अभिभावकीय व्यवहारको ऐना

अभिभावकीय व्यवहारको ऐना

हामी जैविक रूपले आमाबाबु बन्यौँ। तर, सामाजिक तथा सांस्कृतिक हिसाबले, विकासात्मक बाल मनोविज्ञानका दृष्टिकोणले आफ्नो जिम्मेवारी पूरा गर्‍याँै? एकाइसौँ शताब्दीको भूमण्डलीकृत विश्वमा बाँच्नका लागि चुनौती सामना गर्न सक्षम नागरिक तयार पार्न सक्यौँ? भविष्यमा आत्मनिर्भर बनाउने दृष्टिकोणले हामी साँच्चिकै आमाबाबु बन्याँै कि बनेनाँै भन्नेचाहिँ महत्त्वपूर्ण कुरा हो।

दुई छाक राम्रो खान दिँदैमा, एकसरो लुगा लगाउन दिँदैमा, राम्रो घर बनाएर राख्दैमा, विद्यालयमा पढ्न पठाउँदैमा, बिरामी भएको बेलामा औषधोपचार गर्दैमा, उनीहरूको जायज वा नाजायज माग पूरा गर्दैमा आमाबाबुको कर्तव्य पूरा हँुदैन। आफ्ना नानीहरूको आधारभूत आवश्यकता त पशुपक्षीले पनि पूरा गर्छन्। हामी त चेतनशील प्राणी हौँ। निश्चय पनि हाम्रो दायित्व भनेको यसभन्दा धेरै माथिल्लो स्तरको हुन्छ र हुनुपर्छ। हामीले हाम्रा बाबुनानीप्रति गर्ने व्यवहार, हामीले उनीहरूलाई दिने मार्गनिर्देशन आदिले हाम्रा बाबुनानीलाई भविष्यमा एउटा सफल, स्वतन्त्र, निर्भीक, आत्मविश्वासी र आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

हाम्रो घर, परिवार, छिमेक, टोल, समाजमा दैनन्दिनी हामी आमाबाबुले हाम्रा नानीबाबुप्रति गरिने व्यवहारको सानो नमुना हेरौँ:

छोरा : आमा ! म चिया पकाऊँ ?

आमा : हात पोल्लास् नि!

छोरा : आमा म आपँैm नुहाऊँ?

आमा : चिप्लेर लड्लास् नि!

छोरा : बाबा ! मलाई भोक लाग्यो। म स्याउ काटेर खाऊँ?

बाबा : हात काट्लास नि!

छोरी : बाबा ! म खाटमा बसेर लेखूँ?

बाबा : तन्ना मैलाउलिस् नि!

छोरी : बाबा ! म ऊ त्यहाँ पर पुगेर आऊँ?

बाबा : हराउलिस् नि !

हाम्रा नानीबाबु आफ्नो काम आफैँ गर्न अघि सर्छन् तर भाँजो हाल्ने काम हामी आफैँ गर्छौं। हाम्रा बाबुनानी कुनै काम स्वतन्त्र रूपले गर्न अघि सर्छन् तर परनिर्भर बनाउने काम हामी गर्छांै। जब हाम्रा नानीबाबु कुनै काम गर्न अग्रसर हुन्छन्। धम्की दिएर, नकारात्मक कुरा गरेर निरुत्साहित गर्ने काम हामी नै गर्छौं अनि फेरि हामी आमाबाबु भन्छौँ, मेरी छोरी यति ठूली भइसकी र पनि चिया पकाउन जान्दिन। मेरो छोरो यत्रो ठूलो भइसक्यो र पनि एक्लै नुहाउन सक्दैन। मेरी छोरी यति ठूली भइसकी र पनि पसल गएर एक्लै सामान किनेर ल्याउन सक्दिन। यस्ता अनगिन्ती गुनासा हामी टोल, छिमेक र परिवारमा आमाबाबुको मुखबाट सुन्न पाउँछाँै।

लालनपालनको यही तरिका हाम्रा नानीबाबुको व्यवहारमा प्रतिविम्बित हुने हो। नानीबाबुले काम गर्न खोज्दा गर्न नदिने पनि हामी अनि काम गरेन भनेर गुनासो गर्ने पनि हामी नै। नगरे गरेन भन्ने, गरे दोष मात्र देख्ने हाम्रो संस्कार घर, विद्यालय, टोल, छिमेक सबैतिर अनुभव गर्न र देख्न पाइन्छ। हामी हाम्रा छोराछोरीलाई सके आफ्नै बोलीले तर्साउँछौँ। नसके भूत, जोगी, बाघ, भालु आदिको त्रास सिर्जना गरेर तर्साउँछाँै। त्यसले पनि नसके लौरो र चिम्टा त छँदै छ। दोषको भागिदार हामी जहिल्यै हाम्रा बाबुनानीलाई बनाउँछौँ। दोष हाम्रो व्यवहारमा र हामी आफँैमा पनि छ भन्ने कुरा सोच्दैनौँ।

नानीबाबुलाई धेरै संरक्षित तरिकाले हुर्काउँदा कतै परीक्षण र त्रुटिबाट सिक्ने मौका त खोसिरहेका छैनाँै? किनभने, जीवनमा सबैभन्दा महत्त्वपूर्ण पाठ प्राय: दु:खदायी र निराशाजनक अनुभवबाटै सिकिन्छ। बच्चासँग स्वतन्त्र रूपमा खुलेर कुरा गर्दा उनीहरूलाई सुसूचित हुने मौका मिल्छ। सम्भावित खतरा र चुनौती सामना गर्न सक्षम तुल्याउँछ।

हामीले हाम्रा नानीबाबुमा आत्मविश्वास, भरोसा पैदा गराउनुपर्छ।

प्रसिद्ध भारतीय शिक्षाशास्त्री गिजुभाइ बधेकाद्वारा लिखित र हिन्दी भाषामा अनूदित पुस्तक माँ बापो कि माथापच्चीको नेपाली रूपान्तरण हामी आमाबाबु वास्तवमै बालबालिकाप्रति अभिभावकीय व्यवहारको ऐना हो। यसले अभिभावकलाई बारम्बार पश्चात्ताप गर्ने, आँखा खोल्ने, धिक्कार्ने, मुस्कुराउने अवस्थामा पुर्‍याइदिन्छ। कहिले लज्जाबोध त कहिले अपराधबोध। कहिले आत्मसन्तुष्टि त कहिले आत्मग्लानि। हामी आमाबाबुले सकारात्मक लालनपालनको बाटोमा अघि बढ्न हामीलाई मार्गनिर्देशन गर्छ। नजानिँदो तरिकाले हाम्रो व्यवहारमा परिवर्तन ल्याइदिन्छ। विचार र व्यवहारमा फरकपन आउँदा केटाकेटीमा उत्पन्न हुने अन्योल, नबुझी हकार्ने बानी, उत्सुकताको अवमूल्यन, झूटा आश्वासन आदि सटीक प्रसंगले मन छुन्छन्। बाबुआमा र अभिभावकको हृदय पगाल्छन् र आइन्दा यस्तो गर्दिनँ भन्ने प्रतिबद्धता मनमनै व्यक्त गरिहाल्छन्। यी सब कुरा किताब पढ्दापढ्दै हुनु नै पुस्तकको सफलता हो। यो हरेक अभिभावकले दोहोर्‍याई तेहर्‍याई पढ्नैपर्ने पुस्तक हो।

यो पुस्तक शिक्षकका लागि पनि उत्तिकै उपयोगी छ। आफ्ना विद्यार्थीसित कस्तो व्यवहार गरिएको छ भन्ने बोध मात्र दिँदैन, राम्रो व्यवहार के र कसरी गर्ने भन्ने प्रभावकारी टिप्स पनि दिन्छ। अभिभावक र शिक्षकले जब आफ्ना बालबालिका/विद्यार्थीसित सही व्यवहार गर्छन्, त्यसले उनीहरूप्रति बालबालिकाको सकारात्मक सोच तुरुन्तै पैदा हुन्छ। अन्तत: उनीहरूको सिकाइ उपलब्धिमा पनि महत्त्वपूर्ण सुधार आउँछ।

आमाबाबु भइसकेपछि आउने चुनौतीबाट भाग्न सकिँदैन। तर, चुनौतीलाई कसरी सामना गर्ने भन्ने कुराको तयारी गर्नु नै बुद्धिमानी ठहर्छ। हामी आमाबाबुले असल आमाबाबु कसरी बन्न सकिन्छ भन्ने बाटो देखाउन सक्छ। यसका प्रस्तुति र प्रसंग सामान्य लागे पनि गहन दार्शनिक र मनोवैज्ञानिक पक्ष लुकेका छन्।

हामी आमाबाबु

    लेखक :    गिजुभाइ

    पुन:लेखक :    शरच्चन्द्र वस्ती

    प्रकाशक :    सिकाइ समूह

    मूल्य :    २२५ रुपियाँ

    पृष्ठ :    १३+११५

प्रकाशित: श्रावण १७, २०७२