घुमिफिरी पदमकुमारी

- कुम्भराज राई

नेपाली चर्चित उखान छ, ‘घुमिफिरी रुम्जाटार’ । उखानभन्दा सुन्दर छ ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१३ मा पर्ने रुम्जाटार । उखान कसरी बन्यो भन्ने तर्क आ–आफ्नै छन् । सबैभन्दा पुरानो तर्क एउटै छ । रुम्जाटारका गुरुङहरूले भेडा पाल्थे । भेडा कहिले हिमालको काख त कहिले भित्री मधेस पुग्थे । जहाँ पुगे पनि फर्किएर रुम्जाटार नै ल्याइन्थ्यो । त्यसैले ‘घुमिफिरी रुम्जाटार’ उखान बन्यो ।

भेडापालनको कुरा गर्नेबित्तिकै राडीपाखी उद्योग जोडिएर आउँछ । सयौँ वर्षदेखि रुम्जाटारको पहिचान बनेको राडीपाखी बिस्तारै लोप हुने खतरामा थियो । तर, यसलाई बचाउन लागेकी स्थानीय अगुवा हुन्, पदमकुमारी गुरुङ, ५८ । उनले १२/१३ वर्षकै उमेरदेखि राडी बुन्न सिकेकी हुन् । “मेरा बाजेबज्यै सबैले राडी बुनेको थाहा छ,” उनी भन्छिन्, “तान समाउन नसक्ने उमेरमै बुबाले सिकाउनुहुन्थ्यो ।”

यसरी आफ्नो दैनिक जीवन, संस्कार, पुख्र्यौली पेसा बनेको राडीपाखी उद्योग बिस्तारै हराउने अवस्थामा पुगेको थियो । जब युवा पुस्ता वैदेशिक रोजगारीका लागि जाने चलन बढ्यो, राडी बुन्नेको संख्या झनै घट्यो । तब पदमकुमारीको नेतृत्वमा ३ मंसिर ०६६ मा ‘भेडा विकास समिति’ गठन भयो । उक्त समितिले भेडापालनको संख्या बढाउनेदेखि ऊन वितरणसमेत गर्दै आएको छ । समितिमा ५० सदस्य छन् । भेडीगोठबाट वर्षको दुईपटक समितिमा ऊन ल्याइन्छ । व्यवसायीले आफ्नो क्षमता अनुसार ऊन लगेर राडी बुन्ने गर्छन् ।

त्यसयता अहिले भेडापालकको संख्या बढेको छ । पदमकुमारीकै गोठमा एक हजार भेडा छन् । रुम्जाटारका जम्मा चार गोठमा तीन हजार भेडा छन् । रुम्जाटारमा वार्षिक तीन हजार किलोको हाराहारीमा ऊन खपत हुने गर्छ । आफ्नो गोठबाट मात्र नपुग्ने भएकाले रामेछाप र सोलुखुम्बुबाट पनि खरिद गरेर ल्याउने गरिएको छ ।

राडी प्रतिगोटा आकार र गुण अनुसार ३ हजार ५ सयदेखि १५ हजार रुपियाँसम्ममा बिक्री हुने गरेको छ । बाहिरबाट खरिद गरिने ऊन प्रतिकिलो २ सय ५० रुपियाँ पर्ने गर्छ । ऊनबाट डबल राडी, चारपाटे राडी, सिंगल राडी, घुमराडी, चकटी, अबरा उत्पादन हुने गरेको छ ।

राडीपाखी निरन्तर प्रयोग गरेमा स्वास्थ्यका लागि समेत लाभदायक हुने स्थानीयको भनाइ छ । रुम्जाटारमा उत्पादित राडीपाखी कम्तीमा पनि १५–२० वर्षसम्म फाट्दैन । उत्पादन तथा बजार प्रवद्र्धनकै लागि यसै वर्ष उद्योग मन्त्रालयको सहयोगमा रुम्जाटारमा ‘वस्तु विकास केन्द्र’ स्थापना हुने भएको छ । देशभरिबाटै राडीपाखी व्यवसायी, कच्चा पदार्थ सबै तवरबाट उपयुक्त स्थान छनोट गरी केन्द्र स्थापना गर्न लागिएको हो ।

भेडा विकास समिति गठनपछि उत्पादन बढे पनि बजारको समस्या भएको पदमकुमारीको कथन छ । “मान्छेहरू कृत्रिम गलैँचा र प्लास्टिकका बिछ्यौनाहरू सस्तोमा किन्नेतिर लागे,” भन्छिन्, “राडीपाखीको महत्त्व नबुझ्दा बजार पाइन छाडेको छ ।” 

वस्तु विकास केन्द्रलाई भेडा विकास समितिकै समन्वयमा सञ्चालन गर्न सके सहज हुने पदमकुमारीको विश्वास छ । राडी बुन्ने प्रविधि पुस्तौँदेखि एउटै भएकाले आधुनिक प्रविधि निर्माण गरी बुन्न सकेमा कम मूल्यमा निर्माण हुने र बजारका लागि समस्या नहुने उनले बताइन् । आधुनिक प्रविधिमार्फत राडीपाखीको आकार, प्रकार, बुट्टालगायत थप्न सकेमा अन्तर्राष्ट्रिय स्तरमै निर्यात गर्न सकिने सम्भावना पनि देख्छिन् उनी ।

राडी उत्पादनका लागि सबैभन्दा ठूलो समस्या भेडाको चरन क्षेत्र हो । अधिकांश सरकारी वन सामुदायिकमा रूपान्तरित भएपछि भेडा चराउन नदिने समस्या छ । “एउटै खर्कमा चराउन ५० हजार रुपियाँसम्म रोयल्टी तिर्नुपर्दा हामी मर्कामा छौँ,” पदमकुमारीको गुनासो छ ।

यहाँका भेडीगोठ वर्षामा सोलुखुम्बुको दूधकुण्डदेखि हिउँदमा उदयपुर र सिन्धुलीको माथ्लो भेगसम्म लाने गरिन्छ । राडीपाखी रुम्जाटारका स्थानीयको घर गर्जो टार्ने मुख्य पेसा पनि हो । राडी बुन्नका लागि ऊन लिन पदमकुमारीकहाँ नै पुग्नुपर्छ । भेडीगोठबाट ऊन लिएर उनैकहाँ पुग्नुपर्छ । रुम्जाटारका अधिकांश स्थानीय वर्षको दुईपटक पदमकुमारीलाई भेट्नैपर्ने भएकाले कतिपयले उनकै नाममा उखान बनाउन थालेका छन्, ‘घुमिफिरी पदमकुमारी’ ।

प्रकाशित: पुस ८, २०७२