[तस्विर कथा] एउटा अलग परिवार

- श्रुति श्रेष्ठ

औसतभन्दा निकै होचो कदका निश्चल श्रेष्ठ उँचो जीवनको खोजीमा २०६२ सालमा आइपुगे राजधानी । कामकै सिलसिलामा आफूजस्तै सानैमा आमा गुमाएकी तनहुँकी निर्मला केसीसँग उनको भेट भयो । हिमचिम बढ्दै गयो । अन्त्यमा मायामा डुबेकी निर्मलाले नै निश्चलसामु आफ्नो मनको कुरा सुनाइन् । दुवैको मन मिल्यो, विवाह भयो ।

अहिले उनीहरू तीन वर्षकी छोरी निकिताको लालनपालनमा अहोरात्र खटिन्छन् । खाना पकाउनेदेखि लुगा धुनेसम्मका काम मिलेर गर्छन् । निश्चल साँझदेखि अबेर रातीसम्म राजधानीकै रेस्टुराँमा दोहोरी गीत गाउँछन् भने निर्मला राजधानीकै एक फाइनान्स कम्पनीमा काम गर्छिन् ।

महँगीले आकाश छोएका बेला यो जोडीको जीवन जेनतेन चलेको छ । निश्चल भावुक हुँदै भन्छन्, “राम्रो पढाइ नहुनाले हामीले दु:ख पायौँ । अब एउटै चाहना छ, छोरीले धेरै पढोस् । हामीले जस्तो दु:ख भोग्न नपरोस् ।” 

प्रकाशित: मंसिर २५, २०७२