बाढीपहिरो आइरहे ४० वर्षमै फेवाताल पुरिने आशंका

- लालप्रसाद शर्मा

१३ साउन रातीको भारी वर्षापछि फेवातालको जलाधार क्षेत्रमा साना–ठूला दुई सयभन्दा बढी पहिरो गए । यसअघिका वर्षायाममा माटोको लेदो मात्रै बढी आउने भए पनि यसपटक भने २२ हेक्टर जंगलै बगेर आयो । ढिकुरपोखरी, चापाकोट र भदौरेतामागी गाविसबाट ठूलठूला ढुंगामुढा पनि बगेर तालमा आए । माटोको त लेखाजोखा नै भएन । 

“यो अप्रत्याशित घटना भयो । ठूलो बाढीपहिरो आएर तालमा पस्यो,” फेवातालकै विषयमा विद्यावारिधि गरेका पृथ्वीनारायण क्याम्पसका प्रमुख देवेन्द्रबहादुर लामिछाने भन्छन्, “यस्तै गतिले बाढीपहिरो आउने तर संरक्षणमा ध्यान नदिने हो भने ताल तीन/चार दशकमै सबै पुुरिन्छ ।” 

कास्की, भदौरेतामागी–४ की नरवधी पौडेल, ९३, ले पनि जीवनमै पहिलोपटक गाउँठाउँमा ठूलो पानी परेर भीषण बाढीपहिरो आएको देखिन् । सानातिना पहिरा गएर खोलाखहरेमा बाढी आए पनि भोलिपल्टै पानी सङ्लिन्थ्यो । सुनाउँछिन्, “यस्तो विध्वंश मच्चाएको मैले देखेकी थिइनँ । यस्तै चालले त न गाउँ रहन्छ, न त फेवातालै बच्छ ।” 

राष्ट्रकै पर्यटकीय सम्पदा फेवातालको मुख्य स्रोत हर्पन खोला हो । हर्पनमा अँधेरीखोलालगायत अन्य ५० जति ससाना खहरे मिसिएका छन् । सन् १९९६ देखि लगातार तीन वर्षसम्म लामिछानेले तालको अध्ययन गरेका थिए । त्यस क्रममा बर्सेनि १ लाख ५९ हजार ५ सय ५३ मेट्रिक टन गेग्रान (ढुंगा, माटो, काठपात, बालुवा) तालमा मिसिने उनको अध्ययनले देखाएको थियो ।

उनका अनुसार तीन वर्षसम्म आएको बाढीको पानी उमालेर रहेको ठोस पदार्थको परिमाणका आधारमा यो अनुमान गरिएको थियो । यसले २ सय ८७ वर्षमा ताल सबै पुरिने प्रक्षेपण गरेको थियो । तर, अहिलेको जस्तो बाढी आइरहे ४० वर्षमै ताल पुरिन सक्छ । 

डेढ दशकअघि फेवाताल २३ मिटरसम्म गहिरो थियो । तर, अहिले १८ मिटरमा झरेको छ । पहिलेको १० किलोमिटर लम्बाइको ताल अहिले चार किमिमा खुम्चिएको फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर महेन्द्रबहादुर गोदार औँल्याउँछन् । भन्छन्, “चौडाइ पनि घटेर बढीमा दुई किमिमा पुगेको छ । तीन साता बित्दा पनि यतिबेला ताल पूरै धमिलो छ । यसअघि यति लामो समय ताल धमिलो हुँदैनथ्यो ।”

प्रकृतिविज्ञ तथा भूगोलका प्राध्यापक विश्व श्रेष्ठका अनुसार मध्यपहाडी क्षेत्रको भौगर्भिक रूपमा प्रकोपजन्य भूभाग भएकाले सय मिलिमिटरभन्दा बढी पानी पर्नासाथ जुनसुकै बेला पनि यो बग्न सक्छ । पहाडबाट ठोस पदार्थको निक्षेपको प्रक्रिया सुरु भएसँगै तालजस्ता प्राकृतिक सम्पदाको आयु घटाउँछ । पोखरा नेपालमै सबैभन्दा बढी पानी पर्ने क्षेत्र हो । १३ साउनमा ३ सय मिलिमिटर पानी परेको थियो ।

०६८ सालमा पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित फेवातालको जग्गा छानबिन समितिले ३ जेठ ०६९ मा तत्कालीन प्रधानमन्त्रीसमक्ष तालको सबै अवस्थाबारे रिपोर्ट बुझाएको थियो । लामिछाने भन्छन्, “बर्सेनि एक हेक्टरका दरले ताल पुरिँदै गएको तथ्य फेला पारेका थियाँै । यसको सबैतिरबाट दोहन मात्र भइरहेको छ । जोगाउने र बचाउनेतर्फ कसैको ध्यान गएको छैन ।” 

पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली तालको संरक्षण नगरिए अर्बौंको लगानी पनि जोखिममा पर्ने बताउँछन् । अहिले पोखराको पर्यटनमा ५५ अर्बभन्दा बढी लगानी छ । ताल पुरिए त्यो सबै जोखिममा पर्न सक्ने भएकाले जलाधार क्षेत्रमा विशेष कार्यक्रम र योजना बनाएर भूक्षय रोक्नुपर्ने पञ्चासे, फेवाताल जलाधार क्षेत्र विकास समितिका अध्यक्ष निर्मल पौडेलको मत छ । 

सन् १९७४ बाट संरक्षण योजना बनाएर सयौँ संस्था लागे पनि ताल दिनानुदिन पुरिँदै छ । अब सरकारी स्तरबाटै हर्पन भ्याली प्रोजेक्ट ल्याएर सोही अनुसार बजेट छुट्याएर बृहत् योजना नल्याए ताल संरक्षण नहुने बताउँछन् लामिछाने । “खोला तालमा मिसिएको ठाउँ, त्यसमाथिको फेवाफाँट र पहाडको फेदी गरी तीन ठाउँमा विशाल कृत्रिम जलाशय बनाउनुपर्छ,” उनी भन्छन्, “त्यसो गर्दा खोला तथा खहरेले बगाएर ल्याउने ठोस पदार्थ सीधै तालमा आउन पाउँदैन ।” 

अब जलाधार क्षेत्रमा बायोइन्जिनियरिङ, माटो समात्ने रूखहरू रोप्नुपर्ने, विभिन्न स्थानमा टेवा पर्खाल लगाउनुपर्ने स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको कथन छ । भन्छन्, “यसका लागि जिल्लाको बजेटले मात्र पुग्दैन । केन्द्रीय योजना र बजेट आवश्यक छ ।”

बाढीपहिरोका कारण ताल पुरिएर बनेको जमिनलाई स्थानीयले निजी सम्पत्तिका रुपमा दर्ता गरी भोगचलन गर्दै आएका छन् । सन् १९५७ मा गरिएको नापी अनुसार विश्वभरका पर्यटकको आकर्षण फेवातालको क्षेत्रफल २२ हजार रोपनी थियो । त्यो साँघुरिँदै गएर अहिले ९ हजार ९ सय ५५ रोपनीमा झरेको छ । ०६४ पछि जमिन कति खुम्चियो, कुनै अनुसन्धान छैन ।

प्रकाशित: भाद्र ९, २०७२