डाक्टरको हाहाकार — छन् प्रति १ हजारका लागि ६.८ स्वास्थ्यकर्मी

  • अभावकै बिच विदेशी शिक्षण संस्थाहरूबाट विभिन्न विषयमा स्नातकोत्तर पूरा गरी फर्केका अधिकांश चिकित्सक नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ (विशेषज्ञ दर्ता परीक्षा) जाँचमा फेल हुने गरेका छन् ।

- रामु सापकोटा

नेपाल मेडिकल काउन्सिलमा १८ साउनसम्म १८ हजार ५ सय ९१ जना डाक्टर दर्ता छन् । काउन्सिलमा दर्तावाल डाक्टरले मात्र बिरामी जाँच्न पाउने नियम छ । दर्ता भएका १८ हजार ५ सय ९१ चिकित्सकमध्ये विदेश पलायन भएका चिकित्सकहरूको तथ्यांक काउन्सिलसँग छैन । काउन्सिलमा दर्तावाल चिकित्सकमध्ये मृत्यु भएकाहरूको पनि तथ्यांक छैन ।

जिम्मेवार निकायले चिकित्सकहरूको तथ्यांक व्यवस्थित गरेर राख्न नसक्दा नेपालमा सक्रिय रूपमा कार्यरत चिकित्सकहरूको यकिन हुन सकिरहेको छैन । यसै गरी ५ हजार ६ सय ५७ विदेशी डाक्टर दर्ता छन् । अध्यापन र बिरामी जाँच्ने सिलसिलामा विदेशी चिकित्सक नेपाल आउँछन् । विदेशीमध्ये भारतबाट आउने चिकित्सकको संख्या अन्य देशको तुलनामा बढी छ । 

सरकारी स्वास्थ्य सेवामा कार्यरत कुल स्वास्थ्यकर्मीमध्ये चिकित्सकहरूको प्रतिशत ज्यादै न्यून (करिब ४५ मात्र) छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यो आफैँमा चुनौतीका रूपमा रहेको केदारभक्त माथेमा समितिको प्रतिवेदनले औँल्याएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक एक हजार जनसंख्याका लागि २३ जनाको अनुपातमा चिकित्सक, नर्स र मिडवाइफ आवश्यक पर्छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सन् २०१३ को तथ्यांक अनुसार मुलुकमा हाल प्रतिएक हजार जनसंख्याका लागि ६ दशमलव ८ स्वास्थ्यकर्मी उपलब्ध छन् । 

हाल मुलुकमा प्रतिवर्ष झन्डै दुई हजार चिकित्सक र सात हजार नर्स उत्पादन हुने गरेको छ । यसै गरी वार्षिक करिब ५ देखि ७ सय चिकित्सक विदेशबाट अध्ययन गरी नेपाल फर्किन्छन् । हाल मुलुकभरका विभिन्न सरकारी तथा निजी कलेजमा पोस्टग्य्राजुएट (पीजी तह)का लागि पाँच सय सिट मात्रै उपलब्ध छ । 

प्रतिवर्ष उत्पादन हुने स्नातक चिकित्सक (एमबीबीएस)को अनुपातमा पीजीमा मुलुकभित्रै पर्याप्त सिट नहुँदा ठूलो संख्यामा नेपाली चिकित्सक अध्ययनका लागि विदेश पलायन भएको माथेमा समितिको प्रतिवेदनले औँल्याएको छ । यति हुँदाहुँदै पनि विदेशी शिक्षण संस्थाहरूबाट विभिन्न विषयमा स्नातकोत्तर पूरा गरी फर्केका अधिकांश चिकित्सक नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ (विशेषज्ञ दर्ता परीक्षा) जाँचमा फेल हुने गरेका छन् । “त्यसरी काउन्सिलको जाँचमा फेल हुनुको कारण पर्याप्त ज्ञानको अभाव नै हो,” मेडिकल काउन्सिलका पूर्वरजिस्टार डा बाबुराम मरासिनी भन्छन् ।

 

प्रकाशित: भाद्र ७, २०७२