[फिल्म समीक्षा] 'बाजीराव मस्तानी'मा गहिरो प्रेमको सानदार प्रस्तुति

- गोकर्ण गौतम

भव्य सेट, महँगो कस्ट्युम, फराकिलो क्यानभास र ‘लार्जन देन लाइफ’ कथा बलिउड निर्देशक सञ्जयलीला भन्सालीका विशेषता हुन् । उनी ऐतिहासिक घटनामा दिलचस्पी राख्छन् । रामलीलाको सफलताबाट हौसिएका भन्सालीले नयाँ फिल्म बाजीराव मस्तानीमा यही ‘सिग्नेचर स्टाइल’ पछ्याएका छन् । भलै बाजीरावको कथालाई पर्दामा पेस गर्ने उनको सपनाले मूर्त रूप पाउन १३ वर्ष लाग्यो । फिल्मका हरेक फ्रेममा देखिने भव्यताबाट उनको मिहिनेत र पागलपनको मेसो पाइन्छ । यसपटक उनले अठारौँ शताब्दीका मराठा साम्राज्यका सेनापति बाजीराव बल्लाल भट र उनकी दोस्री पत्नी मस्तानीको गहिरो र आदर्श प्रेमको कथा बुनेका छन् । एनएस इनामदारको उपन्यास राउमाथि आधारित यो फिल्मको कथा र प्रस्तुति मात्र होइन, कास्टिङ पनि अब्बल छ ।

मराठ साम्राज्यमा नयाँ सेनापति बाजीराव (रणवीर सिंह) उनले हिन्दुस्थानभर राज्य फैलाउने अभिलाषा बोकेका छन् । त्यसैले पत्नी काशीवाई (प्रियंका चोपरा)सँग भन्दा युद्ध मैदानमा बढी समय बित्छ उनको । सोही क्रममा एक दिन उनको भेट बुँदेलखण्ड राज्यका महाराज छत्रसालकी छोरी मस्तानी (दीपिका पादुकोण)सँग हुन्छ । मस्तानी युद्धकलामा पोख्त छिन्, निडर र साहसी पनि । युद्धमैदानमा आफ्नो ज्यान बचाएपछि बाजीराव मस्तानीको प्रेममा डुब्छन् । एकातिर बाजीराव विवाहित हुन्, अर्कातिर मस्तानी मुस्लिम आमाकी छोरी हुन् । हिन्दु राजाले मुस्लिम युवती भित्र्याउन खोजेपछि दरबारभित्र रडाको मच्चिने भई नै हाल्यो । आमा, ब्राह्मण, भाइभारदार सबै मस्तानीको विपक्षमा हुन्छन् । मस्तानीलाई पत्नीको दर्जा दिन बाजीरावले गरेको संघर्ष नै फिल्मको केन्द्रीय कथा हो ।

सञ्जय प्रेमकथा त भन्छन् तर उनका प्रेमी/प्रेमिकाको कहिल्यै मिलन हुँदैन, देवदासदेखि रामलीलासम्म । अर्को जुनीमा मात्र प्रेम सफल हुने विश्वास राख्छन् उनी । बाजीराव मस्तानीमा पनि उनले यही ‘ट्रयाजिक ट्युन’लाई निरन्तरता दिएका छन् । उनका अघिल्ला फिल्मजस्तै यसको खलपात्र पनि नारी हुन् । धर्म र परम्परा जोगाउन आमाले छोराको चाहना तुहाउन लागिपरेकी छन् । उसो त उनका हरेक पात्रमा हिरो र भिलेनको सम्मिश्रण पाइन्छ । आमाको कोणबाट हेर्दा पूर्णत: गलत लाग्दिनन्, न त निर्दोष प्रेम गर्ने मस्तानी वा काशीवाई अथवा घरमा पत्नी हुँदाहँुदै अर्की भित्र्याउने बाजीराव नै हिरो वा भिलेन मात्र हुन् । मुख्य पात्र र कथाको यो द्वन्द्वले दर्शकलाई ‘इन्गेज’ गर्छ तर मध्यान्तरअगाडिका केही दृश्य अनावश्यक रूपमा तन्काइएको छ, खास गरी बाजीरावको चरित्र स्थापित गर्न । अठारौँ शताब्दीको युद्धमा स्वाभाविकता ल्याउन भीएफएक्सको भरपुर प्रयोग गरिएको छ । ऐना महलमा दीपिकामाथि फिचरिङ गरिएको गीतले मुगल–ए–आजमको झल्को दिन्छ ।

अधिकांश दृश्यमा खैरो र अँध्यारो रङलाई प्राथमिकता दिएका छन् । चहकिला दृश्य करिब छैनन् ।

राज्य विस्तार गर्ने अभियानमा रहेको शासक प्रेममा पर्नु, परिवार र परम्परा बाधक बन्नु नयाँ कथा होइन । त्यसैले बाजीराव मस्तानी हेरिरहँदा कथाको पूर्वानुमान गर्न गाह्रो छैन । तर, चोटिलो संवाद र आँखा तानिरहने भव्य दृश्यले कतै झिजो महसुस हुँदैन । कलाकारको जीवन्त अभिनय फिल्मको सबैभन्दा सशक्त पक्ष हो । रणवीरको लुक्स र अभिनय हेर्दा पाँच वर्षअगाडि ब्यान्ड बाजा बरातमा देखिएका चुलबुले युवक हुन् भनेर पत्याउन मुस्किल पर्छ । यति छोटो समयमा यो तहको प्रगति बलिउडका कमै हिरोमा देखिन्छ । यो फिल्म उनको करिअरको ‘टर्निङ पोइन्ट’ हुनेछ । चेन्नाई एक्सप्रेस, ह्याप्पी न्यु इयर, तमासामा फितलो भूमिकामा देखिएकी दीपिकाको भूमिका र अभिनय दुवै प्रभावकारी छ । खतरनाक एक्सन दृश्य दिएर आमहिरोइनभन्दा अलग देखाउने प्रयास गरेकी छन् । सोझी पत्नीका रूपमा प्रियंका दर्शकको मन जित्न सफल छिन् । यस्तो लाग्छ, सञ्जयको सोचलाई पर्दामा जीवन्त बनाउन कलाकारको भूमिका तारिफयोग्य छ ।

सञ्जय हतारमा फिल्म बनाउँदैनन्, त्यसैले उनका फिल्ममा कथादेखि कथा भन्ने शैलीसम्म गहन हुन्छ । उनको उदेश्य अढाई घन्टासम्म दर्शकलाई हलमा अड्याउन मात्र सीमित हुँदैन, हलबाहिर निस्कँदा कथा र पात्रको प्रेमबाट दर्शक विमुख नहोऊन् भन्ने ठान्छन् । बाजीराव मस्तानी त्यसैको नमुना हो । मसला, बजारु र उडन्ते सूत्रबाट मुक्त छ यो फिल्म । तर, केही हिंसात्मक दृश्य र अमूर्त ऐतिहासिक घटनाक्रमले बोझिलो बनाएको छ । कम्तीमा सञ्जयले सिर्जर्ेका भव्य सेट, कलात्मक दृश्य र कलाकारको जीवन्त प्रस्तुति नियाल्न पनि बाजीराव मस्तानी छुटाउनु हुन्न ।

रेटिङ: ४/५

प्रकाशित: पुस १२, २०७२