नाता तोड्दै कमरेड

  • एमाओवादीका पुराना र इमानदार नेता–कार्यकर्तामा धमाधम पार्टी छाड्ने लहर
 नाता तोड्दै कमरेड

तत्कालीन नेकपा (माओवादी)ले १ फागुन ०५२ मा सशस्त्र द्वन्द्व सुरु गर्दा पार्टी केन्द्रीय कमिटी १९ सदस्यीय थियो । केन्द्रीय नेताको टिमका १८ जना ‘फिल्ड’मा थिए भने एक जना जेलमा । जेलमा थिए, रुकुमको मुरु जन्मथलो भएका लोकन्द्र विष्ट मगर उर्फ अभ्यास ।

औपचारिक रूपमा सशस्त्र युद्धको थालनी हुनुअघि नै माओवादीले रोल्पा–रुकुमलगायत आफ्ना पकड क्षेत्रमा ‘वर्ग संघर्ष’का नाममा ‘दुस्मन’विरुद्ध भौतिक कारबाहीको ‘ट्रायल’ गरिरहेको थियो । त्यही मेसोमा विष्ट नेतृत्वको समूहले रुकुममा गणेश शाहमाथि भौतिक आक्रमण गर्‍यो । यसपछि ३ असोज ०५२ मा विष्ट गिरफ्तारीमा परे । २८ असार ०५८ मा माओवादीले होलेरी चौकी आक्रमण गरेपछि मात्र उनले जेलबाट उम्कने मौका पाए ।

१६ वर्षको लर्के जोवनमै कम्युनिस्ट राजनीतिमा जोडिएका विष्टले सर्वहारा क्रान्तिकारी बन्ने जोसमा ०४३ सालतिर जग्गा बेचेर ९० हजार रुपियाँ तत्कालीन पार्टीलाई बुझाएका थिए । पार्टीलाई जायजेथा बुझाउने उनी पहिलो पात्र भएको विष्टलाई नजिकबाट चिन्ने माओवादी नेताहरू बताउँछन् ।

२० जेठ ०६१ मा विष्टलगायत झन्डै दर्जन माओवादी नेता–कार्यकर्ता भारतको पटनामा समातिए । राजधानी उपत्यकालाई लक्षित गरी बनाइएको ब्युरो इन्चार्ज रहेका विष्ट बैठककै लागि पटना पुगेका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि १५ साउन ०६३ मा उनीसहित पटनामा पक्राउ परेकालाई भारतले रिहा गरिदियो । अन्तरिम व्यवस्थापिकामा सभासद् चुनिएका विष्टले पेस्तोल बोकेर सिंहदरबार प्रवेश गरेपछि सर्वत्र आलोचना पनि भएको थियो । झलनाथ खनाल प्रधानमन्त्री भएको समयमा एमाओवादीले विष्टलाई मन्त्री समेत बनाएको थियो ।

एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका तिनै विष्ट अहिले कृषक भएर सामान्य दैनिकी बिताउने ध्याउन्नमा छन् । कुनै समय माओवादी आन्दोलनका यी ‘भेट्रान’ किन आफ्नै पार्टीबाट विरक्तिए त ? भन्छन्, “नेतृत्वले आफू र पार्टीलाई सुधार्ने संकेत देखिनँ । अब एमाओवादी आन्दोलनले गरिखाँदैन भन्ने लागेपछि झिँगा धपाउँदै बस्नुभन्दा खेतीकिसानी गरेर खानु बुद्धिमानी ठानेर राजीनामा दिएँ ।”

काभ्रेको भकुन्डेबेसीमा ३० रोपनी जग्गा भाडामा लिएर किसानी जीवन सुरु गरेका छन् उनले । जग्गा थपेर खेती विस्तार गर्ने योजना पनि छ । थप्छन्, “सक्रिय राजनीति नगर्ने भएपछि काठमाडौँ रुँगिरहनुको पनि अर्थ देखिनँ ।”

माओवादीबाट वाक्कदिक्क हुनेमा एमाओवादी स्थायी समिति सदस्य तथा पार्टी स्कुलिङ विभाग प्रमुख हेमन्तप्रकाश ओली उर्फ सुदर्शन पनि छन् । कम्युनिस्ट पार्टीभित्र स्कुलिङ विभागलाई महत्त्वपूर्ण मानिन्छ । त्यही विभागका प्रमुख ओलीले नै एमाओवादीसँग पारपाचुके गरिसकेका छन् । दोस्रो संविधानसभापछि समानुपातिक सभासद् छनोटमा नपरेदेखि नै उनी नेतृत्वसँग असन्तुष्ट थिए ।

०५९ सालमा रुकुमको खारास्थित सैनिक बेसक्याम्पमाथि धावा बोल्ने क्रममा उनकी जेठी छोरी सुवर्णाले ज्यान गुमाएकी थिइन् । माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको पाँच महिनापछि अर्थात् असार ०५३ मा कृष्णबहादुर महरालाई केन्द्रीय कमिटीमा लगिएको थियो भने त्यसको दुई महिनापछि ओली र सुरेश वाग्लेलाई । उनीसँगै केन्द्रीय कमिटीमा चढेका वाग्ले २३ भदौ ०५६ मा गोरखामा मारिए ।

रोचक के भने हाल एमाओवादी सचिव वर्षमान पुन रोल्पा सेक्रेटरी, स्थायी समिति सदस्यद्वय शक्तिबहादुर बस्नेत जाजरकोट, जनार्दन शर्मा दाङ र पोलिटब्युरो सदस्य गणेशमान पुन रुकुम सेक्रेटरी हुँदा ती जिल्ला समेटेर गठन गरिएको उपब्युरो इन्चार्ज ओली नै थिए । तर, उनीमातहत रहेकाहरू पटक–पटक सभासद् र मन्त्री भइसकेका छन् । ओलीको हकमा त्यो अवसर कहिल्यै जुरेन ।

०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट माओवादीले अघि सारेको विचारधारालाई स्थापित गराउन ओलीले प्रचण्डपथ २१औँ शताब्दीको विचारधारात्मक छलाङ पुस्तकसमेत लेखेका थिए । माओवादीले रोल्पाको होलेरी र रुकुमको राडी प्रहरी चौकी आक्रमण गर्दा होलेरीको कमिसार महरा थिए भने राडीको कमिसार ओली । २९ माघ ०५५ मा पक्राउ परेका ओली २१ असार ०५८ मा बाजुरा जिल्ला अदालतबाट कारागार फर्काउने क्रममा बाटैबाट फरार भएका थिए । माओवादी आन्दोलनमा लामो विरासत बोकेका तिनै ओली किन बाहिरिए त ? भन्छन्, “नेतृत्वले धूर्तहरूलाई च्याप्न थालेपछि पार्टी लथालिंग हँुदै गयो । धूर्तहरूकै बसमा परेका प्रचण्ड पनि भित्रभित्रै थाकिसकेका छन् । माओवादी विघटित भइसकेकाले यस्तो दुर्गन्धित पार्टीमा बस्नु ठीक नहुने निष्कर्षमा पुगेको हुँ ।”

यद्यपि, उनलाई एमाओवादीले भने यौन विचलनमा फसेकाले कारबाही गरेको बताएको छ । रोचक के भने उनलाई अहिले जुन महिलासँग जोडेर कारबाही गरिएको भनिएको छ, तिनीसँग ६ वर्षअघिदेखि सम्बन्ध भएको हल्ला चलिरहँदा नै प्रचण्डले उनलाई स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग प्रमुख बनाएका थिए । नेतृत्वलाई आफूले अर्को विवाह गर्दै छु भनेर पटक–पटक भनिसकेकाले त्यो आरोप मिथ्या भएको ओलीको दाबी छ । उसो त ०५५ मा पनि यौन मामिलामा मुछिएर कारबाही भोगिरहेकै समयमा उनी पक्राउ परेका थिए ।

०३६ सालमै नेकपा चौथो महाधिवेशनमा आबद्ध भई माओवादी आन्दोलनमा समाहित हुन आइपुगेका सिन्धुलीका कुमार दाहाल पटक–पटक पक्राउ परे । यातना खाँदै कारावाससमेत बसे । ०५४ सालमा माओवादीनिकट मजदुर संगठन अखिल नेपाल ट्ेरड युनियन महासंघ अध्यक्ष रहेका दाहाल ०६० सालमा केन्द्रीय सदस्य भए । ५ असार ०६९ मा एमाओवादी विभाजन हुँदा मोहन वैद्यतर्फ लागेका दाहाल पुन: एमाओवादीमै त फर्किए तर त्यहाँ टिक्न नसकी विरक्तिए । भन्छन्, “यस आन्दोलनमा बसिरहे पनि जनताले चाहेको परिवर्तन हुन सक्तैन भन्ने ठम्याइपछि राजीनामा दिएको हुँ ।”

एमाओवादी केन्द्रीय सदस्य विकेश श्रेष्ठ दुई वर्षअघिसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव थिए । प्रचण्डले छाडेका लुगा लगाउनु, उनकै शैलीमा प्रस्तुत हुनु, नेता–कार्यकर्तामध्ये कसलाई भेट गराउने, कसलाई नगराउने भनेर व्यवस्थापन गर्नु कुनै समय उनका लागि निकै ठूलो सोख र आदर्शको विषय थियो । प्रचण्ड प्रधानमन्त्री हुँदासमेत विकेश सहायक स्वकीय सचिव रहे । गत वर्ष वैशाखको विराटनगर सम्मेलनअघि श्रेष्ठले पार्टीभित्र शुद्धीकरण जरुरी भएको भन्दै प्रचण्डसमक्ष २० बुँदे माग पत्र पेस गरे । तर, न त उनको मागको सुनुवाइ भयो, न त्यसलाई गम्भीरतापूर्वक नै लिइयो । ’४० कै दशकदेखि हतियारबद्ध आन्दोलन गर्नुपर्छ भन्दै मार्न र मर्न हिँडेका श्रेष्ठ नेटवर्किङ व्यवसायमा संलग्न भएपछि एमाओवादीमा विवादित थिए ।

लिम्बुवान राज्य समिति इन्चार्ज भइसकेका धर्मचन्द्र लावती एमाओवादीबाट चरम असन्तुष्ट हुने अर्का पात्र हुन् । पञ्चायतका हर्ताकर्ता काका धर्मचन्द्र लावतीसँग विद्रोह गर्दै चौथो महाधिवेशन, एकताकेन्द्र, माओवादी राजनीतिमा होमिएका लावती आफूमाथि निष्पक्ष मूल्यांकन हुन नसक्ने ठम्याइपछि खेती किसानीमै फर्केका छन् । एमाओवादी केन्द्रीय सदस्य हेमराज भण्डारी भन्छन्, “लावती कम्युनिस्ट आन्दोलनका पुराना र इमानदार नेता हुन् । तर, अहिले एमाओवादीसँग विरक्तिएर झापामा बसेका छन् । पार्टीका कुनै पनि गतिविधिमा उनको संलग्नता छैन ।”

रोल्पाकी जयपुरी घर्तीले विद्यालय तह पढ्दै गर्दा जेटीए (जुनिएर टेक्निकल एसिस्टेन्ट) बनेर गाउँको सेवा गर्ने रहर बोकेकी थिइन् । तर, एसएलसी पास गर्दा नगर्दै कम्युनिस्ट बनिन् । ०५२ मा माओवादीले सशस्त्र द्वन्द्व थाल्दा नथाल्दै पूर्णकालीन भइन् । माओवादीभित्र नमुना नामले चिनिने जयपुरी साँच्चिकै नमुना मानिन्थिन् । पार्टी केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको अध्यक्षसमेत भएकी उनी वैद्य माओवादीमा सामेल भइन् । पार्टीभित्र अन्तरसंघर्ष चलिरहँदा नेत्रविक्रम चन्दलाई साथ दिए पनि उनी त्यसमा समाहित भइनन् ।

सशस्त्र द्वन्द्वकै दौरान ०५९ सालमा रोल्पाको इरिबाङमा नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा बटालियन कमिसार रहेका उनका जीवनसाथी विवेक केसी मारिएका थिए । केही समय महिला तथा बालबालिकामन्त्री पनि भएकी जयपुरी भन्छिन्, “स्वास्थ्यले पनि साथ दिन छाड्यो । नेताहरू पनि आफूले गरेको प्रतिबद्धताबाट चुक्दै गए । मेरो पनि पार्टीमा सक्रिय हुने रहर मर्दै गयो ।”

अरु पनि निष्क्रिय

तत्कालीन नेकपा (माओवादी) र एकताकेन्द्रबीच २९ पुस ०६५ मा एकीकरणपछि बनेको केन्द्रीय कमिटीमा तत्कालीन जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनको वरीयता आठौँ नम्बरमा उल्लेख थियो । प्रचण्ड र रामबहादुर थापालाई समेत तत्कालीन चौथो महाधिवेशनको स्कुलिङमा ल्याउन भूमिका खेलेका शेरचन एमाओवादीभित्र सबैभन्दा अनुभवी नेतामा गनिन्छन् ।

तिनै शेरचन गत वर्ष वैशाखमा विराटनगर सम्मेलन हुनुअघिसम्म जेनतेन केन्द्रीय कमिटीमा अटाएका थिए । त्यसपछि काठमाडौँ फर्किएर गरिएको संगठनात्मक फेरबदलमा उनलाई अनुशासन आयोग प्रमुख बनाइयो ।

त्यसअघि असार ०६९ मा काठमाडौँको भृकुटीमण्डपमा भएको सातौँ विस्तारित बैठकमा आर्थिक अनियमितताको विषयले उग्र रूप लिएपछि शेरचनकै नेतृत्वमा छानबिन समिति बनाइएको थियो । उनले पार्टीभित्रका विकृति–विसंगति किटान गर्दै प्रतिवेदन पनि बुझाए । तर, त्यसलाई न त सार्वजनिक गरियो, न कार्यान्वयन नै । त्यो प्रतिवेदन कार्यान्वयन नहुँदै फेरि अनुशासन आयोग प्रमुख तोकिएयता उनी निष्क्रिय छन् । भन्छन्, “मैले सिंगो जीवन राजनीतिमा बिताएँ । एमाओवादीका नेताहरूको शैली बुझ्न नसकेर अहिले निष्क्रिय छु ।”

माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्नुअघि त्यसका लागि पेस्तोलको जोहो गर्ने पहिलो पात्र लेखराज भट्ट पनि असन्तुष्ट छन् । उनले केन्द्रीय कमिटीमा मात्र रहने भन्दै पोलिटब्युरो सदस्यबाट राजीनामा दिइसकेका छन् ।

एमाओवादी पोलिटब्युरो सदस्य धु्रव पराजुली पनि सक्रिय राजनीति छाडी आफ्नो गाउँ सिन्धुपाल्चोक साँगाचोक फर्किएर खरायोपालनमा होमिएका छन् । भूकम्पले उनको घर मात्र भत्किएन, ७० वटा खरायोको पनि ज्यान लियो । ०४९ मा साँगाचोक गाविसको अध्यक्ष निर्वाचित भएपछि त्यसअघि शिक्षक रहेका उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए । राजीनामा दिएपछि सैद्धान्तिक, वैचारिक बहसमा लड्ने ठाउँ नै सकिने भएकाले आफूले त्यस्तो बाटो नरोजेको उनी बताउँछन् । भन्छन्, “म आफ्ना असहमति पार्टीभित्रै राख्ने योजनामा छु ।”

त्यसो त पूर्वलडाकू कमान्डर तथा पोलिटब्युरो सदस्य नन्दकिशोर पुन, पूर्वपोलिटब्युरो सदस्य सोनाम साथी, भीमप्रसाद गौतम, रामचरण चौधरी, घनश्याम शर्मा पौडेल, नेकपा–माओवादीका स्थायी समिति सदस्य नारायण शर्मा पनि असन्तुष्ट र निष्क्रिय छन् । “नन्दकिशोर इमानदार पात्र हुन् । तर, उनीमाथि टेकेर अरूले नै फाइदा लिएपछि असन्तुष्ट छन्,” उनीनिकट एमाओवादीका एक पोलिटब्युरो सदस्य भन्छन् ।

माओवादी द्वन्द्वमा देवत्वकरण गरिएको नेतृत्वको भद्दा रूप देखेपछि विकर्षित भएर धेरै नेता कार्यकर्ता पलायन, निष्क्रिय र असन्तुष्ट बनेको नेकपा–माओवादीका पोलिटब्युरो सदस्य महेश्वर दाहालको बुझाइ छ । भन्छन्, “नेतृत्व सच्चिने छाँट नदेखेपछि कतिपय त्यागी, इमानदार र समर्पितहरू निराश बनेका छन् । केही भने आफ्नै कमजोरीले बाहिरिएका छन् ।”

‘नेताको नवधनाढ्यमा रुपान्तरण’

राजीनामा दिनुको पहिलो कारण पार्टी एकपछि अर्को गर्दै सम्झौतावादमा पुग्यो । प्राप्त उपलब्धि गुम्दै गए । विचारको विकास गर्ने भनेर प्रचण्डपथसम्म पुर्‍याइयो । तर, न बहस भयो, न केही भयो, त्यसलाई त्यत्तिकै खारेज गरियो । संशोधनवादलाई रोक्न बिस्तारै सर्वहारा सांस्कृतिक क्रान्तिको अभियान चलाउनुपर्छ भनेर गत वर्ष ६ साउनदेखि लोकेन्द्र विष्ट, लेखराज भट्ट, लीलामणि पोखरेल, मलगायत साथीले बहस चलायौँ । तर, त्यसको कुनै सुनुवाइ भएन ।

एकाथरीले जतिसुकै राष्ट्रघात, भ्रष्टाचारलगायत अपराध गरे पनि टाउको ठाडो पारेर हिँड्ने, कारबाही नगर्ने अनि आलोचनात्मक चेत राख्ने कसैलाई चाहिँ फसाउनुपर्‍यो भने पटक–पटक हेडक्वार्टरमा राखिसकेका कुरालाई पनि निजी मामिला भनेर नबुझ्ने, सांस्कृतिक मामला भनेर सजिलै डाम्ने काम भयो । शेरचन आयोग, बोगटी आयोगको छानबिनबाट दर्जनौँ अपराधमा मुछिएको प्रमाण फेला परेका कुपात्रहरूलाई काखी च्यापिएपछि हामीले राजीनामा दिएका हौँ । तर, राजीनामा दिँदैमा गलत तत्त्वविरुद्ध लड्न छाड्दैनौँ ।

नेताहरू सत्तामा गएपछि पार्टी गरिब बन्दै गयो, एकाध नेताहरू रातारात पत्याइनसक्नु धनी बन्दै गए । माओवादीभित्रका लिनप्याओवादीहरू वर्षमान पुन, टोपबहादुर रायमाझी, शक्ति बस्नेत र जनार्दन शर्माले प्रचण्डलाई समेत यसरी फसाए कि पहिला फकाउने, त्यसपछि फसाउने अनि धम्क्याउने गरे । प्रचण्ड पनि नवधनाढ्यमा रूपान्तरण भए । त्यसैले उनीहरू सुध्रने सम्भावना कम छ ।

‘क्रान्तिकारी स्पिरिटको अभाव’

केही साथीमा दुईवटा कारण पलायन र निराशा बढ्दो छ । एक, पार्टी र नेताहरूका सीमा । दोस्रो, बदलिएको परिस्थितिलाई गतिशील ढंगले बुझ्ने सीमा । शीर्ष नेताहरू सुध्रने कुराको सीमामा कमजोरी रह्यो भन्ने लागेर निस्किएको भए त्यसरी समस्याको समाधान हँुदैन । आजका दिनमा पनि जात, क्षेत्र, लिंग, समुदाय सबै क्षेत्रमा सुधार हुनुपर्छ भन्ने अग्रगामी चेत बोक्ने एमाओवादीबाहेक कुुन पार्टी छ ? त्यस कारण सकारात्मक कुरालाई अघि सारेर जानुको सट्टा साथीहरू नकारात्मक मात्र हेरेर पन्छिन खोज्दै छन् ।

पार्टीभित्र कहीँ न कहीँ, केही न केही कमजोरी होलान् । तर, समस्यालाई सामना गरेर पार्टीलाई अघि बढाउने स्पिरिटको अभावमा साथीहरू पलायन भइरहेका छन् । गुनासो मात्र गरेर संसारमा कहीँ पुगिन्न ।

प्रकाशित: श्रावण १७, २०७२