सुशील कोइराला: निमित्त नायक

  • समय र परिस्थितिका कारण निर्णायक

- सन्तोष आचार्य

पशुपतिनाथ मन्दिरपछाडि आर्यघाटको ब्रह्मनालमा २७ माघमा सुशील कोइरालाको पार्थिव शरीरलाई बिसाउँदै गर्दा खुब नारा गुन्जिए । तिनमा संविधान निर्माणमा उनको योगदान, त्याग र सादगीपूर्ण जीवन प्रतिविम्बित थियो । 

निश्चय पनि ७८ वर्षीय सुशीलको जीवनशैली सादा थियो । शक्तिमा आउनासाथ आफ्नो र आफ्नाका लागि भ्रष्टाचार गरिदिनुपर्ने नेपाली राजनीतिको विडम्बनाको गोलचक्करमा जाकिनुपर्ने नियतिबाट धेरै हदसम्म उनी जोगिए । ‘करिस्म्याटिक लिडर’ हुने क्षमता नभए पनि ‘कस्मेटिक’ पनि देखिन चाहेनन् सुशील । आफ्नो व्यक्तित्व निर्माणका लागि ठेक्का लगाउने पूर्ववर्ती प्रधानमन्त्रीहरूको जस्तो प्रवृत्तिसमेत उनमा देखिएन । ‘म जे छु, ठीकै छु’को शैलीमा उनी निरन्तर हिँडिरहे । 

छोरी सुजाताको सन्दर्भमा गिरिजाप्रसादले धृतराष्ट्रिय मोह देखाएजस्तो अपयश पनि उनले बेहोर्नु परेन । बरू आफ्नो प्रेम असफल भएको झोँकमा उनले आजीवन विवाह गरेनन् । त्यसैले पारिवारिक झ्याउलोबाट पनि टाढै रहे । आफ्नो यौवन कांग्रेसमै समर्पित गरे । केवल कांग्रेसमै । 

जस्तोसुकै कठिन परिस्थितिमा पनि तुलसी गिरी, विश्वबन्धु थापा, परशुनारायण चौधरी आदिले जसरी सत्ताको स्वादका लागि आस्था परिवर्तन गरेनन् । न उनले कहिल्यै कांग्रेस छाडे, न कोइराला परिवार नै । बीपीकी सानीआमा कुमुदिनीका छोरा सुशीलले गिरिजाप्रसादको निधनपछि पारिवारिक बिँडो थामेर बसे । उनले आफ्नो जीवनको घडी घुमुन्जेल कांग्रेसलाई कोइराला परिवारकै नियन्त्रणमा राखे । बाहिर जान दिएनन् । 

समय, परिस्थिति र भाग्यको खेलले लोकतन्त्रप्रतिका अटल आस्थावान् सुशीललाई पार्टीको सभापतिदेखि प्रधानमन्त्रीको कुर्सीसम्म पुर्‍यायो । नेपालको संसदीय इतिहासमा बीपी कोइरालापछि दुईतिहाइ समर्थन पाउने कोइराला एक मात्र कांग्रेस प्रधानमन्त्रीका रूपमा दर्ज भए, २७ माघ ०७० मा । यति मात्र होइन, उनी पार्टी सभापति हुँदा कांग्रेस संविधानसभा निर्वाचनमा एक नम्बर पार्टी बन्न पुग्यो । पहिलो संविधानसभामा ३७ सिट जितेर खुम्चिएको पार्टी ठूलो दलका रूपमा स्थापित हुनुको श्रेय सुशीललाई नै जान्छ । बीपीदेखि गिरिजाप्रसादसम्म संविधानसभाबाट संविधान निर्माण गर्न सफल भएनन् । तर, सुशीलकै नेतृत्वको सरकार रहेका बेला संविधान निर्माण भयो । यी दुई सफलता उनको राजनीतिक यात्राका ठूला दुई विजय हुन्, यसमा कसैले टाउको दुखाउनुपर्ने कुनै कारण छैन ।

३ असोजमा संविधान जारी हुन सक्नुको प्रमुख आधार भनेको कांग्रेस, एमाले, एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २५ जेठको मध्यरातमा भएको १६ बुँदे सहमति थियो । त्यो सहमति गराउन र त्यसमा अडिन सक्ने क्षमता देखाएर सुशीलले धेरैलाई चकित पारेकै हुन् । अझ त्यसमाथि संविधान निर्माणको पूर्वसन्ध्यामा दक्षिण छिमेकीले त्यो प्रक्रिया स्थगित गराउन खोज्यो तर त्यसलाई प्रमुख दलले एकसाथ प्रतिवाद गरे । यदि सुशीलले त्यसबेला खुट्टा कमाएको भए संविधान निर्माण भड्खालोमा पर्ने निश्चित थियो । सुशीलसँग निकट रहेर काम गरेका कांग्रेसका संगठन विभाग प्रमुख आनन्द ढुंगाना संविधान निर्माण प्रक्रियाको अगुवाका रूपमा उनको भूमिका सधैँ स्मरणीय रहने बताउँछन् । “उहाँले विषम परिस्थितिमा पनि संविधान निर्माणमा जुन अडान राख्नु भयो, त्यसै कारणले संविधान बन्न सम्भव भयो,” ढुंगाना भन्छन्, “उहाँले कहिल्यै पनि आफ्नो व्यक्तिगत स्वार्थको कुरा गर्नु भएन । सधैँ लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितको कुरालाई केन्द्रमा राखेर सोच्नु भयो ।” 

मरेपछि आफूलाई लास मात्र भनून् भन्ने कोही पनि चाहँदैन । आफ्नो असल कर्म सबैले सम्झिऊन् भन्ने चाहना स्वाभाविकै हो । सुशील पनि त्यसमा अपवाद होइनन् । त्यसैले सुशीलको सादा जीवन, गाजलको कोठा भनिने सत्ताबाट बेदाग फर्किन सक्ने छवि र उनले संविधान निर्माणमा देखाएको कुशलताको कुरा गर्न करै लाग्छ । 

त्यसो भए यी सब गुणका कारण उनलाई बीपीलाई जस्तै ‘महामानव’ भने हुन्छ ? हो, हाम्रो शास्त्रीय समाज यसै पनि कसैको निधनपछि उसलाई देवत्वकरण गर्न खप्पिस छ । तर, उल्लिखित सबै विशेषण उनको देवत्वकरणका लागि कदापि पर्याप्त छैनन् । र, उनको कर्मलाई लिएर खोट देख्नै नपर्ने कारण पनि केही छैन । जानिराखौँ, उनी कुनै लोभलालच र अहंकारबाट माथि उठेका बुद्घ पुरुष थिएनन् । प्रचार गरिएजस्तो उनी न त्यागी थिए, न लोभ र लालचमुक्त नै । 

सुशीलको शरीरको ट्ेरडमार्क थियो उनको झुसिलो दारी । कांग्रेसभित्र खतरनाक चार दारीमध्येका एक थिए उनी । आलोचकहरू उनलाई शकुनी त भन्थे नै, उनको दारीभित्र षड्यन्त्रका धेरै पासाहरू लुकेको कथा पनि कुमारजीको शैलीमा अगत्स्यमुनिलाई जसरी सुनाउँथे । 

सानो गुटमार्फत राजनीति गर्न खप्पिस सुशीलले पार्टीको १२औँ महाधिवेशनपछि ०६७ असोज पहिलो साता जब निर्वाचित सभापति भएर पाँच वर्ष पार्टीको रथ हाँके, कांग्रेसको इतिहासमा उनीभन्दा अक्षम पार्टी सभापति कोही देखिएन । पार्टीलाई आवश्यक परेका बेला केन्द्रीय समितिको बैठक बोलाउन सकेनन् । करकापका कारण जति बैठक बोलाए, त्यसमा आफैँ एजेन्डा लान सकेनन् । न त अरूले दिएको एजेन्डा नै बैठकमा पेस गरे । एजेन्डा पेस नै गरे पनि त्यसमा छलफल गराउन सकेनन् । छलफल गराइहाले पनि निष्कर्षमा पुर्‍याउन सकेनन् । निष्कर्षमा पुर्‍याए पनि निर्णय लेख्न सकेनन् । निर्णय लेखिहाले पनि त्यसलाई कार्यान्वयन गराउन सकेनन् । अर्थात् पार्टीलाई तदर्थवादमै चलाउन खोजे । 

उनमा राज्य सत्ताभन्दा पार्टी सत्ताको लगाम आफ्नो हातमा रहोस् भन्ने महत्त्वाकांक्षा बढी थियो । प्रधानमन्त्री पद सम्हालिसकेपछि जतिजति बेला संकट आउँथ्यो, त्यतिबेला उनको थेगो नै थियो ‘म प्रधानमन्त्री पद पनि छाडिदिन्छु, तपाईं चलाउनूस् ।’ एमाले अध्यक्ष केपी ओलीदेखि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनि आफ्नै पार्टीका वरिष्ठ नेतासम्मलाई पटक–पटक उनले यही थेगोको अस्त्र प्रहार गरे । यद्यपि, उनी निकटस्थ कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे राज्यसत्ताप्रति सुशीलको कुनै मोह नरहेको दाबी गर्छन् । भन्छन्, “प्रधानमन्त्री पदबाट हटाइदिन्छु भनेर तर्साउने वा सत्ता जोगाइदिन्छु भनेर आश देखाउनेहरूले सुशील दालाई कहिल्यै पनि गलाउन सकेनन् । किनभने, सत्ता उहाँको एक मात्र लक्ष्य कहिल्यै पनि रहेन ।”

आफूसँग भेट्न आउने कार्यकर्तासँग सधैँ ‘पार्टी सखाप हुन लाग्यो । कम्युनिस्टहरूले सबै खाइसके । अब पार्टीलाई मूल्य, मान्यता र संस्थागत निर्णय गर्ने गरी विधिसम्मत रूपले चलाउनुपर्छ’ भन्न सुशीलले कहिल्यै छाडेनन् । तर, पार्टी विधान कुन चराको नाम हो, उनले कहिल्यै जान्न चाहेनन् । यदि त्यस्तो हुन्थ्यो भने पञ्चवर्षे कार्यकालभरि केन्द्रीय समितिलाई पूर्णता दिन्थे होलान् । विभागहरू गठन गर्थे होलान् । भ्रातृ संगठनहरूलाई झन् भताभुंग बनाएर टुहुरो बनाउँदैन थिए होलान् । यसरी पार्टी चलाएका सभापतिलाई एउटा निष्ठावान् कांग्रेसीले किन आजीवन सम्झिरहन्छ ? अनि, कसरी उनलाई महान् नेता भन्न सक्छ ?

लोभलालचमुक्त भनेर सुशीलको देवत्वकरण गरिएको छ अहिले । तर, १२औँ महाधिवेशनमा एक कार्यकाल मात्र सभापति हुने भनेर मत मागेका उनी यसपटक फेरि सभापतिको उम्मेदवारीको तयारी गर्दै थिए । आखिर उनको परिभाषामा लोभ के हो ? लालच के हो ?

गृहजिल्ला नेपालगन्जमा कांग्रेसबाहेक केही सोच्नै नसक्ने युवराज शर्माजस्ता व्यक्तिलाई कुनामा थन्क्याएर पूर्वडीएसपी कृष्णमान श्रेष्ठलाई जिल्ला सभापति बनाउँदा कुन प्रतिबद्घ कांग्रेसको नूर गिरेन ? सुनसरीमा हरि सापकोटालाई थाङ्नामा सुताएर मीना सुब्बालाई क्रेनले तानेर सानेपा पुर्‍याउँदा उनले कहिले सोचे, पूर्वका कांग्रेसीहरूले कतिपटक जिब्रो टोके होलान् भनेर ? 

खासमा उनको प्रत्यक्ष वा परोक्ष सक्रियतामा कांग्रेसभित्रका क्षमतावान् धेरै पात्र पत्रु बनाइए । झापामा चक्र बास्तोलाको नस्लबन्द गर्न पञ्चायतको पोखरीमा डुबुल्की मारेका केशवकुमार बुढाथोकीलाई रातो कार्पेट ओछ्याएर केन्द्रीय समितिमा भित्र्याउन सुशीलले कुनै कसरत बाँकी नराखेको भन्ने थाहा पाएका कांग्रेसीले आफ्नो पार्टी सभापतिलाई किन सधैँमा मुटुमा राखिरहन्छन् र † पोखराका तारानाथ रानाभाट र दाङका बलदेव शर्मा मजगैयालाई सानेपाको आँगनसमेत टेक्न नसक्ने गरी राजनीतिक पक्षघातको सिकार बनाएका उनी कसरी पार्टीभित्रका सबै कार्यकर्ताका लागि बीपीको विचार बोकेका वन्दनीय नेता रहिरहन सक्लान् ? अझ उनले गरेका धेरै पापमध्येका महापाप थिए, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र शैलजा आचार्यलाई रुवाएर पार्टी घरबाट बाहिरको बाटो देखाउन औजारका रूपमा प्रयोग हुनु । 

०४८ सालमा गिरिजाप्रसाद कोइराला पहिलोपटक प्रधानमन्त्री भएर बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेको पाँच दिन मात्र भएको थियो, उनलाई बधाई दिनेहरूको भीड थियो । र, तीमध्ये एक थिए, उनकै नातेदार विपिन कोइराला । गिरिजाप्रसादलाई विपिनको सल्लाह थियो, तपाईं ६ वटा ‘भ’सँग सतर्क रहनु होला । उनले ‘भ’को अर्थ प्रस्ट्याउँदै भनेका थिए– भाइ, भतिजा, भान्जी, भाउजू, भरतशमशशेर राणा र भारत । त्यसमध्ये विपिनले संकेत गरेका भाइ यिनै सुशील थिए । खासमा विपिनले सुशीलको नेतृत्व क्षमतामाथि शंका गरेका थिए । आखिर भइदियो पनि त्यस्तै । पार्टीमा त सकेनन् सकेनन्, गिरिजाप्रसादको शेषपछि परिवारभित्रै पनि राजनीतिक उत्तराधिकारी तयार गर्न सकेनन् । परिणाम सामुन्ने छ, दुई दशकपछि कोइराला परिवारको हातबाट फेरि कांग्रेस नेतृत्व बाहिर जाने स्थिति छ ।

पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाप्रति स्थायी घृणा भाव र उपसभापति रामचन्द्र पौडेलप्रति अविश्वासका कारण सुशीलले आफूपछि कांग्रेसको नेतृत्व तयार गर्नुपर्छ भन्ने सोच्नै चाहेनन् । बीपी–पुत्र तथा नातामा आफैँले हुर्काएका भतिजा शशांकलाई औधी माया गरे पनि नेतृत्व तहमा ल्याउन सकेनन् । गिरिजा–पुत्री सुजातालाई पनि वचन पूरा गर्ने दायित्वभावले नेतृत्वमा ल्याउन चाहे तर त्यो पनि सकेनन् । नोना–पुत्र शेखरप्रति त सधैँ वक्रदृष्टि नै रह्यो । 

पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि सुशीलले पटकपटक अवसर पाए तर कहिल्यै कोइराला हुनुबाहेक आफूसँग अरू क्षमता पनि छ भन्ने प्रमाणित गर्नै सकेनन् । ०४८ देखि यिनी पटक–पटक सांसद रहे तर यिनले संसद्को रोस्ट्रममा उभिएर राष्ट्रिय महत्त्वका विषयमा एक शब्द बोल्ने जाँगर कहिल्यै चलाएनन् । जब उनी प्रधानमन्त्री भए भूकम्पपछिको उद्धार, राहत र पुन:निर्माणमा प्रभावकारी भूमिका खेल्न नसकेका कारण पनि आलोचनाको पात्र बने । 

संविधान निर्माणपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ त भने तर संविधान निर्माणपछि पद छाड्न चाहेनन् । जब पद छाड्नैपर्ने स्थिति आयो, एमाले र एमाओवादीसँग गरेको सहमतिविपरीत प्रधानमन्त्री पदमा रहस्यमय उम्मेदवारी दिएर सहमतिको राजनीतिमाथि डोजर चलाए । पराजित भएपछि भनिदिए, ‘म फसेँ ।’ मुलुकको प्रधानमन्त्री भइसकेको, सर्वाधिक ठूलो र पुरानो लोकतान्त्रिक पार्टीको सभापतिले यति अपारदर्शी ढंगबाट आफ्नो पदप्रतिको आशक्तिलाई जोगाउन खोज्दा कांग्रेसजनलाई कसरी प्रीतिकर लागोस् ! 

राजादेखि रंकसम्मले आफ्नो कर्मको खातामा जम्मा भएको हिसाबकिताब यहीँ फस्र्यौट गर्नैपर्ने हुन्छ । नरचोलाबाट मुक्त भएका सुशील आफ्नो कर्मको कसीमा दोषमुक्त रहेनन् । रातारात भट्याउँदैमा उनी महामानव पनि भइहाल्ने होइनन् । उनी स्वयंले प्रधानमन्त्री र पार्टी सभापति निर्वाचित हुनुअघि नेपालसँगको भेटमा भनेका थिए, “म बहुत साधारण मान्छे हुँ । मलाई थाहा छ, मसँग मेरा नेताहरूमा जस्तो क्षमता पनि छैन । तर, मैले बीपी र जीपीसँग जे सिकेँ, त्यसलाई गुरुमन्त्र मानेर अघि बढ्ने हो । मसँग अरू विकल्प छनोट गर्ने अवसर पनि छैन ।” 

सत्य हो, उनले आखिर गरे पनि त्यही । त्यसैले उनलाई सम्झिनुपर्ने एउटै कारण छ, राजनीतिलाई सुशीलले साधन होइन, साध्य माने । सम्झौतामा होइन, राजनीतिक साधनामा विश्वास गरे । तडकभडकमा होइन, सादगीपूर्ण जीवनशैली र आर्थिक रूपमा पूर्णत: निष्कलंकित जीवन निर्वाह गरे । कांग्रेसले सधैँ बीजमन्त्र बनाएको लोकतन्त्र र उदार सामाजिक व्यवस्थाको विचारबाट कहिल्यै पनि न दायाँ ढल्किए, न बायाँ । कम्युनिस्टलाई सधैँ कुहिएको फर्सी मान्ने यिनै सुशील दुई कम्युनिस्ट पार्टीलाई साथमा लिएर देश र जनतालाई पहिलोपटक संविधानसभाबाट संविधान दिन सफल भए ।

संविधान निर्माणमा सक्रिय भूमिका खेलेका नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला भन्छन्, “संविधान जारी हुँदा संविधानसभाको सबैभन्दा ठूलो दलका सभापति र प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँ । धेरै महत्त्वपूर्ण बैठक र छलफलहरू उहाँकै पहलमा बालुवाटारमा भए । संविधानका महत्त्वपूर्ण विषयलाई सरसल्लाहमार्फत उहाँले निष्कर्षमा पुर्‍याउनु भयो ।” 

पार्टी र सत्ता सञ्चालनको कार्यशैली हेर्दा सुशील विचार र क्षमताभन्दा संयोगका सारथि बन्न पुगेका देखिन्छन् । उनी निमित्त नायक मात्र हुन् भन्ने कांग्रेसजन थुप्रै छन् । 

तस्विर: रवि मानन्धर

प्रकाशित: फाल्गुन २, २०७२