यसरी अपेक्षाको अवतरण गरेको छ 'कबड्डी कबड्डी'ले

  • कथादेखि लोकेसनसम्म आफ्नैपनको आभास हुने 'कबड्डी कबड्डी' मौलिक र स्तरीय सिनेमा हेर्न चाहनेले नछुटाउँदा हुन्छ ।

- गोकर्ण गौतम

मुस्ताङको मनमोहक लोकेसनमा खिचिएको सोल्टिनी–प्रेमको कथाले अघिल्लो वर्ष कबड्डीलाई प्रिय बनायो । कमी–कमजोरीमुक्त नभए पनि त्यसअगाडि कथा, पात्र र परिवेशलाई त्यति अग्र्यानिक शैलीमा पोखिएको फिल्म कमै बनेका थिए, सोही कारण हरेक उमेर समूहका दर्शकले कबड्डी हेरेर मज्जा लिए । लुटबाट गोफ्लेका रूपमा ख्याति कमाएका दयाहाङ राईले नयाँ परिचय पाए, काजीको । उनको लुक्स, भेषभूषा, संवाद र शैलीले प्रशंसा बटुल्यो । 

अनागरिकजस्तो फरक धार र सानो समूहका लागि फिल्म बनाउँदै आएका रामबाबु गुरुङले मूलधारमा दरिलो ‘इन्ट्री’ मारे । निश्चल बस्नेतले आफ्नो क्षमताको नयाँ पाटो उघारे, निर्माता र अभिनेताका रूपमा । यही टिमले बनाएको कबड्डीको सिक्वेल यतिबेला देशभरिका सिनेमा घरमा प्रदर्शन भइरहेको छ । त्यति हिट फिल्मको सिक्वेल भएकाले अपेक्षाको पहाड ठूलो हुनु स्वाभाविक हो । र, रामबाबु एन्ड कम्पनीले फेरि स्वादिलो खुराक पस्किएर त्यो अपेक्षाको उडानलाई ‘सेफ ल्यान्डिङ’ गरेको छ । 

फिल्मको कथा कस्तो छ भने मुस्ताङलाई संसदीय चुनावको रन्कोले छोपेको हुन्छ । ठूलबुबालाई चुनाव जिताउन काजी (दयाहाङ) अहोरात्र खटिरहेका छन् । चुनाव लड्न मामा पनि मुस्ताङ पुगेपछि काजीलाई आपत् आइलाग्छ । तैपनि, ठूलबुबालाई नै सघाउने निर्णयमा अडिग रहन्छन् । मामाले भने आफ्नी छोरी मैयाँ (रिस्मा गुरुङ)को तुरूप फाल्छन् किनभने उनलाई मैयाँको एकोहोरो प्रेममा काजी चुर्लुम्म डुबेको राम्रोसँग थाहा छ ।

 

त्यसमाथि ठूलबुबाको छोरा बमकाजी (सौगात)ले मैयाँलाई ताकेपछि उनलाई अर्को तनाव थपिन्छ । मैयाँ प्रभावित हुने लोभमा मामाको प्रचारमा जुट्छन् । तर, हेर्दै खाइलाग्दो र जब्बर स्वभावको बमकाजीबाट मैयाँलाई जोगाउन उनलाई हम्मेहम्मे पर्छ । राजनीति बिस्तारै छायामा पर्छ र सोल्टी उम्काउन काजी र बमकाजीको घम्साघम्सीमा कथा घुम्छ । सोल्टिनीलाई भित्र्याउन काजी सफल होला त ?

फिल्मबारे बुझ्नुपर्ने ६ कुरा यस्ता छन् 

(१)

रामबाबुले मौलिक कथा, परिवेश र पात्रलाई कबड्डी कबड्डीमा पनि निरन्तरता दिएका छन् । फिल्मका हरेक पात्र कलाकारभन्दा स्थानीयजस्तै आभास हुन्छ तर अघिल्लो भागमा जस्तै यसपटक पनि पटकथाभन्दा संवादलाई बढी महत्त्व दिइएको छ । 

(२) 

उपेन्द्र सुब्बा र रामबाबु मिलेर लेखेको पटकथामा खासै ‘ट्वीस्ट’ छैन, कथाको गति धीमा नै छ तर यो कमजोरीलाई संवादले ढाकेको छ । कलाकारले संवादलाई सहज तर प्रभावकारी शैलीमा अभिव्यक्त गरेकाले दर्शकको ध्यान अन्त बरालिन्न, बरू मज्जा महसुस गर्छन् ।  रसिला संवाद, स्वाभाविक अभिनय र स्थानीय दृश्यले कतै पट्यार लाग्दैन । सुरुआतदेखि अन्त्यसम्म दर्शकलाई ‘इन्गेज’ गराउनु रामबाबुको सफलता हो । 

(३) 

फिल्ममा रक्सी पिएको र खाना खाएको दृश्य अचाक्ली छन् । सौगातलाई गायक र जुनु विष्टलाई हिरोइन हुन् भनिएको मात्र छ, स्थापित हुँदैन । कतिपय दृश्य हँसाउनकै खातिर थोपरिएका छन् । 

(४)

मुख्य कथालाई पटक–पटक उपकथाले छायामा पारेको छ, सहायक पात्रमाथि न्याय सायद यसो गरिएको हुन सक्छ । 

(५) 

पात्रको चयन र अभिनय फिल्मको अर्को सबल पक्ष हो । दयाहाङ र सौगात त भई नै हाले, सहायक पात्रले पनि उत्तिकै स्वाभाविक अभिनय गरेर फिल्मको वजन बढाएका छन् । दयाहाङको अभिनय शैली कबड्डीकै निरन्तरता भए पनि झिँजो लाग्दैन । 

(६)

मनोरञ्जनको मात्रा बढी भए पनि सन्देशमुक्त छैन कबड्डी कबड्डी । त्यसभन्दा महत्त्वपूर्ण पक्ष कथादेखि लोकेसनसम्म आफ्नैपनको आभास हुन्छ, चोरीचकारी र छोइछिटोको संक्रमणले गाँजेको छैन । त्यसैले मौलिक र स्तरीय सिनेमा हेर्न चाहनेले नछुटाउँदा हुन्छ । 

रेटिङ: ३.५/५ 

विस्तृत समीक्षा १३ मंसीरको नेपाल अंकमा 

 

प्रकाशित: मंसिर १२, २०७२