर्लभ रोल मोडल अझै भेटिन्छन् ।

- रोशन शेरचन

सपनामा संरक्षणविद् प्रलाद योञ्जनलाई साइकल चढेर कतै जाँदै गरेको देखेँ । साइकल हरियो रंगको थियो । सपना श्यामश्वेत हुन्छ कि रंगीन ? विपनाकै प्रक्षेपण भएकाले सायद सपना रंगीन हुन्छ तर कहिल्यै सम्झन सकिएन । तर, मनले ढिपी कस्यो, त्यसको रंग हरियो नै छ । ३१ अक्टुबर सन् २०११ । साइकलमा घर फर्किरहेका योञ्जनलाई बल्खुनेर ट्रकले ठक्कर दियो र एउटा दु:खद अवसानले जन्म लियो ।

काठमाडौँका सडक कुनै पनि सवारीमैत्री छैनन् । पैदलयात्रु र साइकलका निम्ति त भयंकर शत्रु लाग्छन् । वातावरणमैत्री साइकलप्रतिको असीम विश्वासले होला, योञ्जन मृत्युपर्यन्त पनि साइकलै चलाइरहेका थिए । प्रदूषणमुक्त वातावरण उनको अभियान थियो । हरियो उनलाई प्रकृतिले दिएको रंग थियो । साइकलमा पनि योञ्जन जायन्ट देखिन्थे । मानौँ, रथमा चढेका हुन् । उनको निष्ठा र सौर्यको उचाइ कता हो कता, आकाश छुने खालको थियो । अचेल बरू महिनैपिच्छे अन्तर्राष्ट्रिय सेमिनारमा उड्ने विज्ञहरूतिर नियाल्नुपर्छ, अधिकांश खिइएर होचो हुँदै गएको देखिन्छ ।

राजनीतिमा सायद नायकहरू लोप नै भइसके । तर, संरक्षणमा प्रलाद योञ्जनजस्ता दुर्लभ रोल मोडल अझै भेटिन्छन् । साइन्सको संकथनभन्दा पर्तिर गएर गुड साइन्स र ब्याड साइन्सको कुरा गर्ने योञ्जनलाई पहिलोपटक मैले घान्दु्रकमा देखेको थिएँ ०५२/०५३ तिर । एक्यापको व्यवस्थापन योजना बनाउने सिलसिलामा उनी घान्द्रुक आएका थिए । भर्खर एक्याप छिरेको म जागिरको मायावी कम्फर्टमै रुमल्लिरहेको थिएँ । घान्द्रुकको प्राकृतिक रम्यतामा मेरो रुमानी उमेर थाहै नपाई बितिरहेको थियो । भयानक स्वप्निल थिएँ । अन्नपूर्ण साउथ र माछापुच्छ्रेसँग संलाप गर्थें । निमेषभरमै, पैयूँको फूलसँग उडेर लेकबेँसी गर्थें ।

समुदायकेन्द्रित संरक्षणको जन्मथलो हो, घान्द्रुक । यसमा चन्द्र गुरुङ, मिङ्मा शेर्पा र पहिलो पुस्ताका संरक्षणकर्मीहरूको अतुलनीय योगदान छ । तर, स्थानीय नेतृत्वकर्ताहरूमा बिर्सन नहुने मीनबहादुर गुरुङ नै हो । सधैँ धोती–कछाडमा देखिने दृढ निश्चयी गुरुङको कुशल नेतृत्व क्षमता एक्यापले नपाउँदो हो त, एक्यापको मात्र होइन, समुदायकेन्द्रित संरक्षणको भविष्य नै के हुन्थ्यो, भन्न कठिन छ । त्यसपछाडिको विज्ञान खोजिएकै छैन । एक्यापले संरक्षण समितिसँग योञ्जनको टिमको छलफल राखेको थियो । अन्तरक्रियामा योञ्जनका खरो र प्रस्ट विचार सुनिसकेपछि भिन्न अनुभव भएको सम्झना छ । योञ्जन र गुरुङ दुई टाइटनबीचको संवाद सम्भँmदा अझै तरंगित हुन्छु ।

समथर भूभागको जनावर भनी चिनिएको पाटे बाघलाई भुटानको थ्रुम्सिङलामा तीन हजार मिटरभन्दा माथि भेटिएको तस्बिरको प्रमाण जुटाएपछि योञ्जनको परिचय व्यापक बन्यो । उक्त खोजले सनसनी नै मच्चाएको थियो । पाटे बाघको उक्त होमरेन्ज आश्चर्यजनक थियो । तर, नेपाली मूलको भएकैले भुटानका सरकारी अधिकारी र वैज्ञानिक समुदायले त्यसको श्रेय योञ्जनलाई दिन कन्जुस्याइँ गरे । भुटानमा उनले झन्डै चार वर्ष काम गरे । भुटानका अलावा भियतनाम, सिक्किम र इन्डोनेसियामा पनि जैविक विविधताको अनुसन्धानमा उनी लागे । के कारण हो, नेपालले योञ्जनको विज्ञताबाट धेरै लिन चुके । करिब ३५ वर्ष उनी निरन्तर जैविक विविधताको क्षेत्रमा समर्पित रहे ।

०५५/०५६ सालतिर होला, काठमाडौँ आउँदा एकदिन मनमा अकस्मात् उनलाई भेट्ने विचार उठ्यो । फोनमा के भन्ने ? मन द्विविधाग्रस्त बन्यो । समय देलान् त ? प्रश्न अररो उभियो । भेट्न चाहन्छु भन्ने नि, सकारात्मक मन बोल्यो । फोन गरेँ । मेरो शंकाको विपरीत उनले सहज रूपमा आउनु मात्र भनेनन्, अफिसको लोकेसन पनि बताए ।

कुमारीपाटीको सडकछेवैबाट केही मिनेट दक्षिणी गल्ली हिँडेपछि उनको अफिस आइपुग्थ्यो । शान्त अफिसमा उनका कुराकानी सुनेर फर्कंदा गहिरो उत्प्रेरणाले भरिएँ । दुई–चार वर्षको अन्तरालमा सायद चार–पाँचपटक भेटे हुँला । तर, त्यसको प्रभाव जहिल्यै गहिरो पाउँछु । काठमाडौँ आउँदा अफिस काम सकिएपछि मेरो नियमित कार्यसूची हुन्थ्यो । पहिलो, कवि ईश्वरबल्लभलाई भेट्ने । दोस्रो, संरक्षणविद् प्रलाद योञ्जनलाई ।

उनी देशको राजनीति, गरिबी र प्राकृतिक स्रोतको अन्तरसम्बन्धमा आफ्ना धारणा र अनुभव सुनाउँथे । म कहिले दकस मान्दै, कहिले खुल्दै प्रश्न र विचार राख्थेँ । टेबलछेवैमा लस्करै राखिएका पुस्तकले मेरो नजर तानिहाल्थे । साहित्यपठनले द्रूत गति लिएको काल थियो त्यो । फर्कंदा संस्थाबाट प्रकाशित अनुसन्धानात्मक लेखका प्रतिहरू दिन्थे । १६/१७ वर्ष बितिसकेछ । उनका अनुभव र विचार सुनेको । छेवैमा बसेर चिया पिएको । अचेल के सोचेर छक्क पर्छु भने उनीजस्तो कहलिएको विज्ञले मलाई कसरी एकाध घन्टा नै दिए ? अर्जेन्ट कामको पछि हस्याङफस्याङ दौडनेको संख्या बाक्लँदै गर्दा उनलाई सहजै भेट्न पाउनुले आफूलाई भाग्यशाली सम्झन्छु ।

उनले लेख पठाउनु भनेका थिए । त्यसताका साहित्य र स्वैरकल्पनामा रमिरहेको मैले तथ्यपरक लेख लेख्न सकिनँ । एक्यापका डाँडाकाँडै घुम्नमै बिताएँ । तर, रिसोर्सेस हिमालयको ‘ह्याबिटाट हिमालय’ प्रकाशन नियमित पढ्थेँ । हुलाकबाट त्यो नियमित पाउँथेँ । अध्ययन अनुसन्धान मात्र गर्ने होइन, संरक्षणको पुस्ता नै तयार गर्ने उनको लक्ष्य रहेछ भन्ने धेरै पछि मात्र थाहा पाएँ । निधन भएको सायद १३ दिनमा, नयाँबाटो ललितपुरस्थित रिसोर्सेज हिमालयको कार्यालयमा म पनि पुगेको थिएँ । सम्पूर्ण वातावरण शोकाकूल थियो । नयाँ पुस्ताका तन्नेरीहरूको बाहुल्य थियो । कार्जेमा सघाइरहेका ।

संरक्षणतर्फ फ्रेस ग्रायजुएटलाई अभिमुख गराउन योञ्जनले म्याकआर्थर पुरस्कारको ३ लाख ५० हजार डलर धनराशि रिसोर्सेस हिमालयको कार्यालयको निर्माणमै खर्चेछन् । एक वाक्यमा भन्दा उनले मेन्टरिङलाई सपना बनाएका रहेछन् । दुर्लभ हाब्रेको अनुसन्धान गर्ने उनी पनि हाब्रेझैँ दुर्लभ व्यक्तित्व हुन् भन्दा गलत हुँदैन ।

नेपालमा विज्ञहरू आफ्नो विषयमा बाहेक अरू सबैमा विज्ञ हुन्छन्, एउटा साथीले गरेको मजाकमा म आंशिक होइन, धेरै सत्य पाउँछु । जुनसुकै गोष्ठी, सेमिनारमा केही थान विज्ञहरू प्रायश: देखिन्छन् । वाक चातुर्य देखाइरहेका । कार्यपत्र प्रस्तुत गरिरहेका । उही कुरा दोहोर्‍याइरहेका । मौलिक विज्ञहरू त्यस्ता गोष्ठी र सेमिनारमा कमै जान्छन् । उनीहरू होहल्ला नगरी बरू अध्ययन/अनुसन्धानमै व्यस्त हुन्छन् । त्यस्ता पपुलिस्ट गोष्ठी र सेमिनारमा समय खर्चनुभन्दा योञ्जन इच्छुक व्यक्तिलाई अनुभव बाँड्दा र प्रेरणा दिँदा संरक्षणलाई दीर्घकालमा टेवा पुग्छ भन्ने सोच्दोरहेछ भन्ने लाग्छ ।

हरेक प्रोफेसनको मौलिक रंग र आनीबानी हुन्छ । जैविक विविधता र वातावरण संरक्षणको रंग हरित छ । आनीबानी अनौपचारिक, हक्की र खस्रो । हरित क्षेत्रको व्यक्तिले साइकल चढेन भने, पानी र ऊर्जाको फारो प्रयोग गरेन भने र फिल्डलाई हृदयको नजिक राखेन भने ऊ हरित पाठशालाको फेल विद्यार्थी हो ।

बैंकर भए पो टाई मिलाउँदै ब्यालेन्स सिटमा घोरिरहने । वकिल भए पो कालो कोट लगाएर कानुनका ढड्डामा घोटिरहने । संरक्षणकर्मीको त ल्याबोरेटरी नै समाज हो । इकोसिस्टम हो । प्राकृतिक स्रोत र मान्छेबीचको अन्तरसम्बन्ध हो । संरक्षणकर्मी त प्रकृतिकर्मी हो । जुत्ताको फित्ता कसेर, ह्याट लगाएर, ब्याकप्याक र टुमलेट बोकेर फिल्ड कार्यमा जान अनकनाए केको संरक्षणकर्मी ? अहिले त वन पस्न नचाहने र माटो छुन नपरे हुन्थ्यो भन्ने संरक्षणकर्मी क्याम्पसबाट सर्टिफिकेट लिएर आयो र पो त यो क्षेत्रले आफ्नो नैसर्गिक पहिचान गुमाउन थाल्यो । अपवादलाई छाडेर, संरक्षणकर्मी समाजशास्त्री, मानवशास्त्रीभन्दा फरक हुन सकेन ।

’७० को दशकमा योञ्जनले चितवन राष्ट्रिय निकुञ्जमा स्मिथसोनियन इन्स्टिच्युटको बाघ संरक्षण परियोजनामा काम थालेछन् । कीर्तिमान तामाङको मातहतमा । तामाङ संसारकै पहिलो बाघ विशेषज्ञ । सुरुआती दिनको यो संस्मरण घान्द्रुक मेसमा सुनाउँदा कार्यालय प्रमुख गेहेन्द्र गुरुङ र धेरै कर्मचारी थिए । तरकारी खरिद गर्न एक दिन तामाङले उनलाई गाडीमा भरतपुर बजार लगेछन् । किनमेल सकिएपछि तामाङले उनलाई बोरा गाडीसम्म लग्न भनेछन् । सैनिक पिताले त काममा नखटाएको, तामाङले कजाएपछि रिसले चूर भइ जागिर नै छाड्नेसम्मको विचार गरेछन् । तर, पछि एउटा संरक्षणकर्मीले फिल्डमा जे पनि गर्नुपर्ने भएकाले तालिमै भयो भनेर चित्त बुझाएछन् । सो अनुभव सुनाउँदा तामाङप्रति उनको आदरभाव झल्किन्थ्यो । त्यस्तै एकपटक तराईको राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सर्वेक्षण गर्दा बाटो बिराएर घना जंगलमा एक्लै रात कटाउनु परेको घटना पनि उत्तिकै रोचक छ ।

घरलाई समृद्ध बनाउन नसक्नेले राष्ट्रलाई समृद्ध बनाउँछ भनेर कसरी पत्याउनू ? हिँडाइको छाँटले नै कसले संरक्षणको क्षेत्रलाई आत्मसात् गरेको छ ? चाल पाइन्छ । बसेको छु काठमाडौँमा तर अन्नपूर्णका फिल्डहरू स्मृतिमा धेरै आइरहन्छन् । घान्दु्रक देउराली र घोरेपानीको गुराँसे जंगल, चित्रे फलाटेका खस्रुका वन, भुजुङको मिदिम खोलाको शिर, मुस्ताङको लहरे पीपल र बैँसका पोथ्रा सम्झिरहन्छुु । मेरो नोस्टालजियाको सघन र विराट जंगल हुर्काएर बसेको छ, एक्याप ।

तर, अचेल बेग्लै हावा चल्न थालेको छ । टुरिस्ट संरक्षणकर्मीको बिगबिगी छ । व्यावहारिक शिक्षा र अनुशासनको अभावमा पाठ्यक्रमका पृष्ठ मात्र पल्टाएका नवआगन्तुक फिल्डमा भन्दा तारे होटलका गोष्ठी र सेमिनारमा बिताउन मन गर्छन् । राजनीतिका जस्ता मनोगत कुरामा बढी भर पर्छन् । वाहन नभई डेग चल्दैनन् । माथिल्लो निकायसँग मात्र दत्तरदायी छन् । तल समुदायतिर उत्तरदायित्वबोध गर्दैन । तर, योञ्जन फिल्ड म्यान थिए । जंगलमै घर भेट्थे । ब्याकप्याक बोक्थे । अनुसन्धानमा घोरिन्थे । प्रकृति र समुदायको अन्तरसम्बन्धको सूक्ष्म निरीक्षण गर्थे । प्रकृतिलाई सम्मान गर्थे ।

गिटार बजाउँथे । गीत सुसेल्थे । कविता लेख्थे । खुराफात सहँदैनथे । स्पष्ट वक्ता थिए । उत्तिकै निर्भीक । साधारण जीवनशैली अँगालेका थिए । साइकलमै आउजाउ गर्थे । त्यही नै मृत्युको कारण बन्यो । गाडीको स्टेरिङ समाएपछि संसार नै चलाएको छु भन्ने कुनै लाउके चालकको लापरबाहीको सिकार हुन पुगे उनी । लाउकेलाई सो दुर्घटनाले संरक्षणको क्षेत्रमा कति हानि पुग्यो, मतलब हुने भएन नै ।

निधन भएको यतिका वर्षपछि पनि योञ्जन जायन्ट नै छन् । जायन्टको नेपाली अर्थ भीमकाय हुन्छ । कायाले उनी जायन्ट होइनन् । उनी सानो काठीकै थिए । गुड साइन्सलाई प्रवद्र्धन गर्ने, आफ्नो क्षेत्रप्रति व्यवहारले समर्पित हुने र युवालाई पथप्रदर्शन गर्ने दृष्टिले उनी जायन्ट हुन् । अजंगको व्यक्तित्व ।

राष्ट्रिय जैविक विविधता कार्ययोजना २००२ उनकै नेतृत्वमा बन्यो । त्यसकै सेरोफेरोमा हाम्रो सन्दर्भमा आश्चर्य लाग्ने कुरा सुनेँ । कार्ययोजना निर्माण भएपछि झन्डै एक लाख डलर रकम बचेछ । त्यो रकम उनले दातृ निकायलाई फिर्ता गरेका थिए रे † कति सत्य हो ? थाहा छैन । असत्य हुन सक्दैन, मेरो विश्वास हो ।

एकपटक मैले उनलाई अलि उद्विग्न देखेँ । कसैसँग रिस उठेको तर आत्मनियन्त्रणलाई फुस्कन नदिन कठोर प्रयत्न गरिरहेको जस्तो । त्यस भेटमा उनले भनेको अझै सम्झन्छु, बर्खे झारहरूसँग लडिराख्नु हुँदैन । त्यसले समय र ऊर्जा मात्र नष्ट गर्छ । बर्खा सकिएपछि ती आफैँ हराएर जान्छन् ।

लाग्यो, जीवनमा प्रेरणा लिने र सचेत हुने कुरा हुँदा रहेछन् । सपनामा साइकल चलाएर योञ्जन कतै जाँदै थिए । गहिरिएर नियालेँ । रंग हरियो हुनाका कारण पत्ता लगाएँ । विजय सालको काठको फ्रेम जडित साइकलमा भोर्लाको पातको सिट र सल्लाको सुसाइको घन्टी बजाएर पो हिँड्दा रहेछन् योञ्जन । साइकलको हेन्डल प्रकृति संरक्षणको दूर क्षितिजतर्फ सोझिएको थियो र योञ्जनको जायन्ट आकृति बिस्तारै अग्रभागतिर सर्दै गइरहेको देखिन्थ्यो । 

प्रकाशित: फाल्गुन २०, २०७२