[स्मृति] कृष्णबहादुरको लुगा

- एकल सिलवाल

दृश्य : १

३ असार ०६७, दिउँसो १२:३४ बजे । 

लोथर–९, सागाम, चितवन । 

भिरालो भूगोलमाथि पातलो बस्ती । खरले छाएको एउटा घर । पिँढीको डिलमा दुवै हात बाँधेर घुँडामाथि अड्याई टुक्रुक्क बसिरहेका एक नांगा किशोर देखा परे । यात्रामा हामी तीन पत्रकार र एक शिक्षक थियौँ । नौला मान्छे देखेपछि उनी लजाएझैँ गरी फिस्स हाँसे । त्यसपछि त्यहाँका तीन चीजतर्फ पालैपालो आफ्ना आँखा केन्द्रित गरे । सबैभन्दा पहिले उनले आफ्नै जीउतिर आँखा डुलाए । अनि, सीधा माथि खरको पालीतिर पुलुक्क हेरे । त्यसपछि हामीतिर फर्केर फेरि खिस्स हाँसे । 

बेलाबेलामा बादलिँदै र घाम चर्किंदै गरेको त्यस दिनको मौसम उखुम गर्मीले खपिनसक्नु रापिलो र वाफिलो थियो । असारे घामको पाहार पूरै जीउमा पर्ने गरी नांगो आङ देखाएर उनी कसैको प्रतीक्षा गरिरहेझैँ बसेका थिए । चरक्क पोल्ने घामै ताप्न मात्र बसेझैँ देखिन्थे, जुन दृश्य कम्ती अनौठो थिएन । “यो गर्मीमा किन यसरी घाम तापेर बसेको ?” उनलाई मेरो प्रश्न । प्रत्युत्तरमा केही बोलेनन् । बरू पूर्ववत् नै उही तीन चीजतिर आफ्ना आँखाको रफ्तार दौडाइरहे लगातार दुईपटकसम्म । 

उनको मौन भाषाबाट केही भेउ पाउन नसकेपछि साथी रमेशले उही प्रश्न दोहोर्‍याए । उनले पालीतिर आैँलो उठाउँदै भने, “ऊ त्यो सर्टपाइन्ट सुकाउन पर्खिएको ।” अघिदेखिको उनको हाउभाउको अर्थ बल्ल खुलस्त भयो । धोएर पालीमा फिँजाएको सर्टपाइन्ट सुक्ने पर्खाइमा पो घन्टौँदेखि कुरिरहेका रहेछन् । चर्को घाम लागिरहेको थियो । अझै चर्को घाम लागोस् भन्ने भाव उनमा देखिन्थ्यो । किनभने, घामले जति चाँडै लुगा सुकाउन सक्यो, उति नै चाँडै उनी त्यसलाई लगाउन पाउँथे । |

उनलाई साथी प्रतिमाको प्रश्न, “लुगा सुकाउन पनि यसरी कुरेरै बस्नुपर्छ त ?” त्यसबेला उनी लजाए । जवाफमा मन्द स्वरले बोले, “सुकेपछि लाउन पर्खेको ।”

उनको यो मन्द जवाफले हामीलाई स्तब्ध बनायो । अनेक सूक्ष्म प्रश्न क्रमश: पैदा हुँदै गए । हामी खोतल्दै गयौँ, उनी खुल्दै गए । मनमा अटाइनअटाइ बसेको आनन्द र उत्साहको आभा निकालेर उनले भने, “मेरो लुगा यत्ति एकजोर सटपाइन्ट मात्र हो । यो पनि आफैँले कमाएर किनेको, यसपालि यै लाएर व्या गर्नुछ ।” १५ वर्षे किशोर कृष्णबहादुर चेपाङका अनेक सपनाको साझा गन्तव्य नै छानोमा सुक्दै गरेको त्यही एक जोर सर्टपाइन्ट रहेछ । त्यसबेला उनीसँग सबैभन्दा मूल्यवान् सम्पत्ति केही थियो भने त्यही दुई थान लत्ताकपडा थियो, जसको न्यानोमा उनी जीवनकै सबैभन्दा अनुपम आनन्द उमार्न चाहन्थे । 

धोएर चिसो हुँदा पनि नसुकुन्जेल पर्खन मन लाग्ने त्यो सर्टपाइन्ट त्यसबेला कृष्णबहादुरको जीवनमा सर्वप्रिय साथी बनेर बसेको थियो । त्यो लुगा उनले कसरी किने होलान् ? हाम्रा खुल्दुलीको पठार पन्छाउँदै जाँदा उनले जीवनमै पहिलोपटक एकजोर सर्टपाइन्ट जोड्दाको ताजा कथा सिध्याए । उनको त्यो कथासँगै मेरो मनमा एउटा विषाद्को बीऊ रोपियो । कृष्णले सर्टपाइन्ट किन्ने पैसा कमाउन कम्ती सास्ती खेपेका रहेनछन् । 

नौ महिनाअघि एउटा नौलो मान्छे गाउँमा कामदार खोज्न आएछ । भिक्षा माग्ने जोगीझैँ दैलोदैलो चहार्दै हिँडेको त्यो मान्छेले कृष्णबहादुरलाई पनि घरमै भेटेर भनेछ, “मनाङमा रोड खन्ने काम खुलेको छ । महिनाको ६ हजार ज्याला आउँछ । आठ महिना काम हुन्छ । खानबस्न ठेकेदारले नै दिन्छन् । हिँड जाऊँ ।” त्यो मान्छे लमजुङको बेसीसहरबाट मनाङ जोड्ने सडक निर्माणका लागि सस्ता कामदार आपूर्ति गर्न ठेकेदारको दूत बनेर त्यहाँ आएको रहेछ । 

भीरपखेरामा भोकभोकै भएर पनि बाँच्न जानेका चेपाङलाई तातो तराईभन्दा शीतल पहाड नै प्यारो लाग्छ । काम गरेर पैसो कमाउन पाइने अवसर, त्यो पनि मनाङको चिसो मौसममा । ठेकेदारका दूतको प्रस्ताव कृष्णबहादुर र उनीजस्ता अरू १४ जनालाई चित्त बुझेछ । त्यसपछि मनाङ पुगेका उनीहरू आठ महिनासम्म भीरपाखा सम्याएर सडक खन्ने काममा तल्लीन भएछन् । काम सकिएकै साँझ ठेकेदारले भनेछ, “भोलिदेखि तिमीहरूले गर्ने काम छैन, काम नभएपछि खाने गाँस र बस्ने बास पनि यहाँ मिल्दैन । सबै आ–आफ्नो घर जानू ।”

उनीहरूको दु:ख बुझेर होला ठेकेदारले यो पनि भनेछ, “तिमीहरूले पाउने ज्यालाबाट घर जाने बाटो खर्च पाउँछौ । पूरा ज्याला अहिले आएको छैन, पछि घरघरमै ल्याएर बाँडिदिउँला ।” भोलिपल्ट बिहानै ठेकेदारले चितवनसम्म पुग्ने बाटोखर्च दिएर बिदा गरेछ । फर्कंदा समूहका एक जना साथी सिकिस्त बिरामी भएपछि सबैले पैसा उठाएर बेसीसहरमा तिनको उपचार गरेछन् । बचेको पैसाले घरसम्म पनि नपुगिने हो कि भन्ने चिन्ताले पिरोलेपछि त्यहाँ दुई–तीन दिन अलमलिएर बाटो खर्चका लागि केही ज्याला कमाएछन् सबैले । 

बाटोमा हन्डर खेप्दै फर्केका उनीहरू अन्तत: चितवनको लोथर बजार आइपुगेछन् । त्यसपछि सात–आठ घन्टा हिँड्ने बाटो मात्र बाँकी रहेकाले घर पुग्न गाडीभाडा चाहिँदैनथ्यो । कृष्णबहादुरले बोकेको झुत्रो कपडाको झोलामा १ हजार १ सय रुपियाँ बाँकी रहेछ । उनले घर सम्झिएछन् । आफ्नो बाटो हेरिरहेका बाबुआमाको आशाले भरिएको अनुहार याद आएछ । अनि, आफ्नै स्वरूप नियालेछन् । त्यत्रो महिना कमाएर फर्कंदा एक जोर लुगा पनि गतिलो नलगाई घर गए गाउँलेले के भन्लान् भन्ने लागेछ । 

मनमा धेरै कुरा खेलेपछि उनले सबभन्दा पहिला लोथर बजारमा आमालाई एउटा लुंगी किनेछन्, त्यसपछि आफूलाई एकजोर त्यही सर्टपाइन्ट । “तीनवटै लुगा लिलामीको हो,” कृष्णले प्रस्ट्याए ।

आधा वर्ष मनाङमा बगाएको पसिनाको मूल्य त्यही तीन थान लुगामा खुम्चिएछ । लुगा किनेर बाँकी रहेको ६० रुपियाँ पर्समा राख्न मन लागेछ । सबैभन्दा सस्तो पर्स किन्दा ६० रुपियाँ नै परेपछि उनले पर्स बोक्ने रहर त पूरा गरेछन् तर त्यसभित्र राख्ने पैसाचाहिँ जोगिएनछ । पैसाबिनाको पर्स पट्याएर पाइन्टपछाडिको पाकेटमा राख्दाराख्दा पुरानो भइसकेको रहेछ । पाइन्ट धुनुअघि पालीमा सिउरिएको पर्स निकालेर त्यसका पत्रपत्र देखाउँदै भने, “पैसा चैँ छैन, पछि कमाएर हाल्छु ।”

हत्केलामा काला टाटा देखेर हामीले सोध्यौँ, “हातमा के भएको ?” उनले आफ्ना दुवै हत्केला माथि उठाएर हामीतिर फर्काए । पहरो फुटाउँदा उठेका ठेला र कक्रक्क परेका काला दाग अझै प्रस्ट देखिए । चिनोको नाममा मनाङबाट उनले तिनै ठेला र दाग मात्र ल्याएका रहेछन् । ठेकेदारकै लागि जोतिएर काम गरेबापतको त्यो कमाइ न माग्नुपरेको थियो न ठेकेदारले दिन्न भन्न सकेको थियो । केही महिनासम्म नमेटिने गरी दुवै हत्केलामा छापिएका ती ठेला र दाग कृष्णले कसैलाई दिनुनपर्ने कोसेली थियो । उनले पसिना बगाएर पाएको सबैभन्दा आलो कमाइको बलियो प्रमाण त्यही थियो । 

कृष्णले आफ्नो दाइ पनि सँगै काममा गएर उसरी नै खाली हात फर्किएको बताए । आफू १५ वर्ष पुगेको आमासँग सोधेर थाहा पाएका उनलाई दाइको उमेरचाहिँ थाहा रहेनछ । धेरै बेर घोरिएर जवाफ दिए, “दाइ त मभन्दा जेठो छ ।” हामीले एक्कासि आएको हाँसो थाम्न सकेनौँ । मेसो नपाएर उनी अलमलिए । बिदा भएर बाँकी उकालो चढिरहँदा उनको कथाले चिमोटी चिमोटी दुखायो । उनी ठगिएको सुनेर हामी दु:खी थियौँ तर उनीचाहिँ ठगी र ठक्कर भोगेर पनि दु:खमुक्त देखिन्थे । सायद हामीले उनमा देख्ने अज्ञानताको कारण उनी शान्त रहे । उनले हामीमा देख्ने ज्ञानको कारण हामी अशान्त रहयौँ ।

दृश्य : २ 

१० माघ ०६९, मध्याह्न १२:१७ बजे । 

कृष्णबहादुरको आँगन, लोथर–९, चितवन । 

आँगनमा मुड्का तेस्र्याएर बनाएको कामचलाउ खट । त्यसमाथि बसेर माघको जाडोमा लागेको पारिलो घाम तापिरहेका छन् कृष्णबहादुर । उनको आङ नांगो छ । तल्लो भागमा लगाएको हरियो रङको पाइन्ट निकै पुरानो भइसके पनि उमेरसँगै हुर्किएको लाजचाहिँ त्यसले छोपिदिएको छ । साढे दुई वर्षअघि कपडा सुकाएर पर्खिइरहेको दिन भेटिएभन्दा फरक देखिएनन् उनी । तर, जीवनको ठूलै जँघार तरेर त्यहाँसम्म आइपुगिसकेका रहेछन् । 

पहिले छानामा धोएर सुकाएको सर्टपाइन्ट लगाएर साँच्चै उनले त्यो वर्ष नै मकवानपुर गाईबाङकी सूर्यमायासँग मागी बिहे गरेछन् । श्रीमती मात्र होइन, छोरा पनि एक वर्षको बनाइसकेछन् । त्यसबीचमा पटकपटक त्यो बाटो हिँड्दा उनी देखिएका थिएनन् । सोधेँ, “यतिका समय कहाँ गएका थियौ ?” उनले प्रत्युत्तर दिए, “कहिले घरमै बसेँ, कहिले तलतिर कमाउन गएँ ।” बिहे र जायजन्मपछि थपिएका दुई मुखलाई पाल्न जाडो या गर्मी नभनी जता पनि जान थालेछन् उनी । त्यसै बखत अलिअलि पैसा बचाएर एउटा पाइन्ट किनेको र त्यो पनि फेर्ने बेला भएको उनले सुनाए । अझ मन छुने कुरा, पूरै ज्यान ढाक्ने लुगा नहुँदा श्रीमतीलाई लिएर ससुराली नगएको पनि वर्षदिन हुनै लागिसकेको रहेछ । 

दृश्य : ३ 

२६ फागुन ०६९, अपराह्न ५:२८ बजे । 

कृष्णबहादुरको आँगन, लोथर–९, चितवन । 

मेरो काँधमा नारायणगढदेखि दिनभर बोकेर पुर्‍याएको एक बोरा लत्ताकपडा छ । कतिबेला कृष्णबहादुरको आँगनमा पुगौँला र लुगाको त्यो पोको बिसाउँलाझैँ भएको थियो । उही घर, उही आँगन र उस्तै खटमा पुराना र मैलो लुगा लगाएर बसेका थिए कृष्णबहादुर । उनका बाआमा, श्रीमती र छोरा आधा आङ मात्र ढाकेर घरभित्रै बसेका रहेछन् । बाहिरबाट आफ्नै भाषामा कुरा गर्न थाले । के के भने बुझ्न त सकिएन तर सायद उनी खुसीको खबर नै सुनाउँदै थिए कि ? मैले कोसेलीको पोको उनको हातमा सुम्पिएँ र भनेँ, “अघिल्लो महिना आएर सोधेकाले सजिलो भयो, बाआमा, श्रीमती र छोरालाई पनि पुग्ने लुगा छ, छानीछानी लगाउनु ल !” मैले मनमनै सोचेँ, अब त कृष्णबहादुरलाई सपरिवार ससुराली जानबाट केहीले छेक्न सक्दैन । 

दृश्य : ४ 

५ चैत ०६९, मध्याह्न १२:०५ बजे । 

साँघुरो गल्ली लोथर–९, बाङराङ, चितवन । 

लोथर खोलालाई पहाडको फेदीमै छाडेर ठाडै उकालो चढिरहँदा बाटैमा जम्काभेट भयो तीनवटा ज्यानसँग । संयोग पनि कति सुन्दर † लुगा छोडेर गएको नौ दिनपछि काम विशेषले अर्कै गाउँतिर गइरहेका बेला कृष्णबहादुरसँग ठोक्किनु, त्यो पनि तिनै लुगामा सजिएको सिंगो परिवार † मैले त्यसपटक पनि परिवेश अनुसारको प्रश्न सोधेँ, “कहाँसम्मको साइत हो ?” सधैँभन्दा बढी नै खुलेर मुसुमुसु हाँसिरहेका कृष्णबहादुर बोले, “माइतीघर हिँडेको ।” मैले हाँस्दै सोधेँ, “माइतीघर कि ससुरालीघर ?” उनी पनि के कम थिए र ! फर्काइहाले जवाफ, “मेरो ससुरालीघर, बूढीको माइतीघर र छोराको मामाघर जे भने पनि हाम्रो जाने ठाउँ त्यै एउटै हो ।”

उनको जवाफले म अलमलिएँ । हाँसो उठे पनि हाँस्न सकिनँ । आखिर कृष्णको ससुराली पुग्ने बाटोमा हरेक दिन घाम उदाए पनि सधैँ अन्धकार छाइरहेथ्यो । सबैभन्दा उज्यालो घाम त त्यही एकसरो लुगा रहेछ, जसको अभावमा झन्डै वर्षदिनसम्म हराएको बाटो त्यस दिन फेला पारेका थिए उनले । मनमनै कामना गरेँ, “कृष्णबहादुरको परिवारलाई आइन्दा आफ्नै इच्छाले ससुरालीघर, माइतीघर या मामाघर आवतजावत गरिरहन केहीले नरोकोस् । कमसेकम एकजोर लुगाले नरोकोस् ।” 

दृश्य : ५ 

११ कात्तिक ०७०, दिउँसो १:३० बजे । 

कृष्णबहादुरको आँगन, लोथर–९, चितवन ।

म फेरि कृष्णकै घरको बाटो भएर हिँड्दै थिएँ । आँगनमुनि बसेर छोरो खेलाइरहेका कृष्णको आङ अब नांगो थिएन । ज्यालावनी गरेर परिवार पाल्दै आफ्नो गर्जो टार्न सकेकामा आनन्दित थिए उनी । तीन वर्षयता एकैनाश देखिएको त्यो अनुहारमा न अभाव झल्किन्थ्यो, न रवाफ ! नहुँदा आशाले, हुँदा खुसीले उज्यालो थियो उनको अनुहार । मैले त्यसपटक उनलाई तीन वर्षअघिको सन्दर्भ सम्झाएँ ।

मनाङमा सडक खन्दा पाकेर पनि नपाएको दाम मात्र होइन, आफूलाई ठग्ने ठेकेदारको नामसम्म याद रहेनछ उनलाई । मैले सोधेँ, “ठेकेदारले घरमै ल्याएर दिन्छु भनेको ४८ हजार रुपियाँ आयो त ?” उनले भने, “बिचरा ऊसँग पैसा भए त दिइहाल्थ्यो नि, नभरै नदेको होला । मलाई के नपुग्दो छ्र र आश गर्नू ।”

सर्वस्वबिना पनि सन्तोषले सुसम्पन्न कृष्णलाई मनमनले सहस्र सलाम गर्दै उकालो लागेँ म ।

 

प्रकाशित: कार्तिक ८, २०७२