[निबन्ध] छुट्टी : मिश्रित स्वाद

- रोशन शेरचन

कर्मचारी जीवनमा सबभन्दा लामो छुट्टी हुने भनेकै दशैँ हो । तर, अक्सर छुट्टी त्यसै खेर जान्छन् । विगत वर्षमा लामा विदा खेर गएको अनुभव भयो मलाई । त्यसैले, २०६६ को दशैँमा औपचारिकता र नियमिततावाहेक केही सृजनात्मक क्षण विताऊँ भन्ने लाग्यो र किताब र सिनेमाको सूचि बनाएँ । अन्ततोगत्वा, चारवटा पुस्तक र एउटा सिनेमा छाने‌ँ । खाका शायद अलि महत्वाकांक्षी थियो तर म्यारिजमा लहसिने बानी नभएकाले पूरा गर्न असम्भव थिएन । 

पहिलो पुस्तक थियो, मञ्जुश्री थापाले लेखेको संरक्षणकर्मी चन्द्र गुरुङको जीवनमा आधारित कृति अ व्वाय फ्रम सिकलेस । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा काम गर्दा पुस्तकको केन्द्रिय पात्रसँग आफ्नो जीवनको सानो कालखण्ड जोडिएकाले पढ्न व्यग्र थिएँ । अ व्वाय फ्रम सिकलेसलाई किनेको पर्सिपल्टै सक्काएँ । सिकलेस, घान्द्रुक, उपल्लो मुस्ताङ्ग हुँदै पश्चिमाञ्चलको इतिवृतमा हुर्रिएँ । मेरो जीवनको १२ वर्ष सोहि आयोजनामा पश्चिमाञ्चलमै बितेको थियो । 

म्याग्दी घोरेपानीको गुराँसे वनको सेपिलो धाप, स्वाताको पारिलो बेसी र नारच्याङ्ग लेकको चिसो सिरेटोको डफ्फामा मेरा पैतालाका डोब परेका थिए । मन्जुश्रीको छरितो भाषाशैलीले मनलाई तान्छ । प्रकृति संरक्षण, जैविक विविधता, पर्यायपर्यटन, वैकल्पिक ऊर्जा र सहभागिमूलक संरक्षणका विषयवस्तु नौला विषय थिएनन् । तर, मैले संरक्षणकर्मी चन्द्र गूरुङलाई धेरै कम बुझेको रहेछु । चन्द्र गुरुङको पारिवारिक पृष्ठभूमि, स्कुले जीवन, गाउँले जीवनका दिनचर्या, साथीसंगीको अन्तरंग घेरा, वैयक्तिक स्वभावको वर्णनवाट सुरु गरेको कृतिले वहाँलाई समग्रतामा चिन्न सघाउाछ । सार्वजनिक नभएका कतिपय प्रसंग पनि उघ्रेका छन् ।  

पिस कप्र्सको भोलियन्टर भइ नेपाल आएको डोरोथी मिरोले गुरुङलाई धेरै सहयोग गरेछन् । सिकलेसको गुरुङ ठिटोले अमेरिका देखेको अनुभव उनको जीवनको निर्णायक मोड बन्न पुग्यो । हिप्पी जीवनको रंगीविरंगी अनुभव पनि लिएछन् । तर, चन्द्र गुरुङमा आफ्नो जन्मस्थान, भाषासंस्कृति र रहनसहनप्रति गहिरो लगाव देखिन्छ । उनको व्यवहारमा स्थानिक र वैश्विक दुवै चरित्रको गज्जवको मिश्रण छ । 

तात्कालीन ‘श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष’मा सदस्यसचिव हुँदा पूर्व राजाहरूसँगका चाखलाग्दा प्रसंग, संरक्षणभित्रको राजनीति र उत्तराद्र्धमा भोग्नुपरेका अनिश्चितताको फेरिहस्त छ यसमा । पेन्गुइनद्वारा प्रकाशित २२६ पृष्ठको पुस्तकमा गुरुङ वहुआयामी भएर प्रस्तुत भएका छन् । पुस्तक लाईट रिडिङका निम्ति उपयुक्त छ । यो गम्भीर पुस्तक भने होइन । 

दोस्रो पुस्तक थियो, ध्रुव सापकोटाको आख्यान अकल्पनीय । हिमाली भावभूमिमा लेखिएका नेपाली उपन्यास अत्यन्त कम छन् । म स्वयं त्यहि परिवेशवाट आएकाले आख्यानले हिमाली परिवेश र विषयवस्तुसाग कति न्याय गर्न सक्यो, जान्ने खुल्दुली थियो । अकल्पनीय शायद किन भनिएको होला भने, कल्पनाभन्दा बाहिरको घटनाक्रमले उपन्यासको मुल–पात्र पेमालाई एउटा देशवाट अर्को, अर्को देशवाट अर्को देश लखेट्छ । प्रत्येक देश संक्रमणकालमा छन् । त्यसैले, उनको हैसियत शरणार्थीभन्दा माथि उक्लदैन ।

हिमाली आदिवासी महिलामा वुनिएको विषयवस्तु सामयिक छ । उपन्यासको मुल–पात्र पेमा बाल्यकालमै सिक्किमवाट चोरिन्छे र तिब्बत पुर्‍याइन्छे । चोरी गर्ने सन्तानविहीन जोडी भने दयालु पर्छ । चोरिएपछि पेमाले आफूलाई नितान्त नयाँ परिवेशमा पाउँछे । अनेकौँ कठिनाइबीच आफूलाई अनुकूल पार्दै लग्छे । तिब्बतमा चिनीयाँ सरकारको निरङ्कुशता बढ्दै जान्छ । बौद्धमार्गी तिब्बतीहरू धमाधम ज्यान जोगाउँदै, घर छाड्दै भारततर्फ, भूटानतर्फ भाग्छन् । तिब्बतीहरू भन्छन्, ‘दलाइ लामा जहाँ छन्, हामी जाने त्यतै हो ।’ तर, पेमा भने संगीहरूसँग भाग्दै भुटान पुग्छे । संगीहरू बाटैमा घरजम गर्छन् । पेमा एक्लो परेपनि जसोतसो भुटान पुग्छे । बीबी भन्ने शिक्षकको प्रेममा परेर विवाह गर्छे र सुखको छोटो समय पनि बिताउन नपाउँदै भुटानवाट पनि लखेटिन्छे । पेमाको जीवनको नियति नै घरवाट भाग्नु देखिन्छ । अकल्पनीय शरणार्थीको जीवनयात्राको त्रासद कथा हो ।

उपन्यासको भाषा सरल छ । तर परिवेशको सुक्ष्म दृश्य उत्पन्न हुँदैन । पेमा र अन्य पात्रहरूको चरित्र निर्माणमा उपन्यासकार मिहिन तरिकाले प्रवेश गर्न नसकेको अनुभूति हुन्छ । निकै ठूलो क्यानभासमा कथानक पोतिए पनि शरणार्थीहरूको जीवनयात्रामा मनलाई उद्वेलित गर्ने प्रसंग, पात्रको पीडाजन्य अन्तरद्वन्द्व र आक्रोश शक्तिशाली हिसाबले आउन सकेको छैन । शरणार्थी मनोविज्ञानले पर्याप्त विस्तार पाएको छैन ।

तेस्रो किताव, लामो समयसम्म पढ्न नसकेको नारायण वाग्लेको उपन्यास पल्पसा क्याफे थियो ।  यसको लोकप्रियता र बहुचर्चाले गर्दा पढ्न नसक्नु गुमेको अवसर वनेको थियो । त्यो गुम्दै गरेको अवसरलाई म त्यो दशैँमा छोप्न चाहन्थे । पल्पसा क्याफेको भाषाले तान्छ । सरल, सहज र ग्राम्यजीवनमा प्रयोग हुने प्रचलित शव्दावलीहरूको प्रयोगले उपन्यासलाई स्वादिलो वनाएको छ । संप्रेषणको समस्या उपन्यासमा कतै छैन । उपन्यासले भन्न खोजेको के हो, पाठकले प्रष्ट वुझ्छ । कथानक भने सामान्य छ । 

एउटा चित्रकारको फिरन्ता जीवन चरित्र, प्रेमलाई हेर्ने धारणा, मनको कुनाको सुन्दर सपना र उनको व्यक्तिगत मूल्य–मान्यतालाई पर्याप्त विस्तार दिइएको छ । गोवाको समुद्री किनारमा पल्पसासँग जोडिएको प्रसंगले कथानकको पृष्ठभूमि निर्माण गर्छ । सिद्धार्थले उत्प्रेरित गरेपछि दृश्य प्रभावित भइ द्वन्द्वप्रभावित आफ्नो गाउँको भ्रमणमा जाँदाको सन्दर्भ कथानकको केन्द्र हो । वर्तमान नेपाललाई पिँधैवाट उथलपुथल गरेको माओवादीको सशस्त्र युद्धसँग कथानक जोडिँदा उपन्यास समाजसँग पनि जोडिन्छ । 

चरित्र चित्रणमा मिहिनता छ । परिवेशको वर्णनले दृश्य उत्पन्न गरेको छ । उपन्यासमा प्रशस्त भिजुअल इफेक्ट छन् । चित्रकारिताको साम्य भाषामा लेखिएको छ, उपन्यास । मनमोहक संवाद छ । शव्दचयन र वाक्याशं हृदयलाई तरंगित गर्ने खालको छ । परिवेशमा दृश्य र पात्रहरूको रंग सजीव उत्रिएको देख्दा लाग्यो शायद वाग्ले चित्रकारिताचेत सम्पन्न व्यक्ति हुन् । दृश्य, पल्पसा, सिद्धार्थ र गाउँका पात्रका मनोदशामा सापेक्षका रंग प्रशस्त अनुभूत हुन्छ ।

द्वन्द्वको चित्रणले समय र समाजको महत्वपूर्ण पाटोलाई बलियो गरी समातेको छ । द्वन्द्वका असर पात्रहरूमा कुशलतापूर्वक उतार्न सक्नु नै उपन्यासकारको सबलता देखिन्छ । उपन्यास–चित्रणले द्वन्द्वका असर मिहिन पाराले उतारेता पनि द्वन्द्व नित्याउने कारणमा नगएकाले उपन्यास इतिहास–सम्बद्ध हुन सकेको छैन ।

उपन्यासमा समाज उभिएको छैन, मात्र व्यक्ति उभिएको छ । समाज छ त पृष्ठभूमिमा उभ्याइएको मात्र । यहि उपन्यासको सीमा हो । उपन्यासको दुर्बलता, कथानक संयोगको बुइ चढी अगाडि वढ्नु हो । घटनाक्रमहरू तार्किक हिसाबले अगाडि वढेको राम्रो मानिन्छ । उपन्यासको फिरन्ता नायकवाट त्यतिविधी आशा पनि नगरौँ । पल्पसा क्याफे राम्रो कृति हो तर मानक कृति भने होइन( कम्तिमा घामका पाइलाझैं, शिरीषको फूलझैं, अलिखितझंंैं, पागलबस्तीझैं, प्रेतकल्पझैं । 

र, अन्तिम पुस्तक रसियन उपन्यासकार इभान तुर्गनेभको उपन्यास फादर एण्ड सन थियो । उपन्यासको परिवेश सन् १८६० को भएकाले होला, भिन्न देशको धेरै अघिको समाजसँग सामन्जस्य भाव राख्न निकै कठिन भयो । रसियन साहित्य कमै पढेकोले पनि तादात्म्य राख्न पनि गाह्रै भयो । 

कथानक यस्तो छ – बजारोभ आफ्नो साथी अकार्डिको गाउँमा केही समय बिताउन आउँछ । अकार्डि ग्राजुएसनपछि आफ्नो गाउँ आएको छ, वजारोभलाई लिएर । त्यही घरमा अकार्डिको पिता र काका पाभेलसँग वजारोभको मतभिन्नता प्रकट हुँदै जान्छ । वजारोभ प्राकृतिक विज्ञानको विद्यार्थी ।

निषेधमा विश्वास छ उसको । ‘निहिलिष्ट’ हो । सृजना गर्नेभन्दा पनि धेरै भत्काउन लायक मूल्य मान्यता छ भन्ने ठान्छ । आफूलाई मन नपरेको कुनै पनि कुरा निर्मम तरिकाले भन्न बाँकि राख्दैन । अनेकौँ पात्रको बजारोभ म्याडम ओडिनजोभलाई मन पराउछ, तर रोमान्टिक नबनी फिरन्ता भइवस्छ । 

बजारोभ किसान श्रमिकहरूको औषधिउपचार पनि गर्छ र उपचारको क्रममा उसलाई इन्फेक्सन हुन्छ । इन्फेक्सन फैलदैँ गएर मृत्युशैयामा लड्छ । मृत्युशैयामा वजारोभ र उनको पिताको संवाद नै उपन्यासको प्राण हो । पुत्रको निषेधको प्रवृत्तिको वाबजुद वजारोभलाई अत्यन्त माया गर्ने पिता र पिताले ईश्वरलाई प्रार्थना गर, निको भैहालिन्छ भन्दा वजारोभको मृत्युसँग साक्षात्कार गर्ने निर्भिकता र अन्तिम साससम्म पनि इश्वरप्रतिको निषेधको दृश्यात्मक वर्णन उपन्यासको विशिष्ठता हो ।

उपन्यासको मध्यतिर किसान आन्दोलन र उनीहरूले उठाएका मागले तात्कालीन समाजमा विकसित भइरहेको वर्ग संघर्षको झलक दिन्छ । उपन्यासले तात्कालीन समाजमा संभ्रान्त वर्गको दैनिकी र जीवनशैलीको पनि मिहिन चित्रण गरेको छ ।   

वजारोभ अराजक छ । आफ्नो दृष्टिकोणप्रति गज्जबको अडान छ । वैज्ञानिक सिद्धान्तको कसीमा खरो नउत्रने सबै तर्कलाई ऊ वोगस भन्छ, निर्ममतापूर्वक । त्यसैले वजारोभको व्यक्तित्वसँग म्याडम ओडिनजोभ डराउँछ पनि, आकर्षित पनि हुन्छ । इश्वरप्रति बजारोभको ठाडो निषेध छ । संस्थापनप्रति पनि । उत्तिकै अहंवादी । बजारोभले मर्ने वेलामा म्याडम ओडिनजोभलाई प्रश्न सोध्छ, ‘रसियालाई म चाहिएको छैन बरु सिकर्मी, डकर्मी, दर्जी चाहिएको छ । के रसियाले मलाई मिस गर्ला ?’ त्यस उपन्यासले केहि दिनसम्म मलाई अर्कै मनोदशामा पुर्‍यायो । 

सिनेमाको सूचीमा भने रिडर थियो । नाजी होलोकाष्टको पृष्ठभूमिमा बनेको सिनेमा । निर्दोष तर परिबन्दले युद्ध अपराधी ठहर्‍याएको भूमिकामा अभिनेत्री विन्सलेटको अभिनयले द्रवित बनाउँछ । आजन्म कारावास तोकिन्छ । कारावासमै विन्सलेटले अक्षर चिन्छे । त्यसैलाई जेल जीवनको सबभन्दा महत्वपूर्ण क्षण भन्छ । लतकै रूपमा किताव पाठ गरेको सुन्न मनपराउने भएकाले, उसको कम उमेरको प्रेमीले अमर कृतिहरूको पाठ रेकर्ड गरेर जेलमा पठाइरहन्छ ।

विन्सलेटको धेरै समय ती रेकर्ड सुन्दै कितावको काल्पनिक संसारमा बित्छ । विन्सलेट बूढी हुन्छे । उसको प्रेमी कानुनको विद्यार्थी भएर पनि विन्सलेटलाई जेलवाहिर निकाल्न नसकेको ग्लासनमा डुव्छ । विन्सलेटले जेलमै आत्महत्या गर्छे । सिनेमालाई दुखान्त बनाउँछ । तर, किताव पढ्ने र सुन्ने प्रवृत्तिलाई माथिल्लो प्रवृत्तिमा स्थापित गराएर सिनेमा सकिन्छ ।

प्रकाशित: आश्विन ८, २०७२