कैलाशकूट भवन: स्वर्ण युगको स्वर्ण दरबार

  • १ हजार ४ सय वर्ष पुरानो कैलाशकूट मिथकभन्दा वास्तविक तथ्य

- गोकर्ण गौतम, स्केच : रवीन्द्र मानन्धर

पुन:निर्माण महाअभियान अन्तर्गत भूकम्पले क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुन:निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छ । तर, यस्तै महाभूकम्पले नष्ट भएको विश्वास गरिएको एक प्राचीन दरबार भने अझै पृथ्वीको गर्भमै छ । त्यो पनि टाढा कतै होइन, काठमाडौँकै हाँडीगाउँमा भएको अनुमान छ । त्यसरी उत्खनन र अनुसन्धानको अभावले मिथक बनेको दरबार हो, कैलाशकूट । 

१ हजार ४ सय वर्षअगाडि लिच्छवि राजा अंशुवर्माले बनाएको यो दरबार वास्तुकलाको श्रेष्ठतम नमुना थियो । कैलाशकूट भन्नासाथ हाम्रो मानसपटलमा असीम भव्यता र वैभवताको झल्को आउँछ । सात तले, किम्मति पत्थरको कलात्मकताले भरिपूर्ण अनि छानामा १० हजार मानिस अटाउनेजस्ता मिथक कैलाशकूटसँग जोडिएका छन् ।

धेरै सामाजिक सुधार र विकासका काम भएकाले नेपालको इतिहासमा लिच्छविकाललाई स्वर्ण युग मानिन्छ । त्यही युगका तीन दरबार चर्चित छन्, मानगृह, कैलाशकूट र भद्रादिवास । त्यसमध्ये पनि कैलाशकूट भव्य थियो । स्वर्णयुगको सबैभन्दा भव्य दरबार । दुर्भाग्य ! पुरातत्त्व विभागसँग कैलाशकूट कहाँ र कस्तो थियो भन्ने यकिन तथ्यसमेत छैन । कैलाशकूटको वैभवताका बारेमा जति वैज्ञानिक अध्ययन भएका छन्, त्यसभन्दा धेरै हल्ला छ नेपाली समाजमा । सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी दुखेसो पोख्छन्, “कैलाशकूट उत्खनन गर्न सकियो भने विश्वसामु नेपालको शिर कति उचो हुन्छ र पर्यटन प्रवद्र्धनमा कति महत्त्वपूर्ण योगदान पुग्छ भन्ने सरकारलाई हेक्कै छैन ।” हुन पनि, जति प्रमाण भेटिएका छन्, त्यस आधारमा कैलाशकूट भवन वास्तुकला र वैभवताको उत्कृष्ट प्रतिविम्ब थियो भन्नेमा सायदै विमति रहला । 

अभिलेखहरूमा कैलाशकूट महिमा
कैलाशकूटको भव्यताको सबैभन्दा बढी कसैले व्याख्या गरेको छ भने त्यतिबेलाका चिनियाँ राजदूत वाङ हुएन त्सेले हो । राजा उदयदेवको सत्ताच्यूतपछि तिब्बत निर्वासनबाट तिब्बती र चीनको सैनिक मद्धतका आधारमा उदयदेवका छोरा नरेन्द्रदेवले कैलाशकूट भवन कब्जा गरेर शासन चलाए । चिनियाँ प्रभाव बढेको यही पृष्ठभूमिमा नरेन्द्रदेवले सन् ६४६ नेपालका लागि चीन सरकारका दूत वाङ नेतृत्वको टोलीलाई कैलाशकूटमा भव्य स्वागत गरेका थिए, त्यो पनि ‘रेड कार्पेट’ बिछ्याएर । त्यही क्षणलाई राजदूत वाङले दरबारको फैलावट, वैभवता र कलात्मकतासँग जोडेर लोभलाग्दो वर्णन गरेका छन्, आफ्नो नियात्रामा । उनी नेपाली राजाले आफूलाई मोतीको पहिरनमा सजाएको, बुद्धका प्रतिमूर्ति भएको पेटी बाँधेको र सिंहको आसनमा बसालेको भन्दै निकै प्रभावित भएका छन्  । 

त्यस अवधिमा चीनमा समेत यस्तो वास्तुकलाको भव्य भवन नबनेको वाङको वर्णन छ । कैलाशकूट भवनका बारेमा विशेष अनुसन्धान गरेका पुरातत्त्वविद् तारानन्द मिश्र भन्छन्, “सातौँ शताब्दीमा चीनले विकासमा फड्को मारिसकेको थियो तर त्यहीँबाट आएका राजदूतले दिल खोलेर प्रशंसा गरेकाले कैलाशकूट भवनको वैभवता आकलन गर्न सकिन्छ ।” तिब्बती राजा स्रङ्चनगम्पोको पोतला दरबार र मगधका राजा हर्षवद्र्धनको धवलगृहकै समकालीन र त्यत्तिकै प्रख्यात मानिन्छ, कैलाशकूट । वास्तुकलाको स्वर्णिम नमुना मानिएको यो दरबारले दक्षिण एसिया र चीनमा उत्तिकै प्रसिद्धि पाएको थियो । 

प्यागोडा शैलीको यस अलौकिक भवनको संरचना र शैली मात्र होइन, धेरै वैज्ञानिक उत्खनन नभएकाले यो उपत्यकाको कुन स्थानमा थियो भन्नेसम्म टुंगो लागेको थिएन । हाल आएर चाहिँ हाँडीगाउँ क्षेत्रमा कैलाशकूट भवन थियो भन्ने निष्कर्ष निकालिएको छ । “कैलाशकूट भवन हाँडीगाउँमा थियो भन्नेमा विवाद गर्नुको तुक छैन,” नेपाली ऐतिहासिक आर्किटेक्चर, सहरीकरण र संस्कृतिका विज्ञ प्राध्यापक सुदर्शनराज तिवारीको कथन छ, “मानगृह सीता भवन र मनमानेश्वरको बीचमा थियो । त्यसैले कैलाशकूट भवन गहनापोखरीको दक्षिण र मालीगाउँको उत्तरी दिशामा थियो ।” 

कैलाशकूट अवस्थित रहेको स्थान विवाद त करिब टुंगिएको छ । अब प्रश्न, यथार्थमा कैलाशकूट भवनको सुन्दरता, सम्पन्नता र वैभवता कस्तो थियो भन्ने नै हो । यसका लागि वाङको वृत्तान्तजत्तिकै विश्वसनीय र बलियो आधार हुन्, लिच्छविकालीन शिलालेख । 

लिच्छविकालीन १५ अभिलेखमा कैलाशकूट दरबारको खुलेर प्रशंसा गरिएको छ । त्यसमध्ये सबभन्दा पहिलो हो, सन् ६०५ मा जारी गरिएको बुङ्मती अभिलेख, जसमा कैलाशकूटको उल्लेख मात्र छ । खोपासीमा भेटिएको अभिलेखका अनुसार भने शिवदेवले कैलाश यात्राका निम्ति प्रत्येक व्यक्तिले कमेरोको ५० डल्ला ल्याउन आदेश दिएका थिए । यो माटो कैलाशकूटको रंगरोगनका लागि प्रयोग गरिएको इतिहासकारहरूको अनुमान छ । सन् ६०८ को साँगा अभिलेख अनुसार यो दरबार हेर्न जनतामा कौतूहल छ, यसलाई हेर्न जनता आँखै झिमिक्क नगरी टोलाइरहन्छन्, यस्तो भव्य भवन अन्त पनि कमै पाइन्थ्यो । 

नरेन्द्रदेवको अनन्तलिंगेश्वर अभिलेखबाट यस दरबार कैलाशजत्तिकै अग्लो र वास्तुशिल्पयुक्त भएको बुझिन्छ । कैलाशकूटको ख्याति विदेशसम्म फैलिएको थियो । अंशुवर्माको शिल्पले साकार रूप लिएको यस भवनको निर्माणको प्यागोडा शैली विदेशमा समेत प्रख्यात भएको थियो । पाटन भन्सारचोकको अभिलेखमा हिउँले धपक्क ढाकेको हिमालयको टाकुरासँग कैलाशकूटको तुलना गरिएको छ । अंशुवर्माको हाँडीगाउँ अभिलेखमा दरबारका विभिन्न देवीदेवताको मूर्ति राखिएको र चार ढोकामध्ये पश्चिम ढोकालाई विशेष महत्त्व दिइएको छ । त्यसैले कैलाशकूट दरबार दक्षिणाभिमुख रहेको मानिएको छ ।

अभिलेखहरूका अनुसार कैलाशकूट दरबारको चारैतिर पानीका ठूला नहर थिए, जसमा गोही पालिएको थियो, ता कि दुस्मन दरबारभित्र छिर्न नसकोस् । दरबारका वरपर अग्ला बुर्जा थिए, जहाँ राजाको सुरक्षाका लागि हरक्षण हतियारधारी सैनिक तैनाथ हुन्थे ।

पानीको छहरा कैलाशकूटको वैभव र प्रसिद्धिको अर्को मानक हो । राजदूत वाङको नियात्रा समाविष्ट ताङ वृत्तान्तमा सात तलामाथिबाट पानीको फोहरा तल झरेको उल्लेख छ । छानाबाट प्रत्येक तला हुँदै तल पोखरीसम्म वडो कलात्मक शैलीमा झर्दथ्यो । रमाइलो कुराचाहिँ पानी झर्दा पर्खालमा पर्दैनथ्यो । यसबाट दरबारको माथिल्लो भागमा पानी पुर्‍याउने प्रविधि विकास गरिएको अनुमान लगाउन सकिन्छ । दरबारमा पानीमा काम गर्नेहरूलाई विशेष महत्त्व र सम्मान दिइन्थ्यो । प्राध्यापक तिवारीको मत छ, “आकाशबाट परेको पानी संकलन गर्ने प्रविधिको विकास गरिएको थियो । हाँडीगाउँमा भएका धेरै इनारले त्यहाँ प्राचीनकालदेखि नै बृहत्तर पानीको प्रणालीलाई दर्शाउँछ ।” 

तर, कैलाशकूट भवन निर्माण सामग्रीका विषयमा भने भिन्नभिन्न मत छन् । कोही ढुंगाले बनेको दाबी गर्छन् त कोही हलुका निर्माण सामग्रीले । लिच्छविकालको निर्माणको पहिलो साधन ढुंगा थियो । त्यही समयमा निर्मित बूढानीलकण्ठको ढुंगाको मूर्तिबाट पनि लिच्छविहरू ढुंगासँग खेल्न माहिर थिए भन्ने बुझाउँछ । सोही कारण कैलाशकूट बनाउन ढुंगालाई प्राथमिकता दिइएको अनुमान छ । तर, साततले र १० हजार मान्छे अटाउने भवनमा ढुंगाको प्रयोग सम्भव थियो र भन्ने प्रश्न पनि उत्तिकै बलियो छ । पुरातत्त्व विभागका पूर्वमहानिर्देशक संस्कृतिविद् साफल्य अमात्य उक्त दरबार ढुंगाले बनेको मान्दैनन् । भन्छन्, “ढुंगाको मूर्ति बनाइन्थ्यो, दरबार होइन ।” 

आर्किटेक्ट इन्जिनियरिङका ज्ञाता प्राध्यापक तिवारी पनि आर्किटेक्टका हिसाबले ढुंगाको, त्यसमाथि साततले दरबार बनाउन सम्भव नभएको बताउँछन् । उनको बुझाइमा दरबार निर्माणका लागि हल्का सामान प्रयोग गरिएको हुनुपर्छ । बाँसको भाटामा माटो लगाएर बाहिरबाट सेतो कमेरो लेपिएको भनिएको छ । फेरि, भित्तामा कमेरो लगाएको भन्ने त विभिन्न शिलालेखमा उल्लेख नै छ । यही निक्खर कमेरोका कारण दरबारलाई हिमालजस्तो झलमल्ल भनेर तुलना गरिएको हुन सक्छ । तिवारी भन्छन्, “ढुंगा र इँटा थियो भने जगमुनि मात्र हो, माथि प्रयोग गरिएको छैन । साततले भएकाले गह्रौँ सामग्रीको प्रयोग सम्भव पनि थिएन । होइन भने धेरै संरचना भेटिइसक्नुपर्ने हो ।” 

लिच्छविकालीन शक्तिकेन्द्र
आखिरमा अंशुवर्मालाई यस्तो भव्य र कलात्मक भवन निर्माणको आवश्यकता किन खट्कियो त ? किनभने, हिजोआज मात्र होइन, प्राचीन समयमा ठूला दरबार, स्मारक, मन्दिर शक्ति देखाउने र गर्व गर्ने माध्यम थियो । महँगा संरचनाबाट राजाहरूको शान मापन हुन्थ्यो । त्यसमाथि अंशुवर्मा त कलाप्रेमी थिए, उनको यही सपनाको मूर्तरूप थियो, कैलाशकूट भवन । यद्यपि, सन् ६०५ मा शिवदेवको मृत्यु नभइन्जेल अंशुवर्माले कैलाशकूटबाट आज्ञा जारी गरेका थिएनन् ।

खासमा विशालनगरमा भौमगुप्तहरूलाई हटाई शिवदेवले शासन सुरु गरेका हुन् । तर, यो विजयमा उनका भानिज मानिएका अंशुवर्मा, जो लिच्छवि घरानाका थिएनन्, को हात थियो । त्यसैले शिवदेवको शान घट्दै गयो, भित्रभित्रै शक्ति अंशुवर्मामा केन्द्रित हुन थाल्यो, भौमगुप्तलाई परास्त गरेको चार वर्षमा त उनी महासामन्त (प्रधानमन्त्रीसरह) बनिहाले । धनवज्र बर्जाचार्यले लिच्छविकालीन अभिलेखमा लेखेका छन्, ‘अंशुवर्माको उदयको साथसाथ बाहिर जतिसुकै राजकीय सम्मान रहे तापनि भित्रभित्रैबाट शिवदेव शक्तिहीन स्थापनाका राजा बन्न पुगेका थिए । अंशुवर्माको विद्वता, व्यक्तित्व र चातुर्यबाट उनी यति प्रभावित भए कि आखिर उनैलाई सबै राजपाठ सुम्पिदिए ।’ 

कैलाशकूट बनाउँदा अंशुवर्मा महासामन्त थिए, राजा होइन । राजाचाहिँ शिवदेव थिए । उनी पुरानै दरबारमा बस्थे । यद्यपि, उनले नयाँ दरबारमा ‘ममा र अंशुवर्मामा फरक नदेख्नु भनेर’ तारिफ गरेको इतिहासकार प्रा मुकुन्द अर्याल बताउँछन् । अंशुवर्माले शासनसत्ताको सम्पूर्ण जिम्मेवारी पाएपछि उनले लिच्छवि राजाहरूसरह मानगृहमै बसी शासन चलाउन उचित सम्झेनन् । फरक र विशेष देखिने चाह पलायो । त्यसैले आफ्नै डिजाइनमा कैलाशकूट भवन बनाएर यसलाई शक्तिकेन्द्रका रूपमा स्थापना गरेका हुन् । सारमा यसलाई लिच्छविकालको शक्ति एवं कूटनीतिको केन्द्र मानिन्छ । 

कसरी नष्ट भयो ?
कैलाशकूटको स्थान र संरचना कहिले र कसरी नष्ट भयो भन्नेमा विज्ञहरूबीच मतैक्य छैन । भवनको नक्सा र वैभवका विषयमा यथेष्ट जानकारी पहिल्याइनसकेकाले त्यो कसरी नष्ट भयो भन्ने प्राथमिकतामा नपरेको हो । १ सय २८ वर्षसम्म कैलाशकूट ठडिएको र विशालनगरको पतन हुँदा मानगृह नष्ट भएजस्तै लोप भएको इतिहासकार जगदीशचन्द्र रेग्मीको मत छ । सन् १०३० मा आएका तिब्बती भिक्षु बज्रकृतिले पनि राजदूत वाङले जस्तै कैलाशकूटको बखान गरेका छन्, यसबाट ११औँ शताब्दीसम्म दरबारको भग्नावशेष थियो भन्ने प्रमाणित हुन्छ । ढुंगाकै भए पनि यसको आयु सय वर्षसम्म हुन्छ, यसपछि बालुवामा परिणत हुन थाल्छ । कैलाशकूटको सवालमा यही प्राकृतिक नियम लागू भएको हुन सक्छ । 

ठ्याक्कै भन्न सकिने अवस्था नभए पनि यसलाई भूकम्पले नष्ट गरेको सम्भावना धेरै छ । नेपालमा हरेक शताब्दीमा महाभूकम्प जाने गरेको छ, ठूलठूला दरबार, मठमन्दिर भूकम्पले नष्ट गरेका उदाहरण धेरै छन् । त्यसमाथि कैलाशकूट त सात तलाको थियो, त्यसैले यसको क्षति भूकम्पबाटै भएको अनुमान लगाउँछन् संस्कृतिविद् अमात्य । अर्को सम्भावना भनेको आगलागीको हो । १० र ११औँ शताब्दीमा त्यसबेलाको राजधानी विशालनगर राजधानीमा ठूलो आगलागी भएको थियो, जो तीन महिनासम्म नियन्त्रणमा आएन । कैलाशकूटको बचेखुचेको भाग यही आगलागीमा नष्ट भएको हुन सक्ने आधार धेरै छ । 

अंशुवर्मापछि नरेन्द्रदेव राजा भए, उनले सन् ६४३ देखि ६७० सम्म कैलाशकूटबाटै शासन चलाए । सन् ६७१ बाट मात्र नयाँ दरबार भद्रादिवासबाट उनले आदेश जारी गरेको च्यासलटोल अभिलेखले देखाउँछ । त्यसपछि भद्रादिवास नयाँ शक्ति केन्द्रका रूपमा स्थापित भयो । र, कैलाशकूट स्वाभाविक रूपमा छायामा पर्‍यो । राजाकै नजर हटेपछि नियमित मर्मत–सम्भार हुन छाड्यो । त्यसैले इतिहासकारहरू वास्तविक आयुभन्दाअगावै भवन भत्किएको वा मक्किएको अनुमान लगाउँछन् । अझ लिच्छवि वंशको समाप्तिसँगै त कैलाशकूट भवन पूर्णरूपमा जीर्ण भयो । सवा सय वर्षभन्दा बढीसम्म सग्लो रहेको यो दरबार प्राकृतिक रूपमै नष्ट हुनु स्वाभाविक हो । तर, अहिलेसम्म यस भवनका बारे आधिकारिक तथ्य पत्ता लगाउने यथोचित प्रयत्न भएको छैन । 

कैलाशकूटको उत्खननमा पुरातत्त्व विभागले चासो देखाउनु त परको कुरा, विभागका अधिकारीमा समेत यसप्रति मतलब देखिदैन । जबकि, गैरसरकारी विज्ञहरू सरकारले चासो देखाएमा उत्खनन सम्भव भएको बताइरहेका छन् । र, यसअघिका उत्खननबाट हाँडीगाउँ इलाकामा कैलाशकूटसम्बन्धी महत्त्वपूर्ण भौतिक संरचना भेटिएका थिए, त्यसैले पनि पुरातत्त्वविद् हरू हौसिएका हुन् (हेर्नूस्, बक्स) । तर, विभागका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर कैलाशकूटसम्बन्धी फेला परेका सामग्री विभागको मातहतमा नभएको बताउँछन् । त्यस्ता महत्त्वपूर्ण सामग्री कहाँ गए त ? कुँवर भन्छन्, “विभागमा पहिला पनि थिएन र अहिले पनि छैन ।”

लाजमर्दो त के भने कैलाशकूटका बारेमा स्वतन्त्र रूपमा विज्ञहरूले तयार पारेका अनुसन्धानात्मक रिपोर्टको अभिलेखनसमेत विभागमा छैन । त्यति मात्र होइन, तत्काल कैलाशकूटको पूर्ण नक्सांकन गर्ने तहको उत्खनन गर्न सम्भवै नभएको कुँवरको भनाइ छ । बरू उल्टै उत्खननका लागि जनसहयोग नमिलेको आरोप लगाउँछन् । जबकि, उत्खननका क्रममा भेटिएका प्रमाण र भग्नावशेषहरूकै संरक्षण नभएको दुर्भाग्यपूर्ण इतिहास छ । सम्पदा संरक्षणकर्मी पुरी भन्छन्, “भेटिएका प्रमाणको संरक्षण हुँदैन, कि विदेश पुर्‍याइन्छन् कि प्रभावशालीका घर सजाइन्छन् । त्यसैले संरक्षणको पूर्ण प्रत्याभूति नभई उत्खनन गर्नुभन्दा माटोमुनि भएकै जाती ।” 

हाँडीगाउँको गर्भमा 

कैलाशकूटको अलौकिक व्याख्या गरिए पनि यो कहाँ थियो भन्ने विषयमा लामो समयसम्म विवाद रह्यो । गौतमबज्र बज्राचार्य र मेरी स् लसरले जैसीदेवलनजिकैको केलाच्छेचोकमा रहेको बताएका थिए, दुई दशकअघिको आफ्नो अनुसन्धानमा । त्यस्तै, देवपाटन, मंगलबजार दक्षिणकोलिग्राम वा धुम्बाराहीजस्ता ठाउँमा दरबार बनेको थियो भन्ने मत पनि नभएका होइनन् । यसबाहेक पशुपति क्षेत्रको कैलाश र हनुमानढोका क्षेत्रमा समेत कैलाशकूट अवस्थित भएको अड्कलबाजी गरिएको थियो । 

तर, विभिन्न समयमा भएका उत्खनन र भौगोलिक अवस्थितिबाट चिनियाँ राजदूत वाङले वर्णन गरे अनुसारको भवन हाँडीगाउँमा मात्र हुन सक्नेमा अधिकांश अनुसन्धाता एकमत छन् । धनवज्र ब्रजाचार्य, ज्ञानमणि नेपाल, जगदीशचन्द्र रेग्मी, सुदर्शनराज तिवारी, तारानन्द मिश्र, साफल्य अमात्य, मुकुन्द अर्याललगायत हाँडीगाउँ क्षेत्रमै दरबार थियो भन्ने निष्कर्षमा पुगेका छन् । सन् १९६८ मा हाँडीगाउँको डबलीनजिकै सरस्वती मन्दिरका निम्ति मूर्ति बनाउँदा ‘श्रीमहासामन्तांशुवर्मन’ वाक्यांश लेखिएका पाको इँटा भेटिएका थिए । अंशुवर्माको उपाधिसमेत उल्लेख गरिएका यी इँटाहरू कैलाशकूट बनाउन प्रयोग भएको पुरातफ्वविद्हरूको मत छ । यसले पनि कैलाशकूट यही क्षेत्रमा भएको थप प्रमाण दिन्छ । 

नक्सालस्थित जयदेव द्वितीयको अभिलेखमा कैलाशकूट भवनअगाडिको एउटा द्वारबाट प्रवेश गरेर मानगृहको आँगन आउने र त्यसको गेटबाहिर निस्कँदा मनमानेश्वर (हाल : मानेश्वरी) मन्दिर पुगिने उल्लेख छ । नेपालमै सबैभन्दा ठूलो शिवलिंग र पीठ भएको मन्दिर पनि यही मानेश्वरी नै हो । यसबाट कैलाशकूट हाँडीगाउँ र यस मन्दिरको आसपासमै रहेको पुष्टि हुने मिश्रको दाबी छ । 

विसं २०२१ मा मानेश्वरी मन्दिरअगाडिको चौरमा उत्खनन गरिएको थियो, प्रोफेसर एसबी देवको नेतृत्वमा । त्यस टोलीमा मिश्र पनि थिए, विभागमा करिअर सुरू गरेपछिको पहिलो जिम्मेवारी त्यही थियो उनको । प्रयागराज शर्मासमेत सम्मिलित यस टोलीले उत्खननका क्रममा सबभन्दा माथि शाहीकालीन सिक्का, त्यसपछि मल्लकालका संरचना र त्यसमुनि अंशुवर्माकालीन सिक्का, माटाका छापहरू भेटेको थियो । मिश्र सम्झन्छन्, “त्यसभन्दामुनि पानी भेटियो । पानी पन्छाएर उत्खनन गर्न सम्भव भएन । तल जान सकेको भए अझ धेरै प्राचीन संरचना भेटिन्थ्यो र धेरै तथ्य 
बाहिर आउँथ्यो ।” 

अंशुवर्माकालीन सिक्का भेटिएबाट अंशुवर्माका गतिविधि वा कैलाशकूट त्यहीँ भएको अनुमान लगाउन सकिन्छ । इतिहासमा लिच्छविकालीन राजधानी विशालनगरका प्रभावशाली मानिने उदयसिंह देवले लेखेका विभिन्न चिट्ठीमा ‘कैलाशकूट वज:’ उल्लेख गरिएको र यो नेपाल मण्डलमा प्रकाशित भएको पनि छ, जसले कैलाशकूट हाँडीगाउँमै भएको प्रमाणित गर्छ ।

हाँडीगाउँमा अंशुवर्माको गद्दी आरोहण भएको स्थल अहिले डबलीका रूपमा चिनिन्छ । यहाँ दुईवटा लिच्छविकालीन अभिलेख अहिले पनि यथावत् छन् । सन् ६०८ को अंशुवर्माको अभिषेकमण्डपको शिलालेखमा दरबारका महाबलाध्यक्ष, प्रासादाधिकृत, दरबारभित्र पानीको काम गर्ने प्रमुख कालीगढ, पीठाध्यक्ष, प्रतिहार आदिको भवन पनि कैलाशकूटनजिकै रहेको उल्लेख छ । त्यस्तै सन् ६१० को अभिलेखमा पशुपति, चाँगुनारायणजस्ता मुख्य देवीदेवताको मन्दिरलाई कैलाशकूट दरबारबाट बर्सेनि अनुदान दिएको उल्लेख छ । यो पनि हाँडीगाउँमा दरबार भएको अर्को महफ्वपूर्ण प्रमाण हो । 

डबलीनजिकै दरबारको पूर्वी गेट रहेको पुरातफ्वविद् मिश्रको दाबी छ । डबलीबाट ५० मिटर अगाडि बढेपछि बाटोमै एउटा ठूलो ढुंगा देखिन्छ । उनका बुझाइमा यो दरबारको पश्चिम गेटमा रहेको ढुंगा हो । त्यहाँबाट थोरै दक्षिण लागेपछि गरुडमाथि चढेको ६ मुखे कुमार कार्तिकेयको मूर्ति छ । यही नै दरबारको मुख्य गेट भएको दाबी गर्छन् मिश्र । मूर्तिका अगाडि अंशुवर्माकालीन आकार र शैलीको अभिलेख छ तर त्यसको लिपि मेटिसकेको छ । 

कैलाशकूट दरबार फैलिएको क्षेत्र अग्लो छ । तीन दशकअगाडि हाँडीगाउँसँगै जोडिएको नक्सालमा नेपाल टेलिकमको भवनको जग खन्दा ‘अंशुवर्मन’ लेखेको इँटा पाइएको थियो, जुन कैलाशकूट दरबारको भएको हल्ला चल्यो । त्यतिबेला माटाका भाँडाहरू पनि प्रशस्त फेला परेका थिए । “तर, सबै गायब गरिए । यद्यपि, ती पैसा पाउने खालका थिएनन्, सजावटका लागि मात्र प्रयोग हुन सक्थे,” संस्कृतिविद् साफल्य अमात्य भन्छन्, “प्राचीन सामग्री भेटिएपछि विभागले भवन बनाउन अनुमति दिन नहुने थियो तर राजदरबारको आशय बुझेर दिइयो ।” केही महिना बित्न नपाउँदै जग हाल्ने काम धमाधम फेरि सुरू भयो । 
त्यसभन्दा अगाडि पनि हाँडीगाउँ इलाकामा निजी घर बनाउँदा अंशुवर्माकालीन पाको इँटाहरू भेटिएका थिए, त्यसको विभागसम्म जानकारी पुग्थ्यो तर पुराताफ्विक हिसाबले महफ्वपूर्ण मानिने ती सामग्री कहाँ, कुन अवस्थामा छन्, कसैलाई पत्तो छैन । 

उत्खनन सम्भव


१ हजार ४ सय वर्षअगाडि बनेको भवनको उत्खनन सम्भव छ । तर, वैज्ञानिक ढंगले यसको उत्खननको प्रयास भएकै छैन । दुई दशकअगाडि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)का सांस्कृतिक विज्ञ स्कुलरले हाँडीगाउँको अध्ययन गरेका थिए । उनको टोलीमा बेलायतका प्रोफेसर अल्चिन पनि थिए । बृहत् अध्ययनपश्चात् हाँडीगाउँको बालमन्दिर क्षेत्र सरकारले अधिग्रहण गर्नुपर्ने उनको सुझाव थियो । सरकारले नसक्ने भए युनेस्कोले खर्च बेहोरोस् भनेर पनि उनले सिफारिस गरेका थिए । बालमन्दिर क्षेत्र त्यही हो, जहाँ कैलाशकूट र मानगृह पर्छन् । दुर्भाग्य ! यति लामो समय बितिसक्दा पनि न सरकारले कुनै चासो देखाएको छ, न त युनेस्कोले नै । 

परीक्षण उत्खनन गर्ने हो भने कैलाशकूटको यकिन नक्सा, चिह्न, संरचना शैली र बाँकी तथ्यहरू पत्ता लगाउन सम्भव हुने पुरातफ्वविद्हरूको दाबी छ । किनभने, अझ पनि हाँडीगाउँ क्षेत्रमा बाटो, खुला चौर र खाली जग्गा छन् । जस्तो : संस्कृतिविद् साफल्य अमात्य ‘जिओलोजिकल सर्भे’ गर्न सुझाव दिन्छन् । त्यो भनेको जमिनभित्रको चित्र लिने हो, यसो गर्दा धेरै तथ्य बाहिर आउने उनको विश्वास छ । उनी लाजिम्पाटदेखि हाँडीगाउँ, भाटभटेनी, नक्सालसम्म बृहत् उत्खनन गर्नुपर्ने आवश्यकता औँल्याउँछन् । 
उत्खननमा नाम कमाएका पुरातत्त्वविद् तारानन्द मिश्र पनि उत्खनन सम्भव भएको बताउँछन् । भन्छन्, “खाली ठाउँमा उत्खनन गर्दा मात्रै पनि धेरै तथ्य बाहिर आउँछ । एकाध घर परे भने तिनलाई हटाउनुपर्छ । तर, गर्नै नसक्ने वा गर्नै नहुने भन्ने हुँदै होइन । विभागले चाह्यो भने सबथोक गर्न सक्छ ।” 

उनका भनाइमा यसअघिका उत्खननहरूबाट जमिनमुनि संरचना रहेको छनक मिलिसकेको छ । त्यसैले बृहत्तर उत्खनन गर्दा कैलाशकूटका बारेमा यथेष्ट प्रमाण फेला पार्न सकिन्छ । बालमन्दिरको उत्तरपट्टि र मानेश्वरीको पूर्वपट्टि मात्र उत्खनन गर्ने हो भने पनि धेरै तथ्य पत्ता लाग्न सक्छ । घर नै भत्काउनुपर्छ भन्ने होइन, दरबार निकै फराकिलो र भव्य भएकाले खाली जग्गामा उत्खनन गर्दा पनि पर्याप्त हुने देखिन्छ । सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी भन्छन्, “सिर्फ सरकार र विभागसँग आँट हुनुपर्‍यो । केही वर्ष लाग्ला तर कैलाशकूटको यकिन नक्सा, संरचना शैली र विवरण पक्का पत्ता लगाउन सकिन्छ ।”

वाङको कैलाशकूट बखान

‘नेपालको राजधानीमा २० चो (झन्डै २ सय ३० फिट) अग्लो र ८० पो (झन्डै ९ सय २० फिट) फराकिलो तले भवनको निर्माण भएको छ । यसको माथिल्लो भागमा १० हजार मानिस अट्छन् । यो तीन बार्दलीमा बाँडिएको छ र प्रत्येक बार्दलीलाई सात तलामा बाँडिएको छ । चौथो डबलीमा अचम्मित तुल्याउने मूर्तिहरू छन् । तिनीहरू ढुंगा र मोतीले सुसज्जित छन् । दरबारको मध्यभागमा साततले तामाको छाना भएको बुर्जा छ । यसका दलिन, रेलिङ, खम्बालगायत सुन्दर किम्मति पत्थरले बनेका छन् । 

बुर्जाका चार सुरमा तामाका नल लागेका छन् । नलका तलतिर सुनौला मकर (गोही) छन् । मकरका मुखबाट बेगले पानीको फोहोरा निस्कन्छ । बुर्जामाथि हालिएको पानी नलबाट तल झर्छ । त्यो पानी छहराजस्तो भई सुनौला मकरको मुखबाट निस्कन्छ । हलको मध्यभागमा फूल र अत्तर छर्किएको छ । नरेन्द्रदेवका अधिकारी, प्रतिहार र दरबारियाहरू आँगनको दायाँ र बायाँ बसेका छन् । उनको छेउमा सयौँ हतियारधारी सैनिकले पहरा दिइरहेका छन् ।’

 

 

 

 

प्रकाशित: माघ १०, २०७२