रेड पान्डा ट्रेलमा घोडचढी

- कुमार पौडेल

असोजमा त्रिशूली नदीमा दिनभर र्‍याफटिङपछि साँझ कुरिनटारपारि बगरमा क्याम्प फायर गर्दै रमाइरहँदा अनायासै एउटा उटपट्याङ विचार मनमा आएको थियो, त्यस नदीको सिरानमा पुग्ने । साथीहरूले होमा हो मिलाएपछि घुम्न सोखिन मलाई के चाहियो ! लाङटाङ ट्रेलको गोसाइँकुण्ड जाने मेरो योजना खासमा त्यसरी बनेको थियो ।

मंसिर पहिलो साता धुन्चे बजारबाट सबेरै हिँड्ने योजना बनाए पनि धुन्चेको चिसोले बिहानको ७ बजायो । घाम झुल्केसँगै हामीले उकालो यात्रा सुरु गरेका थियौँ । वरिपरि डाँडा, छेउकुनामा विभिन्न बुट्यान तथा झ्याङ र तिनै बीचबाट बनेका गोरेटामा उकालो लाग्दै देउराली पुगेर केहीबेर विश्राम लियौँ । त्यस दिनको गन्तव्य चोलाङपाटीलाई मान्दै लाङटाङ राष्ट्रिय निकुञ्जभित्र हामी एकटकले अगाडि बढिरह्यौँ ।

हामी जति उकालो चढ्दै जान्थ्यौँ, बाटामा देखिने चुत्रोको बोटले आफ्नो हुलिया फेर्दै जान्थे । जति माथि पुग्यो, उति नै फरक–फरक चुत्रोका झ्याङ र पात बढी चुच्चो र चिल्लो हुँदै जान्थे । हुन पनि नेपालमा पाइने २१ प्रजातिका चुत्रोमध्ये लाङटाङ राष्ट्रिय निकुञ्जमा मात्र नौ प्रजातिका पाइने रहेछन् । त्यसमध्ये पनि धुन्चेदेखि गोसाइँकुण्डसम्म पुग्दा मात्र ६ किसिमका चुत्रो दोखए । छोटो हिँडाइमा कुनै पनि प्रजातिका यति धेरै विविधता बिरलै देख्न पाइन्छ ।

चन्दनबारीदेखि चोलाङपाटी पुग्ने तेर्सो बाटोमा निकै बेर हामी बरालियौँ । झोला र क्यामेरा फुत्त भुइँमा फाली झाडीभित्र पसेर पिसाब फेर्दै थिएँ, पिसाब आधा पनि नसकी टक्क रोकियो । म त आत्तिएँ । हुन त कारण खुसीकै थियो । मेराअगाडि रूखको हाँगामा एउटा दुर्लभ रेड पान्डा (हाब्रे) नाचिरहेको थियो । हत्तपत्त क्यामेरा भएतिर आएको त सहयात्री साथी दीपक सुन्दासले आफ्नो मोबाइलबाट त्यही पान्डाको फोटो खिच्दै रहेछन् । त्यो दुर्लभ क्षणलाई क्यामरामा कैद गर्न म चुकेकामा अहिलेसम्म थकथकी मानिरहेको छु । तर, त्यस ट्रेलमा खुसी हुनका लागि त्यति मात्र कारण भने पक्कै थिएन । साँझपखको अस्ताउँदो घामको किरणले अगाडिको लाङटाङ हिमाल धपक्कै बलेको थियो । जति क्यामरा घुमाए पनि ती बाक्लै लहरै उभिएका रूखले छेकेर हैरान पार्ने । डाँडामा चढेँ, उफ्रिएँ, कुदेँ । उकालोमा त्यसै पनि थाक्ने ज्यान लखतरान भयो तर केही सीप लागेन ।

आफ्नै आँखाले पहिलोपटक रेड पान्डा देख्दा पनि तस्बिर कैद गर्न नपाएको र सुनझैँ टल्केको लाङटाङ हिमालको पूर्ण तस्बिर खिच्न नपाएकामा थकथक मान्दै साँझ ७ बजे चोलाङपाटी पुग्यौँ । अर्को दिन सबेरै चिया खाएर हामी अगाडि बढ्यौँ । त्यस दिनको यात्रा सुरुसँगै हामी ४ हजार ४ सय मिटर उचाइमा रहेको लौरीविना भन्ने ठाउँमा माथि पुगेर तलतिर फर्केर हेर्दा, को अग्लो हुने प्रतिस्पर्धा भएझैँ ताँती लागेर पत्रैपत्र उठेका पहाडको मनोरम दृश्य देख्यौँ । प्रकृतिले दृश्य बदलेको क्षणक्षणमा देख्दै झाडी, बुट्यान, खोल्सा, खोला, नाँगा ढुंगे डाँडा, हिउँले छोपेका पहाडका बीच धीमा गतिमै भए पनि तेस्रो दिनको साँझपख गोसाइँकुण्ड पुग्यौँ ।

गोसाइँकुण्ड पुग्नेबित्तिकै उडेर एक फन्को लगाउन पाए हुन्थ्यो भन्ने मनमा थियो । जीवनमा पहिलोपटक घोडसवारमा पहिलोपटक कुण्ड घुमियो । धीत नमरेपछि कुदेरै अर्को फन्को मारियो । घोंडामा १५ मिनेटजति लाग्ने कुण्ड घुम्न हिँड्दा भने झन्डै ४० मिनेट लाग्यो । पहिले–पहिले गोसाइँकुण्ड दर्शन गर्न जाँदा हिँड्न नसक्नेलाई मानिसले नै बोकेर लैजाने व्यवस्था रहेछ । बोकेर लगेबापत एक जना बराबर १० हजार रुपियाँ लिने गर्दा रहेछन् । अहिलेको पुस्ताले चाहिँ घोडेटो बाटो बनाएर चार वर्षदेखि घोडाको सुविधा ल्याएका रहेछन् । धुन्चेबाट गोसाइँकुण्ड पुग्नेलाई नौ हजार रुपियाँ, देउरालीबाट पाँच हजार रुपियाँ, चन्दनवारीबाट चार हजार रुपियाँ र चोलाङपाटीबाट ३ हजार ५ सय रुपियाँ लाग्दो रहेछ । फर्कंंदा भने अलग्गै पैसा लाग्ने ।

मंसिरको चिसोमा कुण्डमा नुहाउन ठूलै साहस चाहिन्छ । यद्यपि, घन्टौँ एकोहोरो ताल टहल्दै जो कोही रमाउन सक्छ । धुन्चेदेखि गोसाइँकुण्ड छोटो समयमा नै करिब २ हजार ५ सय मिटर उचाइ लिने ट्रेल हो । यहाँबाट लौरीपास हुँदै हेलम्बू गए मेलम्ची पुगिन्छ र लौरीपासबाट सीधै झरे चिसापानी, सुन्दरीजल हुँदै काठमाडौँ पुग्न सकिन्छ । हामी भने त्रिशूली नदीको मुहानबाट हिउँ खेल्दै, हिमाल हेर्दै फर्कियौँ । क्यामरामा कैद गर्न नसकिएको साँझको लाङटाङ हिमालको लुकामारी र दुर्लभ हाब्रे मेरो मानसपटलमा भने सदा रहिरहने छन् । 

प्रकाशित: माघ १, २०७२