किन छन् मधेसमा मोर्चैमोर्चा ?

  • → मधेसमा देखिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय मधेसी मोर्चाको उद्देश्यमा उतिसाह्रो भिन्नता देखिँदैन । कुनै समय यी तीनै मोर्चा एउटै छातामुनि थिए ।
  • → राजनीतिक आदर्श र मुद्दाभन्दा पनि व्यक्ति र पार्टीगत स्वार्थले मोर्चासम्बद्ध दलहरूलाई संविधान निर्माणको प्रक्रियाबाटै किनारामा हुत्याइदियो ।

- जनकराज सापकोटा

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुर बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा जिम्मेवार नेताहरूसँग छलफल गर्दै थिए ४ असोजको बिहान । त्यही बेला दलबलसहित पुगे प्रधानमन्त्री सुशील कोइराला । वार्ताको निम्तो दिन आएका प्रधानमन्त्रीसँग ठाकुरले पुरानै गुनासो पोखे, ‘वार्ताको वातावरण बनाएको खोइ ?’

ठाकुरसँगको भेटघाट सकेर प्रधानमन्त्री कोइराला सोझै सानेपास्थित मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कार्यालय पुगे, जहाँ पार्टी अध्यक्ष विजयकुमार गच्छदार पनि  छलफलमा व्यस्त थिए । प्रधानमन्त्री पुगेलगत्तै एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहीँ भेला भए ।  

माग, मुद्दा र राजनीतिक क्षेत्रका हिसाबले एकै ठाउँमा भए पनि चारतिर मुख फर्काएका मधेस केन्द्रित दलहरूको सहयात्रा टुंगिएको धेरै भएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा ब्यूँतिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको १० महिने सहयात्रा २५ जेठको १६ बुँदे सहमतिले भत्कायो । त्यही सहमतिको जगमा नयाँ संविधान निर्माणको प्रक्रिया त सुरु भयो तर उक्त सहयात्राले मोर्चा छिन्नभिन्न भयो ।

तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाल मधेसमा मोर्चाका नाममा धेरै पसल खोलिएको टिप्पणी गर्छन् । भन्छन्, “कति खोलिएका छन् र कति खोलाइएका छन् । अब १६ बुँदेको जुठो खाएकाहरूको के कुरा गर्नु ?” लालको भनाइले पछिल्लो समय फरक मोर्चामा रहेका मधेसकेन्द्रित दलबीचको आपसी तिक्ततालाई बुझाउँछ ।

परस्पर अविश्वास 

मधेसमा देखिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय मधेसी मोर्चाको उद्देश्यमा उतिसाह्रो भिन्नता देखिँदैन । कुनै समय यी तीनै मोर्चा एउटै छातामुनि थिए । राजनीतिक आदर्श र मुद्दाभन्दा पनि व्यक्ति र पार्टीगत स्वार्थले मोर्चासम्बद्ध दलहरूलाई संविधान निर्माणको प्रक्रियाबाटै किनारामा हुत्याइदियो । 

१६ फागुन ०६४ मा गठन भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आठ वर्षयता कैयन्पटक फुटिसकेको थियो । कुनै समय एउटै मोर्चामा थिए, उपेन्द्र यादव र शरत्सिंह भण्डारी । चार बुँदे सम्झौता गरेर मोर्चासम्बद्ध दल बाबुराम भट्टराई नेतृत्वको सरकारमा जाँदा पनि उपेन्द्र यादव बाहिरै रहे । त्यसपछि उनले भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, रामनरेश रायको राष्ट्रिय सद्भावना र परशुराम तामाङ नेतृत्वको ताम्सालिङ नेपाल राष्ट्रिय पार्टी, विश्वेन्द्र पासवान नेतृत्वको दलित जनजाति पार्टीलगायतलाई मिलाएर संयुक्त गणतान्त्रिक मोर्चा बनाए । 

मोर्चामार्फत राजनीतिक अभीष्ट सिद्ध नहुने भएपछि यादव गैरमधेसी मोर्चाबन्दीमा लागे । यादव तिनै नेता हुन्, जो ६ साउन ०६५ को संविधानसभामा उपराष्ट्रपतिका आफ्ना उम्मेदवार परमानन्द झालाई विजयी गराउन मोर्चाको निर्णयविपरीत नेपाली कांग्रेसका राष्ट्रपति उम्मेदवार रामवरण यादवको पक्षमा मतदान गरे । त्यसपछि मोर्चासँग यादवको सहयात्राले विश्राम पायो ।

आफूबीच मोर्चाबन्दी नगरेकै कारण दोस्रो संविधानसभामा पराजित भएको महसुस गरेका मधेस केन्द्रित दल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगमनको पूर्वसन्ध्यामा एकै ठाउँमा जम्मा भए र ब्यूतियो, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा । मोर्चाको यो पछिल्लो सहयात्रा पनि १० महिनाभन्दा बढी टिकेन । 

मोर्चाबाट अलग्गिएका संघीय सद्भावनाका अध्यक्ष अनिलकुमार झाले ३२ साउन ०७२ मा संविधानसभाबाहिर रहेका ६ दल समेटेर संघीय मधेसी मोर्चा गठन गरे । १६ बुँदे सहमतिको जगमा अघि बढेका गच्छदारले भने संविधानमा थारू आन्दोलनका माग र मुद्दा नसमेटिने भेउ पाएलगत्तै १६ भदौमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट निकालिएका मधेसी जनअधिकार फोरम गणतान्त्रिक र केही वर्षअघि आफ्नै पार्टीबाट अलग्गिएका भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीलाई साथमा लिएर संघीय लोकतान्त्रिक मोर्चा बनाए ।

अचम्म त के भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानसभा नै बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग समेत १९ साउनमा सहकार्य गर्न पुग्यो । आन्दोलनका पछिल्ला दृश्यमा मोर्चासँग वैद्यको उपस्थिति देखिँदैन । सद्भावना पार्टीका महासचिव मनीष सुमन भन्छन्, “मोर्चाभित्र वैद्य जति छिटो भित्रिए, उति नै छिटो सेलाए ।”

यसैबीच २ असोज ०७२ मा सद्भावना अध्यक्ष राजेन्द्र महतोले वक्तव्यमार्फत तराई मधेस अभियानको नेतृत्व गरिरहेका जयप्रकाश गुप्ता र नेकपा माओवादीका मातृका यादवलाई मोर्चामा भित्र्याउने घोषणा गरे । गुप्ता भ्रष्टाचारको आरोपमा सजाय काटेका र मातृका संविधानसभाको अस्तित्व नस्वीकारेका नेता हुन् । 

मोर्चामा थोरै सिट संख्या रहेका दलहरूको अवस्था झनै सकसपूर्ण छ । जस्तो : १३ असार ०६९ मा गठन भएको भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी चार वर्षमा चार फरक–फरक मोर्चामा संलग्न भइसकेको देखिन्छ । पार्टी प्रवक्ता केशव झा भन्छन्, “मोर्चा किन बन्छ र किन फुट्छ भन्ने कारण जस्टिफाइ नै हुन्न ।”

 

आ–आफ्नै स्वार्थ

६ असोजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की पर्‍यो । विवादको विषय थियो, ५ असोजमा सुनसरीको इनरुवामा चिनियाँ झन्डा जलाइएको बारे विज्ञप्तिमार्फत विरोध गर्ने कि नगर्ने ! महतोले भारतविरोधी भावनाको विरोध हुँदा चुप लाग्ने तर चीनको पक्षमा चाहिँ बोलिहाल्नुपर्ने भन्दै विरोध जनाएका थिए । 

डेढ महिनाभन्दा लामो समय सँगसँगै आन्दोलनमा होमिएका मोर्चाका नेताबीच अनेकन् खटपट र दन्त बझान नरोकिँदा सरकारसँग कुन विषयमा र कसरी वार्ता गर्ने भन्ने कुरालाई पनि ओझेल पारिरहेको छ । २४ भदौमा भैरहवामा बसेको मोर्चाको बैठकको निर्णयलगत्तै काठमाडौँ हानिएका तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवलाई नवलपरासी पुगेर महतोले भनिदिए, ‘वार्ता गर्न काठमाडौँ जानेहरू धोकेबाज हुन् ।’

यसरी दुई दलका अध्यक्षलाई गाली गरेका महतो तोकिएको मितिमा काठमाडौँमा हुने बैठकमै आएनन् । असमझदारीबीच ३१ भदौमा तमलोपाको कार्यालयमा बसेको मोर्चाको बैठकमा ठाकुर र यादवले खुलेरै असन्तुष्टि व्यक्त गरे ।

संघीय फोरमका अध्यक्ष यादव, तमलोपा अध्यक्ष ठाकुर एवं सहअध्यक्ष हृदयेश त्रिपाठी ४ असोजमा काठमाडौँबाट आकाशमार्ग हँुदै विराटनगर र त्यहाँबाट भारतीय बाटो हुँदै सप्तरीको राजविराज पुगे । वीरगन्जको मकालु होटलमा एक साता बिताएर रक्सौल हुँदै भारतको दरभंगा पुगेका सद्भावना अध्यक्ष राजेन्द्र महतो भारतीय सरकारी अधिकारीको सन्देश बोकेर राजविराज फर्किए । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष सर्लाहीबाट राजविराज पुगे । मोर्चाका चार अध्यक्षलगायतले सदरमुकामको स्टार डिलक्स होटलमा दुई दिन लगातार छलफल गरेको भोलिपल्ट भारतीय अखबारले असहमतिका सात बुँदा सार्वजनिक गर्‍यो, जुन मधेसी दलका पनि मुद्दा थिए । 

३४ वर्षदेखि राजनीतिक अभ्यास गर्दै आएको दलका रूपमा महतो आन्दोलनको एकल स्वामित्व लिने पक्षमा खटिएका छन् भने उपेन्द्र यादव आफू मधेस आन्दोलनको सूत्रधार भएको भन्दै आफ्नो शक्ति स्थापित गर्न कस्सिएका छन् । तमलोपा अध्यक्ष ठाकुर भने आफ्नो पार्टी दोस्रो मधेस आन्दोलनको निर्णायक शक्ति भएको र अहिलेको आन्दोलनले पार्टीको जनाधार बलियो बनाउने विश्वासमा देखिन्छन् । तमलोपाका एक नेता भन्छन्, “आन्दोलनमा तीनै दलका आ–आफ्नै स्वार्थ र प्रतिस्पर्धा छन् ।” 

एउटै मोर्चाबन्दीको दबाब

मुद्दागत रूपमा समानता भए पनि विभिन्न मोर्चामा विभाजित भएको भन्दै मधेसमा चर्को असन्तुष्टि बढेपछि मोर्चाका नेताबीच छलफल सुरु भएको छ । स्रोत भन्छ, फरक–फरक मोर्चासँग फरक–फरक वार्ता गर्दा आन्दोलन लम्बिने र मुद्दा सही ढंगले समाधान नहुने भन्दै दक्षिण छिमेकीले मोर्चाहरूलाई मिल्न दबाब दिएको थियो । 

६ असोजमा राजविराजमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले अन्य मधेसकेन्द्रित दलसँग वार्ता र सहकार्यको विन्दु खोज्न चार सदस्यीय टास्क फोर्स गठन गरेको थियो भने विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले पनि तीन सदस्यीय टास्क फोर्स गठन गर्‍यो । मोर्चाबीच सहकार्यका लागि ८ असोजको साँझ विराटनगरबाट काठमाडौँ ओर्लिएका सद्भावना अध्यक्ष राजेन्द्र महतो फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई भेट्न भैँसेपाटी पुगे । 

गच्छदारले संघीय सद्भावना पार्टीलाई पनि आफ्नै मोर्चामा मिलाउने प्रयत्न थालेका छन् । संविधानसभाबाहिर रहेका ६ दलसँग मिलेर संघीय मधेसी मोर्चा निर्माण गरे पनि अनिल झा मोर्चागत रूपमा मधेसमा प्रभावशाली देखिन सकेका थिएनन् । तराई मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झा भन्छन्, “सबै मोर्चा एकै विन्दुमा नउभिई सुखै छैन ।”

प्रकाशित: आश्विन १२, २०७२