मैले चिनेका सुशील दादा

  • सादा जीवन र करुणायुक्त राजनेता

- थानेश्वर सापकोटा

हिन्दु धर्ममा एउटा मान्यता छ, जीवनभरको पाप र पुण्यको लेखाजोखा उसको मृत्युको समयमा हुन्छ । मान्छे कसरी मर्छ, मृत्युपूर्व उसले र उसको रेखदेख गर्नेहरूले कति कष्ट भोगेका छन् अनि उसको अर्धचेतन जीवनको लम्बाइ कति छ, यसैका आधारमा पण्डितहरूले उसको पाप र पुण्य केलाउने गर्छन् । शास्त्र भन्छ, परोपकारीहरू दु:ख–कष्टबिनै मर्छन् । यस अर्थमा हेर्ने हो भने सुशील कोइराला आफ्नो जीवनकालमा पुण्य कमाउने वा भनौँ पाप नगर्ने थोरै मान्छेहरूको सूचीमा पर्छन् । 

सामान्यत: सुशील कोइराला देशको जुन भूमिकामा थिए, त्यो भूमिकामा रहने व्यक्तिहरूको मृत्युको अनुमान कम्तीमा साताअघि भइसकेको हुन्छ तर उनको अवसानअघि चिकित्सकहरूले दौड लगाउनु परेन, काठमाडौँ एयरपोर्टमा एयर एम्बुलेन्स उतार्नु परेन । उनी यसरी गए, मानौँ उनी कहीँ गएकै छैनन् । दुनियाँलाई आश्चर्यमा पारेर सुटुक्क प्रस्थान गरे ।

जन्मिनु र मर्नु प्रकृतिको स्वाभाविक प्रक्रिया भए पनि मृत्यु कहिल्यै सुखद हुँदैन । हरेक मृत्युले कसै न कसैको आत्मा दुखाएको हुन्छ । कसै न कसैको मन रुवाएको हुन्छ । सुशील कोइरालाको मृत्युले भने धेरैको आत्मा दुखायो, धेरैको मन रुवायो । 

दुई दशकअघि मैले काठमाडाँैमा पत्रकारिता सुरु गर्दा सुशील कोइरालाका बारेमा अनेक किस्सा बजारमा थिए । सन्की, अनुदार, घमण्डी । बजारिया हल्ला अनुसार उनी कोठाभित्र बसेर षड्यन्त्र रच्न माहिर थिए । त्यतिबेला उनका अन्तर्वार्ता देशान्तर र विमर्शबाहेक कतै आएनन् । किनभने, ती दुई पत्रिकाले मात्र उनको पक्षमा कलम चलाउँथे । म जनमञ्च साप्ताहिकसँग आबद्ध थिएँ, जहाँ ‘एकैछिन’ र ‘बम्बई बृत्तान्त’जस्ता स्तम्भ निकै चर्चित थिए ।

‘बम्बई बृत्तान्त’ फिल्म खेल्ने नसामा बम्बई पुग्दाको मेरो आफ्नै अनुभूति थियो भने ‘एकैछिन’ चर्चित व्यक्तिहरूसँगको अनौपचरिक अन्तर्वार्ता । यसैका लागि एक दिन मैले फोन घुमाएँ । उनले समय पनि दिए बिहानको साढे ४ बजे, महाराजगन्जस्थित उनको सम्पर्क कार्यालयमा । म उनको कार्यालय पुग्दा पूरै काठमाडौँ सुतिरहेको थियो, रूखका पातहरूमा टाँसिएको तुसारो चिप्लिएर भुइँमा खस्दा आउने आवाजबाहेक सहर पूरै नि:शब्द थियो ।

मैले गेटको कुन्डी चर्कोसँग बजाएँ । भित्रबाट एउटा झपटे कुकुर बेजोडसँग भुक्दै आयो र सर्लक्कै निलौँलाझैँ उफ्रियो । बूढा त बेइमान रहेछन् भन्ने ठाने । तर पनि मलाई रित्तो हात फर्कन मन लागेन । केही छिनमा बडेमानको खास्टो ओढेका सुशील दा मर्निङवाकबाट गेटमा झुल्किए । “धेरै बेर कुर्नु त परेन ?” उनले सोधे । कुनै अमूल्य वस्तु भेटिएझैँ मेरो पेटैदेखि खुसीको लामो सास निस्कियो । “हैन, भर्खरै आउँदै छु,” मैले भने । हामी भित्र छिर्‍याैँ । अघिको झपटे कुकुर सुशील दाको छनक पाएपछि आफ्नो थान्कोमा पुग्यो । 

सम्पर्क कार्यालयको पछिल्लो ढोकाबाट छिरेपछि पहिलो तल्लाको देब्रेपट्टि सानो कोठा, सानो चारपाइ, त्यसमा बिच्छयाइएको मैलो तन्ना, भुइँभरि छरिएका कान्तिपुर, हिमालय टाइम्स र गोरखापत्रका पाना । “बस्नूस्, कालो चिया खाने ?” उनले भने । मैले टाउको हल्लाएँ । उनी बाहिर निस्किए, भान्छामा होला सायद । मैले फेरि एकपटक तिनको त्यो सानो कोठाको चारैतिर हेरे । भुइँमा छरिएका पत्रिकाका पानाहरू, मैलो ओछ्यान, सिसा चर्किएको फ्रेममा झुन्ड्याइएको एउटा पुरानो फोटो । 

उनका बारेमा सुनिएका हल्लाको मनले आफैँ खण्डन गर्‍यो । यस्तो कोठामा कोसँग बसेर षड्यन्त्र रच्दा हुन् सुशील कोइरालाले ? उफ ! “ल चिया खानूस्,” स्टिलको गिलासमा भरिएको कालो चिया छेउतिर राख्दै उनले भने । आखिर घरमा आएको कुनै आगन्तुकलाई गर्नुपर्ने कर्तव्य त्यही त हो । “त्यसो भए हिरो हुन सकिएन,” उनले भने र चिया सुरुप्प पारे । आफ्नो स्तम्भ ‘बम्बई वृत्तान्त’ सुशीलले पढ्ने गरेको कुरा थाहा पाएर मन खुसी भयो । 

मजस्तो पत्रकारको लेखोट त्यत्रो नेताले पनि पढेको होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । “निकै गाह्रो रहेछ । बम्बई त भवसागर नै रहेछ,” मैले जवाफ फर्काएँ । त्यसपछि अन्तर्वार्ता सुरु भयो । उनी पटकपटक व्यक्तिगत कुरा नसोध्न आग्रह गरिरहन्थे । म पनि सार्वजनिक मान्छेका कुनै पनि कुरा व्यक्तिगत नहुने तर्क पेस गरिरहन्थेँ । चर्काचर्कीमै अन्तर्वार्ता सकियो । सन्की त साँच्चिकै सन्की नै रहेछन् बूढा ! मनमा कुरा खेलिरह्यो । 

अन्तर्वार्ता छापिएकै दिन उनका एक जना सहयोगीले भेटेरै भने, “अन्तर्वार्ता त तोडमरोड गरिएछ, सुशीलदाले तिमीलाई भेट्न खोज्नुभएको छ । फोन गरेर एकपटक महाराजगन्ज आऊ ।” मैले भनिदिएँ, “अरू नै केही कुरा भए म आउँला । अन्तर्वार्ताको कुरो हो भने उहाँलाई पत्रिकाको कार्यालयमा पठाइदिनू, त्यहीँ भेट्दा राम्रो होला ।” त्यसपछि न उनी हाम्रो कार्यालयमा आए, न म महाराजगन्ज गएँ ।

झल्याकझुलुक कुनै कार्यक्रममा भेटिए पनि उनले मलाई चिनेनन् सायद । दुई वर्षपछि होला, उनीसँग परासीबजारमा भेट भयो कांग्रेसको एउटा कार्यक्रममा । “के छ ?” उनले सोधे । “ठीकै छ दाजु,” मैले भनेँ । “घर यतै हो ?” उनले सोधे । “होइन, गैँडाकोट,” मैले भनेँ । “ए ! तिलकजी (सापकोटा) को भन्दा कता ?” “नजिकै,” फेरि मैले भनेँ । उनले सोधे, “काठमाडौँ कहिले फर्किने ?” “भोलि फर्किन्छु,” मैले भनेँ । 

त्यो दिन सुशील कोइरालासँग निकै लामो भलाकुसारी भयो । पुरानो अन्तर्वार्ताको कतै कुरा निस्केन । “फेरि एउटा अन्तर्वार्ता गर्नुपर्‍यो दाजु !” मैले भनेँ । “पहिले नै लिइसक्या छ त किन फेरि लिनुपर्‍यो,” उनी झर्किए । “होइन, पहिलेको भन्दा अलि परिमार्जित,” मैले भनेँ । उनले सहमतिमा टाउको हल्लाए । 

त्यो समय सुशील बुद्धनगर बस्थे भान्जाको घरमा । फेरि अन्तर्वार्ता गरियो । उनी पहिलेभन्दा निकै खुले । रोचक कुराकानी भए । जुन हिमालय टाइम्सको अन्तिम पृष्ठमा रोचक ढंगले नै प्रकाशित भयो । त्यो बेला कसैले केही भनेन । सुशीलले भेट्ने खबर पनि पठाएनन् । तर, उनीसँग हुने भेटघाट भने चलिरहे ।

एक दिन सभागृहको एउटा कार्यक्रमपछि उनले सुटुक्क बोलाएर भोलिपल्ट बिहानका लागि चियाको निम्तो दिए । “४ बजे त होइन नि ?” मैले हाँस्दै भनेँ । उनी पनि हाँसे । भोलिपल्ट बुद्धनगर पुग्दा उनलाई भेट्नेहरूको लर्को थियो । मैले खबर पठाएँ । एकैछिनमा बोलावट भयो । माथिल्तिर एउटा ठूलो कोठामा सुशील एक्लै थिए । “हट वाटर विथ हनि कि हट वाटर विथ लेमन के पिउने ?” उनले प्रस्ताव गरे । “जे भए पनि हुन्छ,” मैले भनेँ । त्यसपछि उनले कुरा सुरु गरे, “के भने नि कांग्रेसकै मन्त्रीहरूले भ्रष्टाचार गरेर पार्टीलाई त बदनाम गरे गरे, पूरै देश नै बर्बाद पार्ने भए ।

यिनीहरूको विरुद्धमा मैले एउटा समूह बनाउने विचार गरेको छु, भूमिगतजस्तो । त्यसले यथार्थ सूचना पत्ता लगाउनेछ र तिनीहरूलाई कारबाही गर्न सकिनेछ ।” “को को भ्रष्टाचारमा डुबेका छन्, तपाईंलाई राम्रोसँग थाहा छ अनि तपाईं पार्टीको महामन्त्रीजस्तो पदमा पनि हुनुहुन्छ । कारबाही गरे भइहाल्छ नि,” मैले भनेँ । उनी अलिकति जंगिए, “म एक्लोले कारबाही गरेर हुन्छ ? यहाँ हरेक नेताको घरघरमा भ्रष्टाचारको पैसा पुग्छ । कसले कारबाही गर्ने ? सही सूचना खोजेर उदांग पारे केही हदसम्म रोक्न सकिन्छ अनि बिस्तारै सिस्टम बसाउन सकिन्छ ।” 

“भ्रष्टाचारको पैसा गिरिजाप्रसादकहाँ पुग्छ ?” मैले उत्सुक हुँदै सोधेँ । उनी केही बोलेनन् । उनको त्यो कारुणिक अनुहारले जनाएको सहमति उदेकलाग्दो थियो । मेरो आत्मामा उनीप्रति यति धेरै सम्मान जागेर आयो, त्यो कहिल्यै मेटिएन । अझै बढेर आयो । त्यसै दिनदेखि मैले उनलाई सुशील दाइ नभनेर सुशील दादा भन्न सुरु गरेँ । कांग्रेसभित्रकै केही युवाहरूलाई समेटेर भ्रष्टाचारविरुद्धको समूह बनाउने उनको त्यो योजनाले किन मूर्त रूप लिन सकेन दादा भनेर मैले कहिल्यै सोधिनँ । किनभने, समूहमा बस्ने सहमति जनाए पनि म देशमा बस्न सकिनँ । 

देश छोड्ने पहिलो साँझ भेट्न जाँदा उनी खासै खुसी देखिएनन् । “तिमीहरूजस्ता युवाले देश छाड्दै जाने हो भने एक दिन यो देश रित्तिन्छ । युवाहरूको जोस, जाँगर देशमा जोगाउन के गर्न सकिन्छ भनेर हामी कसैले पहल नै गरेनौँ ।” त्यो साँझ उनी अझै खिन्न देखिएका थिए । 

एउटा राजनीतिज्ञ कस्तो हुनुपर्छ ? सुशील कोइरालाजस्तो, कृष्णप्रसाद भट्टराईजस्तो, गणेशमान सिंहजस्तो, गिरिजाप्रसाद कोइरालाजस्तो, सूर्यबहादुर थापाजस्तो वा बीपी कोइरालाजस्तो ? यो आफैँमा अड्कल गर्न नसकिने प्रश्न हुन सक्छ । तर, एउटा सत्य के भने एउटा राजनेतामा सुशील कोइरालाजत्तिको सादा जीवन र करुणा हुनैपर्छ । करुणा नभएको नेताले हाम्रो जस्तो मुलुकको भविष्य कोर्न सक्दैन । मैले आफ्नो पत्रकारिता जीवनमा दर्जनौँ नेताको अन्तर्वार्ता गरेको छु । सुशील कोइराला र कृष्णप्रसाद भट्टराईबाहेकका कुनै पनि नेताले सायदै एउटा पत्रकारको मस्तिष्कमा प्रभाव पार्न सके होलान् । अझ सुशीलले त व्यक्त गरेका कुराले भन्दा उनका अव्यक्त कुराबाटै प्रभावित भएको छ मेरो दिमाग ।

कुनै अन्तर्वार्ता गर्दा होस् या त्यत्तिकै गफिदा होस् सुशील दाले कहीँ न कहीँ छाप छोडेर गए । पछिल्लोपटक मैले उनको अन्तर्वार्ता गर्दा हामी जर्मनीको एउटा रेलमा यात्रा गर्दै थियौँ । “बियर खाने दादा ?” मैले सोधेँ । “पहिले अन्तर्वार्ता सक्ने अनि बियर खाने,” उनले भने । “किन नि ?” मैले फेरि सोधेँ । उनले शालीन भएर थपे, “जाँड खाएको बेलामा जे पनि बोलिएला । मजस्तो जिम्मेवार व्यक्तिले जे पायो त्यही बोल्नु हुँदैन ।” म अवाक् भएर उनलाई हेरेको हेरै भएँ । अलबिदा सुशील दादा । बैकुण्ठ बास होस् । 

प्रकाशित: फाल्गुन ४, २०७२