गिरिजाले लगेको बन्दुक कहाँ छ ?

  • राणाविरुद्ध लड्न गिरिजाप्रसाद कोइरालाले तमसुक गरेर लिएको बन्दुक फिर्ता नआएपछि त्यसका धनी साढे ६ दशकदेखि खोजिमा छन् ।

- विनोद घिमिरे

२००३ सालमा जहानियाँ राणा शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलनको घोषणा गर्‍यो ।  जनक्रान्तिकै लागि कांग्रेसले देशै भरिबाट हातहतियार र सेना एकट्ठा गर्न थाल्यो । क्रान्तिकै शिलशिलामा २५ पुस २००७ मा कांग्रेसका तत्कालिन पोलिटिकल कमिसनर गिरिजाप्रसाद कोइरालाले धरान जुद्धनगर (हालको नयाँबजार)का सूर्यनारायण श्रेष्ठको नाममा रहेको ‘एकनाले ५ फायर भाजर’ बन्दुक जनक्रान्ति सफल भएपछि फिर्ता दिने सर्तमा कवुलनामा गरी लिएर गए । त्यसको डेढ महिना नपुग्दै अर्थात ७ फागुन २००७ मा सशस्त्र क्रान्तिकै आडमा नेपालमा प्रजातन्त्र आयो ।

प्रजातन्त्र आएसँगै कांग्रेसले छेडेको सशस्त्र आन्दोलन थामियो । जनक्रान्ती सफल भएता पनि लडाइँका लागि लगिएको सूर्यनारायणको बन्दुक सर्तअनुसार फिर्ता आएन । आज ६५ वर्षपछि पनि गिरिजाप्रसादले लगेको उक्त बन्दुक पाउने आसमा उनका दरसन्तान छन् । त्यसबेला कोइरालाले सूर्यनारायणका जेठा दाइ जयनारायणबाट मोरङ गोस्वारामा दर्ता नम्बर ४० रहेको बन्दुक र त्यसको २५ ओटा गोली भर्पाइमा हस्ताक्षर गरी बुझेका थिए । सूर्यनारायणका नाति, अर्थात २०३० सालमा राजाको सवारीमा बम प्रहार गरेको आरोप लगाएर मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोजनारायणले त्यो भर्पाइ उनको संग्रहालयमा सुरक्षित राखेका छन् । ‘बन्दुक फिर्ता पाउँ भन्दै बाजेले उतिबेलाका धेरै आईजीपीहरूलाई समेत पटक–पटक चिठी लेख्नु भयो, तर फिर्ता भएन ।’ त्यसरी लेखिएका पत्रका छाया प्रति देखाउँदै मनोजले भने ।

तत्कालिन आईजीपीहरूलाई लेखिएका पत्रमा सूर्यनारायणले बन्दुक फिर्ता नदिने हो भने, ‘परेको मोल’ २५ सय भारु दिनु, भर्पाइ चाहिए त्यो पनि देखाउँला‘ भनी उल्लेख गरेका छन् । बन्दुक लिएको ४४ वर्षपछि अर्थात २०५१ सालको मध्यावधि निर्वाचनका बेला तत्कालिन प्रधानमन्त्रीसमेत रहेका कोइराला सहिद भीभनारायणको परिवारलाई भेट्न धनकुटा सदरमुकामस्थित घरैमा पुगे । मनोजले भने, ‘त्यसबेला पनि बाजेले गिरिजाबाबुसँग भर्पाइ देखाएरै बन्दुक माग्नु भयो ।’ भर्पाइ पढेर रोमाञ्चित भएका कोइरालाले तत्कालिन क्रान्तिका डरलाग्दा, रहस्यमय र केही रमाइला किस्सा सुनाए ।तर, बन्दुकका बारेमा कुनै प्रतिक्रिया दिएनन् ।

सूर्यनारायणले ‘माल’ नभए अहिलेको हिसाबमा सात लाख रुपियाँ दिनु भने । ‘त्यसपछि भने गिरिजाबाबु मज्जैले हाँस्नु भयो’ मनोजले विगत सम्झे । गिरिजाप्रसादले लिनुअघि, अर्थात २५ वैशाख २००७ मा मोरङ गोस्वाराले २ वर्षका लागि उक्त बन्दुकको दर्ता इजाजत नविकरण गरेको थियो । २०६६ वैशाखमा बन्दुकका मालिक सूूर्यनारायणको निधन भयो । त्यसयता पनि उनका नाति (सभासद् मनोहरनारायण श्रेष्ठका दाजु) मनोजले भेटेजति कांग्रेसका ठूला नेतासँग ‘फिर्ता’ पाउने आसामा बन्दुकको प्रसंग उठाउन छाडेका छैनन् । २ वर्षअघि धनकुटा आएका कांग्रेस महामन्त्री प्रकाशमान सिंहसँग पनि मनोजले कुरा राखे । त्यसबेला प्रकाशमानले ‘भर्पाइ हेर्दै इतिहास सुरक्षित राख्नु भएको रैछ, राम्रो गर्नुभो’ मात्रै भने । मनोज भन्छन्, “भित्री मनबाट बन्दुक पाउने आसा मरिसकेको छैन् ।”

प्रकाशित: पुस १६, २०७२