नाटक समीक्षा: च्यातिएको पर्दा अर्थात् इज्जतको पर्दा

  • हरेक पात्रभित्र एकखालको छटपटी छ च्यातिएको पर्दामा ।

- गोकर्ण गौतम

जुन भट्टीमा तरुनी हुन्छे, त्यसमै ग्राहकको भीड लाग्छ । रक्सीले मातिएपछि ग्राहकहरू पात्तिँदै त्यही युवतीको शरीरमा गिद्धे–दृष्टि लगाउँछन् वा उसको शरीर छोएर र छिल्लिएर यौन कुण्ठा पोख्छन् । युवतीको इज्जतमाथि धावा बोलिरहन्छन् । आज मात्र होइन, साढे पाँच दशकअगाडि पनि नेपाली समाजमा यो ढोँंग व्याप्त थियो ।

यसो नहुँदो हो त, गोविन्दबहादुर मल्ल ‘गोठाले’ले च्यातिएको पर्दा लेख्दैनथे होला । रक्सी पसल चलाएर जीवन जीउन अभिशप्त आमा र छोरीको समसामयिक पीडालाई मार्मिक रूपमा पोखिएको नाटक यतिबेला सुन्धारास्थित थिएटर मलमा मञ्चन भइरहेको छ । नाटकले सहरदेखि ग्रामीण भेगसम्मका भट्टीमा कार्यरत महिलाको मनोविज्ञान र दुर्दशालाई नजिकबाट केलाएको छ । 

जानकी (विजया कार्की)को परिवार केहीअघिसम्म सम्पन्न र इज्जतदार थियो तर उनका बूढाले व्यापारमा घाटा बेहोरेपछि परिवार चरम आर्थिक संकटमा फस्छ । सोही कारण रक्सी पसलबाट जीवन धान्न बाध्य छिन् जानकी । पसलमा उनी मात्र होइन, उनकी वैंश चढेकी छोरी अनुश्री (आकृति श्रेष्ठ) पनि काम गर्छिन् । रक्सी पिउनभन्दा आफ्नो छोरीको जवानीमा आँखा लगाउन ग्राहक पसलसम्म आइपुग्छन् भन्ने राम्रो ख्याल छ जानकीलाई । त्यसैले त छोरीले विवाह गर्छु भन्दा आलटाल गर्छिन् ।

उता अनुश्री रक्सी पसलका कारण परपुरुषको दुव्र्यवहार सहनु परेकाले जतिसक्दो चाँडो मुक्ति चाहन्छिन् । भट्टीका दुई नियमित ग्राहक गोकुल (जीवन भट्टराई) र जनक (कविर खड्का) उनलाई पत्नी बनाउन चाहेको ढोँग रच्छन्, जबकि, दुवै विवाहित हुन् । कथित तल्लो जात र लफंगा दरिएको गोकुलले दुवै पत्नीलाई बराबर माया र हरेक आवश्यकता पूरा गरिदिने प्रलोभन देखाएर फकाउँछ भने समाजमा सभ्य कहलिएको जनक बाहिर नदेखाए पनि भित्रभित्रै माया गर्छ । अनुश्रीले गोकुललाई बढी माया गरेजस्तो देखिए पनि दुवैसँग उत्तिकै सशंकित छिन् । यसरी मनोवैज्ञानिक रूपमा दिनानुदिन कमजोर भइरहेकी अनुश्री आत्मसम्मानको खोजी नै नाटकको मूल मर्म हो  ।

खासमा नाटकका हरेक पात्रभित्र एकखालको छटपटी छ । आकृतिलाई आफ्नो वर्तमानले भविष्यमा सम्मान नपाउने चिन्ता छ भने बाँच्नकै लागि रक्सी पसल चलाउनुपर्ने बाध्यताबाट पिल्सिएकी छन् जानकी । उनका छोरा शान्तिदीप (केदार श्रेष्ठ)लाई आमा र बहिनीलाई त्यही भट्टीमा छाडेर विवाह गरी मधेसमा जान हतारो छ । त्यसैले त ऊ टाइपिस्टको जागिर बढुवा गर्न र मधेसमा सरुवा गरिदिन जनकको चाकडी गर्छ ।

बाहिरबाट हेर्दा सभ्य देखिएको जनक आकृतिलाई माया गरे पनि सीधै भन्न सक्दैन, ढोँगले गर्दा । उता, गोकुललाई पैसा भए जति पनि स्वास्नी ल्याउन सक्छु भन्ने घमण्ड छ । त्यसैले त ऊ हाकाहाकी अनुश्रीलाई भित्र्याउन खोजिरहेको छ । अनि पार्वती (सञ्जिता सज्जी) चाहिँं विवाहित पुरुषले आवश्यकता पूरा गरेर बाहिर राखिएकी रखौटी बनेकी छन् । जो आधा रातमा रक्सी लिन भट्टी धाउन विवश छिन् । यी सबै नेपाली समाजकै प्रतिनिधि पात्र हुन् । रूप फरक भए पनि यस्तै सार भएका पात्र छ्यापछयाप्ती भेटिन्छन् । त्यसैले त नाटक हेरिरहँदा कहीँ देखेको वा भोगेको आभास हुन्छ । 

होस्टल रिटन्र्स, रेड मनसुन र टलकजंग भर्सेज टुल्के फिल्म र कोर्ट मार्सल र ओह ! स्टार दुनियाँलगायतका नाटकमा अब्बल अभिनय गरेका सुदाम सीके यही नाटकमार्फत निर्देशनमा होमिएका छन् । गोठालेको नाटकलाई जीवन्तता दिनु र वर्तमान परिवेशकै प्रतिविम्ब बनाउनु उनका लागि चुनौती थियो । यही चुनौतीलाई उनले अवसरमा बदले र धेरथोर सफल पनि भएका छन् । तर, थोरै पात्रलाई मञ्चमा उतारेकाले कथालाई कसिलो बनाउन चुकेको भान हुन्छ ।

सेट आकर्षक त छ, त्यसको समुचित प्रयोग हुन सकेको छैन । आधासूरको प्रत्यक्ष संगीत र प्रकाशको सुन्दर संयोजन गरिएको छ । आकृतिको शारीरिक सुन्दरता पात्र सुहाउँदो छ, उनको अनुहारको भावभंगिमामार्फत भित्री मनका आक्रोश र असन्तुष्टि व्यक्त गर्न सफल छिन् तर शारीरिक हाउभाउमा चुस्तता छैन, अल्छी गरेजस्तो लाग्छ ।

आमा बनेकी विजया र छोरा केदार श्रेष्ठको अभिनय स्वाभाविक लाग्छ । विजया मञ्चमा लामो समय उपस्थित भए पनि होल्ड कायम राख्छिन् । जीवनको लुक्स, हाऊभाऊ र संवादले दर्शकलाई तानिरहन्छ । कविरको अभिनय औसत छ । बरू, दिलजंग गुरुङको बोल्ने शैली युनिक लाग्छ ।

भट्टी पसलमा काम गर्न बाध्य महिलाको पीडा र तिनलाई हेर्ने पुरुषको दृष्टिकोण हो च्यातिएको पर्दा । चाहे भट्टीवाली होस् वा ग्राहक, दुवैको इज्जतको पर्दा जानी–नजानी च्यातिरहेको हुन्छ । नेपाली समाजको तीतो यथार्थ भएकाले पनि १ घन्टा १० मिनेटको नाटक हेर्दा झिझो महसुस हुन्न । नाटक २५ असोजसम्म मञ्चन हुनेछ । 

च्यातिएको पर्दा

स्रष्टा : गोविन्दबहादुर मल्ल ‘गोठाले’

परिकल्पना र निर्देशन : सुदाम सीके

कलाकारहरू : आकृति श्रेष्ठ, जीवन भट्टराई, केदार श्रेष्ठ, विजया कार्की, कविर खड्का आदि 

स्थान : थिएटर मल, सुन्धारा  

प्रकाशित: आश्विन १८, २०७२