बाहिर हँसाउने, भित्रभित्रै रुने

  • यथार्थमा चाहिँ अरुलाई हँसाउने हास्य कलाकार आफैँ हाँस्न नसक्ने अवस्थामा ।

- गोकर्ण गौतम

 

हास्य टेलिफिल्म तीतो–सत्यको १२ वर्षे यात्रा पूर्णविरामको घोषणा गर्दा निर्देशक तथा कलाकार दीपकराज गिरीका आँखा रसाए, ३० कात्तिकमा । नाम र दाम दिलाएको टेलिफिल्म छोड्नुपर्दा दीपक दु:खी हुनु त स्वाभाविकै थियो तर जसै फेसबुकमार्फत उनले कार्यक्रमै बन्दको घोषणा गरे, त्यो राष्ट्रिय चासो र चर्चाको विषय बन्यो । सामाजिक सञ्जालदेखि चियापसलसम्म विभिन्न प्रतिक्रिया पोखिए ।

६ सय भाग प्रसारण भएर तीतो–सत्यले नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा लामो टेलिफिल्मको रेकर्ड त बनायो नै, सँगै टेलिभिजन रेटिङ पोइन्ट (टीआरपी)मा एक दशकसम्म आफ्नो प्रभाव कायम राख्यो । नेपाली हास्य कार्यक्रम वृत्तको दोस्रो अध्याय यही टेलिफिल्मले सुरुआत गरेको सर्वस्वीकार्य छ । जोकरमा सीमित हास्य कलाकारको पहिचानलाई अभिनेतामा रूपान्तरण गर्ने श्रेय यही टेलिफिल्मलाई जान्छ । यसकै पथ पछ्याउँदै जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोलजस्ता कमेडी टेलिफिल्म प्रसारण भए र दर्शकको मन जिते । तर, विडम्बना ! सबैभन्दा पहिले तीतो–सत्यकै अध्याय अन्त्य भयो । किन त ? यसको भित्री कथाको संकेत उनकै स्ट्याटसमा पाइन्छ ।

दीपकले फेसबुकमा लेखेका छन्, ‘नयाँ विषयवस्तु नआउने र विभिन्न बाधाहरूबीच दर्शकको चाहनालाई सम्बोधन गर्न नसकिएको अवस्थालाई विचार गर्दा जबरजस्ती कार्यक्रम टिकाइरहनुभन्दा पछाडि हट्नु नै उपयुक्त ठानियो ।’ ‘विभिन्न बाधाहरू’ भनेको एउटै हो, आर्थिक संकट । टीआरपीमा अग्रस्थानमा हुँदाहुँदै तीतो–सत्यले तीन वर्षदेखि चरम आर्थिक अभाव झेलिरहेको थियो । जसको मूल कारण हुन्, उनैले स्ट्याटसमा ‘धन्यवाद’ भनेका मिडिया हब र यसका प्रमुख सोम धिताल ।

सम्झौताबमोजिम मिडिया हबले समयमै पैसा नदिएकाले बन्द गर्न दीपक बाध्य भएका हुन् । “मेरो सफलतामा मिडिया हबको भूमिका छ, त्यसैले मानवीयताका हिसाबले गाली गर्न सक्दिनँ,” दीपक दुखेसो पोख्छन्, “बरू आर्थिक समस्याकै कारण सम्बन्ध र आफूप्रतिको क्रेज गिराउनुभन्दा अलग्गिने निर्णय गरेँ ।” सुरुमा मिडिया हबले तीतो–सत्य प्रतिभाग ३० हजार रुपियाँमा खरिद गथ्र्यो, लोकप्रियता बढ्दै गएपछि १ लाख ७० हजार पुग्यो । तर, पछिल्लो समय नियमित पूरा रकम पाउनु त परको कुरा, राम्रोसँग हिसाबकिताब पनि हुन छाडेको थियो ।

तीतो–सत्यकै हालतमा छ, अर्को चर्चित हास्य टेलिफिल्म जिरे–खुर्सानी । जितु नेपाल र शिवहरि पौड्याल निर्देशित जिरे खुर्सानी दोस्रो महँगो सिरियलमा पर्छ । केही वर्षयता मिडिया हबले प्रतिभाग १ लाख ४५ हजारमा किन्दै आएको थियो । तर, तीन वर्षयता यसले पनि नियमित रकम पाएको छैन । कतिसम्म भने प्रोडक्सन खर्च नभएर ६ महिनायता यो टेलिफिल्म पुन: प्रसारण भइरहेको छ । सोही कारण यसका निर्देशक कार्यक्रम बन्द गर्ने मनस्थितिमा पुगिसकेका छन् तर मिडिया हबको अनुनय–विनयले रोकिएको छ । “तीतो–सत्यसँगै बन्दको घोषणा गर्दा साख झन् बिग्रन्छ भनेर मिडिया हबले आग्रह गरेकाले मात्र आधिकारिक रूपमा रोक्न ढिलाइ भएको हो,” निर्देशक जितुले दु:खी हुँदै सुनाए, “नयाँ भाग बनाउन पैसा दिँदैनन् । लामो समयदेखि पुरानो भाग प्रसारण भएकाले दर्शकले गाली गर्न थालेका छन् । अब बन्द गर्नुको विकल्प छैन ।” तर, मिडिया हबका प्रमुख धिताल भने दुई–तीन सातामा जिरे खुर्सानीको नयाँ भाग प्रसारण हुने दाबी गर्छन् ।

नेपाल टेलिभिजनको प्राइम टाइम मिडिया हबले खरिद गरेकाले पनि हास्य टेलिफिल्मका निर्देशक उसको शरणमा पर्नुपर्ने बाध्यता छ । धिताल भने बजार खराब भएकाले नियमित पैसा उपलब्ध गराउन नसकेको भन्दै उम्कन खोज्छन् । हाकाहाकी भन्छन्, “दीपकजीले तीतो–सत्य ६ सय भाग चलाउनुभयो, १०–१५ भागको पैसा दिन बाँकी होला, अब त्यो अपराध त होइन नि, व्यापारमा यस्तो हुनु सामान्य हो ।”

धितालले सामान्य भनेकै अवस्थामा अस्तित्वको संकटबाट गुज्रिरहेको अर्को हास्य टेलिफिल्म हो, मेरी बास्सै । खास गरी ग्रामीण भेगमा निकै रुचाइएको यस टेलिफिल्मको हालत केही महिनापछि तीतो–सत्यकै झैँ भयो भने अच्चम मान्नु पर्दैन । ०६१ सालमा मेरी बास्सै सुरु हुँदा मिडिया हबले प्रतिभाग ४५ हजार रुपियाँ दिन्थ्यो । गाउँमा सुटिङ गर्ने भएकाले निर्माण खर्च कम थियो, निर्देशकद्वय केदार घिमिरे र सीताराम कट्टेलले जसोतसो तानिरहेका थिए । केही वर्षपछि प्रतिभाग एक लाख रुपियाँ पुग्यो तर यो रकम लामो समय लिन पाएनन् ।

मिडिया हब आफैँ चर्को आर्थिक संकटमा फस्यो, जसको प्रत्यक्ष असर तीतो–सत्य, जिरे खुर्सानीसँगै मेरी बास्सैले पनि भोग्यो/भोगिरहेको छ । सीतारामकै शब्द सापटी लिँदा, “मिडिया हबसँग कति रकम लिनुपर्ने हो, त्यसको पारदर्शी हिसाबसमेत हुन छाडेको छ । मिडिया हबले पैसा नदिँदा पनि आफ्नै गोजीबाट हालेर बनाइरहेका छौँ,” उनी थप्छन्, “त्यसैले निरन्तरतामा समस्या देखिसकेको छ । कतिन्जेल टिकाउने भन्ने मात्र हो ।” सुटिङ खर्च नभएकै कारण मेरी बास्सै बेला–बेला पुन: प्रसारण हुने गरेको छ भने नयाँ भाग पनि गुणस्तरीय बनाउन नसकिएको स्वयं सीताराम स्वीकार्छन् । यीसँगै पछिल्लो समय हिट भएको कमेडी टेलिफिल्म भद्रगोल पनि यस्तै आर्थिक समस्याबाट गुज्रिरहेको छ । मिडिया हबबाट आक्कलझुक्कल पाउने पैसाबाहेक यो पनि निर्देशकले आफैँ खर्च गरेर छायांकन हुने गर्छ । 

टेलिफिल्मको लोकप्रियता र देशविदेशमा हुने स्टेज सोको व्यस्तता हेर्दा लाग्छ, यो जमाना हास्य कलाकारको हो । सानाठूला हरेक महोत्सवमा उनीहरूको प्रस्तुति अनिवार्य मानिन्छ । तर, यथार्थमा चाहिँ अरूलाई हँसाउने यी कलाकार मनदेखि आफैँ हाँस्न नसक्ने अवस्थामा छन् । महोत्सवहरूमा मौका पाउने भनेको मुख्य कलाकारले हो । जस्तो : तीतो–सत्यबाट दीपक र दीपाश्री निरौला, मेरी बास्सैका सीताराम र कुञ्जना अनि जिरे खुर्सानीका जितु र शिवहरि । सहायक कलाकारले महोत्सवमा प्रहसन देखाउन पाउने सम्भावना कम हुन्छ । मौका पाइहाले भने पारिश्रमिक न्यून । त्यसमाथि मिडिया हबले निकासा रोकेपछि सहायक कलाकारहरूले टेलिफिल्म खेलेबापत पैसा पाएका छैनन् ।

मेरी बास्सैकी निर्मली अर्थात् निरु खड्काले करिब एक सय भागको पारिश्रमिक पाएकी छैनन् । मेरी बास्सैको सुरुआतबाटै देखिएकी निरुले त्यतिबेला प्रतिभाग १ हजार ५ सय रुपियाँ पाउँथिन् । बीचमा तीन वर्ष खेलिनन् । एक वर्षअघि मेरी बास्सैसँग फेरि जोडिइन् । तर, यो अवधिको पारिश्रमिक हात नपरेको उनको भनाइ छ । “खेताला जसरी काम गर्ने कलाकारको कमाइ एकदम कम हुन्छ, मुख्य कलाकारले मात्र कमाउँछन्,” निरुले सुनाइन्, “मेरी बास्सैले चिनायो, त्यसैले पैसा नदिँदा माग्न मन पनि लाग्दैन ।” 

मेरी बास्सैमा बान्द्रेको भूमिकाबाट दर्शकलाई हँसाउने सुरज चापागाईंले पनि करिब सय भागको पारिश्रमिक नपाएको दुखेसो पोखे । उनले सुरुआतको दुई–तीन वर्ष सित्तैँमा काम गरे । पछि पारिश्रमिक पाउने मौखिक सम्झौता त भयो तर निरन्तर हात लागेन । कतिपय खेल्न नपाइने डरले पैसा नपाएको खुलेर आनाकानी गर्छन्, त्यसमा जिरे खुर्सानी, तितो–सत्य र भद्रगोलका कलाकार पनि छन् । एक कलाकारले नाम उल्लेख नगर्ने सर्तमा भने, “पारिश्रमिक माग्दा निर्देशकहरू रुखो स्वरमा पैसा माग्ने भए भोलिदेखि नआऊ भन्छन् । त्यसैले माग्नै डर लाग्छ ।” भलै तीनै टेलिफिल्मका निर्देशकहरूचाहिँ एकै स्वरमा अनुहार देखाउन आउनेबाहेक अरू कलाकारलाई पारिश्रमिक उपलब्ध गराएको दाबी गर्छन् । आफैँ गोजीबाट निकालेर भए पनि कलाकार र प्राविधिकको पैसा चुक्ता गरेको दीपक, जितु र सीतारामको दाबी छ । 

उदेकलाग्दो कुरा त के भने एकातिर सबै चर्चित टेलिफिल्म धमाधम बन्द हुने क्रममा छन्, प्रसारण भइरहेका केही टेलिफिल्मको हालत पनि खराब छ, त्यसमाथि स्टेज सो र त्यसमा हास्य कलाकारको माग घट्दैछ । अर्कातिर, नयाँ कमेडी टेलिसिरियल बनाउन चिनिएकै हास्य कलाकार मरिहत्ते गर्दैछन्, त्यसमाथि मिडिया हबबाटै ।

शिवहरि पौडेलको ब्रेकफेल, केदार घिमिरेको खासखुस, मनराज श्रेष्ठ र भद्रगोलका धतुरे अर्थात् सीपी पुडासैनीले बनाएका सिरियल पनि प्रसारणको पर्खाइमा छन् । “दुई–तीन भाग टेलिफिल्ममा खेल्ने र बारीका पाटामा हुने महोत्सवमा दौडने लोभ भएका कलाकारको भीड बढी छ । त्यसैले न सिर्जनाको कदर हुन्छ, न सर्जकको,” जितुले चिन्तित हुँदै सुनाए, “हामी पारिश्रमिक नपाएर जुन संस्थासँग लड्दैछौँ, त्यही संस्थाबाट साथीहरूले कार्यक्रम बनाउनुले हामीबीचको अस्वस्थ प्रतिस्पर्धा सतहमा आएको छ ।” हुन पनि जितुले भनेजस्तै प्रवृत्ति भइन्जेल अरूको मुहारमा मुस्कान ल्याउने कलाकार भित्रभित्र आफैँ रुनुपर्ने विडम्बनाको अन्त्य हुन मुस्किल देखिन्छ । 

प्रकाशित: मंसिर १५, २०७२