[संस्मरण] जागिर

- जोतारे धाइबा

का म गरेको वर्ष दिनपछि पत्रिकाका मालिकले एक दिन भने, “तिमीले पत्रकारिता गरेर खाँदैनौ ।”
साक्खै छोराको चिन्ता गरेझैँ जुँगे ओठ खुम्च्याउँदै उनले तीतो पोखे । त्यो जँुगाले मलाई सिस्नुले घोचेजस्तै रनक्क पार्‍यो । ढंग पुर्‍याएर लेख्न नजानेको भन्दै उनले मेरो जीवनयात्राबारे भविष्यवाणी नै गरिदिए ।

एक दशकअघि पत्रकारितामा जागिरे यात्रा सुरु गरेको थिएँ । काम थियो, आर्थिक पत्रिकामा फिचर समाचार र बजारभाउबारे लेख्नु । आफ्नै बजारभाउ भने दयनीय थियो । तलब थियो, ४५ सय रुपियाँ । तैपनि, तलब हात लाग्ने सम्भावित गतेहरूमा कुवेरको थैलो पाउन लागेजस्तै मन एकतमासले रसाउँथ्यो । तलब पाउनेबारे पत्रिकाको लेखा शाखामा फोनबाट सोधेर हातैमा नगद बुझ्नुपर्ने रीत थियो । लेखामा फोन गर्दै ‘आज त्यहाँ आउँदा हुने हो हजुर ?’ भनेर सोध्दा सकारात्मक जवाफ आएमा खुसीले मन फुरुंग हुन्थ्यो ।

ती दिनमा म कसै गरी पनि एउटा जागिरमा झुन्डिनैपर्ने दबाबमा थिएँ । खास गरी, यसले केही गर्ने भएन भनेर कचकच गरिरहने बाको मुखमा बुजो लगाउन । “फलाना र ढिस्कानाका छोराहरूले आफ्नै बलबुताले काठमाडौँमा जागिर खाएर कहाँ–कहाँ पुगिसके,” बा गलाको नसा फुलाउनुहुन्थ्यो । हामी दिमागमा प्रेसर फुलाउँथ्यौँ । त्यही भएर पूर्वी नेपालबाट राजधानी हान्निएर क्याम्पस शिक्षाबाट उकालो चढ्दै गर्दा जागिरमा अल्झिनुपर्ने ध्याउन्न थियो ।

पत्रिकाका सम्पादक/प्रकाशक एकै व्यक्ति थिए । खल्तीमा जागिर बोकेर हिँड्ने हैसियत राख्ने । उनीहरूका लागि तल्ला तहका कर्मचारी त झन् खल्तीका कलमजस्तै हुने भइगए । मन लागेका बेला बाटोबाटै टिपेर भिरिहाल्छन्, नलागेका बेला फुत्त निकाल्छन् । सिस्टम, तौरतरिका ओठ र आँखामा अडेको हुन्छ । बोल्यो कि नियम, हेर्‍यो कि आदेश ∕ मैले पनि एक भेटबाटै जागिर पाएको थिएँ । बिस्तारै तलब बढाउने गुलियो आश्वासन पनि मिलेकै थियो ।

बढी तलबको मिश्री पाउने/नपाउने ठेगान नभए पनि म कमिला भएर काममा जुटेको थिएँ । कामको लहरा अफिसदेखि झ्यांगिँदै गएर मेरो डेरासम्म पुग्थ्यो । अफिसमा नसकिएको काम कोठामा लगेर गर्थें । अन्तर्वार्ता अडियोबाट सुन्दै कागजमा उतार्दा मध्यरात कट्थ्यो । कुनै कुराकानीलाई लेखको स्वरूपमा ढाल्नुपर्ने, कुनैलाई अन्तर्वार्ताकै रूपमा उतार्नुपर्ने ।

अन्तर्वार्ता लिने र रेकर्ड गर्ने मान्छे अर्कै हुन्थ्यो । त्यसलाई लिखित रूपमा उतार्न म फेला पर्थें । अरूले लिएको अन्तर्वार्तामा कुनै बेला प्रश्न त कुनै बेला जवाफ राम्ररी नसुनिए/नबुझिएपछि कनेर दोहोर्‍याई–तेहेर्‍याई सुन्दासुन्दै दिमाग तनावले लोथ हुन्थ्यो । हरेक साताको यो सिलसिलाले मगज भुत्ते खुकुरी राख्ने म्यानमा परिणत भइरहेको अनुभूति हुँदै थियो ।

कहिलेकाहीँ लाग्थ्यो, जिन्दगी भन्नु जागिर त रै’छ ∕ जिन्दगी चलाउन जागिर खाइन्छ कि जागिर खान जिन्दगी चलाइन्छ, एकरत्ति भेद नभएजस्तो । र पनि, जिन्दगीको पाठशालामा संघर्षलाई साथी नबनाए फेल खाइन्छ भनेर डुंगा खियाउँदै बढिरहेथेँ ।

आदर्शमा ओठ तौलनेहरू भन्छन्, ‘आफ्नो रुचि अनुसारको पेसा अपनायो भने त्यो बोझ हैन, रमाइलो कर्म बन्छ ।’ तर, अनेक उल्झनमा र नानाभाँतीका मान्छेको माझमा काम गर्दा रुचिको पेसाले कुनै पनि बेला स्वाद गुमाउन सक्छ । त्यतिबेला आदर्शको कुरा भद्दा व्यावहारिक पाटो बनिदिन्छ ।

कर्मचारीहरूबीचमै अलिक सिनियरले जुनियरसामु मै हुँ मालिकझैँ गरी देखाउने धमासले युवा उत्साह धूलिसात् हुनु स्वाभाविकै हो । तर, मालिक त मालिक नै हो । कुनै कुरामा चित्त नबुझे पनि ऊसामु प्रतिवादमा केही बोल्न हत्तपत्त शब्द फुट्दैन । ‘पत्रकारिता गरेर खाँदैनौ’ भनेर ओठ लेप्य्राउने मालिकसामु म पनि त्यो दिन नाजवाफ थिएँ । सायद मेरा ओठ–तालु नै सुकेका थिए । तर, मनले चाहिँ एकोहोरो भनिरहेथ्यो, पर्ख, म गरेर, खाएर देखाउँछु !

सामुन्नेको मानिसको मौनतामा हरेक घमण्ड थप भुक्दै जान्छ । पत्रकारितामा मेरो अशुभ भविष्यवाणी गरिदिएका मालिक पनि मेरो थप चिना–टिपन केलाउँदै थिए । जीवन गुजाराको कुरा पैसामा जोडियो ।
‘पैसा कमाउन त तरकारी बेच्नुपर्छ भैया । बढी पैसा त्यसमा छ ।’ उनले यो अर्ती पनि बोनसस्वरूप दिए ।

यथार्थमा एउटालाई अर्को पुस्ता वृद्ध र बेकामे ट्याक्टर लाग्छ, जसले गतिको तुलनामा बढी हल्ला मात्र गर्छ । अर्कोतिर, अनुभवले पाकेको आँखासामु भर्खरको पुस्ता हिजोको चल्ला देखिन्छ, जसको कुनै कुरामा पनि ढंग र अदब छँदै छैन ∕ नेपालका धेरै पत्रकारमा ग्यास्ट्रिक रोगको सानोतिनो घर छ । न खाना–खाजाको ठेगान, न त सुत्ने समयको पालना । दुवै आँखाको छेउमा पर्दा लगाएर सीधा बुर्कुसी मारिरहेको रेसको घोडाजस्तो दैनिकी । खल्तीमा परेको प्वालबाट घरको सामानको लिस्ट हराएर देशको अर्थतन्त्रबारे बहस छेडिरहेको बबुरो बुद्धिजीवी ।

जागिरमा लागेको सुरुआती दिनहरूमा मेरो हालत त झन् खल्तीमा प्वाल परेको होइन, बिनाखल्तीकै कमिजको जस्तो थियो । अफिसबाट खाजा खान साथीहरू निस्किन लाग्दा सकेसम्म टार्ने गर्थें । तर, पैसा नभएका बेला त झन् भोककै यादमा पेट देवदास भएर हायलकायल पाथ्र्यो ∕ अलिक पछिको समयमा तारेको तोफु (भटमासको दूधबाट बनाइएको परिकार)मा बढीभन्दा बढी मन लगाइयो । किनभने, त्यो सस्तोमा पाइन्थ्यो । मीठो पनि लाग्थ्यो । सस्तो भएकाले पनि त्यसमा थप मिठास थपिएको हुँदो हो ।

फिचर रिपोर्टका लागि राजधानी सहरको एक कुनादेखि अर्को कुनासम्म पैदल दगुर्थें । कुकुरका सोखिनहरूका लागि केनल क्लबको सेवादेखि जुत्ता र क्यामेराको बजारमा डिजाइन र ब्रान्डको घनचक्करसम्ममा दिमाग पौडी खेल्थ्यो । मान्छेहरू जुत्ताको समाचार लेखेर बकसस्वरूप जुत्ता नै पाएर उन्थे । पुरानो जुत्ताले नै साथ दिइरहनु मेरा लागि भाग्य थियो । परिश्रमको कमाइले सुक्खा तोफु टोक्दा पेट राम्ररी नरमाए पनि मन भने मजासित भरिन्थ्यो ।

तिनताक प्रेममा थिएँ म । कहिले साप्ताहिक बिदाको दिन आउला र मायालुसँग एक झप्को भेटमा साताभरिको थकान बिर्सिन पाउँला भनेर व्यग्र पर्खाइमा बस्थेँ । हरेक सोमबारे छुट्टीमा स्वतन्त्रता दिवस र प्रेम दिवस एकै दिन पथ्र्यो । एक घन्टाको बाटो धाएर जाँदा देउतै भेटेजस्तो तृप्ति मिल्ने ∕ तीन–चार हजारको जागिर खाँदा पनि उसको मोबाइल फोनमा पैसा हाल्दिन खोइ कताबाट जङ चल्थ्यो ।

उसले छिटफुट लेख्ने लेख/कविताको म अघोषित सम्पादक नै थिएँ । शीर्षकदेखि विषयवस्तु र बुनाइमा तेल–पालिस घस्न पाउँदा आफ्नै सिर्जनामा लीन भइरहेझैँ खुसी मिल्थ्यो । कवितामा ऊ भावना लेख्थी, लेखहरूमा महिला सशक्तीकरण र आत्मनिर्भरताबारे वैचारिक पाटो केलाउँथी । जे लेख्थी, मन छुन्थी । उसले कोरेका अक्षरमा म आफ्नै आवाज चिर्बिराएको पाउँथेँ ।

प्रेमीको साइनोसँगै जीवनमा उसले मलाई सम्पादकको रूपमा नियुक्त गरेकी थिई, मैले भने मनमनै उसलाई सिन्दूर हालिसकेको थिएँ । एउटै काठमाडौँ खाल्डोभित्र म नक्सालमा बस्थेँ, ऊ बस्थी सानेपा । एउटै घरको दुई बार्दलीको बीचमा पुल नभएजस्तो मात्र थियो । एक्लोपनले खाइरहेको मेरो जीवनमा उसले परिवारको ठाउँ लिँदै थिई । ऊ पनि कम गम्भीर थिइन । भन्थी, “तिमी पैसा यस्सै के–केमा खर्च गरेर सक्छौ । मलाई देऊ । म राख्दिन्छु बैंकमा । पछिका लागि साँच्नुपर्छ ।”

उसको यस्तो सपना र योजनाको चुल्ठोमा पिङ खेल्दै म परसम्म बत्तिन्थेँ र हुरुक्क हुन्थेँ । बचत गर्न पुग्ने पैसा हुने त्यस्तो जागिर नै कहाँ थियो र आफ्नो ! तर, उसको सपनामा युगल पखेटा थपिदिन तोफु खाने ३०–४० रुपियाँ पनि जोगाएर राखूँजस्तो हुन्थ्यो ।

पर मोडमा आउँदै गर्दा अदृश्य औँलाहरूले मुटुमा काउकुती लाउने सामथ्र्य राख्थी ऊ । उसले मुटुमा लगाइदिएको काउकुती सर्दैसर्दै अनुहारमा मुस्कान भएर भरिन्थ्यो । तर, मेरो त्यस्तो मुस्कानलाई जागिरले टोक्दै गइरहेको थियो । आर्थिक पत्रकारिताको अंकगणित र जोर कि बिजोर हिसाबमा मेरो जीवनको ज्यामिति खुल्न सकिरहेको थिएन । खुसीको सीधा रेखा त्रिकोणमा फन्को मार्दै, रिंगटा छुटाउँदै जिल्लिरहेको थियो । मन निस्ताउँदै थियो । दिमाग थाक्दै थियो ।

पत्रिकामा मैले तयार पार्ने स्तम्भ कहिले आउँथ्यो, कहिले पूरै हापिएर जान्थ्यो । काम लगाउनुअघि कुनै सुझाव नदिने तर तयार पारेर बुझाइसकेपछि यो भएन र त्यो भएन भन्दै गुनासोको चाङ लगाउने क्रम बढेपछि मन दिक्किँदै पनि थियो । त्यसमाथि नयाँ आएका दाइ पत्रकार बलजफ्ती सम्मान पाउन आफ्नो वरिष्ठता प्रदर्शन गरिरहेथे । उनले बडप्पन देखाएपछि ममा भने उल्टो असर पर्दै थियो । उनी आफ्नो शैली लाद्न खोज्थे, म हरेक मान्छेको आफ्नो शैली हुन्छ भन्थेँ । एकदिन मालिकले फेरि बोलाए ।र भने, “तिम्रो काम पनि खस्किँदै गएको छ । तिम्रो तलब अबदेखि चार हजार रुपियाँ मात्र । फेरि राम्रो हुँदै गयो भने बढाउँला ।”

पहिलो जागिरमा संघर्ष गरिरहेको युवा पहिलोपटकमै असफल हुँदै थियो । जागिरमा बढुवा हुन्छ भन्नेबारे काका, मामा र दाइ–दिदीहरूबाट सुनेको थिएँ धेरै । आफैँले स्वाद चाखेपछि भने घटुवा पनि हुँदो रै’छ भनेर पहिलोचोटि थाहा भयो । तलब घटेको परमादेश मालिकबाट सुनिरहँदा प्रेमिकाले ‘भविष्यका लागि पैसा साँच्नुपर्छ’ भनेको कुरा कानमा झङ्कृत भयो । अब झन् बचत गर्ने पैसा फुकी–फुकी खोज्नुपर्ने दिन आयो । आवेगमा तातो निर्णय सुनाएँ मालिकलाई, “जागिरबाट अब हात धुन्छु । सुक्खा हात नै बस्छु ।”

जागिर छोड्ने निर्णय लिइरहँदा आफैँभित्र डराइरहेको थिएँ, बेरोजगार प्रेमीबारे प्रेमिकाले के धारणा बनाउली भनेर । जागिर छाडेको पीडाभन्दा उसले निरुपाय र कमजोर रूपमा हेर्ली भनेर असुरक्षित महसुस गर्दै थिएँ । कमाइबाट प्राप्त हुने आत्मबल कस्तो चीज हो, त्यो दिन बुझ्दै थिएँ । त्यो रात अडियो अन्तर्वार्ता कागजमा उतार्न अनिदो बस्नु परेन । जागिर खाने कसरी भनेर मनभित्रैको आफ्नै वार्ताले हल्ला मच्चाइरह्यो । बत्ती निभ्यो । तर, मध्यरातपछि पनि आँखा निभेन । 

प्रकाशित: आश्विन २१, २०७२