बर्माका नेपाली: मख्खन र रुवीले मालामाल

  • नेपाली मूलका बर्मेली व्यापार–व्यवसायमार्फत समृद्धिको उकालोमा

- दीर्घराज उपाध्याय

खदानको जोखिमपूर्ण कारोबार, टीक र रबरका चलेका व्यापारी हुन् नन्दराम न्यौपाने, जसको व्यापार म्यानमार (बर्मा)का अधिकांश ठूला सहरमा छ । उनले व्यापारबाट मनग्गे सम्पत्ति मात्र जोडेका छैनन्, यहाँको ठूलो सहर यांगुनमा धर्मशाला निर्माण गरेर सामाजिक ख्याति पनि कमाएका छन् ।

अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष हुन् मणिलाल न्यौपाने । यी म्यानमारका धनीमध्येकै एक नेपाली मूलका व्यवसायीमा गनिन्छन्, जो उनी जापानबाट कार आयात गरेर बिक्री गर्छन् ।

प्यीँउल्विनका परशुराम खरेल दुईवटा ठूला होटलका साहू हुन् । मूल सडकमा रहेको आफ्नै विशाल घरमा मोबाइल र इलेक्ट्रोनिक्सको व्यवसाय पनि छ उनको । ठेक्कापट्टा कारोबारमा उनले गरेको प्रगति पनि उत्तिकै प्रेरणादायक छ ।

म्यानमार प्रवेश गरेको झन्डै सय वर्षपछि मात्र नेपालीहरू राजधानी यांगुन पसेका हुन्, जसको उद्देश्य व्यापार गर्नु थियो । उनीहरूको सुरुआती व्यापार थियो, मख्खन । तर, मख्खनकै व्यापारमा भने उनीहरू सीमित भएनन् । विभिन्न खाले व्यापारमै लागेकाले यतिबेला उनीहरू चियापसलदेखि स्टार होटलका मालिकसम्म भएका छन् । किराना पसलदेखि रुवी ( मूल्यवान् पत्थर)को अन्तर्राष्ट्रिय कारोबार गर्ने व्यवसायीका रूपमा दरिएका छन् ।

यहाँ कतिपयले आफ्ना पितापुर्खाको व्यवसायलाई निरन्तरता दिएका छन् । तर, धेरैले भने मख्खनको व्यापारलाई सहायक र अन्य व्यापारलाई मुख्य बनाएका छन् । तिनैमध्येका एक हुन्, दीपक अधिकारी । नेपालबाट आएका उनका बाजे खेतीपातीमै सीमित थिए, बुबाले मख्खनको कारोबार थाले । दाइले मख्खन कारोबारलाई निरन्तरता दिए । उनीचाहिँ होटल व्यवसाय र रुवीको व्यापार गर्छन् ।

नेपालबाट म्यानमार प्रवेश गर्दा धेरै नेपाली यांगुनबाट निकै टाढा ग्रामीण बस्तीमा बस्थे, जसमध्ये अधिकांशको मुख्य पेसा खेतीपाती थियो । र, नेपालीको ठूलो हिस्सा सेनामा पनि थियो । ५० वर्षअघि मात्र नेपालीहरू ग्रामीण बस्तीबाट सहरमा प्रवेश गर्ने क्रम सुरुआत भएको थियो । “व्यापार व्यवसाय गर्ने उद्देश्यले सहर पस्ने अधिकांश नेपालीले मख्खनको कारोबारबाटै आफ्नो सहरी जीवनको सुरुआत गरेका थिए,” अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ म्यानमारका अध्यक्ष मणिलाल पौडेल भन्छन् । पहिले केही नेपाली राजधानी यांगुन पसेका थिए । अहिले यहाँ मात्र सात सयभन्दा बढी परिवार छन् । तर, धेरैको कारोबार र व्यवसाय भने फरक–फरक प्रकृतिको छ । किनभने, अब सबै नेपाली मख्खनको व्यवसायमा मात्र सीमित छैनन् ।

५० वर्षअघि यांगुनमा मात्र नेपालीका १७ वटा डेरी थिए, जसमध्ये निकै नाम चलेका डेरी थिए गोर्खा र कलाउ । “नेपालीहरूको मख्खन यति लोकप्रिय थियो कि यो किन्न ग्राहकको लाइन लाग्थ्यो,” सागर घिमिरे भन्छन्, “प्यीँउल्विनमा पनि नेपालीको मख्खन त्यत्तिकै लोकप्रिय थियो ।” कतिसम्म भने यांगुनमा नेपालीबाहेक अन्यका डेरी भए पनि शुद्धता र गुणस्तरका कारण मख्खन किन्नेको भीड भने नेपालीकै डेरीमा हुन्थ्यो । यांगुनकै गणेश मिश्र भन्छन्, “आज पनि मख्खनको कारोबारमा नेपालीहरू अग्रणी छन् ।”

गाई पालनमा विशेष रुचि राख्ने नेपालीलाई सहर प्रवेश गराउने पहिलो व्यापार नै मख्खन थियो । अहिले पनि यांगुनमा लालबहादुर सुवेदी, दिनानाथ बञ्जाडे, ओमप्रकाश भट्टराईलगायतका नेपाली व्यवसायीद्वारा सञ्चालित दुई दर्जनभन्दा बढी डेरी छन् । ठूलो संख्यामा नेपालीहरू गाईपालनमा संलग्न भए पनि समयक्रमसँगै व्यापारको प्रकार र प्रकृति पनि फेरिएको छ ।

यांगुनमा मात्र नभएर मान्डले, टाउजी, मिचिना, मोगोकमा पनि नेपालीहरूले व्यवसायमा ठूलो फड्को मारेका छन् । “खेतीपातीमा सीमित हुँदा खासै प्रगति गर्न सकेका थिएनन्,” रुवी व्यवसायमा संलग्न मोगोकका लक्ष्मण न्यौपाने भन्छन्, “व्यापार व्यवसायमा हात हालेपछि भने नेपालीको जीवनमा ठूलो परिवर्तन आएको छ ।” त्यस्तो परिवर्तन हुने नेपालीको संख्या सयमा नभई हजारौँमा छ ।

सुरुआती दिनमा अरूका लागि काम गर्ने उनीहरू अहिले आफ्नै व्यापारमा छन् । धेरैको सुरुआत खानीहरूमा खदानको जोखिमपूर्ण कामबाट भएको थियो । तर, अहिले जोखिमपूर्ण काममा नेपालीहरू संलग्न छैनन् । संघका अध्यक्ष पौडेल भन्छन्, “म्यानमारमा अन्य समुदायको तुलनामा नेपालीहरूको अवस्था राम्रो छ ।”

मोगोकका व्यापारी लक्ष्मण न्यौपानेका अनुसार म्यानमारमा झन्डै दुई दर्जनभन्दा बढी अर्बपति नेपाली छन् । र, करोडपतिको संख्या सयभन्दा बढी छ । यस्तै एउटा उदाहरण हुन्, दीपक अधिकारी । नेपाली गोर्खा विश्व विद्यालयका अध्यक्षसमेत रहेका दीपक रुवीका कारोबारी तथा होटल व्यवसायी पनि हुन् । म्यानमारका धनी नेपालीमध्येका एक हुन् उनी । तर, उनको परिचय यतिमै सीमित हुँदैन । उनले रुवीसँगै पछिल्लोपटक होटल व्यवसायमा समेत हात हालेका छन् । कलाउमा झन्डै ४५ करोड रुपियाँको लागतमा होटल सञ्चालन गरिरहेका उनी किशन ज्ञवाली, भेषराज न्यौपानेसँग मिलेर इन्ले लेकमा ३० एकड जमिनमा अर्को होटल बनाउँदैछन्, जसको लागत करिब २५ करोड रुपियाँ छ ।

दीपकका बाजे आएका हुन् बर्मा । उनका बुबा यतै जन्मे, उनीचाहिँ प्यींउल्विनमा जन्मिए । उनका बाजे र बुवा खेतीपाती गर्थे । दाइ धनेश्वर मख्खनको कारोबार गर्न ५० वर्षअघि प्यींउल्विनबाट राजधानी यांगुन छिरे । त्यतिबेला मख्खनको व्यापारमा नेपालीहरू निकै अग्रणी थिए । सन् १९७८ मा यांगुन आएका दीपकले रंगुन विश्वविद्यालयबाट स्नातक गरेपछि दाइ धनेश्वरकै बाटो पछ्याए । मख्खनको कारोबारसँगै रुवी व्यवसायमा पनि हात हाले । रुवीको कारोबारमा उनलाई पत्नी सुमनले सहयोग गर्छिन् ।

नेपाली गोर्खा विश्वविद्यालय विद्यार्थी सहयोग मण्डलीका संरक्षकसमेत रहेका सागर घिमिरे टाउजीमै जन्मिए, त्यहीँ हुर्किए । तर, १० वर्षदेखि राजधानी यांगुनलाई कर्मथलो बनाएका उनी र उनकी पत्नी गोमा रुवीलगायत बहुमूल्य पत्थरको व्यापारमा पनि संलग्न छन् । कुमार भट्टराई पनि नेपाली समुदायमाझ नाम चलेका व्यापारी हुन् । रुवीको कारोबार हुँदै, दाल निर्यातमा हात हालेका भट्टराई यांगुनमा बस्छन् । यांगुनकै चोलानाथ बञ्जाडे रुवी र हीराको व्यापारमा अर्को चर्चित नाम हो ।

म्यानमारभरि करिब तीन लाख नेपाली छन् । त्यसमध्ये माण्डले डिभिजन अन्तर्गतको मोगोकमा मात्रै ३० हजार नेपाली बसोवास गर्छन् । यहाँका अधिकांश नेपाली रुवीको कारोबारमा संलग्न छन् । पहिले खदान मजदुरका रूपमा खानीमा प्रवेश पाएका यिनीहरू पछि मोगोकमै बसोवास गर्न थाले । र, मजदुरका रूपमा रुवीको खानीमा प्रवेश गरेका नेपाली कालान्तरमा यसकै व्यापारमा संलग्न भए । नेपालीहरूको खेतीपातीले सामान्य जीविका मात्र चलेको थियो, मोगोकका रुवी व्यवसायी लक्ष्मण न्यौपाने भन्छन्, “रुवीको कारोबारमा संलग्न भएपछि अधिकांश नेपाली करोडपति भएका छन् ।”

रुवीको व्यापारबाटै २० जनाभन्दा बढी नेपाली अर्बपति र सयभन्दा बढी करोडपति भएका छन् । बर्माका अधिकांश नेपाली पहिले मख्खनलगायतका दूग्ध पदार्थको व्यापार गर्थे भने अहिले रुवीको कारोबार उनीहरूलाई फापेको छ । रुवीको कारोबारले त उनीहरूले समृद्धिको नयाँ शिखर नै चुमेका छन् । खासमा मख्खनबाट मिलेको मुस्कानलाई रुवीको कारोबारले दिन दुगुना रात चौगुना मालामाल बनाएको छ । 

के हो रुवी ?

एक प्रकारको चम्किलो पत्थर हो, रुवी । यो सुन्दर, आकर्षक र चम्किलो हुन्छ । यसलाई रत्नराज अर्थात् गहनाहरूको राजा पनि भनिन्छ । रुवीका लागि म्यानमारको मोगोक विश्वमै प्रसिद्ध छ ।

पहाडबाट खनेर निकालिएको रुवी प्रशोधनपछि गुणस्तर जाँचका लागि प्रयोगशालामा पठाइन्छ । त्यसपछि यसलाई आकार दिइन्छ । गुणस्तर जाँचपछि यसको मूल्य निर्धारण हुन्छ । रातो रुवी प्रेमको प्रतीक पनि मानिन्छ ।

राजा–महाराजा, धनाढ्य एवं सेलिब्रिटीहरू यसका ग्राहक हुन् । रुवी औँठी, हारलगायत शरीरमा गहनाका रूपमा प्रयोग गरिन्छ । यो कोठामा सजावटका लागि पनि प्रयोग हुन्छ । यो हीराझैँ महँगोमा बिक्री हुन्छ । रुवीको सानोभन्दा सानो टुक्रा पनि निकै बहुमूल्य हुन्छ । मोगोकका रुवी व्यापारी लक्ष्मण न्यौपानेका भनाइमा एउटै टुक्रा रुवीको ३० करोड रुपियाँसम्म पर्छ ।

पाहुना नागरिक

म्यानमारमा नागरिकताबाट वञ्चित नेपाली मूलका बासिन्दाहरू हजारौँको संख्यामा छन् । यहाँ बाहिरबाट आएका व्यक्तिलाई पाहुना र ‘एफआरसी’ ( विदेशीलाई दिइने बसोवास प्रमाणपत्र) नागरिकता दिने गरिएको छ, जुन अस्थायी हुन्छ । र, यो नागरिकताधारीलाई सीमित अधिकार मात्रै हुन्छ ।

नागरिकता नभए होटलमा बास पाइँदैन । एक ठाउँबाट अर्को ठाउँ जान पनि निकै झन्झट र जोखिम बेहोर्नुपर्छ । एफआरसी नागरिकता भएकाहरू राजनीति गर्न पाउँदैनन् । निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनन् । चिकित्सा विज्ञान र इन्जिनियरिङ पढ्न पाउँदैनन् । वकालत पेसा पनि बन्देज छ । यतिसम्म कि अर्थशास्त्रसमेत पढ्न पाइँदैन ।

अन्य मुलुकबाट आएकाहरूले सुरुमा पाउने नै पाहुना र एफआरसी नागरिकता हो । यस्तो नागरिकता लिनेले प्रत्येक वर्ष नवीकरणका लागि शुल्कसमेत तिर्नुपर्छ । बर्मा स्वतन्त्र भएपछि सन् १९४८ मा पहिलोपटक र दोस्रोपटक सन् १९८२ मा सबैलाई नागरिकता दिइएको थियो । यहीँ जन्मेको भए पनि तोकिएको समयभित्र नागरिकता नलिएकालाई अंगीकृत नागरिकता दिइएको छ । त्यसभन्दा पहिलेकाले वंशजका आधारमा नागरिकता पाएका छन् ।

नेपाली मूलकाले चाहिँ पहिले नागरिकता लिए जाति मासिन्छ भनेर धेरैले लिएनन् । यही कारण धेरै नागरिकताबाट वञ्चित भए । यांगुनका मोहनराज खनाल स्वदेश फर्कने आशामा नागरिकता नबनाएकाहरू समस्यामा परेको बताउँछन् । “नागरिकता खुला गरेको बेला स्वदेश फर्कने भन्दै नलिनेहरू नै समस्यामा छन्,” खनाल भन्छन्, “तर, म्यानमार सरकारले नेपालीलाई नागरिकता नै नदिएको भने होइन ।”

यहाँको नागरिकता पाउन आमा–बुबा दुइटै म्यानमारमा जन्मिएको हुनुपर्छ । प्यीँउल्विनकी हीरा कमरले बुबाको नागरिकता नभएका कारण आफूले नागरिकता नपाएको सुनाइन् । “आमाको नागरिकता छ । तर, बुबाको छैन,” 

कमर भन्छिन् ।

स्नातकसम्म अध्ययन गरेकी हीराजस्तै थुप्रै नेपाली पढाइ पूरा गरे पनि नागरिकताको अभावमा जागिर खानबाट समेत वञ्चित छन् । उनीहरू न नेपाल फर्कन सक्ने अवस्थामा छन्, न त म्यानमार नै बस्न सक्ने अवस्थामा ।

गर्विलो इतिहास

म्यानमारको स्वतन्त्रता र यहाँ विभिन्न समयमा विभिन्न समूहद्वारा भएका विद्रोहमाथि नियन्त्रणका लागि गोर्खालीहरूले लडेका थिए । धेरैले वीरगति पनि प्राप्त गरे । सन् १९४२ मा जापानसँगको युद्धमा पराजित भएको म्यानमारलाई एक वर्षपछि गोर्खालीहरूले जित दिलाएका थिए । बर्मा राइफल्समा सुरुआतमा पन्जाबी र गोर्खालीहरू थिए । १९४२ मा जापानी फौजसँगको हारपछि पछाडि हटेर भारतको होसियारपुरस्थित ब्रिटिस हेडक्वार्टरमा फर्केको बर्मा राइफल्सबाट पन्जाबीहरूलाई हटाएर गोर्खाली मात्र राखिएको थियो ।

त्यही गोर्खाली फौजले १९४३ मा म्यानमारको कछिन प्रान्तको सुम्प्राभूममा भएको युद्धमा जापानीमाथि जित हासिल गरेको थियो । त्यस्तै, ८– ९ मार्च १९४७ मा म्यानमारको माण्डले पहाडमा भएको लडाइँमा कैयौँ गोर्खाली जवानले वीरगति प्राप्त गरेका थिए । यहाँ गोर्खाहरूको सम्मान र सम्झनामा स्मारक बनाइएको छ । त्यसयता स्मारकमा म्यानमारवासी गोर्खाजनको उपस्थितिमा प्रत्येक वर्ष १ वैशाखमा श्रद्धाञ्जलि अर्पण कार्यक्रम हुँदै आएको छ ।

दोस्रो विश्वयुद्धको समाप्ति र त्यसको तीन वर्षपछि अंग्रेजबाट मुक्त भएपछि पनि म्यानमारको स्वतन्त्रता र शान्तिका लागि कैयौँ गोर्खालीले ज्यानको आहुति दिएका छन् ।

म्यानमार स्वतन्त्र भएपछि चौथो बर्मा रेजिमेन्टभित्र चौथो गोर्खा राइफल्स कायमै थियो, जसमा गोर्खालीहरू मात्र थिए । म्यानमार अंग्रेजबाट स्वतन्त्र भएपछि छुट्टै राज्यको माग गर्दै विभिन्न जाति र समूहले कब्जा गरेका इन्सै, थाजी, डाइउ गोर्खालीले नै लडेर फिर्ता गरेका थिए । पुन: १९५० मा विद्रोहीले कब्जा गरेको मग्वे र मिन्भु सहर पनि गोर्खालीले मुक्त गरे । १९५० कै जुन महिनामा चिनियाँहरूले कब्जा गरेको च्याइटौँ पनि गोर्खालीले लडेर नै मुक्त गरे ।

१९५५ को मार्च महिनामा दक्षिण शान थाइल्यान्डको सिमानाको माइसा, ल्वेलिम, माइयाऊ, टाछिलैक कब्जा गरी बसेको चिनियाँ सेनाको फौजलाई गोर्खालीले यान्जिआउ लडाइँमा परास्त गरी भगाएका थिए । यस्ता थुप्रै युद्ध गोर्खालीले म्यानमार भूमिको रक्षार्थ लडेको इतिहास छ ।

शान्ति कायम भएपछि धेरै गोर्खाली सैनिक जिम्मेवारीबाट मुक्त भए । पछि गोर्खा राइफल्सझैँ अन्य जातिले पनि जातिगत राइफलको माग र त्यसमा आफ्नो उपस्थिति खोज्न थालेपछि नेपालीहरू मात्र समेटिएको गोर्खा राइफल्स म्यानमारको सरकारले विघटन गर्‍यो । 

तस्बिरहरू : दीर्घराज उपाध्याय

 

प्रकाशित: माघ २३, २०७२