पारि किताब, वारि छटपटी

  • नाकाबन्दीबाट अछुतो रहेन पुस्तक बजार पनि । रक्सौल नाकामा दर्जनौँ पुस्तक रोकिएपछि लेखक र प्रकाशक तनावमा ।

- जनकराज सापकोटा

१७ कात्तिकको एकाबिहानै पत्नीको मुखबाट वीरगन्ज नाका खुलेको अपुष्ट खबर पाएर लेखक बुद्धिसागर खुबै खुसी भए । खुसी नहून् पनि किन, दसैँको छेको पारेर ९ असोजमा विमोचन गर्ने भनिएको उनको उपन्यास फिरफिरे नाकाबन्दीकै कारण रक्सौल नाकामा अड्किएको थियो । नाका खुलेसँगै आफ्नो किताब काठमाडौँ आइपुग्ला र विमोचन गरेलगत्तै पाठकको हातसम्म पुर्‍याउँला भन्ने कत्रो सपना थियो । तर, बुद्धिसागरको खुसी धेरैबेर टिकेन । उनले खबर सुने, प्रहरीको बल प्रयोगबाट खुलाइएको नाकाबाट भारतीय गाडीहरू मात्रै आफ्नो देश फर्के । नाकामा रोकिएका कन्टेनर नेपाल प्रवेश गरेनन् ।

भारतीय छापाखानामा छापिएका २५ हजार प्रति पुस्तक नेपाल नभित्रिए पनि बुद्धिसागरले छापाखानाले पठाइदिएको डमी–कपी हातमा लिएर मुस्कुराइरहेको फोटो ट्वीटरमा ‘पिन’ गरेर राखेका छन् । किताब कहिले आफ्नो हातमा पर्छ भनेर उनलाई बग्रेल्ती पाठकले ‘मेन्सन’ गर्दै सन्देश पनि छाडेका छन् । तर, बुद्धिसागर आफैँलाई थाहा छैन, कहिले खुल्छ नाकाबन्दी र कहिले आइपुग्छ किताब । 

भन्सार नाकामा पुस्तक अड्किएर हैरानी बेहोरिरहेका बुद्धिसागर एक्ला लेखक भने होइनन् । भारतीय नाकाबन्दीको असरबाट लेखनी र प्रकाशनको क्षेत्रमा पनि अछुतो छैन । नयाँ र पुन:मुद्रणका निम्ति भारतमा छापिएर पुस्तक बोकेर नेपालतर्फ आएका कन्टेनर रक्सौल नाकामै अड्किएका छन् । फिल्मी पटकथाबाट लेखनीमा हामफालेका ब्रजेशको दोस्रो उपन्यास जुनेलीको अवस्था पनि त्यस्तै छ । प्रकाशक बुक हिलले उपन्यासको विमोचन मिति पनि तोकिसकेको थियो, १४ असोज । तर, नाकाबन्दीका कारण रक्सौल भन्सार पास हुन नसकेपछि प्रकाशक र उपन्यासकार दुवै विलखबन्दमा छन् ।

भन्सारमा किताब अड्केकै कारण विमोचनको मिति सार्नेमा फिनिक्स बुक्स पनि पर्छ । दसैँअघि नारायण ढकालको कथासंग्रह विमोचन गर्ने अन्तिम तयारीमा जुटेका प्रकाशक नाकाबन्दीका कारण किताब अड्किएपछि के गर्ने र कसो गर्नेको मनोदशामा छन् । प्रकाशक जगदीश अधिकारी भन्छन्, “नाकाबन्दीले रनाहा पारेको छ ।” पद्मश्री साहित्य सम्मान प्राप्त गरेपछि फिनिक्सले पुन:मुद्रणका लागि पठाएको उपेन्द्र सुब्बाको लाटो पहाड र खोलाको गीत पनि रक्सौल नाकामै अड्किएका छन् भने नयाँ साजसज्जाका साथ पुन:मुद्रण गरिएको मोहन मैनालीको उपल्लो थलो पनि नाकाबन्दीकै कारण नेपाली बजारमा आउन पाएको छैन । पारिजातको उपन्यास शिरीषको फूल र कथासंग्रह मैले नजन्माएको छोरोको प्रकाशन अधिकार प्राप्त गरेको फिनिक्सले यी दुवै किताब छापे पनि नाकाबन्दीका कारण बजारमा पुर्‍याउन सकेको छैन । पत्रकार गोपाल खनालद्वारा लिखित भूराजनीति र स्वप्निल स्मृतिको कवितासंग्रह बाडुली र सुदूर सम्झना पनि रक्सौल नाका कट्न सकेको छैन । जगदीश भन्छन्, “नाकाबन्दीले १० लाख रुपियाँ बराबरको किताब फ्रिज भएको छ ।”

फाइनप्रिन्टका प्रकाशक निरज भारीका अनुसार बुद्धिसागरको उपन्यास फिरफिरेको बजार प्रवद्र्धनका निम्ति फाइनप्रिन्टले दुई लाख रुपियाँ खर्चिसकेको थियो । विमोचनको मिति तोकीवरी छापिसकेको निमन्त्रणा कार्डसमेत खेर गयो । भारी भन्छन्, “फिरफिरेको बजार प्रवद्र्धनमा म्युजिक भिडियो र रिङ ब्याक टोनसमेत बनाइसकेका थियौँ ।”

विमोचनको मिति तय भएका मात्रै होइनन्, पुन:मुद्रण गरिएका कैयौँ किताब भन्सार नाकामै अड्किएका छन् । बुक हिल प्रकाशनले नयाँ साजसज्जाका साथ पुन:मुद्रण गरेको मदनमणि दीक्षितको उपन्यास मेरी नीलिमा र अश्विनी कोइरालाको जुकरवर्ग क्याफेको तेस्रो संस्करण पनि भन्सार नाकामै अलपत्र परेका छन् । प्रकाशकमध्येका एक पवन आचार्य दुखेसो सुनाउँछन्, “रुम् कि हाँसम् भइएको छ ।” आचार्यका अनुसार नाकाबन्दीका कारण उनको प्रकाशनका निम्ति गरेको झन्डै २० लाख रुपियाँ फ्रिज भएको छ । 

फाइनप्रिन्टले प्रकाशन गरेको प्रशान्त झा लिखित ब्याटल्स् अफ दी न्यू रिपब्लिकको नेपाली अनुवाद गणतन्त्रको संघर्ष पनि रक्सौल भन्सारबाट तर्न सकेको छैन । मदन पुरस्कार प्राप्त गरेपछि पुन:मुद्रण गरिएको विजयकुमारद्वारा लिखित खुसीका १० हजार प्रति पनि रक्सौल नाकामै थन्किएका छन् । नयनराज पाण्डेको उलार, हरिवंश आचार्यको चिना हराएको मान्छेको पुन:मुद्रित प्रति र केही बालसाहित्यका किताब पनि भन्सारमै छन् । भारी भन्छन्, “ऋण खोजेर किताब छापेका थियौँ, ब्याज नै तिर्न नसक्ने भयौँ ।”

नाकाबन्दीको मारमा पर्ने अर्को प्रकाशन गृह हो, कथालय । दसैँअघि नै विमोचनको तयारी गरेर छापिइसकेका दुई उपन्यासका लागि कथालयले विमोचनको साइत निकाल्न सकेको छैन । “नेपालमै छापिए पनि विमोचनको साइत जुराउन सकेनौँ,” प्रकाशक राजीवधर जोशी भन्छन्, “नाकाबन्दीमा विमोचन पनि के सम्भव होला र खै ?” सञ्जय अधिकारीद्वारा लिखित उपन्यास धर्सो र शिवानी न्यौपानेद्वारा लिखित उपन्यास क्रसिङ स्याडोज दुवै जारी नाकाबन्दीका कारण विमोचन भएनन् । जोशी भन्छन्, “विमोचन गरे पनि बजारमा किताब पठाउन सकिने अवस्था छैन । सिंगो समाज नै अस्तव्यस्त भएका बेला किताब पढ्ने पाठक पनि छैनन् ।” प्रकाशनको अन्तिम तयारीमा रहेका अन्य पुस्तक पनि जोशीले छापाखाना पठाउन सकेका छैनन् । कथालयले नै ल्याउन लागेको नेपाली मिडियामाथि लेखिएको किशोर नेपालद्वारा लिखित पुस्तक मिडिया नाकाबन्दीकै मारमा छ । जोशी भन्छन्, “झन्डै ४० लाखको हाराहारीको पुस्तक बजार नआउँदा ठप्पै भएको छ ।”

नाकाबन्दीका कारण अधिकांश प्रकाशन गृहका प्रकाशन तालिकासमेत बिग्रिएका छन् । प्रकाशित पुस्तक बजार पठाउन नसकेपछि प्रकाशनको अन्तिम तयारीमा रहेका किताबको काम पनि रोकिएको छ । फाइनप्रिन्टले सेटिङसमेत भइसकेको नयनराज पाण्डेद्वारा लिखित उपन्यास सल्लिपिर छापाखाना पठाउन सकेको छैन । प्रकाशनका निम्ति अन्तिम काम भइरहेका आधा दर्जनभन्दा धेरै किताब नाकाबन्दीको मारमा परेका छन् ।

नाकाबन्दीकै कारण फाइनप्रिन्टले १० मंसिरबाट सुरु गर्ने भनिएको एनसेल लिटरेचर फेस्टिबललाई पनि पछाडि सारेको छ । राजीवधर जोशी भन्छन्, “अन्तिम सम्पादनको तयारीमा रहेका किताबको काम पनि अगाडि बढाउन सकेका छैनौँ ।” जोशीको भन्दा फरक अनुभव छैन, सांग्रिला बुक्सका मणि शर्माको पनि । प्रकाशनको अन्तिम तयारीमा रहेका डा सरोज धितालको मुक्त आलेखहरू संग्रह र सरिता तिवारीको कवितासंग्रह प्रश्नहरूको सगरमाथा छापाखाना पठाउन सकेको छैन । शर्मा भन्छन्, “कागज अभावका कारण छापाखाना बन्द छन् । नाकाबन्दी नखुलेसम्म किताब छाप्न सकिएला जस्तो छैन । ”लगानी फ्रिज हुँदा र दसैँ र तिहारको किताब बिक्ने समय गुमाउनुपर्दा प्रकाशक त पीडित छन् नै, प्रकाशित किताब पाठकमाझ पुगेपछि आउने प्रतिक्रियाका प्रतीक्षामा रहेका लेखकलाई यस्तो प्रतीक्षा आफैँमा कुतकुती लाग्ने हुन्छ ।

त्यसो त बुद्धिसागर र ब्रजेश दुवैका हातमा छापाखानाबाट आएको एकाध प्रति डमी किताब भने नपरेको होइन । तर, पाठककहाँ पुगेर प्रतिक्रिया नआएसम्म लेखकको मन शान्त हुँदैन । ब्रजेश भन्छन्, “छटपटी असाध्यै धेरै हुँदो रै’छ । साढे दुई वर्ष लगाएर लेखेको किताबको प्रतिक्रिया सुन्ने रहर कसलाई हुँदैन र ?” 

अहिलेको अवस्था लेखकहरूलाई परीक्षाको नतिजा निकालिसकेको तर नतिजा हातमा नपरेको विद्यार्थीको जस्तो भएको छ । किताब बजारमा आउन लाग्दाको जोश बिस्तारै हराउँदै गएको छ । बुद्धिसागर भन्छन्, “अनौठो मनोदशामा बाँचिरहेको छु । दिनभरि नाका खुल्छ कि भन्ने आशा गर्छु । साँझ परेपछि आफैँसँग रहेको डमी प्रति सुम्सुम्याएर सुत्छु ।” 

प्रकाशित: कार्तिक २३, २०७२