ती अफ बिट सुशील

  • अनौपचारिक व्यक्तित्वका विविध आयाम

- जगत नेपाल

शीतल निवासको विशेष समारोहमा शपथ लिँदै थिए, सुशील कोइराला २८ माघ ०७० मा । जीवनभर सत्ताको निकट रहे पनि सत्ताको अनुभवबिना एकैपटक प्रधानमन्त्री भएका कोइरालालाई राष्ट्रपति रामवरण यादवले शपथ गराइरहेका थिए । राष्ट्रपतिले ‘म’ भनेपछि उनले ‘म सुशील कोइराला’ भन्नुपथ्र्यो । तर, उनी ‘म’ मात्र भनेर रोकिए । राष्ट्रपतिले नै ‘म सुशील कोइराला भन्नूस् न’ भनेर सम्झाउनुपर्‍यो । फेरि मुलुक र जनताप्रति भन्नुपर्नेमा उनले राजनीति भनिदिए । त्यो पनि राष्ट्रपतिले नै सच्याउन लगाए । त्यही दिन बेलुका महाराजगन्जस्थित उनको निवासमा पुग्दा कोइराला सामान्य कुर्सीमा रातो टीका लगाएर बसेका थिए । मोबाइल आफैँ उठाइरहेका । 

उही पुरानो नोकिया फोन । कांग्रेसको झन्डा फहराएको ठाउँमा राष्ट्रिय झन्डा थियो । पहिला खरानी रंगको सानो मोटर चढ्थे । अब कारगेटसहितको झन्डावाल गाडी उनको निवासअगाडि रहन थाल्यो । पहिला प्रहरीले सुरक्षा गथ्र्यो, अब सेना थपियो । 

अन्य आगन्तुक बाहिरिएपछि उनले भने, ‘म कसैसँग झुक्दिनँ । हँुदै नभएको कुरा गर्ने ? एमालेलाई गृह दिने सहमति नै भएको छैन ।’ एमालेले गृह मन्त्रालय नदिए सरकारमा नजाने अडान लिएपछि कोइरालाले रामशरण महतलाई मात्र मन्त्रीको शपथ गराएका थिए । उनको तनाव देखेर एक सांसदले भने ‘सुशीलदा मलाई त साह्रै चिन्ता भयो । यो गाँठो कसरी फुकाउने भनेर ।’ कोइराला बम्किए, ‘केको गाँठोको कुरा गर्नुहुन्छ तपाईं ? म तपाईंको कुरा बुझ्दिनँ ? तपार्इं मन्त्री माग्नका लागि आउनुभएको होइन ?’ विचरा ती सांसद बोल्नै सकेनन् । वास्तवमा कोइरालाका अति निकट ती सांसद मन्त्रीको लाइन मिलाउनकै लागि पुगेका थिए, जुन कुराको संकेत पहिल्यै हामीसँग गरेका थिए ।

 

दुर्लभ दुईतिहाइ

कोइराला संसद्को दुईतिहाइ बहुमतको समर्थनमा प्रधानमन्त्री निर्वाचित भए २७ माघमा । कोइरालाले संसद्मा ४ सय ५ मत प्राप्त गरे भने उनको विपक्षमा १ सय ४८ मत परेको थियो । नेपालको 

संसदीय इतिहासमा बीपी कोइरालापछि दुईतिहाइको समर्थन पाउने सुशील एक मात्र प्रधानमन्त्री हुन् ।

त्यसअघि १२ माघ ०७० मा उनी कांग्रेस संसदीय दलको नेता चयन भएका थिए । त्यतिखेर उनले तीनपटक प्रधानमन्त्री भइसकेका वरिष्ठ नेता शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । १२ वर्षअघि तिनै देउवासँग पराजित भएका कोइरालाले यसपटक भने १६ मतको अन्तरमा हराए । १ सय ९४ मध्ये कोइरालाले १ सय ५ मत पाएका थिए ।

होलेरी प्रकरणमा तत्कालीन राजा ज्ञानेन्द्रले असहयोग गरेपछि ४ साउन ०५९ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा गरे । त्यसको केही दिनमा भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा सुशीलले पहिलोपटक देउवासँगै प्रतिस्पर्धा गरेका थिए । त्यतिखेर स्वयं गिरिजाप्रसाद सुशीलको पक्षमा खुलेनन् । आफूलाई असहयोग गर्ने दरबारले सुशीललाई पक्कै सहयोग गर्ने छैन र उनले जिते पनि सरकार चलाउन कठिन हुनेछ भन्ने बुझेर गिरिजाप्रसाद मौन बसेका थिए । त्यस चुनावमा भने देउवा ७२ मत पाएर विजयी भए भने सुशीलका पक्षमा ४० मत मात्र पर्‍यो ।

भोटै नमागी सभापति

१२औँ महाधिवेशनमा एकपटकका लागि मात्र सभापति हुने घोषणा कोइरालाले गरेका थिए । तर, उनी आफैँले नबोले पनि आसन्न महाधिवेशनमा उनलाई उठाउने गृहकार्य तीव्र थियो । १–५ असोज ०६७ मा कांग्रेसको १२औँ महाधिवेशन राजधानीमा चलिरहेको थियो ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो प्रचारलाई तीव्र बनाएका थिए । मतदान भइरहँदा उनी मात्र हात जोडेर मत माग्न तल्लिन देखिए । अर्का उम्मेदवार सुशील कोइराला मैदानमा थिएनन् । के भयो भनेर सबै चकित परे । पछि थाहा भयो, बिहानैदेखि पखाला लागेका कारण उनी निवासमै आराम गरेर बसेका रहेछन् । चुनावी नतिजा भने उनकै पक्षमा देखियो । १ हजार ६ सय ५२ मतका साथ उनी विजयी भए । देउवाले १ हजार ३ सय १७ मत मात्र पाए । अर्का उम्मेदवार भीमबहादुर तामाङको पक्षमा जम्मा ७८ मत पर्‍यो । 

बनारसको दु:ख

बनारसमा बस्दा कोइराला परिवार चरम आर्थिक संकटमा थियो । गोरखपुरमा बसेर क्रान्तिका लागि तयारी गरिरहेका कांग्रेस नेता गणेशमान सिंह पनि उपचारका लागि बनारस गए । त्यहाँ बीपी र सिंहका लागि मात्र छुट्टै कोठा थियो । गिरिजाप्रसाद पार्टी कार्यकर्तालाई भेट्ने र सशस्त्र क्रान्तिका लागि वातावरण बनाउने काममा सक्रिय थिए । छिँडीको सानो कोठामा सुत्थे । 

गणेशमानको उपचार र खानपानमा कमी हुन नदिन बीपीले श्रीमती सुशीलालाई बोलाएर बिहान–बेलुका दुध, स्याउ, अंगुर खान दिनु भनेका थिए । आयस्रोत थिएन । सुशीलले जागिरबाट आर्जन गरेको केही रकम र शुभचिन्तकहरूले दिएको पैसाबाट जेनतेन मेस चलेको थियो ।

शैलजा आचार्य, सुशील कोइरालालगायत पाहुना र सबै केटाकेटी एउटा हलमा बिस्तरा लगाएर भुइँमा लहरै सुत्थे । बिहानै बिछ्यौना उठाएर त्यही कोठामा बीपी आगन्तुकहरूलाई भेट्थे । बीपी–पुत्र शशांक कोइराला भन्छन्, “बेलुका ५ बजे नै तकिया, ओड्ने कम्मल वा सिरक कब्जा गर्न नपाएको दिन त्यत्तिकै सुत्नुपथ्र्यो ।” 

न सम्पत्ति, न घरबार

विराटनगरमा जन्मिएका सुशील कोइराला आफ्नो घरमा खासै बसेनन् । वन अधिकृत रहेका पिता बोधप्रसादको जागिर सरुवा भएसँगै वीरगन्ज, नवलपरासी, बलौरी हुँदै उनी नेपालगन्ज पुगे । ०१५ सालको आमनिर्वाचनपछि बीपीले नै तुलसी गिरीको स्वकीय सचिव बनाइदिएकाले काठमाडौँमा बस्न थाले । १ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले कू गरेपछि उनी भारत निर्वासनमा पुगे । बुबाआमा जीवित रहँदासम्म कहिले बनारस, कहिले पटना त कहिले फारविशगन्ज घुम्दैमा बित्यो । आर्थिक संकट टार्न उनले त्यहीँ जागिर पनि गरे ।

०३६ सालमा आममाफी पाएपछि गिरिजाप्रसादका साथ सुशील देशका विभिन्न भागमा बहुदलको प्रचारमा गए । त्यसपछि नेपालगन्जमा भाइ अरुण कोइरालाको घरको एउटा कोठामा गुजारा चलाए । ०४८ सालको आमनिर्वाचनमा बाँके–२ बाट कोइराला विजयी भए । त्यसपछि उनी प्रधानमन्त्री गिरिजाप्रसादसँग बालुवाटारमै बस्न थाले । सहयोगको अपेक्षासाथ भेट्न आएका कार्यकर्तालाई निराश बनाउँदै कोइराला भन्ने गर्थे, ‘जागिर माग्ने हो भने म तपाईंलाई दिन सक्दिनँ । पार्टी चुनाव लड्ने हो । तपाईंहरूले भोट दिनुभएन भने कांग्रेस हार्छ । म हार्ने होइन ।’ ०५१ को मध्यावधि निर्वाचनपछि सबैभन्दा पहिला सुशील पराजित भएको परिणाम घोषणा भयो । 

भान्जाको घरमा 

महाराजगन्जस्थित सम्पर्क कार्यालयमा बसिरहेका सुशील कोइराला बिरामी भएको खबर पाएपछि उनका भान्जा रमेश भण्डारी माधव कोइरालाको मोटरसाइकलमा महाराजगन्ज गए । भण्डारी त्यहाँ पुग्दा आमाआमा, पानीपानी, अँहअँह गर्दै थिए, सुशील । घरमा दुई जना अविवाहित दारीवाल थिए, सुशील र वीरेन्द्र दाहाल । भण्डारी सम्झन्छन्, “मामालाई सीधै बुद्धनगरको घरमा ल्याएँ । टाइफाइड भएको रहेछ ।”

बुद्धनगरमा झन्डै १३ वर्ष बिताएर सुशील पूर्वसभापति गिरिजाप्रसाद बस्ने गरेको महाराजगन्जस्थित निवासमा सरे । अनि, त्यहीँबाट प्रधानमन्त्री भएर बालुवाटार गए । जीवनका अन्तिम घडी बीपी–पुत्र शशांकको महाराजगन्जस्थित निवासमा बिताए ।

“प्रजातन्त्र छैन, किन बिहे गरेको ?”

०६२ को जनआन्दोलन चलिरहँदा राजधानीको सुविधानगरस्थित श्याम घिमिरेको घरमा भूमिगत रहेछन् । शाही सरकारविरुद्ध सडक प्रदर्शन चर्कंदै थियो । निकैबेर प्रजातन्त्र र बीपीका बारेमा सुनाइसकेर पंक्तिकारसित एकाएक उनी झनक्क रिसाए, “हैन, तपाईंले यस्तो बेलामा किन बिहे गरेको ? देशमा प्रजातन्त्र छैन । कसरी पाल्नुहुन्छ श्रीमती ? तपाईंहरू खालि यस्तै काम गर्नुहुन्छ ।”

छेउमा रहेका कालीकोटका पूर्वसांसद तिलक न्यौपाने जोडले बम्किए, “हैन सुशील दा, अरूका कुरा किन गर्नुहुन्छ ? आफू पनि बिहे नगर्ने, युवाहरूलाई पनि गर्न नदिने † यस्ता केटाले बिहे गरेर छोराछोरी पाइदिएनन् भने तपार्इंलाई कसले भोट हाल्छन् ?”

चारतारे झन्डा र माओवादीसँग सम्झौता

२२ कात्तिक ०६२ मा कांग्रेसका तत्कालीन उपसभापति सुशील कोइराला, सहमहामन्त्री अर्जुननरसिंह केसी, दिलबहादुर घर्तीलगायतको टोली रोल्पा पुग्यो । केसीको गाडीको अघिल्लो सिटमा बसेर सुशीलले भने, ‘अर्जुनजी, मोटरमा पार्टीको झन्डा फहराउन लाउनूस् ।’ केसीले भने, ‘रोल्पा जाने हो । बाटोमा लाउँला ।’ कोइरालाले मानेनन् । झन्डा नफहराउँदासम्म उनी मोटरमै चढेनन् । 

पछि मात्र थाहा भयो, त्यो बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसादले माओवादीसँग १२ बुँदे सहमतिका लागि आन्तरिक गृहकार्य गरिरहेका थिए । र, माओवादीले सबै दललाई आफ्नो प्रभाव क्षेत्रमा जान दिएपछि मात्र सहमतिमा हस्ताक्षर गर्ने भनेर परीक्षणका लागि सुशीललाई रोल्पा पठाएका रहेछन् ।

एटीएमबाट पैसा निकाल्ने धोको 

प्रधानमन्त्री हुँदा त मन्त्रिपरिषद्बाटै तलब–सुविधा भुक्तानी भयो । हटेपछि प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले संसद् सचिवालयले एभरेस्ट बैंकमार्फत तलब भुक्तानी गर्ने भयो । पार्टीको जिल्ला अधिवेशनका लागि गोरखा जानुअघि मात्र कांग्रेसका मुख्य सचेतक सांसद चीनकाजी श्रेष्ठले एभरेस्ट बैंकमा सुशीलको खाता खोलिदिए । एटीएमको कुरा भएपछि सुशीलले सोधे, ‘हैन यो एटीएम भनेको के हो ?’

मेसिनमा छिराएर पैसा झिक्न मिल्ने कार्ड हो भनेर बुझाएपछि सुशीलले आश्चर्य मान्दै सोधे, ‘ए त्यस्तो सजिलो भैसक्यो अहिले ?’ उनले एटीएम कार्ड बनाउन त अनुमति दिए तर चलाउन पाएनन् । 

प्रकाशित: फाल्गुन ४, २०७२