[संस्मरण] दुई ‘ओल्ड म्यान’

- पिटर जे कार्थक

 

सन् १९६० तिर दार्जीलिङमा अम्बर सर (गुरुङ) को एकाडेमी अफ आर्ट नामक संस्था थियो । हो, म त्यही एकाडेमीको तेस्रो पुस्ताको शिष्यमा पर्छु । यसभन्दा ठीक अघिल्लो पुस्ताका हुन् जितेन्द्र बर्देवा, इन्द्र थपलिया, गोपाल योन्जन, शरण प्रधान, शान्ति ठटाल, अरुणा लामा, रन्जित गजमेरहरू । कान्छो पुस्ताको भएकाले म उनीहरूलाई टाढैबाट नमस्कार ठोकेर टाप कस्थेँ ।

शंकर (लामिछाने) दाइ, भूपि (शेरचन) दाइलाई मैले काठमाडौँ आएपछि मात्र चिनेको हुँ । सुरुसुरुमा अम्बर सरले डोर्‍याउँदै शंकर दाइकहाँ लगे । यो अलि अघिको कुरा हो । पछिपछि, जब सङ्गीतकार रन्जित गजमेर र म सँगै काठमाडौँ आयौँ, त्यसपछि उनीहरूसित बाक्लै सम्पर्क हुन थाल्यो ।

हुन त रन्जित मभन्दा पहिल्यै काठमाडौँ आइसकेका थिए, अम्बर सरको ‘नौ लाख टुर’मा आवद्ध भएर । अगमसिंह गिरीको शब्दमा अम्बर सरले आफ्नै संगीतमा कोलकातामा गएर रेकर्ड गराएपछि गीतको लोकप्रियताले यति माथि–माथिसम्म छोयो, यही माथिल्लो छुवाइमा परेका हुन् राजा महेन्द्र पनि । अनि अम्बर सरलाई दार्जीलिङमा टिक्न नदिइरहेको बेला नेपाल बोलाइयो । राजाले साथ नदिएका भए अम्बर सरको ‘हलुवा टाइट’ हुने अवस्था थियो ।  

त्यस बेला विभिन्न कारणले भारतका अरू भागका नेपाली पनि काठमाडौँ आएका थिए । तीमध्येका एक थिए, भीमदर्शन रोका । रोका र चेतन कार्कीहरू पनि देहरादुनको भाक्सुबाट राजा महेन्द्रकै प्रोत्साहनमा नेपाल आएका हुन् । त्यस समय शंकर दाइ, भूपि शेरचन, रोका र अम्बर सरहरू नङ–मासुजस्ता भए । 

०२५ सालमा भारतको दार्जीलिङ, सिक्किममा ठूलो पहिरो गएको थियो । पहिरोपीडितको सहयोगार्थ दुइटा कार्यक्रम गरिएको थियो– एउटा सांस्कृतिक कार्यक्रम र अर्को फेसन सो । फ्रेन्ड्स् अफ दार्जीलिङ’ नामक त्यस सांस्कृतिक कार्यक्रममा उताबाट अम्बर सरलगायत हामी केही कलाकार संलग्न थियौँ भने यताका बच्चुकैलाश र नारायणगोपाल दाइले पनि गाएका थिए । कार्यक्रमको उद्घोषण गरेका थिए, शंकर दाइले । त्यस कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका प्राय: व्यक्तिको उपस्थितिमा शंकर दाइले अंग्रेजीमा गरेको उद्घोषणबाट म अत्यन्त प्रभावित भएँ । 

खासमा म त्यस पुस्तासँग अन्तरंग घनिष्टता भएको व्यक्ति होइन । म त उनीहरूलाई ह्विस्की र चिकन टिक्का ल्याइदिने सहयोगी ठिटो मात्र थिएँ । शंकर लामिछाने, भूपि शेरचन, तुलसीनाथ ढुंगेल, भीमदर्शन रोका, अम्बर गुरुङ र उत्तम नेपालीहरूको समूह अत्यन्त चेतनशील र सक्रिय थियो । उनीहरू सधैँ नौलो–नौलो काम गरिरहन्थे । अम्बर सरको ‘नौ लाख तारा’का विषयमा छलफल गर्न शंकर दाइ, भूपि र रोकाहरू एक दिन प्रदर्शनी मार्गमा भेला भएका थिए । उनीहरूले त्यस दिन टाउको जोडेर एउटा निष्कर्ष निकाले– ‘उपयुक्त व्यक्तिले उपयुक्त समयमा लेखेको र उपयुक्त सङ्गीतकारले सङ्गीत भरेको र उपयुक्त गायकले गाएको नौ लाख तारा...।’ 

पछि रोका दाइ काठमाडौँको साहित्यिक सामन्ती शैलीबाट विरक्तिएर कविता लेख्न छोडेर सिद्धार्थ वनस्थली विद्यालयमा पूर्णकालीन शिक्षक हुन पुगे । तर, शंकर दाइ, भूपि र अम्बर सरको जमघट सिलसिला चलि नै रह्यो । भूपि दाइ नारायणचौर सरेपछि मेरो दुईपटक भेट भयो । उनका कोठामा आठ–दसवटा थर्मस हुन्थे । तिनैबाट पालैपालो चिया सारेर खुवाउँथे । एक दिन भने–“पिटर भाइ म त एरिस्ट्रोक्य्राट पो हुँ त † हामी हिमाली ठकुरी हौँ, त्यसैले एरिस्ट्रोक्य्राट हौँ ।” 

हुन पनि कहाँ भूपेन्द्रमान शेर चन्दबाट भूपि शेरचन भएका उनी सामन्ती पृष्ठभूमिकै थिए । त्यस बखत मलाई उनले राजालाई ‘ए राजन †’ भनी सम्बोधन गरी लेखेको एउटा कविता सुनाए । पछि राजाका सचिव राजालाई तिमी सम्बोधन गर्ने भनेर मुर्मुरिए । तर, उनले सच्याएनन्, त्यही कविता प्रकाशित गरे । बिडम्बना ! पछि तिनै प्रगतिशील मानिस मयलपोस–सुरुवालमा सजिएर एकाडेमी गए । त्यसपछि उनीसँगको संगत छुट्यो । 

म इन्जिनियरिङ कलेजको प्राध्यापन कार्यलाई बिसाएर महेन्द्र राजमार्गको हेटौँडा–नारायणगढ राजमार्ग योजनामा संलग्न भएँ । त्यस बेला मैले दार्जीलिङको जनजीवनमाथि प्रत्येक ठाउँ प्रत्येक मान्छे उपन्यास लेखिसकेको थिएँ । तर, यसको सुइँको मैले कसैलाई दिएको थिइनँ ।

अक्सर अम्बर सर र म ज्ञानेश्वरको एक जना कसाइनीको ठर्रा पसलमा जम्थ्यौँ । हामी त्यस पसलका नियमित ग्राहकजस्तै थियौँ । मैले त्यही भट्टीपसलमा अम्बर सरसँग प्रत्येक ठाउँ प्रत्येक मान्छे…को प्रसंग पहिलोपल्ट कोट्याएको हुँ । मैले भने, “मैले एउटा उपन्यास लेखेको छु, त्यसलाई साफी पनि गरिसकेँ । अब के गरूँ सर ?” 

उनले प्वाक्कै भनिहाले, “ए त्यो शंकरलाई देखाउनुपर्छ । ऊ फेरि फर्केको छ । तर, त्यसभन्दा पहिला म पढ्छु ।” मैले कुरा बुझिनँ । शंकर दाइ फर्किनलाई त कहीँ गएको हुनुपर्ने तर उनी कतै गएको मलाई जानकारी थिएन । त्यो बेला यो कुरा सोध्न उपयुक्त लागेन । पछि बुझ्दा उनले शंकर दाइ फेरि सिर्जनामा फर्केको भनेका रहेछन् । सुवर्ण भाउजूलाई छाडेपछि र कुमुदिनी–काण्डपछि शंकर दाइले भर्खर आफ्नो कलमको बिर्को खोलेका रहेछन् । 

अम्बर सरले पढेर ‘गो अहेड’ भनेपछि एक दिन हामी कायोनानी पुग्यौँ ।

शंकर दाइ बाहिरबाट भर्खर आएका रहेछन् । टाइसुटमा चिरिच्याट्ट देखिन्थे । उनीहरू एकअर्कालाई ‘ओल्ड म्यान’ भन्थे । एकछिन् दुई ओल्ड म्यानबीच कुराकानी भए । अनि अम्बर सरले प्रसङ्ग कोट्याउँदै भन्नुभयो, “पिटरले एउटा उपन्यास लेखेको छ, तिमीले पढ्नुपर्छ भनेर ल्याएको ।” 

अनि मैले शंकर दाइलाई पाण्डुलिपि दिएँ । उहाँले पाण्डुलिपिका पाना पल्टाउँदै जानुभयो र भन्नुभयो,“पिटर भाइ तिमीले उपन्यास त लेख्यौ । पढेर यो ओजनदार छ भने कस्सेर भूमिका लेख्छु ।

एकाडेमीकाहरूले लेख्ने, ‘मैले यो पुस्तक पढेँ, सारै पठनीय छ, निजको उत्तरोत्तर भविष्यको कामना गर्दछु, भवदीय फलानो’जस्तो तीन वाक्यको भूमिका लेख्दिनँ । तर, मलाई मन परेन भने पिटर भाइ डोन्ट माइन्ड † म एक शब्द पनि लेख्दिनँ ।”

दुई बूढाहरूको आदतलाई बुझेर मैले हाफ बोटल भोट्का बोकेरै गएको थिएँ । ठ्याक्क निकालेँ र तीन जनाले पियौँ । शंकर एक पेगमै ढलिहाले । बाँकी भोट्का हामी दुईले घुट्क्याएर फर्कियौँ ।

त्यसको पन्ध्र दिनपछि हामी फेरि गयौँ शंकर दाइकहाँ । उनले पाण्डुलिपिका पाना पल्टाउँदै कतै एकदमै राम्रो औपन्यासिकता छ भने तर कतै कतैका वाक्यलाई पढेर तिमीले यो गुलाबकावलीजस्तो यति थर्ड क्लास शैलीमा लेख्यौ भनेर पनि थर्काए । उनले मलाई जतिपटक पुन:लेखन गर्छौ म त्यतिपटक नै पढ्छु तर ओजनदार नभएसम्म एक लाइन पनि लेख्दिनँ भने । तर, मैले तुरुन्तै त्यसको पुन:लेखन गर्न भ्याइनँ । सडकको काममा कहाँकहाँ दौडिनुपथ्र्यो । उपन्यासभित्र पसेर पुन:लेखन गर्ने समय नै पाउँदिन थिएँ । तैपनि, पाँचपटक पुन:लेखन गरी म अब योभन्दा बढ्दा गर्न सक्तिनँ भन्ने लागेपछि एक दिन म एक्लै पुगेँ कायोनानी ।

शंकर दाइलाई पाण्डुलिपि बुझाएँ र भनेँ, “ल दाइ मैले गर्न सक्ने यति हो । अब तपाई जे गर्नुहुन्छ गर्नुहोस् । तर, यसमा तपाईंले भनेजस्तो सन्देशचाहिँ पाउनु सक्नु हुन्न ।”  

अनि शंकर दाइले एकछिन् ट्वाल्ल परे, हेरे र भने,‘पिटर ! अनि सन्देशचाहिँ कसलाई ? पाठकलाई ? पाठक त झन् प्रवुद्ध भइसकेको छ ।” उनैले ‘कुमुदिनी–काण्ड’को कुरा झिकेका हुन् भन्ने मैले बुझेँ । त्यसपछि एकैपटक हाम्रो भेट अम्बर सरकहाँ भयो ।

एक दिन अम्बर सरबाट मलाई बोलावट भयो । म हतारिँदै उनीकहाँ पुग्दा त्यहाँ शंकर दाइ आएका रहेछन् । मैले पाण्डुलिपि पल्टाएँ, उनले त्यसको एउटा वाक्यमा पनि रातो मसी लगाएका थिएनन् । उनले हामीलाई भूमिका पढेर सुनाए र भने, “उपन्यास ठीक छ ।” त्यसपछि मतिर फर्केर भने, “मेरो भूमिकाको पारिश्रमिक ल्याऊ !”

मलाई थाहा थियो, उनी बिनापारिश्रमिक एक शब्द पनि खर्चिँदैनन् । मैले आफ्नो खल्ती छामेँ । नयाँ एक रुपियाँको रातो नोट रहेछ । शंकर दाइलाई पारिश्रमिकस्वरूप त्यही एक रुपियाँको नोट दिएँ । उनले त्यस नोटलाई एक लाख रुपियाँजस्तो ठानेर राम्रोसँग पट्याएर कोटको खल्तीमा हाले । तर, यो भूमिका पछि तुलसीनाथ ढुंगेललाई मन परेन । 

केही दिनपछि म कोठाका छरपष्ट कागजात मिलाउँदै थिएँ, कसैले ढोका ढकढक्यायो । खोलेर हेरको त शंकर दाइ, उत्तम दाइ र तुलसी दाइ रहेछन् । अप्रत्यासित त्यो पनि एकैचोटि तीन, तीन दिग्गजहरू ! एकछिन् त म अकमक्क परेँ । हतार–हतार ड्रिङ्क्स र चिकन टिक्काको व्यवस्था गरेर उनीहरूको बैठक बसाएँ । शंकर दाइले फेरि मसँग त्यो भूमिका मागेर पढे र फेरि पनि राम्रो छ भने । तर, तुलसी दाइले आपत्ति नै जनाए । उनीहरूबीच भद्र झगडा नै पर्‍यो । 

तुलसी दाइले ‘तिम्रो भूमिकै खत्तम छ शंकर’ पनि भने । अन्तत: शंकर दाइले अर्को भूमिका लेख्ने भए । अनि उठ्दाउठ्दै शंकर दाइले भने, “भूमिका त म तु्लसीले भनेजस्तै लेख्छु तर यसलाई छपाउने कसरी हो ? यसमा विचार गर्नुपर्छ ।” शंकर दाइ यति व्यावहारिक र सहृदयी थिए । उनले मलाई आश्वासन पनि दिए,‘मैले केही छापाखानाका साहू चिनेको छु, कुरा गरिहेर्छु, हेरौँ के हुन्छ ?’ तर उनले पहिला एकाडेमीमै दिनू र भोलि नै त्यहाँ बुझाउनु र स्वीकृत गरेनन् भने ठीक १५ दिनमा गएर पाण्डुलिपि फिर्ता ल्याउनू पनि भने । मैले सूर्यविक्रम ज्ञवाली र लैनसिंह बाङ्देललाई भेटेँ । उनीहरू दुवै दार्जीलिङबाटै आएका थिए तर दार्जीलिङका भनेपछि तर्किने रहेछन् । प्रवासीलाई छि:छि: दुरदुर गर्थे ।

उनीहरूले प्रोसेसमा जानुपर्छ भन्दै मलाई १५ दिन झुल्याएपछि मैले शंकर दाइको वचनलाई शिरोपर गर्दै पाण्डुलिपि फिर्ता ल्याएँ ।

बीचमा म भरतपुर गएँ, राजमार्गको काममा । फर्केपछि शंकर दाइलाई भेट्न शंकर होटल पुगेँ । एकाडेमीबाट पाण्डुलिपि फिर्ता ल्याएको कुरा सुनाउँदा उनी धेरै दु:खी भए । त्यति पनि गरिदिएनन्, यति गहकिलो उपन्यास एकाडेमीबाट प्रकाशित भएको भए उनीहरूकै लागि पनि राम्रो हुन्थ्यो भनेर दिक्क माने । हामी शंकर होटलबाट हिँड्दै केशरमहलसम्म सँगै आयौँ । म उनीसँग विदा भएर कमलपोखरीतिर लागेँ । उनी न्युरोड जान्छु भनेर छुट्टिए । आखिर शंकर दाइसँगको अन्तिम भेट नै यही बन्यो । उनले नयाँ भूमिका पनि लेखेनन् । पछि साझा प्रकाशनबाट प्रत्येक ठाउँ प्रत्येक मान्छे प्रकाशित भयो । उहाँको भूमिका भएको त्यो उपन्यास मैले उहाँलाई देखाउन पाइनँ । यस कुराले मलाई पछिसम्म पनि खिन्नता भइरह्यो । 

अहिले सम्झिन्छु । शंकर, तुलसी, भूपि, रोका दाइ र अम्बर सरहरू घन्टौँ बस्थे र पनि केही बोल्दैनथे । उनीहरू अनुभूतिमा वार्ता गर्थे । मलाई अहिले यस्तो लाग्छ, उनीहरू हार्दिकता र वौद्धिकताको त्यो उचाइमा पुगिसकेका थिए, एकअर्कालाई बुझ्नु र आपसमा कुरा गर्न शब्दको आवश्यकता नै पर्दैनथ्यो । ‘हाइ ओल्ड म्यान, हाउ हार यू’ मात्र भनेर पनि घन्टौँ नबोली बस्न सक्थे । उहाँहरूबीच मौन वार्ता हुन्थ्यो, मौन सहमति हुन्थे । बोल्दा पनि एक शब्द खेर नजाने वाक्य बोल्थे । 

हो,कहिलेकाहीँ शंकर दाइ निबन्ध सुनाउँथे, भूपि र रोका कविता पाठ गर्थे । अनि कहिलेचाहिँ रोका र शंकर दाइबीच चर्काचर्की पथ्र्यो । शंकर दाइ भन्थे, “तिम्रो कविताको भाषा ठीक भएन ।” अनि रोका प्रतिवाद गर्थे, “तिमी काठमाडौँकाहरू सामन्ती भाषालाई मात्र राम्रो भन्छौ ।” अम्बर दाइचाहिँ नयाँ गीत सुनाउथे र वातावरणलाई शान्त पार्थे ।

म सम्झिन्छु, शंकर दाइको एउटा गीतमा अम्बर सरले संगीत गरेर गाएका थिए । भूपिको ‘किन यौवन उदास छ...’ बोलको गीत त अम्बर सरले २०२१–०२२ सालतिरै अरुणा लामाको स्वरमा रेकर्ड गराएका हुन् । भूपि दाइ जति राम्रो कविता लेख्थे त्यति नै तिख्खर गीत पनि लेख्नसक्थे ।

अगमसिंह गिरीको ‘नजाऊ फर्की नेपाल, उठेर भन्छ देउराली, फर्केर हेर न मुग्लानको मायालु पाखा चियाबारी’ भन्ने गीत उताबाट प्रशारित भएपछि भूपिले उताबाट ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियोको बुट्टामा, बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा’ भन्ने गीत लेखे र गोपाल योन्जनको संगीतमा नारायणगोपालले गाए । यो गीत अगमसिंह गिरीको त्यही गीतको जवाफ थियो । चियाको बुट्टामा सुन फलेपछि कसैले मुग्लान छोडेर नेपाल आउँछ त ? भूपिको गीतको मर्म यही हो । त्यस पुस्ताका कवि यति सरल भाषामा यति गहन अभिव्यक्ति दिनसक्थे । 

शंकर दाइ बितेपछि उत्तम नेपाली दाइले भने,‘पिटर भाइ शंकरले हाम्रो इज्जतै बचाइदियो ।’ मैले पहिले त कुरा बुझिनँ, के भनेका हुन् उत्तम दाइले भन्ने । उनले भने, “शंकर दाइलाई रक्सीले होइन, बच्चा बेलादेखिको मेनेज्याइटिस रोगले पो लगेछ, ।” शंकर रक्सी खान्छन् भन्नेमा बदनाम त थियो तर हामी नजिककाले जान्दा उनी धेरै पिउने व्यक्ति थिएनन् । त्यसैले उत्तम दाइझैँ उनी मरेर पनि सबैको इज्जत बँचाइदिएरै मरे ।

अब त ती दिन कहाँ गए गए । म सम्झिन्छु, त्यस्तो बौद्धिक वातावरण, त्यति दिग्गज व्यक्तिहरूको संगत † खै अब यो जुनीमा त एउटा मीठो स्मृतिमै बाँच्ने भयो । त्यस बेलाका मानिस नि:स्वार्थ भावमा बाँच्थे । मेरो प्रत्येक ठाउँ प्रत्येक मान्छेकै प्रसंग सम्झिन्छु । एकदिन म रूपरेखाका उत्तम कुँवरकहाँ पुगेको थिएँ । अनि शंकर दाइको प्रसंग उठ्यो । मैले आफ्नो उपन्यासमाथि लेखेको भूमिका पुस्तकका रूपमा उनको जीवनकालमा पढाउन सकिनँ भन्ने गुनासो गरेँ र सारा वृत्तान्त सुनाएँ । अनि उत्तम कुँवरले तुरुन्तै साझा प्रकाशनमा फोन गरेर कृष्णचन्द्रसिंह प्रधानलाई यो कुरा जाहेर गरे । म कुँवरको सल्लाह अनुसार भोलिपल्टै गएर सिंहलाई भेटेँ ।

त्यसको केही समयमै शंकर लामिछानेको भूमिकासहितको प्रत्येक ठाउँ प्रत्येक मान्छे साझा प्रकाशनबाट प्रकाशित भयो र यस उपन्यासका लागि मैले त्यस वर्षको साझा पुरस्कार पनि पाएँ । अब त्यो युग र त्यस्ता सहृदयी दिग्गजहरू कहाँ होलान् ? यतिखेर म गम खाइरहेछु । 

(रमण घिमिरेसँगको कुराकानीमा आधारित ।)

प्रकाशित: कार्तिक १, २०७२