कांग्रेस महाधिवेसन: सर्वेक्षणमा जे पाइयो

- नारायण अमृत, रामबहादुर रावल

पहिचान समाजवाद

उत्तरदाताहरूमध्ये ५० प्रतिशत महाधिवेशन प्रतिनिधि कांग्रेस बीपी कोइरालाकै विचारलाई हुबहु लागू गरेको पार्टी ठान्छन् । ५१ देखि ६० को उमेर समूहमा यो धारणा अझ प्रबल (५३.३ प्रतिशत) छ । २५ देखि ४० को उमेर समूहमा पनि बहुमत जमात यही विश्वास गर्छ । 

६१ वर्षमाथिको पाको पुस्ताचाहिँ बीपीको विचार कमजोर हुँदै पुँजीवादतर्फ ढल्किएको (५१ प्रतिशत) ठान्छ । शैक्षिक स्तर बढ्दै जाँदा पनि कांग्रेसमा बीपीको समाजवादी विचारको अभाव खड्किएको महसुस गर्ने जमात पनि बढेको देखिन्छ । जस्तो कि, स्नातकभन्दा मुनिको शैक्षिक स्तर भएकाहरूमा बीपीको विचार विद्यमान रहेको ठान्नेको बहुमत छ भने स्नातकोत्तर गरिसकेकाहरूले कांग्रेसलाई मिश्रित विचार भएको पार्टीका रूपमा बुझेका छन् ।

सिद्धान्त एकातिर, व्यवहार अर्कैतिर

कांग्रेसको नेतृत्व, सरकार र सरकारमा सहभागी हुने नेताहरू आधारभूत विचार र सिद्धान्तको कसीमा खरो उत्रन सकेनन् । राणाशाही र पञ्चायतकालीन कठोर व्यवस्थाविरुद्ध संघर्ष गरेको, जेलनेल भोग्न तयार भएर त्यागी छवि बनाएको नेतृत्व क्रमश: सत्ता र शक्तिमा आशक्त हुँदै गएपछि कांग्रेसजनमा निराशा देखिएको छ । कार्यकर्ताले त्यही निष्ठावान्, त्यागी र आदर्श नेतृत्वको अपेक्षा गरिरहेका छन् । 

८० प्रतिशतभन्दा बढी कार्यकर्ताको ठम्याइ छ, कांग्रेसको नेतृत्व विचार र सिद्धान्त अनुसार चल्न सकेको छैन । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई तामेलीमा राखेर व्यक्तिहरू मनोमानी रूपमा चलेका छन् भन्ने सर्वाधिक ठूलो जनमत (४३.१ प्रतिशत) छ । विचार एकातिर, व्यवहार अर्कैतिर भएको भन्दै नेतृत्वको वैचारिक निष्ठामा प्रश्न उठाउनेको हिस्सा ३०.८ प्रतिशत छ ।

५० वर्षमुनिका कांग्रेस प्रतिनिधिमा २५ प्रतिशतले सन्तोष व्यक्त गरे पनि ५१ वर्षमाथिको उमेर समूह सबैभन्दा बढी (८९ प्रतिशत) असन्तुष्ट छ । शैक्षिक हिसाबले पनि जतिजति माथि गयो, उति नै नेतृत्वले विचार र सिद्धान्तप्रति घात गरिरहेको ठान्छ । स्नातकोत्तरहरूमध्ये ८.२ प्रतिशतले मात्र कांग्रेस नेतृत्व, उसको सरकार र सरकारमा जाने नेताहरूका क्रियाकलापमा सन्तोष व्यक्त गरेको पाइएको छ । जबकि, स्नातकोत्तरभन्दा माथिको शैक्षिक योग्यता भएका १८.३ प्रतिशत कांग्रेस प्रतिनिधिहरू सर्वेक्षणमा सहभागी थिए । 

नछाड बीपीपथ

अधिकांश प्रतिनिधिले आफूलाई सामाजिक उत्तरदायित्वसहितको बलियो राज्यको पक्षमा उभ्याएका छन् । कांग्रेसले समाजवादी वैचारिक पथ त्याग्न नहुने बहुमत (५३.९ प्रतिशत) प्रतिनिधिको सुझाव छ । त्यसो त समाजवाद र पुँजीवाद दुवैका विशेषतालाई ग्रहण गरी मिश्रित व्यवस्था अपनाउनुपर्ने मत पनि उल्लेख्य (२५.१ प्रतिशत) छ । तर, उदारवाद/पुँजीवादप्रतिको लगाव भने कांग्रेस कार्यकर्ताहरूमा निकै कमजोर (१०.२ प्रतिशत) देखिएको छ ।

कांग्रेसका सरकार र सरकारमा सहभागी हुने नेताहरूले सिद्धान्त अनुरूपका कार्यक्रम ल्याउन नसकेकामा असन्तुष्टि जाहेर गर्नुको कारणसँग यो धारणालाई केलाउँदा उदारवाद/पुँजीवादलाई बढावा दिने प्रकृतिका कार्यक्रम नरुचाएको मान्न सकिन्छ । समाजवादप्रतिको रुझान पछिल्लो पुस्तामा भने केही घट्दो देखिन्छ । तर, त्यसको विकल्पमा उनीहरूले उदारवाद नभई मिश्रित विचारलाई सुझाएका छन् ।

६१ वर्षमाथिका प्रतिनिधिमा ५८.८ प्रतिशतले अब समाजवादी विचार अपनाउनुपर्ने भनेका छन् भने २५ देखि ४० को उमेर समूहमा यस्तो विचार राख्ने ४९.३ प्रतिशत छन् । यही समूहमा उदारवादको पक्षमा ११.६ प्रतिशत प्रतिनिधि छन् भने मिश्रित व्यवस्थाको पक्षमा ३०.४ प्रतिशत । ४१ देखि ५० को उमेर समूहमा १२.३ प्रतिशतले नयाँ विचारको पक्षमा मत व्यक्त गरेका छन् । 

शैक्षिक स्तर अनुसार उत्तरोत्तर समाजवादप्रतिको झुकाव कम भएको देखिन्छ । उदारवादको पक्षमा सबैभन्दा बढी लगाव भएको समूह स्नातकोत्तर र त्यसभन्दा माथि पढेको (१८ प्रतिशत) छ, जुन समूहमा समाजवादको पक्षमा ४४.३ प्रतिशतले मत व्यक्त गरेका छन् । तर, यो समूहमा पनि समाजवादको विकल्पमा उदारवादभन्दा मिश्रित व्यवस्था भन्ने नै ठूलो हिस्सा (२६.२ प्रतिशत) देखिन्छ । मिश्रित व्यवस्था रोज्नेमा पुराना महाधिवेशन प्रतिनिधि (२१.४) को तुलनामा नयाँ प्रतिनिधि (२९.९) अगाडि छन् । तर, उदारवाद पक्षको मत भने पुराना र नयाँबीच खासै अन्तर छैन ।

अब आर्थिक एजेन्डा

पटकपटक राजनीतिक संघर्ष भए । व्यवस्थाहरू परिवर्तनका लागि पनि धेरै समय बित्यो । संविधान निर्माण र शान्ति प्रक्रियामै दशक बित्यो । अब कांग्रेस कार्यकर्ताहरू यस्ता राजनीतिक मुद्दामा धेरै समय खर्च नहोस् भन्ने पक्षमा छन् । यसलाई नयाँ संविधानका व्यवस्थाप्रतिको सन्तुष्टिका रूपमा पनि लिन सकिन्छ । उनीहरू (५७.२ प्रतिशत) आर्थिक विकासप्रति अधैर्य छन् र यसैका पक्षमा आफ्नो मत जाहेर गरेका छन् । यसमा नयाँ र पुराना महाधिवेशन प्रतिनिधिको मत करिब समान छ ।

अब कांग्रेसले राजनीतिक प्रणालीको सुधारमा केन्द्रित कार्यक्रम ल्याउनुपर्छ भन्ने (१६.८) जनमतचाहिँ राजनीति सप्रियो भने सबै कुरा ठीकठाक हुन्छ भन्ने विश्वास गर्छ । र, करिब यही आकारको जनमत (१५ प्रतिशत) छ, समाजिक मुद्दाहरूको सम्बोधनलाई कांग्रेसले मूल एजेन्डा बनाउनुपर्छ भन्ने । समाजमा पछि परेको क्षेत्र, समुदाय र जातिको मूलप्रवाहीकरणको आकांक्षा यसमा निहित छ किनभने आदिवासी जनजाति (१५.८), मधेसी (१७.९) र मुस्लिम (५३.८) समुदायबाट यो मत मुखर भएको छ । यद्यपि, यी समुदायको प्रमुख जोडचाहिँ आर्थिक मुद्दामै छ ।

एकातिर समाजवादप्रतिको रुझान, अर्कोतिर आर्थिक विकासको हतारो भएका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको सन्देश बुझ्न गाह्रो छैन, उनीहरूले आर्थिक विकासका नाममा ठूलठूला सपना साँचेका छैनन् । ठूला महल, महँगा गाडी, विलासी विकल्पहरूमा आमकांग्रेसजनमा चिन्ता छैन । सबैका आधारभूत आवश्यकता पूरा हुने व्यवस्थामा उनीहरूको जोड छ । त्यसकारण सामाजिक न्याय र समावेशी विकासको पक्षमा छन् उनीहरू । यसो भन्नेमा पनि ५० वर्षमुनिका प्रतिनिधिको आधिक्य (६० प्रतिशत) छ । एसएलसीमाथिको जनमत आर्थिक एजेन्डाको पक्षमा अझ सशक्त छ । रोजीरोटीका लागि विदेशिनु नपरोस् र आफ्नै मुलुकमा रोजगारीको वातावरण होस् भन्ने युवा उत्तरदाताको भनाइ छ । र, आमनेपालीको समकालीन स्वर पनि सायद यही नै हो ।

 

नेतृत्व र संगठन

कांग्रेसको नेतृत्व चयन प्रक्रियाप्रति अधिकांश प्रतिनिधि (५६ प्रतिशत) सन्तुष्ट छन् । तैपनि, निर्वाचनको क्रममा देखिएका विकृति–विसंगतिप्रति उल्लेख्य हिस्साले असहमति राखेको छ । ६१ वर्षमाथिका महाधिवेशन प्रतिनिधिमध्ये आधा हिस्साले मौजुदा प्रक्रिया चित्त बुझाउन सकेको छैन । २५ देखि ४० वर्षको उमेर समूहमा पनि बेठीक भन्ने जमात उपेक्षा गर्न नमिल्ने (४४.९ प्रतिशत) देखिन्छ । 

त्यसै गरी शैक्षिकस्तरका आधारमा हेर्दा १२ कक्षासम्म पढेकाहरू नेतृत्व चयन प्रक्रियामा सन्तुष्ट (५० देखि ७५ प्रतिशत) भए पनि प्राज्ञिक स्तर बढ्दै जाँदा असन्तुष्टिको पारो पनि बढेको छ ।

स्नातक पढेकामध्ये ४८.९ प्रतिशतले मात्र सन्तुष्टि व्यक्त गरेका छन् भने त्यसभन्दा बढी पढेकामा ५५.७ प्रतिशत प्रतिनिधि निर्वाचन प्रक्रिया सुधार्नुपर्ने ठान्छन् । त्यसै गरी पुराना प्रतिनिधिमध्ये अधिकांश (६०.४ प्रतिशत) अहिलेकै प्रक्रियाको निरन्तरताको पक्षमा छन् भने नयाँ मतदाताको आधा हिस्सा (५०.३ प्रतिशत)ले मात्र सन्तुष्टि जनाएको छ । 

नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि राख्नेमध्ये सबभन्दा ठूलो हिस्सा (२८.५ प्रतिशत) मौजुदा प्रक्रियाले पार्टीमा गुटगत विभाजन बलियो भएको ठान्छ । यसै गरी, इमानदार र क्षमतावान्हरू पाखा लाग्ने स्थिति पनि यही कारण बनेको ठान्नेहरू उल्लेख्य (२४ प्रतिशत) छन् । कांग्रेस कार्यकर्तामा यो प्रक्रियाप्रति वितृष्णा पैदा गर्ने तेस्रो ठूलो (१६.१ प्रतिशत) कारण बन्न पुगेको छ, निर्वाचनका क्रममा हुने आर्थिक चलखेल । विचार र मुद्दा ओझेल पर्दा (१३.१ प्रतिशत, परिवारवाद र वंशवादले प्रश्रय पाउँदा (११.७ प्रतिशत) पनि नेता–कार्यकर्तामा खिन्नता पैदा गरेको छ ।

निर्वाचन प्रक्रियामै असन्तुष्टमध्ये ठूलो हिस्सा (४३.१ प्रतिशत) क्रियाशील सदस्यले प्रत्यक्ष रूपमा मतदान गर्न पाउनुपर्ने ठान्छ । सांगठनिक संरचनामा हुर्किएका विकारबाट मुक्ति दिलाउने उपायका रूपमा उल्लेख्य जनमत (१९.७ प्रतिशत)ले विद्यमान मनोनयनको व्यवस्था हटाउन सुझाव दिएको छ । त्यसो त सबै साधारण सदस्यले मतदान गर्न पाउनुपर्ने आवाज पनि झीनो रूपमा (८.८ प्रतिशत) देखिन्छ । यी तीनै सुझाव कांग्रेसको नेतृत्व चयन प्रक्रियालाई अझ फराकिलो र थप सहभागितामूलक बनाउनुपर्ने कोणबाट प्रस्तुत भएका छन् । बहुमत (५१.६ प्रतिशत) नयाँ प्रतिनिधि प्रत्यक्ष मतदानकै पक्षमा छन् ।

देशको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेसभित्र नेतृत्वको कार्यकालका विषयमा पनि बेलाबेला चर्चा–परिचर्चा हुँदै आइरहेको छ । संगठनभित्र गति र ऊर्जा कायम गरिरहने सन्दर्भसँग जोडेर पनि यस्तो बहस हुने गर्छ । त्यसैले ‘नेतृत्वको कार्यकाल बढीमा कति हुनुपर्ला ?’ भन्ने प्रश्नमा सहभागीमध्ये अधिकले दुईपटकसम्म तोक्नु ठीक हुने मत दिएका छन् । ७४.३ प्रतिशत उत्तरदाताले दुईपटक, १०.२ प्रतिशतले एकपटक र १५ प्रतिशतले नेतृत्वको कार्यकाल तोक्नु हुँदैन भनेका छन् ।

प्यानल होइन, व्यक्तिलाई मत

पार्टीभित्र वैचारिक बहसलाई नै ओझेल पार्ने गरी झाँगिएको गुटबन्दीप्रति आमप्रतिनिधिहरूमा ठूलो असन्तोष पाइएको छ । ७८.१ प्रतिशत प्रतिनिधिले व्यक्ति हेरी मतदान गर्ने बताएका छन् भने प्यानललाई नै मत हाल्ने जम्मा १६.२ प्रतिशत छन् । प्यानललाई आधार मानी मतदान गर्नेमध्ये ५१ देखि ६० वर्ष उमेरका उल्लेख्य (२३.९ प्रतिशत) छन् । शैक्षिकस्तरमा पनि उत्तरोत्तर व्यक्तिको योग्यता र क्षमता हेरी मतदान गर्नुपर्ने पक्षको मत बढ्दो छ । स्नातकोत्तर गरेकामध्ये ८८.५ प्रतिशतले व्यक्ति हेरी मतदान गर्ने बताएका छन् । यो धारणा पुराना र नयाँ मतदातामा पनि करिब समान (७८.६ र ७७.६ प्रतिशत) छ ।

व्यक्ति हेरी मतदान गर्नेमध्ये सबैभन्दा बढी (६९.७ प्रतिशत)ले क्षमतावान् नेतृत्व स्थापित गर्ने र दोस्रो ठूलो संख्या (२५.७ प्रतिशत)ले गुटको भावना अन्त्य गर्नुपर्ने कारण दर्शाएका छन् । गुटबन्दी र भागबन्डाका कारण पार्टीमा विकृति बढेको, इमानदार र क्षमतावान् पाखा लागेको ठान्नेहरूसँगै यो मत पनि राखेर हेर्ने हो भने अबको कार्यसमितिमा संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको मिश्रित उपस्थिति हुने अनुमान गर्न सकिन्छ ।

प्यानललाई नै आधार मानेर मतदान गर्ने (१६.२ प्रतिशत)मध्येले चाहिँ एउटै टिमको हुँदा नेतृत्व प्रभावकारी हुने प्रमुख कारण (७५.९ प्रतिशत) दर्शाएका छन् भने पहुँच र अवसर सहज हुने भएकाले प्यानलमा मतदान गर्नेहरूचाहिँ १४.८ प्रतिशत छन् । अर्को प्यानल सक्षम छैन भन्नेहरू ५.६ प्रतिशत देखिए, जसले कार्यकर्ता तहमा रहेको समूह–समूहबीचको प्रतिद्वन्द्वितालाई इंगित गर्छ । 

युवामा सम्भावना

कांग्रेसभित्र युवाहरूको स्थानबारे उहिल्यैदेखि बहस भइरहेको छ । त्यसैले महाधिवेशन प्रतिनिधिहरूलाई सोधिएको थियो, ‘पार्टीभित्र युवाहरूलाई दिइएको भूमिका पर्याप्त छ ?’ सर्वेक्षणमा सहभागीमध्ये ६२.३ प्रतिशतले ‘युवाको भूमिका पर्याप्त छैन’ भन्ने जवाफ दिए । जबकि, जम्मा ३५.३ प्रतिशतले मात्र युवालाई दिइएको भूमिका पर्याप्त भएको बताए ।

सबैभन्दा रमाइलो पक्ष त के छ भने सर्वेक्षणमा समाविष्ट ६१ वर्षभन्दा माथिका ५२.९ प्रतिशत सहभागीले समेत पार्टीले युवाहरूलाई भूमिका सिर्जना गर्न नसकेको अभिव्यक्ति दिएका छन् । २५ देखि ४० वर्ष समूहको ६५.२ प्रतिशत, ४१ देखि ५० वर्ष समूहको ६६.४ प्रतिशत र ५१ देखि ६० वर्ष समूहको ५९.८ प्रतिशतले युवाहरूको भूमिको पक्षमा आवाज उठाएको छ ।

शिक्षित समूहले पनि युवाहरूलाई दिइएको स्थानप्रति असन्तुष्टि व्यक्त गरेको छ । एसएलसी (उत्तीर्ण ५१.७ प्रतिशत), प्रवीणता प्रमाणपत्र तह (६१.९ प्रतिशत), स्नातक ७०.२ प्रतिशत र स्नातकोत्तर उत्तीर्ण (७३.७ प्रतिशत) सहभागीले युवालाई पार्टीले स्थान दिनुपर्नेमा मत दिएका छन् । यसले के देखाउँछ भने शिक्षित वर्ग युवा नेतृत्वको पक्षमा छ । 

युवाहरूलाई पर्याप्त भूमिका नदिइएको भन्ने पक्षमा मत अभिव्यक्त गर्नेहरूले कांग्रेसभित्रको संगठनात्मक ढाँचा, पद्धति र प्रणाली सुधारमा जोड दिएका छन् । ‘यदि युवालाई पार्टीभित्र पर्याप्त भूमिका छैन भने के गर्नु पर्ला ?’ भन्ने प्रश्नमा अधिक सहभागीले युवालाई नेतृत्वमा लैजाने प्रणाली बनाउनुपर्नेमा आफ्नो राय सुझाएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ५९. १ प्रतिशतको प्रणाली तय गर्नुपर्नेमा मत छ भने १९.२ प्रतिशतको युवालाई नेतृत्वमा निर्वाचित गर्नुपर्नेमा । त्यसै गरी प्रतिभावान् युवालाई सभापतिले सोझै मनोनीत गर्नुपर्छ भन्ने पक्षमा चाहिँ जम्मा ११.५ प्रतिशत मात्रै । 

यसले के देखाउँछ भने कांग्रेसमा युवाहरूलाई नेतृत्वमा लैजानुपर्छ, त्यो पनि प्रक्रिया अवलम्बन गरेर भन्ने जमात ठूलो छ । यसको आशय सीधै नेतृत्वमा युवालाई लैजाने भन्दा पनि प्रणाली बनाएर उनीहरूलाई पर्याप्त राजनीतिक अवसर दिइनुपर्छ भन्ने हो । मनोनीत गर्ने या सीधै स्थान दिने परम्परा आफैँमा अलोकतान्त्रिक हो भन्नेमा अधिक सहभागीहरू सहमत देखिए । हिमाल, पहाड र तराई मात्र होइन, अशिक्षित र शिक्षित समूहभित्रको अधिक हिस्साले समेत युवाहरूलाई प्रणाली बनाएर केन्द्रीय नेतृत्वमा पुर्‍याउने सपना साँचेको बुझिन्छ ।

युवा नेताहरूप्रति अधिक महाधिवेशन प्रतिनिधिले राजनीतिक रूपमा गहिरो आशा र भरोसा राखेको पाइएको छ । ‘हाल देखिएका युवा नेताहरूको क्षमताप्रति तपाईंको धारणा के छ ?’ भन्ने प्रश्नमा ६६.८ प्रतिशत सहभागीले ‘आशाजनक’ भनेर जवाफ दिएका छन् । जबकि, युवा नेताहरू निराशाजनक रहेको भन्ने हिस्सा जम्मा ७.८ प्रतिशत मात्र छ । युवा नेताहरू औसत छन् भन्ने १४.७ प्रतिशत, उत्कृष्ट छन् भन्ने ९.३ प्रतिशत र थाहा छैन भन्ने .९ प्रतिशत छन् । 

रोचक त के भने उमेरका हिसाबले वृद्ध महाधिवेशन प्रतिनिधिहरूले पनि युवाको क्षमताप्रति विश्वास गरेका छन् । ६१ भन्दा बढी उमेरका ६४.७ प्रतिशले, ५० देखि ६० उमेरका ७२.८ प्रतिशतले र ४१ देखि ५० उमेरका ६२.३ प्रतिशत उत्तरदाताले मौजुदा युवा नेताप्रति आशावादी रहेको बताएका छन् । शैक्षिक पृष्ठभूमिका आधारमा वर्गीकृत साक्षर र निरक्षर समूहमा पनि युवाप्रतिको विश्वास बलियो देखिएको छ । विद्यालय शिक्षा लिएका, ७७.३ प्रतिशत, एसएलसी उत्तीर्ण ६६.७ प्रतिशत, प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण ६९.८ प्रतिशत, स्नातक तह उत्तीर्ण ६६ प्रतिशत र स्नातकोत्तर उत्तीर्ण ६३.९ प्रतिशत सहभागीले युवाप्रति आशा प्रकट गरेका छन् । 

पहिलोपटक महाधिवेशन प्रतिनिधि बनेका ७० प्रतिशतले मौजुदा युवाहरूलाई आशाजनक भनेका छन् भने ११.६ प्रतिशतले औसत र ९.५ प्रतिशतले उत्कृष्ट ठहर्‍याएका छन् । त्यसै गरी यसअघि पनि महाधिवेशन प्रनिनिधि भइसकेका ६३.६ प्रतिशतले युवा नेताहरूप्रति आशावादी भएको बताएका छन् । त्यसै गरी चुनावी प्रक्रियामा प्यानलमा विश्वास गर्नेमध्येका ६६.७ प्रतिशत र व्यक्तिको क्षमतामा विश्वास गर्नेमध्येका ६५.५ प्रतिशतले पनि युवाहरूको क्षमता आशाजनक छ भन्नेमा मत दिएका छन् । 

 

प्रकाशित: फाल्गुन १७, २०७२