अर्धकदको आख्यान 'धर्सो'

- सरोज जीसी

पुरानो भौगोलिक काठमाडौँ आफैँमा काठमाडौँ रहेन । यसभित्र सपना तथा स्वैरकल्पनाका कैयौँ काठमाडौँ लुकेका छन् । कसैको काठमाडौँ सपना, आकांक्षाले सजिएको छ भने कसैको विक्षिप्त छ, विग्रहित छ । त्यसैले हिजोआज साहित्यमा यो भौगोलिक काठमाडौँ कतै कुण्ठाको माला लगाउँछ त कतै स्वच्छन्दताको मानसपटलमा मडारिरहेको हुन्छ । कसैका लागि रंगीन, कसैका लागि श्यामश्वेत । कोही सहानुभूति प्रकट गर्छन्, कोही वितृष्णा । मधेसीप्रति राजधानीको व्यवहार अनि तराई र पहाडबीच केही समययता देखिएको वैमनस्यताप्रति संजय अधिकारी आफ्नो पुस्तक धर्सोमा गुनासो गर्छन् । उनले गुनासो त गरे तर पुस्तकको आख्यानिक कद भने पुगेकै छैन । जग उठान नहुँदै उपन्यास ढलेको छ ।

विक्षिप्त, वियोगी, पिल्सिएको, एक शिक्षक जो आफ्नै भाग्य खुट्याउन अक्षम छ, उसको वर्तमान आँखाबाट लेखिएको उपन्यास धर्सो आख्यानभन्दा संस्मरण वा कथासंग्रह बढी लाग्छ । कथांश धेरै छन् । कथाबीच तालमेल नै छैन, छरपस्ट छन् । धेरै क्षेत्रका कथा र सम्झनालाई समेट्ने महत्त्वाकांक्षामा डुबुल्की मार्दा ती कथालाई कसरी कुन डोरीले बाँध्ने उपन्यासकारले भेउ नपाएको जस्तो लाग्छ । सामान्य कथाबनोटमा देखिने यी बेवास्ताले कथाहरूलाई घर न घाटको बनाएको छ । कथामाथि शिल्प न्याय भएको छैन ।

काठामाडौँको एउटा रेस्टुराँमा गम खाएको कथावाचक क्षणमै हुर्रिएर आफ्नो शिष्यले लेखेको संंस्मरणमा घोत्लिन्छ र पलभरमै आशाकाजीसँगको शैशवकालमा लहडिन्छ । हसिनासँगको कलिलो प्रेमालाप छताछुल्ल हुन नपाउँदै फेसबुकका स्ट्याटस र कमेन्ट वाचनमा पुग्छ । फेसबुकका स्ट्याटस र कमेन्ट अनि लोडसेडिङप्रतिको गुनासोमै पृष्ठहरू खर्चिएका छन् । यिनको मूल कथासँग तारतम्य नै छैन ।
कथाहरूबीचको दूरी कति धेरै छ भने यी कथा विपरीत धु्रवतिर गन्तव्य खोजिरहेछन् । उपन्यासमा अप्रासांगिक कथा जबर्जस्ती घुसेका छन् । केही कथाका अंश अपूरा र मनोवादजस्ता लाग्छन् ।

कथावाचक एउटा शिथिल पात्रजस्तो छ । जिन्दगीमा कथावाचकको धेरैसँग गुनासो छ । सबैभन्दा ठूलो गुनासो आफ्नै जीवनसँग छ । उदास छ । किनभने, ऊ आफ्नो करियर, प्रेम, उद्देश्यबाट त्यागिएको छ । उपन्यासको अन्त्यतिर आउने पात्र जयराम ‘उल्का’ पात्र हो । एक्कासि आउँछ र उपन्यासको समापन गरेर जान्छ । आख्यानले यस्तै सामाजिक न्यायका मुद्दालाई उतार्ने जमर्को गरेको छ । तर, सामान्य उदाहरणलाई आख्यानीकरण गर्दैमा शाश्वत हुन सक्दैन ।

साहित्यमा राजनीति मिसाउनु खस्रो हुन्छ । पाइँदैन भन्ने होइन । यसलाई मिहिन र चातुर्य रूपमा मिसाउनु उपयुक्त हुन्छ । गृहयुद्ध, रंगभेद, भारत–पाकिस्तान युद्ध, धेरै परिवेशमा साहित्य लेखिएकै छन् । यसको प्रत्यक्षभन्दा नजानिँदो तर बलियो र सुषुप्त उपस्थितिले नै पाठक मन जित्छ र लेखाइलाई परिपक्व बनाउँछ ।

मुद्दाका हिसाबले सामाजिक र राजनीतिक न्यायसम्बन्धी धर्सो एउटा प्रबल र सबल सामाजिक उपन्यास हुन सक्थ्यो । वर्तमान परिप्रेक्ष्यमा एउटा वैचारिक मन्थन ल्याउन सक्थ्यो । लेखकले यो अमूल्य मौका गुमाएका छन् । सम्पादन र कथाको विकासक्रम सिलसिला यस्तो भद्दा र लोसे छ कि कतिपय पृष्ठ छोड्दा पनि पाठकलाई पश्चात्ताप हुँदैन ।

 

प्रकाशित: फाल्गुन ११, २०७२