नोटबुक

- जितेन्द्र साह

ठप्प नहुने नाका

चार महिना लामो मधेस आन्दोलनमा समेत विराटनगर–जोगबनी सीमा नाका कहिल्यै पूर्ण ठप्प भएको छैन । मुलुकको अन्य सीमा क्षेत्रभन्दा यहाँ आवागमन सहज छ । नेपालीको व्यवसाय, रोजगार र किनमेलको प्रमुख बजार जोगबनी जस्तोसुकै परिस्थितिमा पनि खुलिरहन्छ । अभाव एवं संकटका बेला सहयोगी बनेर ऊ आवश्यकता पूरा गर्न तयार रहन्छ ।

क्षणभरका लागि युद्धभूमिजस्तो भए पनि क्षणभरमै त्यहाँको जीवन गतिशील भइहाल्छ । दुईतिरका जनताबीचको आपसी सम्बन्धको सौन्दर्य महसुस गर्न म दुईपटक दसगजा पुगेर दिनभरि स्थानीयसँग बात मारी बसेँ । त्यहाँ महसुस गरेको मिठासले बाक्लो हुस्सुको कारणले बढेको जाडोसमेत बिर्साइदियो । खराब मौसम र निरन्तर आवागमनका कारणले उड्ने धूलोले तस्बिर खिच्न भने कठिन भएको थियो । तैपनि, मैले हार मानिनँ ।

नेपालीको आवागमन नहुँदा विहारको पुरानो जोगबनी बजारमा खडेरी लाग्छ । अति आवश्यक दैनिक उपभोग्य सामग्रीका लागि वारिका पारि जानु र पारिका वारि आउनुको विकल्प छैन । नेपाली र विहारीका लागि यो नाका ‘लाइफ लाइन’जस्तै हो ।

चर्को आन्दोलनका बेलासमेत चहलपहल कायमै छ । यो चमत्कारका पछिल्तिर लुकेको कारण भने झनै मधूर छ । त्यो हो, सीमा, सन्धि र सम्झौताभन्दा माथि उठेको दुवैतर्फका नागरिकबीच उहिलेदेखिको आत्मीय सम्बन्ध ।

दुई देशको देवस्थल

विराटनगर–जोगबनी दसगजामै उत्तरतिर वैष्णवीदेवीको र दक्षिणपट्टि हनुमान मन्दिर छ । दुई दशकअघि विराटनगर रानीका महन्त सञ्जय झा, ६०, को नेतृत्वमा भारतीय एवं नेपालीको सहयोगमा यसको निर्माण भएको हो ।

बिहान मात्र पूजा हुने यो पवित्र थलोमा दुवैतिरका भक्तजन पुग्ने हुनाले राष्ट्रियता छुट्याउन कठिन छ । दुवैतिरको जग्गामा यो देवस्थल पर्छ । यसले दुवै मुलुकका जनताबीचको सुमधुर सम्बन्धलाई देखाउँछ । यहाँका महन्त नेपाली भए पनि पुजारी भने जोगबनीको टिकुलिया बस्तीका सन्तोष झा, ३७, हुन् । उनी १२ वर्षको उमेरदेखि यहाँ आबद्ध छन् । यसअघि हजुरबुबा बाँके बिहारी पाण्डे पुजारी रहेछन् ।

वारि र पारिका स्थानीय एकसाथ पूजा गर्छन् । सीमामा गाडिएको स्तम्भले हामीलाई दुई भूगोलमा विभाजित गर्छ । यो मन्दिरले भने त्यो दूरीलाई कम गर्छ । झाको २१ सहयोगीमा दुवैतिरका नागरिक छन् । एकअर्काको मुलुकको मन्दिर, धाम र आश्रममा पुगेर नेताहरूले आशीर्वाद लिन्छन् भने सीमाका जनता यहाँ आउनुलाई बन्धुत्व एवं प्रेमका रूपमा लिन्छन् ।

त्यहाँ पुग्नेलाई समेत ती मन्दिर नेपाल वा भारत कसको हो भन्ने थाहा छैन । दर्शन गर्न आउनेलाई यससँग के मतलब ? देउता जो हुन्, भूगोलमा थोडै कैद हुन्छन् र !

दसगजामा प्रेम वर्षा

त्यहाँ खोलिएका पसलले पनि दुवैतर्फका जनताबीचको परम्परागत साइनोलाई दर्शाउँछ । विहार दरभंगा, भारतका मोरङ राय सीमामै निर्मित झुपडीमा चिया बेच्छन् ।

शिक्षा, व्यापार र रोजगारीका लागि उहिल्यैदेखि नेपालको कुनाकाप्चामा पुग्ने हुनाले विहारीको नाम नेपालीबाट प्रभावित छ । यहाँका थुप्रै भारतीय व्यवसायीले आफ्नो नाम बहादुर जयसवाल, हिमालप्रसाद मिश्र र पहाड विक्रम वर्मालगायत राखेका छन् । यस्तो नाम किन राखे भन्ने उनीहरूलाई नै थाहा छैन । सीमाकै व्यवसायमा रोजीरोटी टिकेको हुनाले उनीहरूलाई दुवै मुलुकको सम्बन्ध नबिग्रोस् भन्ने मात्र चिन्ता छ ।

“सीमा विवाद भएपछि अन्तिमपटक १२ वर्षअगाडि पनि दसगजाका झुपडीहरू हटाइएको थियो,” राय भन्छन्, “दुवै मुलुकको खुसी र मञ्जुरी भएसम्म यहाँ व्यवसाय गर्छु, जतिखेर भने नि खाली गर्दिन्छु ।’

दसगजामै भारतको भन्सार कार्यालय छ । एक छोरदेखि अर्को छोरसम्म सीमा क्षेत्र नांगै छ । मुख्य नाकामा आवागमनको चाप बढ्दा दुवैतिरका जनता खुला वैकल्पिक मार्गबाट बिनारोकटोक ओहोरदोहोर गरिरहेका हुन्छन् । भारतको कोलकाताका व्यवसायी पार्थ घोस यो सबै देखेर चकित हुन्छन् । “भारत–पाकिस्तान दसगजामा गोलीको वर्षा हुन्छ, यहाँ प्रेम बर्सिरहेको छ,” उनले भने ।

“दुवै मुलुकबीचको सन्धि, सम्झौता र अन्तर्राष्ट्रिय कानुन अनुरूप दसगजा क्षेत्र खाली राखिनुपर्ने हो,” जोगबनीका सशस्त्र सीमाबल ( एसएसबी) उपनिरीक्षक कृष्ण गुप्ताले भने, “तर, के गर्ने ? आपसमा गाढा सम्बन्धले गर्दा परम्परादेखि यस्तै चल्दै आएको छ ।” हुन पनि हो, दसगजा व्यवस्थापनका लागि दुवैतिरका अधिकारीबीच सयौँपटक बैठक बसे पनि त्यहाँ जीवन सीमाविहीन भएर अघि बढिरहेकै छ । त्यहाँ दुवैतिरका जनताले बस्ती बसाएकै छन् ।

दुवैतिरका नागरिकको मानवीय हितलाई प्राथमिकतामा राखेर नेपाली सुरक्षा बलले पनि यो मामिलामा हदैसम्मको सहनशीलता एवं लचकता अपनाएको छ । खाली राखिनुपर्ने दसगजा क्षेत्रमा लहरै फलफूल पसल खोलिए पनि कसैले रोकटोक गरेको छैन ।

आखिर जरुरी किनमेलका लागि यताका उता र उताका यता नआए कहाँ जान्छन् त ? सीमा स्तम्भहरूले देश मात्र छुट् याउँछ, मानवीय आवश्यकता र सम्बन्धका पूर्तिका लागि त्यो ननाघी हुन्न । 

प्रकाशित: माघ १, २०७२