[फिल्म समीक्षा] 'कबड्डी कबड्डी'मा अपेक्षाको अवतरण

  • मनोरञ्जनको मात्रा बढी भए पनि सन्देशमुक्त छैन कबड्डी कबड्डी । त्यसभन्दा महत्त्वपूर्ण पक्ष कथादेखि लोकेसनसम्म आफ्नैपनको आभास हुन्छ, चोरीचकारी र छोइछिटोको संक्रमणले गाँजेको छैन ।

- गोकर्ण गौतम

मुस्ताङको मनमोहक लोकेसनमा खिचिएको सोल्टिनी–प्रेमको कथाले अघिल्लो वर्ष कबड्डीलाई प्रिय बनायो । कमी–कमजोरीमुक्त नभए पनि त्यसअगाडि कथा, पात्र र परिवेशलाई त्यति स् थानीय पारामा पोखिएको फिल्म कमै बनेका थिए, सोही कारण हरेक उमेर समूहका दर्शकले कबड्डी हेरेर मज्जा लिए । लुटबाट गोफ्लेका रूपमा ख्याति कमाएका दयाहाङ राईले नयाँ परिचय पाए, काजीको । उनको लुक्स, भेषभूषा, संवाद र शैलीले प्रशंसा बटुल्यो । 

अनागरिकजस्तो फरक धार र सानो समूहका लागि फिल्म बनाउँदै आएका रामबाबु गुरुङले मूलधारको दैलो टेके । निश्चल बस्नेतले आफ्नो क्षमताको नयाँ पाटो उघारे, निर्माता र अभिनेताका रूपमा । यही टिमले बनाएको कबड्डीको सिक्वेल यतिबेला देशभरिका सिनेमा घरमा प्रदर्शन भइरहेको छ । त्यति हिट फिल्मको सिक्वेल भएकाले अपेक्षाको पहाड ठूलो हुनु स्वाभाविक हो । र, रामबाबु एन्ड कम्पनीले फेरि स्वादिलो खुराक पस्किएर त्यो अपेक्षाको उडानलाई सुरक्षित अवतरण गरेको छ । लोकेसन र मुख्य प्लट उही हो, मुस्ताङ र काजीको सोल्टिनी–प्रेम । फरक कति मात्र छ भने पहिले काजीको पिरतीमा वैदेशिक रोजगारीमा हुने ठगी घुसेको थियो भने अहिले फोहोरी राजनीति । उनको माया पहिलेझैँ चोखो र बेढंगी छ । यसपटक उनकी प्रेयसी खोस्न सहरबाट बमकाजी अर्थात् सौगात मल्लको सवारी भएको छ । 

मुस्ताङलाई संसदीय चुनावको रन्कोले छोपेको छ । ठूलोबुबालाई चुनाव जिताउन काजी (दयाहाङ) अहोरात्र खटिरहेका छन् । चुनाव लड्न मामा पनि मुस्ताङ पुगेपछि काजीलाई आपत् आइलाग्छ । तैपनि, ठूलोबुबालाई नै सघाउने निर्णयमा अडिग रहन्छन् । मामाले भने आफ्नी छोरी मैयाँ (रिस्मा गुरुङ)को तुरूप फाल्छन् किनभने उनलाई मैयाँको एकोहोरो प्रेममा काजी चुर्लुम्म डुबेको राम्रोसँग थाहा छ । त्यसमाथि ठूलोबुबाको छोरा बमकाजी (सौगात)ले मैयाँलाई ताकेपछि उनलाई अर्को तनाव थपिन्छ । मैयाँ प्रभावित हुने लोभमा मामाको प्रचारमा जुट्छन् । तर, हेर्दै खाइलाग्दो र जब्बर स्वभावको बमकाजीबाट मैयाँलाई जोगाउन उनलाई हम्मेहम्मे पर्छ । राजनीति बिस्तारै छायामा पर्छ र सोल्टी उम्काउन काजी र बमकाजीको घम्साघम्सीमा कथा घुम्छ । तर, आफ्नो हक पनि लाग्ने सोल्टिनीलाई भित्र्याउन काजी सफल होला त ? क्लाइमेक्स केही भावुक र व्यावहारिक छ । 

रामबाबुले मौलिक कथा, परिवेश र पात्रलाई कबड्डी कबड्डीमा पनि निरन्तरता दिएका छन् । फिल्मका हरेक पात्र कलाकारभन्दा स्थानीयजस्तै आभास हुन्छ तर अघिल्लो भागमा जस्तै यसपटक पनि पटकथाभन्दा संवादलाई बढी महत्त्व दिइएको छ । उपेन्द्र सुब्बा र रामबाबु मिलेर लेखेको पटकथामा खासै ‘ट्वीस्ट’ छैन, कथाको गति धीमा नै छ तर यो कमजोरीलाई संवादले ढाकेको छ । कलाकारले संवादलाई सहज तर प्रभावकारी शैलीमा अभिव्यक्त गरेकाले दर्शकको ध्यान अन्त बरालिन्न, बरू मज्जा महसुस गर्छन् । रसिला संवाद, स्वाभाविक अभिनय र स्थानीय दृश्यले कतै पट्यार लाग्दैन । सुरुआतदेखि अन्त्यसम्म दर्शकलाई बाँधिरहनु रामबाबुको सफलता हो । 

कबड्डी मध्यान्तरअघि रसिलो थियो भने पछि त्यही गति  निरन्तर थिएन । यस मामिलामा कबड्डी कबड्डी सन्तुलित छ । क्लाइमेक्स नजिक पुगेपछि भावुक दृश्यले प्रश्रय पाउनु त सामान्य भइहाल्यो । रक्सी पिएको र खाना खाएको दृश्य अचाक्ली छन् । सौगातलाई गायक र जुनु विष्टलाई हिरोइन हुन् भनिएको मात्र छ, तथ्य स्थापित हुँदैन । कतिपय दृश्य हँसाउनकै खातिर थोपरिएका छन् । मुख्य कथालाई पटक–पटक उपकथाले छायामा पारेको छ, सहायक पात्रमाथि न्याय गर्न यसो गरिएको हुन सक्छ । शैलेन्द्र डी कार्कीले सिनेमाटोग्राफीमा पुरुषोत्तम प्रधानकै ‘लिगेसी’लाई पछ्याएका छन् । उनको खिचाइमा मुस्ताङको सौन्दर्य र फिल्मका दृश्यको लोभलाग्दो संयोजन छ । दर्शकले निश्चलले गाएको ‘हिट गीत...’को भिडियो अपेक्षा गर्छन् । ‘लप्पन–छप्पन...’ र अन्तिमको मार्मिक गीतको प्रयोग उचित लाग्छ । 

पात्रको चयन र अभिनय फिल्मको अर्को सबल पक्ष हो । दयाहाङ र सौगात त भई नै हाले, सहायक पात्रले पनि उत्तिकै स्वाभाविक अभिनय गरेर फिल्मको वजन बढाएका छन् । दयाहाङको अभिनय शैली कबड्डीकै निरन्तरता भए पनि झिँजो लाग्दैन । सहरिया हुलिया र सन्काहा स्वभावको चरित्रमा सौगात जमेका छन् । दयाहाङ र सौगातलाई एउटै फ्रेममा देख्दा सानदार लाग्छ । विजय बराल र बुद्धि तामाङ पनि आकर्षणको केन्द्रमा छन् । विजयको चरीप्रेम र बुद्धिको पत्नीप्रेमले दर्शकको मुहारमा मुस्कान ल्याउँछन् । दयाहाङसँगको उनीहरूको मित्रतालाई रामबाबुले रमाइलो र भावुकताको कसीमा ढालेका छन् । माओत्से गुरुङ, कविता आले, अरूणा कार्की, जुनु विष्ट, कमलमणि नेपाललगायतका कलाकारको अभिनय पनि प्रशंसनीय छ । 

मनोरञ्जनको मात्रा बढी भए पनि सन्देशमुक्त छैन कबड्डी कबड्डी । त्यसभन्दा महत्त्वपूर्ण पक्ष कथादेखि लोकेसनसम्म आफ्नैपनको आभास हुन्छ, चोरीचकारी र छोइछिटोको संक्रमणले गाँजेको छैन । त्यसैले मौलिक र स्तरीय सिनेमा हेर्न चाहनेले नछुटाउँदा हुन्छ । कम्तीमा नाकाबन्दीले नैराश्य छाएका बेला सवा दुई घन्टा रमाइलो गर्ने उत्तम विकल्प हुन सक्छ कबड्डी कबड्डी ।

रेटिङ: ३.५/५ 

 

प्रकाशित: मंसिर १७, २०७२