खाडी मुलुकमा महिला तस्करी गर्न खुला सीमाको उपयोग

- जितेन्द्र साह

चेलीबेटी बेचबिखनविरुद्धको नेपाली उद्दार टोलीले १९ जेठमा दुई महिलालाई जोगबनी नाकामा रोक्यो । अलग–अलग जिल्लाबाट आएका ती दुईबीच कुनै नाता सम्बन्ध नदेखिएपछि थप अनुसन्धानका लागि नजिकैको सीमा प्रहरी चौकी बुझायो ।

उनीहरूबाटै प्राप्त सूचना र हुलियाका आधारमा भारतको जोगबनी रेल्वे स्टेसनमै थप तीन महिलालाई प्रहरीले नियन्त्रणमा लियो । उनीहरूमध्ये कोही चप्पल किन्ने त कोही दर्शन गर्ने बहानामा सीमापारि पुगेका थिए । त्यसपछि विराटनगर–जोगबनी नाकाबाट समेत अवैध रूपमा महिलालाई खाडी मुलुक कुवेत पठाउने गरिएको खुल्यो ।

उदयपुर, सप्तरी, ओखलढुंगा, कञ्चनपुर, कैलाली र पर्वतका उनीहरूलाई काठमाडौँ हुँदै जोगबनी पुर्‍याइएको थियो । भारतबाट खाडी जान सजिलो र सस्तो हुने भन्दै हरेकबाट ३० हजार रुपियाँ असुलिएको खुलेको छ । बाटामा प्रहरीको सोधपुछ हुने भएकाले दलालले एक मधेसी मूलकी महिलालाई बाँकी चार पहाडी महिलालाई सीमा कटाउने जिम्मेवारी दिएका थिए ।

यसरी स्थानीयस्तरमा सहजीकरण गर्ने महिला भने सबैको सामान बोकेर पारि गएकी थिइन् । उनलाई प्रहरीले डेढ महिनापछि विराटनगरमा पक्राउ गर्‍यो । २२ जेठमा उक्त नाकाको पहिलो ढाटमै पाँच महिलालाई उद्दार टोलीले नाम, ठेगाना र पारि जाने उद्देश्यबारे सोध्यो ।

तीमध्ये एकले उपचारका लागि सिलिगुढी जान लागेको बताइन् । धरान, सुुनसरी घर भएकी महिलाले सिलिगुढी जाने सजिलो र छोटो बाटो काँकडभिट्टा हुँदाहुँदै जोगबनीको बाटो रोज्नु आफैँमा शंकास्पद थियो । अन्तत: घरायसी सरसल्लाह अनुरूप गैरकानुनी रूपमा भारतबाट कुवेत जान लागेको रहस्य उनीहरूबाटै खुल्यो । दिल्लीमा दलालमार्फत नक्कली राहदानी बनाउने योजना पनि रहेको उनीहरूले बताए ।

यी दुई ताजा घटनाले नेपाल र भारतको भूमार्ग भएर अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुक लैजान थालेको पहिलोपल्ट खुलेको सीमा प्रहरी चौकीका नायब निरीक्षक (सई) विकास खत्री बताउँछन् । भन्छन्, “शंका हुन नदिने गरी विभिन्न जिल्लाका महिलाको समूह बनाएर दलालले ल्याउने गरेको पाइएको छ ।”

प्रहरीका अनुसार खुला सीमाबाट छिरेर महिला किनमेल गर्न आएजस्तै एक/एक जना प्रवेश गर्छन् । जाँचका क्रममा संयोगवश उनीहरू फेला परे पनि नाका, रेल्वे र बसपार्कको भीडभाडको फाइदा उठाएर भारत र खाडी जानेको संख्या अझै धेरै हुन सक्ने प्रहरीको आकलन छ । भारत जान लाग्दा 

उद्दार गरिएकामध्ये उदयपुरको रामपुर, ठोक्सिलाका बढी छन् ।

सामाजिक संघसंस्था र महिला सेलको घुम्ती टोलीले ०५४ सालदेखि सीमामा मानव बेचबिखनविरुद्ध अभियान थालेको हो । नियमित कारबाहीमा खटिने प्रहरी जवान मिठ्ठुमाया खड्काका भनाइमा शंकास्पद देखिएकालाई ढाट, सडक, रेल्वे स्टेसन र बसपार्कमा छेकेर छानबिन गरिने हुनाले यस प्रक्रियालाई ‘छेकजाँच’ भन्ने गरिएको छ ।

“भारतमा काम गर्न जान लागेको भन्छन् तर कुन ठाउँ जाने भन्ने थाहा हुँदैन,” खड्का भन्छिन्, “कतिपयलाई बिनाकागजात रोजगारका लागि लैजान खोजिएको पाइन्छ भने कतिपयको बिहे दर्तासमेत नक्कली पाइएको छ ।” मानव ओसारपसार अचाक्ली बढेपछि सीमा प्रहरी चौकीमा महिला तथा बालबालिका सेवा केन्द्रसमेत स्थापना गरिएको छ । 

प्रकाशित: माघ १३, २०७२