भीसी विजेताका फुटबलर छोरा

  • वाइवी (यमबहादुर) घलेका नाममा अहिले पनि एसियाडमा गोल गर्ने एक मात्र नेपालीको इतिहास कायमै छ ।

- नवीन अर्याल, तस्बिर : रवि मानन्धर

भिक्टोरिया क्रस (भीसी) विजेता पिता गजे घले र आफूबीच फुटबललाई लिएर चलेको जुहारी घरीघरी सम्झन्छन्, पूर्वअन्तर्राष्ट्रिय खेलाडी वाइवी (यमबहादुर) घले, ६२ । वाइवी फुटबल खेलाडी नबनी नछाड्ने । गजे घले पल्टने नबनाई नछाड्ने ।

प्रसंग ४३ वर्षअघिको हो । दोस्रो विश्वयुद्धमा बर्मामा युद्ध लडेबापत बेलायती महारानीको हातबाट भीसी प्राप्त गरेपछि गजे घलेको नाम भारतमा मात्र होइन, विश्वभरि फैलिएको थियो । सानै उमेरमा जागिरको खोजीमा गोरखा बारपाकबाट हिँड्दै भारतको देहरादुनस्थित गोरखा रेजिमेन्टमा भर्ना भएका गजे भीसी प्राप्त गरे पनि पढ्न नपाएकामा थकथक मान्थे । उनको इच्छा थियो, छोराहरू बेलायती सेनाको लप्टन वा डाक्टर नभए पनि इन्जिनियरचाहिँ बनून् ।

वाइवी आठ सन्तानमध्ये पाँचौँ थिए । उनको जन्म देहरादुनमै भयो । गजे ठूलो पदमा थिएनन् । तर, विश्वव्यापी ख्यातिका कारण उनलाई अर्दलीसहित बस्ने सुविधायुक्त घर भारत सरकारले उपलब्ध गराएको थियो । त्यसैले स्वाभाविक रूपमा वाइवीको प्रारम्भिक शिक्षा सुरु भयो, भारतको अल्मोडाबाट । सैनिक पृष्ठभूमि भएका कारण उनले स्कुलमा सबैखाले खेल अनिवार्य खेल्नु पथ्र्यो ।

जति उमेर छिप्पिँदै गयो, वाइवीको झुकाव खेलतर्फ बढ्न थाल्यो । सन् १९७६ तिर उनी अध्ययनकै क्रममा अल्मोडाबाट लखनउ हुँदै बनारसको स्पोर्ट्स होस्टेलमा भर्ना भइसकेका थिए । १४ वर्षको उमेरमै उनी उत्तर प्रदेशको विद्यालयस्तरको फुटबल टोलीमा छनोट भए ।

गजेले केही दिनमै यो कुरा थाहा पाएछन् । उनले मज्जाले हपारेछन् छोरोलाई । रोचक कुरा, गजे घले र श्याम थापा (भारतीय फुटबलका पूर्वस्टार खेलाडी) पल्टने थिए । श्याम थापाले सानैमा फुटबलमा तहल्का पिटिसकेका थिए । त्यसैले गजेले झपार्दै छोरालाई भनेछन्, ‘श्यामे जस्तो खेलाडी बन्न सक्छस् ?’

छुट्टीका बेला वाइवी नेपाल आऊजाऊ गर्थे । त्यतिबेला नवलपरासीमा बस्ने जेठा दाजुु डम्बर वाइवीलाई उकास्दा रहेछन्, ‘अरूको ठाउँमा किन बस्छस् ? आफ्नै देशमा बस्नुपर्छ ।’ फेरि डम्बरलाई थाहा थियो, साहिँलो भाइ राम्रो फुटबल खेल्छ भनेर । त्यसैले नेपालमा राम्रो फुटबल प्रतियोगिताको आयोजना भयो कि खबर गरिहाल्थे ।

सन् १९८१ मा स्नातकको परीक्षा दिएर खाली बसेका वाइवीलाई दाइले खबर पठाएछन्, ‘काठमाडौँमा पहिलो राष्ट्रिय प्रतियोगिता हुँदैछ । तुरुन्त आउनू । साथमा दुई गढवाली खेलाडीलाई पनि बोकेर ।’ नभन्दै वाइवी नेपाल आए, पहिलो राष्ट्रिय प्रतियोगितामा लुम्बिनीबाट भाग लिन । टोली सेमिफाइनलसम्म पुग्यो । त्यतिबेला चर्चामा रहेको जनकपुर चुरोट कारखानालाई हराएपछि वाइवीको खेलको यति धेरै तारिफ भएछ, उनी राष्ट्रिय टोलीको बन्द सत्रका लागि छनोट भए ।

खेल सकिनेबित्तिकै वाइवी बनारस फर्किए । दाइले अर्को खबर पठाए, ‘तँलाई राष्ट्रिय टोलीमा छनोट गरिएको छ । तुरुन्त आइज ।’ यतिबेला भने उनलाई निर्णय गर्न निकै गाह्रो पर्‍यो, फुटबल खेल्ने कि अध्ययनलाई अगाडि बढाउने ! तर, दाइको चर्को दबाबपछि ३१ जनवरी १९८२ मा राष्ट्रिय टोलीमा समावेश हुन नेपाल फर्किए । त्यसपछि भारत गएनन् । बाबुको सपना त्यहीँ चकनाचुर भयो ।

त्यही वर्ष भारतको नयाँ दिल्लीमा एसियन गेम्सको तयारीका लागि राष्ट्रिय टोलीको छनोट काठमाडौँमा भयो । नेपाल यही प्रतियोगितामार्फत पहिलोपल्ट आधिकारिक रूपले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेक्दै थियो । वाइवी राष्ट्रिय टोलीमा समावेश हुनुअघि नेपाली फुटबलको प्रशिक्षकमा भारतका केएम राजेन्द्र र चीनका सुई थिए । तर, एसियाडको तयारीका लागि जर्मनीको प्रख्यात क्लब ह्याम्बर्गका व्यावसायिक प्रशिक्षक रुडी गुटेनडर्फलाई नेपाल झिकाइयो ।

रुडीले नेपाली फुटबलको परम्परागत खेल शैलीलाई पूरै परिवर्तन गराए । उनी आउनुअघि नेपाल ५–४–१ को परम्परागत शैलीमा फुटबल खेल्थ्यो । उनले त्यो शैलीलाई परिवर्तन गर्दै ४–४–२ मा लग्दै मिडफिल्डको भूमिकालाई सशक्त पारे । डिफेन्सलाई ओभरल्यापमा जान प्रेरित गरे । यसका लागि उनी युवा र जोसिला खेलाडी टोलीमा हुन् भन्ने चाहन्थे । यसैका कारण वाइवीको स्थान रोजियो, स्ट्राइकरबाट मिडफिल्डमा ।

एसियाडमा सहभागी हुनु नौ महिनाभित्र वाइवीले तयारीका लागि मात्र पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका पाइसकेका थिए, त्यो पनि देश–विदेश घुमेर ।

२० तारिखमा नेपालको पहिलो खेल थियो, कुवेतसँग । कुवेतीहरू चार महिनाअघि मात्र स्पेनबाट विश्वकप फुटबल खेलेर फर्किएका थिए । अग्ला र गठिला । कुवेती टोलीको रवाफै बेग्लै । उनीहरू खेल–भिलेजमा नबसेर पाँच तारे होटलमा बस्थे ।

रेफ्रीले सिट्ठी फुक्दासम्म पनि नेपाली टोली त्रस्त थियो, कुवेतीहरूको हाउभाउ हेरेर । त्यतिबेला फरवार्डमा गणेश थापा र डम्बरसिंह गुरुङ थिए । मिडफिल्डमा वाइवी (राइट हाफ), नरेन्द्रमान सिंह (लेफ्ट हाफ), मानबहादुर मल्ल र भक्तराज कर्णिकार (बीच) थिए । डिफेन्समा कप्तान रूपकराज शर्मा (लेफ्टबाट), धीरेन्द्र प्रधान (राइटबाट),  सुरेश पन्थी (आक्रामक) र श्रीराम रञ्जितकार (स्विपर) थिए । रञ्जन विष्ट गोलरक्षक । ७४ मिनेटसम्म खेल गोलरहित बराबरीमै थियो । तर, त्यसको १० मिनेटभित्र कुवेतले ड्याम–ड्याम तीन गोल हान्यो ।

खेल सकिन अझ पाँच मिनेट बाँकी थियो । मिडफिल्डमा वाइवीले राम्रो अवसर पाए । उनले दुई कुवेतीलाई कटाएर मानबहादुरलाई बल फ्याँकेका के थिए, उनले वान टचमै वाइवीलाई पुन: बल फर्काए । उनी त्यतिबेला डिफेन्सलाई काटेर पहिलो बार च्याप्दै कुवेती डी–बक्सभित्र छिरिसकेका थिए । दोस्रो बारमा उभिएका गणेश थापा र रूपक शर्मा कराए, ‘बल यता फ्याँक ।’

यतिबेला वाइवी पुन: तनावमा देखिए, बल दोस्रो बारमा उभिएका थापा र शर्मालाई दिउँ कि, आफैँ हानौँ ? वाइवीले बललाई आफ्नो नियन्त्रणमा राख्दै यसो पहिलो बारतर्फ हेरे र बल छिर्ने ठाउँ देखिहाले । पल्टने संस्कारमा हुर्किएका वाइवीलाई अब के चाहियो ? पिता गजे घलेले बर्माको युद्धमा विरोधीहरूमाथि गोली पड्काएझैँ पहिलो बार च्यापेर ड्याम्म बल हाने । बल सीधै कुवेती गोलपोस्टभित्र ।

यसपछि के चाहियो ? वाइवी रातारात स्टार बने । खेल सकेर फर्किने क्रममा उनीसँग हात मिलाउनेको भीड थियो, लकर रुममा । तत्कालीन एन्फा अध्यक्ष कमल थापाले उनलाई भनेछन्, ‘यो त केही होइन । एकपल्ट नेपाल मात्र फर्क ।’ नभन्दै, काठमाडौँ फर्किंदा वाइवीलाई नचिन्ने कोही थिएन । त्यतिबेला नेपालमा अशोक केसी, लोकबहादुर शाही, गणेश थापाहरू निकै चर्चित थिए । तर, त्यो एउटा गोलले वाइवी झन् चर्चित भए ।

छोराको त्यो खेल पल्टनमा बसेर गजे घलेले पनि हेरेका रहेछन् । उनी आफ्नो छोराको सफलता देखेर यति भावुक बनेछन्, १५ वर्ष अगाडि निधन नहुँदासम्म उनी आफ्नो छोराले राष्ट्रका लागि फुटबल खेलेकामा गर्व गर्थे । ३३ वर्षअगाडिको त्यो घटनालाई सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छन्, वाइवी ।

सात वर्षअघि पक्षघात भयो उनलाई । ललितपुरको नक्खुस्थित आदिनाथ मार्गमा रहेको आफ्नो घर वरिपरि दैनिक बिहान र बेलुका आधा–आधा घन्टा टहलिने वाइवीको शरीरको त्यही भागमा पक्षघात भएको थियो, जुन खुट्टाले कुवेतविरुद्ध कीर्तिमानी गोल गरे । उनका नाममा अहिले पनि एसियाडमा गोल गर्ने एक मात्र नेपालीको इतिहास कायमै छ । 

प्रकाशित: पुस १४, २०७२