पाठेघरबाहिर गर्भधारण, नेपालमा पनि छ समस्या

  • → पाठेघरबाहिर गर्भधारण -- गर्भ खेरसँगै आमाको ज्यान पनि जोखिममा ।
  • → नेपालमा सन् २००२–२००४ मा डा पुनमको चिकित्सकीय समूहले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरेको अध्ययनले पेल्भिक इन्फ्लामेटरी डिजिज भएका महिलामा सबैभन्दा इक्टोपिक भएको देखाएको छ ।

- डा बालकृष्ण साह

इटहरी–१० की बिना चौधरी, ३२, बिहान एक्कासि पेट दुख्न थालेपछि उपचारका लागि स्थानीय अस्पतालमा गइन् । परीक्षणपछि उनमा गर्भ रहेको थाहा भयो । तर, अल्ट्रासाउन्ड (भिडियो एक्सरे)ले उनको गर्भ पाठेघरमा नभएको देखायो । त्यसैले उनलाई विराटनगर पठाइयो । 

विराटनगर आइपुग्दा बिना अचेत भइसकेकी थिइन् । नाडीको गति निकै कम थियो, रक्तचाप पनि घटिसकेको थियो । तुरुन्त उनको शल्यक्रिया गरियो । गर्भ अण्डवाहिनी नली (फलोपियन ट् युब)मा रहेको र त्यो फुटेर पेटभित्रै दुई लिटरभन्दा बढी रगत जम्मा भएकाले उनको अवस्था गम्भीर भएको रहेछ । गर्भ पाठेघरबाहेक अन्यत्र रहने समस्यालाई चिकित्सकीय भाषामा इक्टोपिक प्रिग्नेन्सी भनिन्छ । 

जोसुवा एच बारस र उनको समूहले २०१४ को जुलाईमा प्रकाशन गरेको एक अध्ययनले अमेरिकामा एक–दुई प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसै कारण नौ प्रतिशत गर्भवतीको मृत्यु हुने गरेको देखाएको छ । मडु एई र उनका साथीले बेलायतको नर्थ टेनिसाइड जेनरल अस्पतालमा गरेको अध्ययनले बेलायतमा १.१५ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको र यसैका कारण चार प्रतिशत गर्भवतीको मृत्यु हुने गरेको देखाएको छ । 

नेपालमा पनि यसबारे धेरै अध्ययन भएका छन् । डा चन्दा कार्कीको समूहद्वारा बी एन्ड बी अस्पतालमा १९९७ देखि २००५ सम्म आठ वर्ष लगाएर अस्पतालमा भर्ना गरिएका ४ हजार ८ सय ६० गर्भवतीमा गरिएको अध्ययनले १ दशमलव ८ प्रतिशत गर्भ इक्टोपिक हुने गरेको देखायो । उक्त अवधिमा भएको कुल ६ मातृ मृत्युमध्ये दुईको कारण इक्टोपिक रहेको देखाएको छ ।

सबै अवस्थामा इक्टोपिक प्रिग्नेन्सी हुनुका कारण यकिन गर्न सकिँदैन । नेपाल मेडिकल कलेजमा प्रा डा प्रमिला प्रधानको समूहले सन् २००१ देखि २००६ सम्म गरेको अध्ययनले बाँझोपनका समस्या झेलेका महिलामा सबैभन्दा बढी इक्टोपिक देखिएको थियो । सन् २००२–२००४ मा डा पुनमको चिकित्सकीय समूहले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरेको अध्ययनले पेल्भिक इन्फ्लामेटरी डिजिज भएका महिलामा सबैभन्दा इक्टोपिक भएको देखाएको छ । 

पहिला इक्टोपिक भएका तथा अण्डवाहिनी नलीलाई शल्यक्रिया गरेका महिलामा पनि इक्टोपिक हुने सम्भावना बढी हुन्छ । विश्वव्यापी रूपमै इक्टोपिक प्रिग्नेन्सी बढ्दै गएको र पेल्भिक इन्फ्लामेटरी डिजिज, यौनरोग नै यसका प्रमुख कारण रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एडिसनल प्रोफेसर डा मोहन रेग्मी बताउँछन् । अण्डाशय, पाठेघर, अण्डवाहिनीको संक्रमणलाई पीआईडी अर्थात् पेल्भिक इन्फ् लामेटरी डिजिज भनिन्छ र यही इक्टोपिकको प्रमुख कारण रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका एसोसिएट प्रोफेसर डा मधु श्रेष्ठको तर्क छ । 

हाल आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग बढ्दै गएको छ । अण्डविच्छेदन अर्थात् ओभुलेसनको समयमा आकस्मिक गर्भनिरोधक चक्की (आइकन, आई पिल) प्रयोग गरे इक्टोपिक हुने सम्भावना बढ्ने डा श्रेष्ठको ठम्याइ छ । इक्टोपिक प्रिग्नेन्सी हुनेबित्तिकै शल्यक्रिया गर्नुपर्ने जरुरी छैन । तर, ‘इक्टोपिक रप्चर’ अर्थात् त्यस्तो गर्भ फुटेर आएपछि शल्यक्रियाको विकल्प हुँदैन र समयमा शल्यक्रिया गरेर फुटेको ठाउँबाट हुने रक्तश्राव रोक्न नसके गर्भवतीको मृत्यु निश्चित हुन्छ । इक्टोपिक प्रिग्नेन्सी फुटेपछि पेटभित्रै रगत जम्मा हुन सक्ने भएकाले योनिमार्गबाट धेरै रगत गएको नदेखिन सक्छ । अत्यधिक पेट दुख्नु, बिमारी सिकिस्त हँुदै जानु यसका थप लक्षण हुन् । यस अवस्थामा गर्भलाई जोगाउन सकिँदैन र गर्भवतीलाई जोगाउन पनि गाह्रो हुन सक्छ । 

त्यसैले गर्भ रहेको थाहा पाएपछि आफ् नो गर्भ पाठेघरमा छ वा इक्टोपिकमा भन्ने पत्ता लगाउनुपर्छ । गर्भ रहेको थाहा पाएपछि चिकित्सकसँग परीक्षण गर्नु तथा ६ देखि आठ साताभित्र भिडियो एक्स रे गर्नाले इक्टोपिक प्रिग्नेन्सी पत्ता लगाउन सकिन्छ । सामान्यत: गर्भको बच्चाको मुटुको ढुकढुकी आउनुभन्दा अगाडि रहेको अवस्थामा, नफुटेको तथा अन्य केही परीक्षणपछि औषधीको प्रयोग गरेर पनि इक्टोपिकको उपचार गर्न सकिन्छ । तर, औषधी प्रयोग गर्ने अवस्थामा कमै गर्भवती आउने गरेको डा श्रेष्ठको अनुभव छ । 

(डा साह मोरङ सहकारी अस्पताल, विराटनगरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।)

प्रकाशित: भाद्र ३, २०७२

ट्याग: healthpregnancy