‘उत्तर’सँग महामोह

  • उत्तरआधुनिक विमर्श शृंखलाको पछिल्लो कडी हो, उत्तरसिद्धान्त ।

- गुरुङ सुशान्त

द्वन्द्वकै भुमरीमा जिउँदोजाग्दो हुने प्राणी हो, मान्छे । द्वन्द्व अनेकसँग हुन्छन्, प्रकृति, समाज, श्रम साधन र सिद्वान्तसँग । सामाजिक र साहित्यिक अन्तर्यका आयामलाई निकटबाट बुझ्ने प्रस्ट चस्मा हो, सिद्वान्त । समाजका सचेत वर्ग सिद्वान्त/वाद/दर्शनको भर्‍याङ चढेर नै डिस्कोर्सको धुरीमा पुग्छन् । सिद्धान्तको आयु समाज विज्ञानसँगको उसको नाताले निर्धारण गर्छ । 

पछिल्लो शतकमा चिन्तनका क्षेत्रमा हलचल मच्चाउने केही व्यक्तित्वलाई उत्तरसिद्धान्तमा भेला पारेका छन्, कृष्ण गौतमले । हल्लाखल्लाको बजार, बेस्टसेलरको कृत्रिम शैली, पुरस्कारको पोकापन्तुरो, झुन्ड–झुन्डमा गुञ्जने भजनकीर्तन र चिया–चुस्कीमा देखिने विषवमनभन्दा निकै परको यात्रीको नाम हो, गौतम । उत्तरवत्र्ती बहसमा भाग लिन चाहने नेपालीभाषीलाई गौतम गतिलो खुराक हुन सक्छन् । 

दर्जन पुस्तकका लेखक गौतम पछिल्लो समय उत्तरआधुनिकताका व्याख्याता मानिन्छन् ।

समालोचनाको बाटो सजिलो छैन । तर, सेवानिवृत्त जीवनमा पनि उत्तिकै सक्रियतासाथ उनको समालोचनाकर्म जारी छ । लाग्छ, जीवनमा अतिरिक्त मोह केही छैन उनमा । छ भने एउटै महामोह छ, ‘उत्तर’ पदसँग । उनको कलममा कुमार नगरकोटी, धर्मेन्द्रविक्रम नेम्वाङ, चन्द्रवीर तुम्बापोदेखि अमर न्यौपानेसम्म उत्तरआधुनिक लेखक हुने भइगए । पूर्वआधुनिक साहित्यलाई पनि उत्तरआधुनिक हेराइमा पारेका छन् गौतमले ।

उत्तर आधुनिकतालाई पर्गेल्ने दुई कोण छन्, माक्र्सवादी र गैरमाक्र्सवादी । नेपाली समालोचनामा ऋषिराज बराल, निनु चापागाईं, अमर गिरी र ताराकान्त पाण्डेयहरू माक्र्सवादी लट्ठी बोकेर उभिएका छन् भने इन्द्रबहादुर राई, जगदीशशमशेर राणा, गोविन्दराज भट्टराई, कृष्ण गौतमहरू गैरमाक्र्सवादी लयमै मग्न छन् । 

अन्य समालोचकजस्तै गौतम पनि विश्वविद्यालयकै उत्पादन हुन् । तर, गौतमले विश्वविद्यालयको शास्त्रीय ढाँचामा खुम्च्याएर राखेनन् आफूलाई । उनको समालोचकीय भाषामा मिठास भेटिन्छ संगीतजस्तै । कठिन सैद्धान्तिक विषयलाई पनि सरल प्रवाह दिन्छन् गौतम । संस्कृत र अंग्रेजी भाषासँगको पहुँच सहज भएकाले जानकारी र ज्ञानको तहमा पनि उनी नवीन लाग्छन् । उत्तरआधुनिक विमर्श शृंखलाको पछिल्लो कडी हो, उत्तरसिद्धान्त । गौतम लेख्छन्, ‘माक्र्सवादलाई अभ्यासमा ल्याउने धेरै प्रयत्नहरू भए । सफल अभ्यास यो हो भनेर औँल्याउन सकिने स्थिति देखिएन ।’ पात्र र समाजको अवस्थाले सिद्धान्त प्रभावित हुने भएकाले एक–दुई अभ्यास असफल हुँदैमा सिद्धान्त निष्फल नहुने ठान्छन् गौतम । माक्र्सवादमा नयाँ नयाँ रूपले हाम्रो समाजलाई छोइरहेको हेक्का राख्छन् उनी ।

नित्सेबाट हिँडेर हन्टिङटनमा विश्राम लिन्छ पुस्तकले । उत्तरआधुनिक सिद्धान्तकारका रूपमा चर्चित डेरिडा, फुको, ल्योटार्ड, बद्रीलर्डमाथि भने गौतमको श्रम र सीप समानान्तर बगेका छन् । सइद, फुकुयामा, भाभाले राम्रै ठाउँ पाएका छन् पुस्तकमा । भाषा–साहित्यका उत्तरवर्ती चिन्तनका जिज्ञासुका लागि यस पुस्तकले थप सन्दर्भ सामग्री अध्ययनका लागि घचघच्याउने छ पक्कै ।

२९ सिद्धान्तकार र तिनका सिद्धान्तलाई व्याख्या उतारेका गौतमले सबैलाई उस्तै स्पेस दिएका छैनन् । हाभेल, लेभिनास, बेक, बाउम्यान, बड्र्यु, हार्टम्यान, मिलर, बेल, क्यास्टेल्स, कुहन र तिनका सिद्धान्त–व्याख्यामा निकै अल्छी गरेका छन् उनले । कुनै वेबसाइटमा राखिएका सामान्य जानकारीको नेपाली अनुवाद मात्र लाग्छ । 

मानव समाज रहेसम्म सिद्धान्त अनुरूपका व्याख्या चल्नु स्वाभाविक छ । प्राय: सिद्धान्त/दर्शनले शक्ति र अस्तित्वलाई केन्द्र बनाई व्याख्याको चर्खा घुमाउँछन् । उत्तरआधुनिकतावाद पनि एक नवीन चिन्तनधारा नै हो । यो जरुरी छैन, सबै नयाँ र अग्रगामी होस् । नेपाली समाज, साहित्य र राजनीतिमा बहुलवादलाई अगाडि सारेर व्याख्या हुँदा बहस बाफिलो हुने गरेको छ । माक्र्सवादको एक्लो र अन्तिम शक्तिकेन्द्र हो, अर्थ । कतिपय अर्थराजनीतिज्ञहरू भन्छन्, ‘नागरिक स्वतन्त्र र समान हुन गरिबी उन्मूलन हुनु जरुरी छ ।’ फुकोको विचारमा संसारको सबै कुरा शक्तिकेन्द्रित छ र शक्ति विकेन्द्रित छ । भूतपूर्व कम्युनिस्ट फुकोले माक्र्सलाई असान्दर्भिक देखे र नित्सेमा आफ्नोपन भेटे । सिद्धान्तका प्रभाव, सन्दर्भ, प्रयोगले काँचुली फेरिरहन्छन् भन्ने गतिलो उदाहरण हो, फुको ।

जेमेसनले भने, वृद्ध पुँजीवादको सांस्कृतिक तर्क हो उत्तरआधुनिकता । भनिन्छ, पश्चिममा उत्तरआधुनिकताको बहस टुंगिएपछि यता भित्रियो । पुँजीवादको आर्थिक हतियार भूमण्डलीकरण मानिन्छ । विद्युतीय मिडियाको माध्यमबाट भूमण्डलीकरण पानीझैँ बग्दैछ तलतिर । आर्थिक समृद्धिका कोणबाट तल परेका देशहरूमा भूमण्डलीकरणले बजारवादी चिन्तन सिञ्चन गर्दैछ । र, हन्टिङटनको ‘सभ्यताको द्वन्द्व’लाई सान्दर्भिक देखाउँदैछ । 

शीतयुद्वकालीन विचारधाराका दुई ध्रुव थिए, पुँजीवाद र साम्यवाद । तर, बिस्तारै सभ्यताको द्वन्द्वलाई केन्द्रमा ल्याइयो । गौतम लेख्छन्, ‘राजनीतिक स्थितिबाट फुकुयामा प्रजातन्त्रलाई साझा बनाउने प्रयत्न गर्छन्, सांस्कृतिक स्थितिबाट हन्टिङटन सामान्य गुणलाई प्रश्रय दिएर बहुुसभ्यतामा सार्वभौमिक वा 

साझापन चाहन्छन् ।’

उत्तरसिद्वान्तको पठनले नेपाली समाज र साहित्यको वैचारिकी निर्मितिमा केही तरंग र पक्षलाई सतहमा ल्याएको छ । नेपाली जनजीवनका पछिल्लो संकटसँगै राष्ट्रवादको लहर उछालिएको यथार्थ देख्दैछौँ हामी । राष्ट्रवादी उन्माद र नेपाली राजनीतिक दासवृत्तिले एडवार्ड सइदका चिन्तनलाई पनि विमर्शमा घिसार्दै ल्याएको छ । विमर्शमा नयाँ पत्र थपिँदो छ । हिजोको पूर्व–पश्चिमको द्विचर विरोधको स्पेस आज नेपाल–भारत–चीनको ऐतिहासिक सम्बन्धले लिएको छ । सइदबारे कृष्ण गौतम सटीक व्याख्या त गर्छन् तर अन्तरविरोधमाथि मौन बस्छन् ।

जनजीवनसँग नगाँसिएका सिद्धान्त मृतप्राय: हुन्छन् । संविधान लेखन र पहिचानको आन्दोलनमा नेपाली उत्तरआधुनिकतावादी चिन्तकहरूले कहीँ कतै सैद्वान्तिक बहस र माग राखेको देखिएन । के उत्तरआधुनिकता छलन, कृत्रिम, भ्रम र शब्दखेल मात्रै हो ? 

---

उत्तरसिद्धान्त

लेखक    :    कृष्ण गौतम

प्रकाशक    :    भृकुटी एकेडेमिक पब्लिकेसन्स

पृष्ठ    :    ३४०

मूल्य    :    ६९५ रुपियाँ

प्रकाशित: पुस ३०, २०७२