[सम्झना] प्रसाईंको प्रस्थान

  • राणाविरोधी आन्दोलनमा सरिक हुँदै नेपाली कांग्रेसमा आबद्ध हुन पुगेका प्रसाईं राजा त्रिभुवनका भने कट्टर आलोचक थिए ।

- ईश्वरी ज्ञवाली


पछिल्ला १० साता राजनीतिज्ञ एवं प्रशासक तेजबहादुर प्रसाईंलाई निरन्तर भेटिरहेँ । प्राय: भेटमा इतिहासका अनुद्घाटित पाटाहरूबारे छलफल गरेर फर्किएको रोमाञ्चमा हुन्थेँ । १८ मंसिरको राती भने म एकपटक झस्किन पुगेँ, जतिबेला उनको निधन भएको खबर छोरा मोहन प्रसार्इंबाट थाहा पाएँ । अन्तिमपटक १५ मंसिरमा सुमेरु अस्पतालमै पुगेर ‘नेपाल’को स्मरण स्तम्भका लागि कुराकानी गर्दाको क्षण सम्झिन पुगेँ । मनले पत्याउन गाह्रो माने पनि सत्यलाई आत्मसात् नगरी सुखै थिएन । नरमाइलो मानी मानी ‘नेपाल’को काम सकेर घर फर्किंदा रातीको त्यस्तै ३ बजेको हुँदो हो । १९ मंसिर बिहान आर्यघाट पुगेर प्रसाईंको शव दनदनी बलिरहेको हेरेर फर्किएँ ।

त्यसो त उनीसँगको भेट पनि अविस्मरणीय छ । ग्रीष्मबहादुर देवकोटाको ‘राजनीतिक दर्पण’ अध्ययन गर्ने क्रममा पूर्वबडाहाकिम एवं अञ्चलाधीश उनको नाम र कामका बारेमा जानकारी प्राप्त गरेको थिएँ । लामो समय उनका बारेमा चासो र जिज्ञासा राखेर विभिन्न व्यक्तिसँग सोधपुछ गरेँ । तर, अधिकांश व्यक्ति उनका बारेमा बेखबर रहेछन् । धेरैले त उनको भौतिक उपस्थितिका बारेमै शंका गरे । उनीबारेको जिज्ञासा र खोजी जारी नै रहेका बेला वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसँगको कुराकानीका क्रममा प्रसंग निस्कियो । उनलाई पनि अहिलेको अवस्थाबारे ठ्याक्कै थाहा रहेनछ । यत्तिकैमा पुराना राजनीतिज्ञ एवं मानव अधिकारकर्मी नूतन थपलियासँग जिज्ञासा राख्दा प्रसाईँ कुपन्डोलतिर बस्ने जानकारी प्राप्त भयो । 

नेपाल वायुसेवा निगमका पूर्वप्रबन्ध निर्देशक मोहन खनालसँग स्मरणका लागि कुराकानी गर्न उनको कार्यालय पुग्दा ‘तत्कालीन आरएनएसीका महाप्रबन्धक तेजबहादुर प्रसाईंले सम्झनलायक केही राम्रा काम गरेको’ प्रसंग निस्कियो । मैले प्रसाईंलाई धुइपत्ताल लगाएर खोजिरहेको कुरा राखेपछि खनालले नै चासो दिएर उनको खोजखबर गरिदिए र छोराको टेलिफोन नम्बर पनि उपलब्ध गराइदिए । 



सम्पर्कपश्चात् कुपण्डोलस्थित प्रसाईंको निवासमा पुग्दा उनको पहिलो प्रतिक्रिया थियो, “नेपाल म नियमित पढ्छु । झन् स्मरण त छुटाउँदै छुटाउँदिनँ ।” पुराना राजनीतिज्ञ शंकरबहादुर केसीदेखि रञ्जनराज खनालसम्मका ‘नेपाल’मा छापिएका स्मरणका विषयवस्तुबारे पनि उनले चर्चा गरे । “तत्कालीन राजदरबारका प्रमुख सचिव खनालको ‘भलाद्मी राजा र रफ रानी’ पढेपछि कि अब धेरै अप्रकाशित कुराहरू प्रकट हुन्छन् कि उप्रान्त उनको स्मरण पढ्न पाइँदैन भन्ने लागेको थियो । दोस्रो कुरा सत्य भयो,” यति सुनाएर उनी हाँसेँ । 

राणाविरोधी आन्दोलनमा सरिक हुँदै नेपाली कांग्रेसमा आबद्ध हुन पुगेका प्रसाईं राजा त्रिभुवनका भने कट्टर आलोचक थिए । राजा त्रिभुवनले ‘मलाई राजा होइन, बरू भारतीय राज्यको प्रमुखजस्तै कुनै सामान्य पदमा बहाल गरी जनताको सेवा गर्ने वातावरण मिलाइयोस्’ भन्ने अभिव्यक्ति दिएकै कारण आफू गणतन्त्रवादी बनेको बताउँथे प्रसाईं । राजा महेन्द्रका भने कट्टर प्रशंसक र समर्थक रहे उनी । जीवनका झन्डै २७ वसन्त उनले पञ्चायतकै सेवामा बिताए । 

बोलक्कड र हकी स्वभाव थियो उनको । कोही मानिस रिसाउलान् कि भन्ने डर उनमा रत्तिभर थिएन । “जीवनको अन्त्यनजिक पुगियो, किन ढाँट कुरा गर्ने ?” उनी भन्थे । ०१९ देखि ०४२ सालसम्म विभिन्न जिल्लाको बडाहाकिम र अञ्चलाधीश रहेका उनले वाग्मती अञ्चलाधीश हुँदा ०४१ सालमा राजदरबारको समाचार प्रकाशित गरेबापत साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई एक वर्ष कैद, तीन हजार रुपियाँ जरिवाना र दर्ता खारेजीको निर्णय सुनाएका थिए । सिन्धुनाथ प्याकुरेल, सुवास नेम्वाङ, शम्भु थापाजस्ता वरिष्ठ र काबिल २५ वकिल साँघुको दर्ता खारेजीको विरोधमा रहँदा पनि आफूले हतकडी लगाएरै बुढाथोकीलाई थुन्न उर्दी दिएको र पत्रिकाको दर्ता खारेजी गरिदिएको कुरा नढाँटी सुनाएका थिए । उनको स्पष्टीकरण थियो, “सरकारको नून खाएपछि आफ्नो कर्तव्यबाट विमुख हुनु पनि त भएन नि ! कि कसो ?”

उनको यस खालको प्रस्तुतिले इतिहासका यस्ता चर्चित घटनाका धेरै अनुद्घाटित पाटाहरू क्रमश: स्मरणमार्फत सार्वजनिक गर्न पाइने भयो भन्दै मनमनै म हौसिएको पनि थिएँ । तर, १८ मंसिरबाट त्यो सम्भावना सकियो । १० सातासम्म ‘नेपाल’मा उनको स्मरण शृंखला छापियो । पछिल्लो स्मरण (कोदारी राजमार्ग बनेपछि...)उनी आफैँले पढ्न पाएनन् । 

विभिन्न विधा र क्षेत्रमा अब्बल र खारिएका व्यक्तित्वहरूको सम्झनामा आधारित स्मरण स्तम्भका लागि कुराकानी गर्दाको अनुभव रमाइलो र रोमाञ्चक नै हुन्छ । वयोवृद्ध उमेरका भए पनि उनीहरूको उत्साह र जाँगर लोभलाग्दो लाग्छ । प्रसाईंसँगको बसाइ पनि त्यस्तै रह्यो । वृद्ध उमेर र प्रतिकूल स्वास्थ्यका बाबजुद यो पंक्तिकारसँग बिताएको समयका लागि उनीप्रति कृतज्ञताका कुनै शब्द मसँग छैनन् । सिवाय हार्दिक श्रद्धासुमन !
---

नेपालमा प्रकाशित प्रसाईंका स्मरण पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित: मंसिर २०, २०७२