[फिल्म समीक्षा] चंखे शंखे पंखे — संवदेनशील कथा, फिक्का प्रस्तुति

- गोकर्ण गौतम

कथा र कलात्मकता सुन्दर फिल्मका आधारभूत पक्ष हुन् । तर, वाचन शैली कलात्मक नहुँदा कथा सशक्त भए पनि पर्दासम्म आइपुग्दा पट्यारलाग्दो हुन्छ । बरू, सामान्य कथामा कलात्मक लेपन गरिएका फिल्म जीवन्त हुन्छन् । पछिल्लो केही समययता नेपाली फिल्मको कथानक पाटो सबलताउन्मुख छ । कथामा विविधता र मौलिकताको सुगन्ध महसुस गर्न थालिएको छ । तर, कलात्मक पाटोलाई कथाजस्तै अब्बल बनाउन निर्देशक चुकिरहेका छन् । पछिल्लो उदाहरण हो, चंखे शंखे पंखे ।

राजनीतिक र सामाजिक अव्यवस्थाले आक्रान्त युवाले लिने कठोर निर्णयको कथा भए पनि यसले दर्शकको मन छुँदैन । प्राय: लभस्टोरी फिल्म बनाउँदै आएका सुदर्शनले यसपटक संवेदनशील कथा त रोजे तर यसमा अब्बलता देखाउन सकेनन् । हरेक दृश्यमा उनीसँगै पटकथाकार रामशरण पाठकको अपरिपक्वता देख्न सकिन्छ । 

इन्जिनियर बन्न नपाएको चम्पक (सुवास थापा), घूस मागेपछि पुलिस अफिसर बन्न अस्वीकारेको शैलेश (प्रेम पुरी) र धनी बाबुको एक्लो छोरो प्रसिद्ध (सुदर्शन थापा)को संयोगले भेट हुन्छ र छिट्टै नजिक हुन्छन् । चरम निराशाबाट पिल्सिएका यी ठिटाको न उद्देश्य छ, न महत्त्वाकांक्षा । मोजमस्तीकै बीच उनीहरूको भेट टेलिभिजन रिपोर्टर पूर्णिमा (पूजा शर्मा)सँग हुन्छ । तीनैले पूजालाई मन पराउँछन् । उनले ‘हरूवा’को बिल्ला भिराएपछि सामूहिक आत्महत्या गर्न खोज्छन् ।

भाग्यवश, पुलिसले पक्रन्छ । सोधपुछकै क्रममा उनीहरूमा एकाएक राष्ट्रभक्तिको भावना जागृत हुन्छ र भ्रष्टाचारीलाई सखाप पार्ने ध्याउन्नमा लाग्छन् तर एउटी यौनकर्मीको सहारामा उनीहरूले चलाएको मिसन सफल होला त ? क्लाइमेक्स आमिर खान अभिनीत रंग दे वसन्तीसँग मिल्न खोज्छ तर यसलाई चोरेको भनिहाल्न मिल्दैन । 

करिअर बनाउने क्रममा हन्डर खाएर चरम निराशामा फसेका चम्पक, शैलेश र प्रसिद्धलाई नेपाली समाजका प्रतिनिधि युवा मान्न सकिन्छ । जोसँग राज्य व्यवस्थाप्रति अथाह आक्रोश पनि छ । तर, यस्ता गम्भीर पात्रलाई हल्का बनाएकाले सुरुआतबाटै उनीहरूको पीडासँग दर्शक तानिँदैनन् ।

मध्यान्तरअगाडिका अधिकांश दृश्यले मूल कथालाई दह्रो बनाउनेभन्दा बिथोल्छन् । तीन पात्रको भेटको प्रसंग त पत्यारिलो छ तर यत्ति छिटो नजिक हुन्छन् कि अपनत्व महसुस हुँदैन । पुलिस थानाबाट निक्लँदा उनीहरूमा बिजुली चम्किएझैँ पलाउने राष्ट्रप्रेम झन् नाटकीय छ ।

दुई–चार अन्याय र बेथितिका दृश्य देखाउँदैमा यस्तो गहन विषय स्थापित हँुदैन । खासमा, पात्रको पृष्ठभूमि र मनोविज्ञानमै निर्देशक अलमलिएका छन् । फलत: फिल्ममा के होलाभन्दा कहिले सकिएला भन्ने चिन्ताले सताउन थाल्छ मध्यान्तरपछि । अरू त अरू, सुदर्शनले आफ्नै पात्रलाई समेत न्याय दिन सकेका छैनन् ।

कथा भन्ने शैलीजस्तै कलाकारको अभिनय पनि चित्तबुझ्दो छैन । नवअभिनेता प्रेम पुरीको हाऊभाऊ र बोल्ने शैली अपरिपक्व छ । कमेडी र गम्भीर दुवै दृश्यमा उनले आफ्नो क्षमता देखाउन सकेका छैनन् । सुदर्शन र पूजाको हालत झन्डै त्यही हो । तुलनात्मक रूपमा सुवासको अभिनय प्रशंसनीय छ ।

कथाको भावसँग मेल खाने लोकलयको ‘फेसबुकले बिचल्ली पार्‍यो नि...’ गीतले मन छुन्छ । ‘तँ जा...’ बोलको गीत पिप्ली लाईभको लागि इन्डियन ओसनले गाएको ‘देश मेरा..’को ट्युनसँग मिल्दोजुल्दो छ भने अर्को गीत ‘तिम्रो लाली जोवन...’को ट्युन र कोरियोग्राफीले मैं तेरा हिरोको ‘बेसरमकी हाइट..’ सम्झाउँछ । काठमाडौँवरपर खिचिएका सिनेमाटोग्राफी औसत छन् । 

कोरियन फिल्म मिलिनियर्स फस्ट लभबाट हुबहु कपी गरिए पनि सुदर्शनको डेब्यु फिल्म मेरो एउटा साथी छ युवापुस्ताले रुचाए । त्यसपछिका चार फिल्ममा उनको निर्देशकीय क्षमता उकालो लाग्नुपर्नेमा ओरालो झरिरहेको छ । गतिलो खुराकविहीन चंखे पंखे शंखे पनि त्यसकै निरन्तरता मात्र हो । डेढ करोड खर्च भएको भनिएको यस फिल्मले नेपाली सिनेमाको श्रीवृद्धिमा कुनै योगदान गर्दैन भन्न आनाकानी मान्नु पर्दैन । 

रेटिङ : १.५/५

प्रकाशित: आश्विन ११, २०७२