पर्यटन बोर्डका नयाँ प्रमुखसामु अपेक्षा जत्तिकै चुनौती पनि

  • चार वर्षमा कार्यकारी प्रमुख पाएपछि पर्यटन बोर्ड बौरिने आशा

- नारायण अमृत

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा ८ पुसमा पदबहाली भएपछि दीपकराज जोशी भन्दै थिए, “बोर्डलाई प्रभावकारी बनाउने योजना मसँग छ, सबैको सहयोग चाहिन्छ । चुस्त गतिमा काम गर्न सकियो भने परिवर्तन पनि सम्भव छ ।” उनले सबैभन्दा पहिला नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढाउनुपर्नेमा जोड दिए । हुन पनि प्रतिवर्ष आठ लाखभन्दा बढी पर्यटक आउने नेपालमा यस वर्ष मुस्किलले तीन लाख पुग्ने अनुमान छ । 

भर्खरैको विनाशकारी भूकम्प, तराई आन्दोलन र नाकाबन्दीले यतिबेला मुलुकको पर्यटन क्षेत्र अझै तहसनहस भएको छ । त्यस्तै सगरमाथामा भएको दुर्घटना, अन्नपूर्ण पदयात्रामा आएको हिउँपहिरो, उड्डयन कालोसूची प्रकरण र बेलाबेलामा हुने बन्द–हडतालले गर्दा विदेशमा नेपालको नकारात्मक प्रचार भइरहेको छ ।

यस्तै समस्याबीच शिथिल भएको पर्यटन पुनरुत्थान गर्ने जिम्मेवारी पाएका नवनियुक्त सीईओ जोशीले सन् २०१६ लाई ‘इयर्स अफ सर्भाइभल’का रूपमा काम गर्ने योजना बनाएका छन् । भन्छन्, “सबैभन्दा पहिला पर्यटन क्षेत्रलाई जीवन्त बनाउनु छ । त्यसका लागि पर्यटकको बहाव पुरानै रूपमा ल्याउनु पर्छ, त्यसपछि बल्ल अरू कुरामा जान सकिन्छ ।” त्यसै गरी उनले सन् २०१७ लाई ‘इयर अफ रिभाइभल’का रूपमा काम गर्ने लक्ष्य तय गरेका छन् ।

पर्यटक आगमनको ग्राफलाई उकालो लगाएपछि बल्ल क्षेत्रगत रूपमा पुनरुत्थानका काम गर्नुपर्ने हुन्छ । पर्यटकहरूलाई सेवा–सुविधा, नयाँ गन्तव्यहरूको पहिचान र प्रचारप्रसारजस्ता विषय शृंखलाबद्ध रूपमा अगाडि आउन सक्छन् । बोर्डको मूल काम नै विश्वभर नेपाललाई गन्तव्य क्षेत्रका रूपमा बजार सिर्जना गर्नु हो । नयाँ बजार सिर्जना गर्न रणनीतिक रूपमा कार्ययोजना बनाएर त्यसलाई कार्यान्वयन नगरेसम्म कायापलट सम्भव हुँदैन । जब स्वाभाविक रूपमा पर्यटकको आगमनको गति तय हुन्छ, त्यसपछि आयामिक रूपमा फड्को मार्न पनि सजिलो हुन्छ । त्यसैले चार वर्षका लागि नियुक्ति पाएका सीईओ जोशीले सन् २०१८ लाई ‘इयर अफ रिइनभिग्रेसन’का रूपमा अगाडि बढाउने रणनीति बनाएका हुन् । उनले पछिल्लो एक वर्ष सन् २०१९ लाई भने ‘बिल्डिङ ब्याक बेटर’का रूपमा काम गर्ने र पर्यटन बोर्डको सक्रियतालाई उचाइमा पुर्‍याउने अठोट गरेका छन् ।

योजनाको कुरा आफ्नो ठाउँमा छ तर सीईओ जोशीका लागि बोर्डको कार्याधिकार, मन्त्रालयसँगको सम्बन्ध, व्यवसायीहरूको अपेक्षा र आन्तरिक संरचनाका कारण अवसरसँगै चुनौती पनि त्यत्तिकै छन् । सार्वजनिक–निजी साझेदारीको मूल अवधारणामा १६ वर्षअघि स्थापना भएको पर्यटन बोर्डले छोटो समयमा नै भ्रष्टचारजस्तो बदनामीको भारी बोकिसकेको छ । पर्यटन व्यवसायी तथा उद्योगीहरूले बनाएका आधा दर्जनजति महत्त्वपूर्ण संस्थाहरूका फरक–फरक स्वार्थ, चरित्र र अपेक्षाले पर्यटन बोर्डलाई पार्ने दबाबलाई पनि उनले झेल्नुपर्ने छ ।

“समस्या निजी उद्योगी व्यवसायीमा पनि होला तर पर्यटन बोर्डले सबैलाई समेट्नु उसको दायित्व हो,” बोर्डकी पूर्वसदस्य तथा व्यवसायी ङीमा शेर्पा भन्छिन्, “नयाँ सीईओ काम गर्ने भिजन भएको व्यक्ति हो, आशा छ उहाँले विगतका गल्तीबाट सिक्नु हुनेछ ।” खास गरी विसं ०६८ मा तत्कालीन सीईओ प्रचण्डमान श्रेष्ठको बहिर्गमनपछि निमित्त प्रमुख कार्यकारीका रूपमा सुवास निरौलाको कार्यकाल विवादित रह्यो । निरौलासहित बोर्डका ११ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा चलायो । तीमध्ये तीन जना त पर्यटन बोर्डका निर्देशक नै थिए ।

मुद्दाको छिनोफानो नभई उनीहरूको पदपूर्ति गर्न पनि नमिल्ने र मुद्दा लागेकाहरू निलम्बित अवस्थामा रहने हुँदा बोर्डको गति प्रभावित भइरहेको छ र भइरहनेछ । यस्तो अवस्थामा आफ्नो महत्त्वाकांक्षी योजना साकार पार्न सीईओ जोशीलाई सजिलो छैन । “झट्ट हेर्दा यो समस्या त हो तर काम गर्न सकिन्छ, आन्तरिक रूपमा सहयोगपूर्ण वातावरण छ,” सीईओ जोशी आशावादी देखिन्छन् । पर्यटन बोर्ड, कर्मचारी युनियनका अध्यक्ष सुदन सुवेदी पनि योजना बनाएर अघि बढ्दा नयाँ सीईओलाई सबैतिरबाट सहयोग हुने विश्वास प्रकट गर्छन् ।

यति हुँदाहुँदै पनि बोर्डले बितेको डेढ दशकमा यसको ऐनले तय गरेको मूल संरचनाले समेटेको राजनीतिक र प्रशासनिक बुर्जाबाट सधैँ बाधा झेलिरहेको कुरा कतै छिपेको छैन । पर्यटन मन्त्रालयका सचिव अध्यक्ष रहने बोर्डको कार्यकारणी संरचनामा सीईओ सदस्य–सचिव हुन्छन् । ११ जना सदस्य रहेको यो निकायमा ६ जना सरकारी पक्षबाट र पाँच जना निजी क्षेत्रका उद्योगी–व्यवसायीका तर्फबाट प्रतिनिधित्व गर्छन् ।

बोर्डको स्थापनादेखि नै यसको ऐनका विषयमा पनि बहस चल्दै आइरहेको छ । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा (९) को उपदफा (२) खण्ड ६ मा उल्लेखित बोर्डको कार्यकारिणी संरचनाकै कारण राजनीतिक पृष्ठभूमिका अधिकांश मन्त्रीहरूले आफ्नो तजबीजमा मन परेका व्यक्तिलाई नियुक्ति दिने र निजी क्षेत्रबाट प्रतिनिधित्व गर्नेहरूको पनि योग्यताको मापदण्ड स्पष्ट नहुनुले धेरै समस्या र गन्जागोल सिर्जना गरेको देखिन्छ । यद्यपि, बोर्डको पुन:संरचनाको जमर्को नभएको पनि होइन । एक वर्षअघि तत्कालीन सहसचिव मोहनकृष्ण सापकोटाको सुझाव समितिले मात्र होइन, ०५७, ०६२ र ०६३ मा बनेका कार्यदलहरूले पनि पर्यटन बोर्डको पुन:संरचनाको सुझाव अघि सारेका छन् ।

पुन:संरचना भए पनि या नभए पनि नवनियुक्त सीईओ जोशीले बोर्डको सक्रियतालाई अझै बढाउने र विगतका कतिपय कमी–कमजोरीलाई सही बाटोमा ल्याउने दायित्व पाएका छन् । “नयाँ बजार बनाउन नयाँ हिसाबले काम गर्न सकिन्छ भन्ने विश्वास हो,” जोशीले परिवर्तित सन्दर्भलाई पर्यटनसँग जोड्नु नै अहिलेको आवश्यकता औँल्याउँछन् । उनले विश्वभर फैलिएका गैरआवासीय नेपालीको संगठनलाई नेपालको अब्बल गन्तव्यका रूपमा परिचित गराउन र नयाँ माध्यमका रूपमा स्थापित सोसल मिडियामार्फत खरो उत्रिने सोच बनाएका छन् । भन्छन्, “अप्ठ्याराहरू छन् भनेर हात बाँधेर बस्ने कुरा आउँदैन ।”

पछिल्ला वर्षमा नेपाल भित्रिनेहरूमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक हुन् । अहिले चिनियाँहरूको पनि गन्तव्य नेपाल हुन थालेको छ । जोशीका विचारमा सिंगापुर, मलेसिया, थाइल्यान्ड, जापानजस्ता दक्षिणपूर्वी एसियाली देशबाट थप पर्यटक नेपाल ल्याउन सकिन्छ । रसिया, कोरिया, अस्ट्रेलिया र अमेरिकीमाझ पनि नेपालको विविधता र सौन्दर्यलाई बाक्लै गरी परिचित बनाउन सकियो भने पर्यटकको संख्या बढाउन सकिन्छ ।

“विश्वका अरू देशमा भएका सजिला–अप्ठ् यारा परिस्थितिलाई आकलन गरेर बजारको खोजी गरियो भने हामीलाई फाइदा पुग्छ,” जोशीका विचारमा अहिले पनि टर्की घुम्न डराइरहेका रसियन र इस्लामिक स्टेटको त्रासका कारण युरोप पुग्ने पर्यटकलाई नेपालका बारेमा बताउन सकियो भने ठूलो उपलव्धि हासिल हुन सक्छ । भन्छन्, “सबैभन्दा महत्त्वपूर्ण काम त पर्यटक भित्र्याउने नै हो ।

त्यसपछि बल्ल उनीहरूलाई कति टिकाउने, कसरी टिकाउने र कति खर्च गराउने भन्ने कुराहरूले अर्थ राख्छन् ।” दुई वर्षअघि सरदर वार्षिक आठ लाख भित्रिने बेला एक जना पर्यटकको नेपाल बसाइ औसत दिन १२.८७ थियो भने पर्यटक खर्च प्रतिदिन ४ सय ३४.९३ अमेरिकी डलर थियो ।

केही अप्ठ्यारा हुँदाहुँदै पनि पर्यटन प्रवद्र्धनको एउटा महत्त्वपूर्ण निकायले नयाँ सीईओ पाएपछि साझेदारी गरिरहेको निजी र यसलाई नीतिगत भरथेग दिइरहेको सरकारी क्षेत्रमा आशाको सञ्चार भएको छ । नेपालको भौगोलिक, सांस् कृतिक, भाषिक र सामाजिक विविधता संसारभरका सबै कुनाका पर्यटकका लागि आकर्षक हुने कुरा स्पष्ट छ । “सबैतर्फ हाम्रा प्रोडक्ट र गन्तव्यहरूबारे जानकारी पुग्नु पर्‍यो, पर्यटक आउनु पर्‍यो, त्यतिबेला मात्र बोर्डले रिजल्ट दिएको मान्न सकिन्छ,” होटल व्यवसायी संघ, नेपाल (हान)का महासचिव विनायक शाह भन्छन्, “अबका दिनमा पनि यही आशा राखौँ ।” 

प्रकाशित: पुस १३, २०७२