तन्नेरी नसम्हालिँदा

  • आप्रवासी कामदारमा एचआईभी/एड्स संक्रमण

- जितेन्द्र साह

सीमावर्ती भारतका विभिन्न सहर एवं खाडी मुलुकमा जाने पूर्वाञ्चलका नेपाली श्रमिक एवं तिनका जीवनसाथीमा एचआईभी संक्रमण बढेको पाइएको छ । विराटनगरस्थित कोसी अञ्चल अस्पतालको एचआईभी/एड्स परामर्श, सहयोग तथा उपचार केन्द्रमा नौ वर्षको अवधिमा आएका ३ सय ११ संक्रमितमा २ सय ११ जना आप्रवासी कामदार र तिनका पत्नी छन् । बाबुआमाबाट बालबालिकासमेत यसको चपेटामा परेका छन् । एचआईभी संक्रमित सात बालबालिकाको यहाँ उपचार भइरहेको छ ।

संक्रमित हुने आप्रवासी कामदारको संख्या बर्सेनि दुई प्रतिशतले बढिरहेको केन्द्रकी परामर्शदाता शर्मिला बस्नेतले बताइन् । यहाँ ०६४ सालदेखि यसको उपचार सुरु भएको हो । बर्सेनि औसत ३५ संक्रमित आउँछन् । अहिले दुई सय जना नियमित औषधि सेवनका लागि धाइरहेका छन् । “श्रीमान्बाट श्रीमती हुँदै गर्भको शिशुलाई समेत संक्रमण भएको पाइयो,” उनले भनिन्, “आप्रवासी नेपाली कामदारमा एक्लोपनका कारण हुन जाने असुरक्षित यौन सम्बन्ध नै यसको प्रमुख कारण देखियो ।”

परामर्शदाता बस्नेतका अनुसार बाँकी सय महिला–पुरुषलाई पनि असुरक्षित यौन संसर्गकै कारण यसले भेटेको पाइएको छ । स्वदेशभित्र भएको संक्रमणमा पति, पत्नी, केटा र केटी साथी बरोबर दोषी देखिन्छन् । केन्द्रको सम्पर्कमा आएका संक्रमितमध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् । “५० प्रतिशतभन्दा बढी महिलामा श्रीमान्बाटै सरेको देखियो,” केन्द्रका डा उत्सव राई भन्छन्, “चार प्रतिशत यौनकर्मी महिला छन् ।” श्रीमान्को लापरबाहीबाट यति ठूलो संकट आइपर्दा पनि पत्नीले ‘जे हुनु थियो, भैगयो’ भन्दै साथ नछाड्ने गरेको केन्द्रकी अधिकृत शकुन्तला सिटौलाको भनाइ छ ।

उपचारका लागि आउने संक्रमितहरू निकै अनुशासित एवं संयमित देखिन्छन् । केन्द्रका परामर्शदाता पनि उनीहरूको गोपनीयता भंग हुन नदिन र सम्मानमा ठेस पुग्न नदिन सचेत एवं सतर्क भएर बस्छन् । “कसले मलाई एड्स लागोस् भन्ने चाहना राख्छ र ?” एक रोगीले भने, “भइसकेपछि हिम्मत बटुलेर यसको सामना गर्नुपर्छ, अरूलाई असर नपर्ने गरी जीवनलाई अघि बढाउनुको विकल्प हुन्न ।”

यौन क्रीडाका क्रममा कन्डम फुट्दा वा खुकुलो भएर फुस्किँदासमेत यो रोग लागेको डा राईले बताए । “विदेशबाट फर्केपछि दम्पतीले नै स्वास्थ्य परीक्षण गराएर ढुक्क हुनुपर्छ,” उनले भने, “यहीँ पनि दम्पतीमध्ये कसैको बाहिर सम्बन्ध भएको छ भने जचाउँदा सबैको भलो हुन्छ ।”

परिपक्व वा उमेरदार साथी रोजेकामा भने एचआईभी कमै देखिएको छ । “आफूभन्दा पाको उमेरका यौन साथी भएकाहरूमा संक्रमण कम देखिन्छ,” डा राई भन्छन्, “बढी उमेरका महिला वा पुरुषले जिम्मेबारीबोधका कारण यौन संसर्गमा निकै सावधानी अपनाउँछन् ।”

सिटौलाका अनुसार लागू पदार्थ सेवन, असुरक्षित यौन सम्बन्ध र संक्रमितबीच समेत सम्बन्ध देखिएको छ । संक्रमित हुनेमा १० प्रतिशत नशाको कुलतमा लागेकाहरू छन् । उक्त अस्पतालको मेथाडोन क्लिनिकमा तीन वर्षको अवधिमा १ सय ८७ जना दुव्र्यसनी औषधि खान आएको रेकर्ड छ । यसमा ३० देखि माथि उमेर समूहका ४० प्रतिशत छन् ।

अहिले यहाँ नियमित रूपले २० वर्षमाथिका सबै उमेर समूहका ४१ जना औषधि सेवन गर्न आउँछन् । एक–दुई जनाबाहेक प्राय: सबै जना जागिरे भएको क्लिनिकका परामर्शदाता सुरज जोशीले बताए । जथाभावी सिरिन्जको प्रयोगले हुने संक्रमण दुव्र्यसनीलाई बचाउनु र वैकल्पिक औषधि दिएर उनीहरूमा मानसिक सन्तुलन कायम गराउनु आफूहरूको उद्देश्य भएको क्लिनिकका परामर्शदाता जोशीको कथन छ । भन्छन्, “औषधि सेवन गर्न सुरु गरेको ६ महिनादेखि दुई वर्षसम्ममा धेरैजसो दुव्र्यसनी सामान्य जीवनमा फर्केका छन् ।” 

प्रकाशित: पुस २४, २०७२