उल्टो गतिमा

  • प्रशिक्षक र कप्तानको चक्रव्यूहमा नेपाली क्रिकेट
उल्टो गतिमा

सन् १९९२ को विश्वकपमा पहिलो पाँचमध्ये तीन खेलमा पराजय र इङ्ल्यान्डविरुद्धको खेल वर्षाका कारण प्रभावित भएपछि राउन्ड रोबिनबाटै बाहिरिन लागेको पाकिस्तानका तत्कालीन व्यवस्थापकले कप्तान इमरान खानलाई सोधेका थिए, ‘घर फर्किने टिकट कन्फर्म गरौँ ।’ त्यतिबेला इमरानको उत्तर थियो, ‘गर π तर, प्रतियोगिता समाप्त भएको भोलिपल्ट ।’ नभन्दै, पाकिस्तान सन् १९९२ को विश्वकपको फाइनलमा मात्र पुगेन, इङ्ल्यान्डलाई २२ रनले हराउँदै विश्वकप जित्न सफल भयो ।

इमरान खानको त्यो आत्मविश्वासलाई अहिले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैले सलाम गर्छन् । एकपल्ट इमरानले पाकिस्तानी टेलिभिजनको साक्षात्कारमा रहस्य खोलेका थिए– पराजयका बाबजुद उनी किन विश्वस्त थिए, विश्वविजेता बन्ने कुरामा ?

त्यही विश्वकपमार्फत अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले ३० यार्ड सर्कलको नियम लागू गर्दै थियो । त्यसैले उनी विश्वकपअगाडि नयाँ फम्र्याटमा क्रिकेट खेल्न सक्ने खेलाडीको खोजी गर्दै थिए, देशभित्र । यसै क्रममा उनले एउटा कलेजस्तरीय प्रतियोगितामा ८० किलोभन्दा मोटा इन्जमाम उल हकलाई खेल्दै गरेको टेलिभिजनमा देखे । बललाई हिट गर्ने इन्जमामको शैलीबाट प्रभावित इमरानले उनलाई सीधै क्लोज क्याम्पमा बोलाए ।

त्यतिबेला इन्जमामको मोटाइ देखेर टिमभित्र उनलाई खिसी गर्ने थुप्रै खेलाडी थिए । फेरि राउन्ड रोबिन अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध जोन्टी रोड्सको उत्कृष्ट क्षेत्ररक्षणका कारण रनआउट हुन पुगेपछि इन्जमामको ठूलो आलोचना भएको थियो । तर, आलोचकलाई मीठो जवाफ दिँदै उनले सेमिफाइनलमा आयोजक न्युजिल्यान्डलाई हराउन ३७ बलमा विस्फोटक ६० रन बनाए । जसका कारण कप्तान इमरानको खेलाडी छनोट गर्न सक्ने पारखी नजर प्रमाणित भयो ।

लगभग यस्तै शैलीमा नेपाली कप्तान पारस खड्काले ट्वान्टी/ट्वान्टी विश्वकप छनोट अन्तर्गत पाँचौँ खेलमा हङकङसँग पराजय भागेपछि भने, ‘हामी प्रतियोगिताबाट बाहिरिसकेका छैनौँ ।’ तर, उनले प्रतिक्रिया दिएजस्तै यसपालि नेपालको विश्वकपमा छनोट हुने आधार के थियो ?

इमरानले अन्तर्राष्ट्रिय स्तरमा परिवर्तन भएको खेलको नियमलाई बुझेर धुरन्धर र अनुभवी ब्याट्सम्यान हुँदा हुँदै २२ वर्षको ठिटो इन्जमामलाई मुख्य हतियारका रूपमा पाकिस्तानी टोलीमा समावेश गराएका थिए । तर, पारसले ट्वान्टी/ट्वान्टी क्रिकेटको विशेषज्ञ खेलाडी मानेर टोलीमा स्थान पाएका २० वर्षीय सिद्धान्त लोहनीलाई प्रयोग गरेनन् । जर्सीविरुद्धको अन्तिम खेलमा व्यवस्थापक नरेश श्रेष्ठले दबाब नदिएको भए सिद्धान्त छनोटको एउटै खेल नखेली घर फर्किने पक्का थियो ।

यतिबेला पारसको तुलना पाकिस्तानका पूर्वकप्तान इमरान खानसँग गर्न खोजिएको होइन । राष्ट्रिय लिगमा सर्वाधिक रन बनाउने महेश क्षेत्री, अलराउन्डर पृथु बास्कोटा, अनुभवी महबुब आलम टिममा नपर्दै प्रशिक्षक पुबुदु दासनायके र कप्तान पारस खड्काको आलोचना भइसकेको थियो । १६औँ खेलाडीका रूपमा अविनाश कर्णलाई टिममा लगेर बेन्चमा थन्क्याउने प्रशिक्षक र कप्तानको निर्णयप्रति पूर्वछनोटकर्ता विजय शर्माले आपत्ति जनाइसकेका छन् ।

त्यसमा पनि टिममा अन्य खेलाडी नभएजस्तै मिडल अर्डरलाई कहिले प्रारम्भिक ब्याट्सम्यानका रूपमा खेलाउने, प्रारम्भिक ब्याट्सम्यानलाई मिडल अर्डरमा उतारेर खेलाउने प्रशिक्षक र कप्तानको अनौठो शैली देखेर थोरै क्रिकेट बुझ्नेहरू पनि चकित परेका थिए ।

नेपालले २४ असारदेखि २ साउनसम्म स्कटल्यान्ड र आयरल्यान्डको संयुक्त आयोजनामा सम्पन्न ट्वान्टी/ट्वान्टी विश्वकप छनोट खेल्यो । गत वर्ष बंगलादेशमा भएको ट्वान्टी/ट्वान्टी विश्वकप खेलिसकेको सन्दर्भमा नेपालबाट यसपालि ठूलो आशा गरिएको थियो । तर, त्यो आशा अनुरूप अनुभवी मानिएका ब्याट्सम्यान र बलरले प्रदर्शन गर्न सकेनन् ।

नेपालले छनोटको पूरै ६ मध्ये एक खेलमा मात्र अमेरिकालाई जित्यो । तर, त्यो जित पनि त्यति प्रभावशाली थिएन । बाँकी चार खेल आयरल्यान्ड, पपुवा न्युगिनी, हङकङ र जर्सीसँग गुमाउन पुग्यो । नामिबियाविरुद्धको खेल वर्षाका कारण प्रभावित भएर अंक बाँड्नु नपरेको भए, जुन हिसाबले छनोट खेलमा नेपालको प्रदर्शन रह्यो, निश्चय नै नेपाल ६ मध्ये पाँच खेलमा पराजित भएर घर फर्किने थियो ।

एक वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा अपार सफलता पाएको नेपाली क्रिकेटलाई अहिले त्यस्तो के भयो ? जुन उठ्नै नसक्ने गरी थला परेको छ । हिजो नेपाली समर्थकको वाहवाही बटुलेर एकाएक हिरो भएका खेलाडी रातारात भिलेन साबित भएका छन् । अझ, नेपाली क्रिकेटमा ‘वान म्यान आर्मी’को टाइटल पाएका कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दासनायके यतिबेला सर्वाधिक आलोचित बन्न पुगेका छन् । लामो समय राष्ट्रिय टोलीको हिस्सा बनेका खेलाडी, त्यसमा पनि विशेषत: ब्याट्सम्यानहरूको हकमा अवकाशको दबाब बढ्न थालेको छ ।

एउटै प्रतियोगिताको असफलताले खेलाडीमाथि यति ठूलो दबाब आउनु पक्कै सुखद लक्षण होइन । तर, हिजो समर्थकहरूबाट ताली पाएका खेलाडीले यसपालि गाली सुन्नुको कारण पनि छ । फेरि यसमा नेपाललाई ट्वान्टी/ट्वान्टी विश्वकपसम्म पुर्‍याउने प्रशिक्षक पुबुदु र कप्तान पारसमाथि औँला उठ्नु यस कारण पनि जायज छ– पछिल्लो समय भ्रष्टाचार काण्डका कारण नेपाली क्रिकेट अस्तव्यस्त रहेको अवस्थामा खेलाडी छनोटको सम्पूर्ण जिम्मेवारी प्रशिक्षक र कप्तानले एकलौटी रूपमा लिएका थिए ।

अहिले अवस्था यस्तो छ, छनोटबाट बाहिरिएको नेपालले ट्वान्टी/ट्वान्टीको वरीयता गुमाइसकेको छ । र, हिजो डिभिजन–२ बाट माथि उक्लिन नसके पनि ट्वान्टी/ट्वान्टी विश्वकप खेलेका आधारमा आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न दिएको मौकाको सुविधा अब नखोस्ला भन्ने ठाउँ छैन ।

गत वर्ष बंगलादेशमा सम्पन्न ट्वान्टी/ट्वान्टी विश्वकप खेलेर घर फर्किएपछि कप्तान पारस यति आक्रामक बनेका थिए । उनले नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वलाई भ्रष्टाचारी घोषित गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुर्‍याएका थिए । त्यतिबेला अन्तर्राष्ट्रिय खेलकुदमै दुर्लभ मानिएको एउटा घटना नेपालमा हेर्न पाइएको थियो । त्यो के भने, जुन संघले आफूलाई अनुबन्ध गर्‍यो, त्यही संघका पदाधिकारीविरुद्ध बयान दिन पुबुदु अख्तियार पुगेका थिए । त्यसपछि पारसले करार अवधि पूरा भएका पुबुदु दासनायकेलाई पुन: प्रशिक्षकमा नियुक्त नगर्ने हो भने आफूले क्रिकेट नखेल्ने सार्वजनिक घोषणा गरेका थिए ।

यही सेरोफेरोका बीच अख्तियारले १० क्रिकेट पदाधिकारीविरुद्ध मुद्दा दायर गर्‍यो । र, अहिले उनीहरू अदालत धाइरहेका छन् । तर, उनीहरूको अनुपस्थितिमा माओवादी नेतृत्वको राष्ट्रिय खेलकुद परिषद्ले जुन पदाधिकारीलाई मनोनीत गर्दै क्यानमा हुल्ने काम गर्‍यो, त्यसले नेपाली क्रिकेट धराशयी मात्र होइन, रसातलमा पुग्ने संकेत देखिन थालेको छ ।

नेपाल क्रिकेट संघका निलम्बित कोषाध्यक्ष राजुबाबु श्रेष्ठ नेपाली क्रिकेट उल्टो गतिमा हिँड्नुमा प्रशिक्षक पुबुदु र कप्तान पारस खड्का मुख्य दोषी रहेको बताउँछन् । गत वर्ष भारतको चेन्नईमा भएको एसियाली क्रिकेट महासंघ ( एसीसी)को बैठकमा भारतले नेपाली क्रिकेटको उच्च प्रशंसा गर्दै भनेको थियो, नेपालको क्रिकेट विकासमा पुबुदुले जति गर्न सक्छन्, उनले गरे । अब नेपाली क्रिकेटलाई अर्को ‘लेभल’मा पुर्‍याउन पुबुदुभन्दा दक्ष प्रशिक्षक र नयाँ योजना आवश्यक छ ।

“तत्कालीन भारतीय क्रिकेट बोर्ड ( बीसीसीआई)का अध्यक्ष एन श्रीनिवासनले त्यसका लागि भारतले सहयोग गर्ने वचनबद्धता दिएका थिए,” एसीसीको बैठकमा संलग्न रहेका श्रेष्ठले नेपालसँग भने, “उनले नेपाली खेलाडीलाई तीन–चार महिना एमआरएफ क्याम्पमा प्रशिक्षण दिलाउने आश्वासन नै दिएका थिए ।” तर, उनी नेपाल फर्किन नपाउँदै कप्तान पारसको सक्रियतामा उनीलगायत क्यानका उच्च पदाधिकारीविरुद्ध अख्तियारमा मुद्दा पर्‍यो । र, पुबुदु आफैँ बयान दिन अख्तियार पुगेका थिए ।

ट्वान्टी/ट्वान्टी विश्वकप खेलेर फर्किएपछि पुबुदुले मासिक पाँच हजार डलरबाट आफ्नो तलब १० हजार डलर हुनुपर्ने माग राखे । तर, खेल विकासका लागि वार्षिक तीन लाख डलर पाउने नेपालले उनलाई यति तलब दिन नसक्ने भन्दै उनको प्रस्तावलाई अस्वीकार गरेको थियो । त्यसपछि उनले आठ हजार डलर माग गरेका थिए । त्यो पनि क्यानले अस्वीकार गरेको थियो । तर, केही महिनाअघि मात्र आफ्नो कप्तानीमा नेपाललाई विश्वकपसम्म पुर्‍याएका पारसले पुबुदु नभए क्रिकेट खेल्दिनँ भनेपछि परिस्थिति अर्कै बन्न पुगेको थियो ।

“मैले बुझ्न नसकेको कुरा, एउटा कप्तानले देशका लागि खेल्छ कि प्रशिक्षकका लागि ?” श्रेष्ठले भने, “यसैको सेरोफेरोमा अहिलेको प्रदर्शनलाई हेर्दा हुन्छ ।” गत महिना क्यानले पुबुदुको अनुबन्ध मासिक आठ हजार डलरको हिसाबले ६ महिनाका लागि थप गर्‍यो । यसअघि उनलाई राज्यले मासिक १० हजार डलर कर कट्टा गरेर दिँदै आइरहेको थियो । जुन एसोसिएट राष्ट्रमा कुनै पनि देशले प्रशिक्षकलाई दिने सबैभन्दा महँगो रकम हो ।

सन् २०१३ मा एन श्रीनिवासनले नेपालको पक्षमा अर्को महत्त्वपूर्ण फैसला गरेका थिए । उनले एसीसीको बैठकमा टेस्ट नखेल्ने राष्ट्रका लागि ‘स्कोर कार्ड’ लागू गरेका थिए । जस अन्तर्गत राम्रो प्रदर्शन गर्ने देशलाई एसिया कपको आम्दानीबाट वार्षिक अढाई लाख डलर प्रदान गर्ने । उनले लागू गरेको ‘स्कोर कार्ड’मा नेपालले लगातार दुई वर्ष उच्च अंक प्राप्त गरेको थियो । “त्यसबापत हामीलाई पाँच लाख अमेरिकी डलर आउँदै थियो । त्यसैका आधारमा हामीले खेलाडीलाई भत्ता खुवाउने आँट गरेका हौँ,” श्रेष्ठले भने, “तर, अहिले पुबुदुका कारण सबै अड्कियो ।”

प्रकाशित: श्रावण १०, २०७२