काठमाडौंमा १ अर्ब २० करोड रुपियाँ बराबरको सरोगेरी व्यवसाय, यस्ता छन् ६ रोचक पक्ष

- जनकराज सापकोटा

प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत भिआईपीहरूको बसोबास क्षेत्र भएकाले बालुवाटारको सुरक्षा अवस्था राजधानीका अन्यत्रको तुलनामा संवेदनशील र कडा मानिन्छ । तर, प्रधानमन्त्री निवास छिर्ने एक नम्बर गेटकै सामुन्नेबाट एउटा सानो बाटो सुलुत्त भित्र छिरेको छ । केही पाइलामै आइपुग्छ, पहेँलो रंगको गेट, जहाँ लेखिएको छ–घर नम्बर ३५, पानीपोखरी, दीपकुमारी मार्ग ।

आधादर्जन महिला बोकेर हुईंकिएको बा ६ च ६०० नम्बरको कालो रंगको महिन्द्रा बलेरो टक्क रोकियो, त्यही घरअगाडि । राजधानीको उत्तरी भेग टोखा, सरस्वतीबाट त्यस गाडीमा चढेका महिला त छँदै थिए, त्यो पहेँलो घरबाट निस्कीएका केही सावला वर्णका महिला पनि गाडीमा थपिए । त्यसपछि गल्लीबाट फुत्त बाहिरिएर हुईंकिएको बलेरो व्यस्त सडक छिचोल्दै जमलस्थित ग्रान्डी सिटी क्लिनिक एन्ड हस्पिटलमा पुगेर रोकियो ।

पटुक्क पेट उठेका महिलाहरू लस्करै अस्पतालको चौथो तल्लामा उक्लिए । ती थिए, विदेशी अभिभावकका भ्रुण बोकीरहेका सरोगेट मदर अर्थात् भाडाका आमा । यो घटना थियो, सर्वोच्च अदालतले सरोगेसी सेवालाई वैधानिकता दिने सरकारी निर्णय कार्यान्वयनमा रोक लगाएको ९ दिनपछि अर्थात् १७ भदौ मध्यान्हको । यसले नेपाल सरोगसीको केन्द्र भईरहेको स्पष्ट छनक दिन्छ ।

(नेपालका संवाददाता जनकराज सापकोटाले विगत ५ बर्षयता यो बिषयमा निरन्तर खोजमुलक रिपोर्टिङ गरिरहेका छन् । २८ भदौमा नेपालमा प्रकाशित उनको पछिल्लो खोजले बाहिर नआएका थप रोचक पाटाहरु खोतलेको छ ।)

यस्ता छन् ६ रोचक तथ्य

  • काठमाडौंमा करिब एक अर्ब २० करोड रुपियाँको कारोबार भाडाका आमाबाट बच्चा जन्माउने व्यवसायबाट भइरहेको छ । सरोगेसीसम्बन्धी कानुनबिना नै स्वास्थ्य सेवा वा पर्यटनका नाममा यो व्यवसाय चलिरहेको छ ।

     

  • नेपालको अध्ययनले काठमाडौँमा मात्रै सरोगेसी सेवा प्रदायक संस्थाहरूको संख्या एक दर्जनको हाराहारीमा रहेको देखाउँछ । सरोगेसी सेवाका लागि भारतीय महिलाहरूको प्रयोग हुँदै आएको पाइएको छ ।

     

  • भारतको उच्च अदालतले २५ फेब्रुअरी ०१५मा केन्द्र सरकारलाई व्यावसायिक सरोगेसी सेवामा प्रतिवन्ध लगाउन आदेश दियो । त्यसपछि सुरु खुला सीमानाको फाइदा उठाउँदै भारतमा खुलेको बहुराष्ट्रिय सरोगेसी सेवाप्रदायक संस्थाहरूको नेपाल आगमन शुरु भएको हो ।

     

  • सर्वोच्चले सरोगेसी सेवा रोक्नका लागि अन्तरिम आदेश दिएको साता अस्ट्रेलियाली सरकारले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी नै जारी गरेर नेपालमा सरोगेसी सेवा कानुनी रूपमा मान्यताप्राप्त नरहेको भन्दै सरोगेसीका लागि नेपाल नजान सूचित गरेको छ । त्यस्तै, काठमाडौँस्थित अमेरिकी दूतावासले पनि सरोगेसीका विषयमा नेपालमा कानुनी अनिश्चितता रहेको भन्दै आफ्ना नागरिकलाई सचेत गराएको छ ।

     

  • भाडाका आमाबाट बच्चा जन्माउनका लागि नेपाल धाउनेमध्ये पहलो नम्बरमा आउँछन्, इजरायलीहरू । त्यसपछि, अस्ट्रेलियाली नागरिकको संख्या उल्लेख्य छ ।

     

  • चारदेखि पाँच लाख भारतीय रुपियाँमा अनुबन्धित हुने भारतीय सरोगेट मदरका लागि काठमाडौँका विभिन्न स्थानमा घर नै भाडामा लिएर बस्ने व्यवस्था मिलाइएको पाइयो । त्यस्ता एउटै घरमा २० देखि ५० जनासम्म भाडाका आमाहरूलाई एजेन्सीहरूले राखिरहेका छन् ।

प्रकाशित: भाद्र २६, २०७२