हलिउडमा पाइला

  • फेसबुकको विज्ञापन ‘द फस्ट डेट’मा खेल्ने नेपाली तरुणको लोभलाग्दो सफलता
हलिउडमा पाइला

संसारभरि दुई अर्ब प्रयोगकर्ता रहेको फेसबुकले हालै एउटा विज्ञापन निर्माण गरेको छ, ‘द फस्ट डेट’ । लाइक बटन प्रचारका लागि फेसबुकले तयार पारेको यो विज्ञापनमा एक जोडी युवकयुवती देखिन्छन् । धेरैलाई थाहा नभएको तर खुसीको कुरा के भने विज्ञापनमा देखिने युवकचाहिँ नेपाली हुन् । उनको नाम हो, जसवन्तदेव श्रेष्ठ, ४० ।

फेसबुक पछिल्लो समयको सर्वाधिक चल्तीको  सामाजिक सञ्जाल हो । त्यसैले यसको विज्ञापन खेल्दा सीधै ‘ग्लोबल फेम’ पाइने लालसामा हजारौँले अडिसन दिएका थिए । यो भीडलाई छिचोल्दै छानिए, जसवन्त । अर्को खुसीको कुरा, जसवन्त अभिनीत विज्ञापनले यसअघि फेसबुकले बनाएका सबै विज्ञापनको रेकर्ड तोडेको छ । फेसबुकका पहिलेका विज्ञापन २ करोड ७ लाखसम्मले हेरेको रेकर्ड छ । ‘द फस्ट डेट’ भने डेढ महिनामै पाँच करोडभन्दा बढीपटक हेरिएको छ ।

विज्ञापनमा जसवन्त भिन्न–भिन्न पोसाक लगाएर आफ्नो व्यक्तित्वको आफैँले परीक्षण गरिरहेका देखिन्छन्, जुन उनको वास्तविक जीवनमा ठ्याक्कै मेल खान्छ । किनभने, उनी अभिनेतासँगै निर्देशक, निर्माता, सम्पादक र पटकथाकारका रूपमा हलिउडमा आफ्नो क्षमता परीक्षण गराइरहेका छन् । फेसबुकको विज्ञापनबाहेक उनले दर्जनभन्दा धेरै ‘इनहाउस कमर्सियल’ विज्ञापन र चारवटा फिल्म खेल्नुका साथै ब्लिस फिल्म फेस्टिभलमा बेस्ट एक्टरको अवार्ड चुमिसकेका छन् । आधा दर्जन फिल्मका क्रियटिभ प्रोड्युसर पनि हुन् उनी । इन्टरनेट मुभी डाटा बेस (आईएमडीबी)का अनुसार हलिउडको कलाकार संघ स्टार स्क्रिन गिल्डको सदस्यता पाउने जसवन्त पहिलो नेपाली हुन् ।

केही समयदेखि लस एन्जलस इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको क्रियटिभ डाइरेक्टरको भूमिका निर्वाह गरेर उनी हलिउडमा आफ्नो पहिचानको दायरा फराकिलो बनाउँदै छन् । उनका नमस्ते एलए, टाई द नट, ब्लेम, डाइभरजेन्सजस्ता फिल्म प्रि–प्रोडक्सनका क्रममा छन् । लकेट मार्टिन कम्पनीको इनहाउस कमर्सियल विज्ञापनमा पनि उनले खेलेका छन्, जुन लस एन्जलसको स्थानीय टेलिभिजनमा प्रसारण हुन्छ । नेपालमा सुटिङ भएको फिल्म हाइवे टु धुम्पुसका क्रियटिभ प्रोड्युसर पनि हुन् उनी । उनले हालै माउन्टेन डिउ र चिनियाँ बजारका लागि आर्ला ब्रान्डको दूधको विज्ञापन निर्देशन गरेका छन् भने ब्ल्याक डग नामको ह्विस्कीको विज्ञापनमा अभिनय गर्दै छन् । डिज्नेको प्लेन्स नामक फिल्ममा जसवन्तले भारत र नेपालका दृश्यमा स्वरांकन गरेका छन् । यो फिल्ममा बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि आवाज दिएकी छन् ।

हलिउडमा यो स्थानसम्म पुग्ने नेपाली सायदै अरू छन् । जबकि, जसवन्त हलिउड छिरेको जम्मा चार वर्ष बित्यो । त्यसैले उनको सफलता र संघर्ष अवधिको अनुपात नमिलेको जस्तो लाग्न सक्छ । तर, यथार्थ फरक छ किनभने हलिउड यात्रा चार वर्ष मात्र भए पनि फिल्म र अभिनय कर्ममा उनले २३ वर्ष लगानी गरिसकेका छन् । इन्टरनेट संवादमा जसवन्त भन्छन्, “साँच्ची भन्नुहुन्छ भने मेरो पूरा जीवन नै फिल्म र अभिनयमा खर्चिएको छु । किनभने, सम्झना भएदेखि नै मैले फिल्मबाहेक केही सोचिनँ ।” यदि यस्तो नहुँदो हो त उनी न १७ वर्षको उमेरमा बलिउड छिर्थे, न नेपालमा म्युजिक भिडियो, विज्ञापन, वृत्तचित्र र टेलिभिजन कार्यक्रम निर्माणमा भ्याइनभ्याइ हुँदाहुँदै आममान्छेका रूपमा हलिउडमा संघर्ष गर्ने साहस गर्थे ।

ललितपुरको तिखेदेवलमा जन्मिएका जसवन्तका बाबु बेलायती सेनामा थिए । आमाचाहिँ पोखरास्थित एक बोर्डिङ स्कुलकी प्रिन्सिपल । उनको स्कुले जीवन दार्जीलिङमा बित्यो । छोराले स्तरीय शिक्षा पाओस् भनेर उनका बाबुआमाले दार्जीलिङमा आफन्तकहाँ राखेर पढाउने निर्णय गरेका थिए । ६ कक्षासम्म त्यहीँ पढे । त्यसपछि काठमाडौँ आएर ल्याबोरेटरी स्कुलमा भर्ना भए । “पहिलो कक्षाबाटै मैले नाटक र अन्य पर्फमेन्स गर्न थालेको थिएँ,” जसवन्त सम्झन्छन्, “ठूलो हुँदै गएपछि अभिनयको चस्काले अझ तान्दै लग्यो ।”

दार्जीलिङको स्कुलिङ पाएर पनि होला, जसवन्त हिन्दी फिल्म भनेपछि हुरुक्कै हुन्थे, खास गरी तिनताक चलेका मिथुन चक्रवर्तीका । किशोरवयदेखि नै उनले हिन्दी फिल्म नहेरेको दिन हुँदैनथ्यो रे ! जति फिल्म हेर्‍यो, हिरो बन्ने हुटहुटी त्यति नै बढ्थ्यो । अनि त आफूलाई रोक्नै सकेनन्, हानिएर मुम्बई पुगे । नेपाली फिल्मतिर किन तानिएनन् ? यसका दुईवटा कारण रहेछन् । पहिलो, हिन्दी फिल्म धेरै हेर्ने भएकाले उनमा उतैको हिरो बन्ने भूत सवार थियो । दोस्रो, संघर्ष नै गर्नुपरेपछि किन सानो ठाउँमा गर्ने भन्ने लागेछ । त्यसैले मुम्बईको विकल्प देखेनन् ।

सपना पछ्याउँदै जसवन्त युवावयमै मुम्बई पुगे । त्यतिबेला उनीसँग आत्मविश्वास थियो अनि संघर्ष गर्ने साहस पनि । तर, कहिलेकाहीँ सम्झना र बिछोडसँग साहस हार्छ । त्यस्तै भयो जसवन्तलाई । उनलाई ‘होमसिक’ भएछ । “फिल्मको हिरो बन्न मुम्बई पुगेको थिएँ तर परिवार र साथीभाइको यादमा तड्पन थालँे,” जसवन्त केही भावुक सुनिए, “दुई महिनापछि मन अमिलो पार्दै घर फर्किएँ ।” मुम्बई हुँदा नेपाल ‘मिस’ गर्ने जसवन्तले नेपाल हुँदा मुम्बई र आफ्नो सपनालाई मिस गर्न थाले । सायद उमेरसँगै मन पनि दह्रो भयो । र, त तीन वर्षपछि फेरि मुम्बईतिर लागे ।  

मुम्बई त्यस्तो स्वप्न नगरी हो, जहाँ भारतसहित दक्षिण एसियाली मुलुकबाट कलाकार बन्ने श्यामश्वेत सपनालाई रंगीन बनाउन हजारौँ स्वप्नजीवी ओइरिन्छन् । जसवन्त पनि तिनैमध्ये एक थिए । अँधेरीको एक इन्स्टिच्युटमा अभिनय सिक्न थाले । अभिनयप्रतिको भोक र आत्मविश्वास बढ्दै गयो । अभिनयको कक्षा सकियो, धेरै प्रोडक्सन हाउस चहारे तर कतै मौका पाएनन् । आफूजस्तै संघर्ष गरिरहेकासँग संगत बढ्दै गयो । अभिनयको भोक पूरा गर्न नसकेकाहरू सहायक निर्देशकका रूपमा काम गरिरहेका थिए । यसो गर्दा ठूला फिल्ममेकरसँग संगत बढ्थ्यो, जसबाट अभिनयको मौका जुर्न सक्थ्यो । अर्कोतिर कम्तीमा मुम्बईमा बाँच्न सक्ने कमाइ हुन्थ्यो । त्यसैले उनी पनि सहायक निर्देशक बन्ने बाटोमा लागे । रमाइलो त के भने त्यतिबेलासम्म उनलाई फिल्ममा हिरो/हिरोइनबाहेक केही हुँदैनन् जस्तो लाग्थ्यो । “अभिनयप्रति यति एकोहोरिएछु कि पर्दामा देखिने कलाकारबाहेक फिल्ममा अरू पनि हुन्छन् भन्ने पत्तो नै थिएन,” उनी सम्झन्छन्, “त्यसपछि नै हो, पर्दामा अभिनय गर्ने कलाकारसँगै कथा भन्ने निर्देशक र देखाउने प्राविधिकको महत्त्व बुझेको ।”

त्यसपछि जसवन्तले सहायक निर्देशकको काम सुरु गरे । केही ठूला फिचर फिल्ममा सहायक निर्देशक भएर काम गर्ने मौका पाए । जस्तो कि, सलमान खान र सैफ अली खान अभिनीत हम साथ साथ हैं । पछि उनले राष्ट्रिय अवार्ड विजेता निर्देशक कल्पना लाज्मीको मुख्य सहायक निर्देशक भएर दुई वर्ष काम गरे । रविना टन्डनले राष्ट्रिय पुरस्कार जितेको फिल्म दमनका मुख्य सहायक निर्देशक जसवन्त नै थिए ।

यसबाहेक उनले कल्पनासँगै मिलेर दूरदर्शन च्यानलका लागि ‘ग्लिम्प्सेस अफ मिस्ट–इस्ट’ नामक १८ भाग लामो वृत्तचित्र बनाए । सहायक निर्देशकका रूपमा काम गर्दा अभिनयसँगै फिल्म निर्माणका अन्य आयामको ज्ञान हासिल गरिरहेका थिए । जनसम्पर्क बढ्दै थियो र कमाइ चित्त बुझ्दो नै थियो । तर, सन् २००० मा नेपाल आउनुपर्‍यो । “नेपाल आउँदा केही समयपछि मुम्बई फर्कन्छु भन्ने योजना बनाएको थिएँ,” जसवन्त भन्छन्, “तर, पारिवारिक कारणले फर्कनै पाइनँ ।”

मुम्बई फर्कन नपाएको पीडा त छँदै थियो, नेपालमा फिल्मसम्बन्धी काम गर्न नपाएको पीडाचाहिँ त्यसभन्दा बढी । फिल्म निर्माणको प्राय: विधा, जस्तो कि, अभिनय, निर्देशन, निर्माण, सम्पादन र छायांकनको ज्ञान र रुचि थियो उनलाई । तर, नेपाल बसाइ त्यतिकै खेर गइरहेको थियो । त्यसैले उनले पोखरामा प्रोडक्सन हाउस खोलेर काम सुरु गरे । मुम्बई अनुभवले पनि हुनुपर्छ, छोटो समयमै म्युजिक भिडियो र विज्ञापन निर्देशनमा भ्याइनभ्याइ हुन थाल्यो । उनको निर्देशन, निर्माण र सञ्चालन रहेको कार्यक्रम पोखरा डटकम सय भाग नेपाल वान च्यानलबाट प्रसारण भएको थियो ।

नाम, दाम र कामको रफ्तार त बढिरहेकै थियो तर उनको भित्री मन खुसी थिएन । किनभने, निर्देशनजस्तो अभिनयमा जम्न सकेका थिएनन् । फेरि म्युजिक भिडियो निर्देशन गर्दागर्दै वाक्क भएका थिए । त्यसैले लुसुक्क मनाङ गए, सन् २००२ मा । सायद उनलाई पनि थाहा थिएन, मनाङको यो ‘ह्याङआउट ट्रिप’ले उनलाई कुनै दिन हलिउड पुर्‍याउँछ भन्ने ।

फिल्ममेकर भएपछि क्यामेराबिना यात्रामा निस्कने कुरा भएन । मनाङ भ्रमणमा निस्कँदा जसवन्तको काँधमा पनि क्यामेरा छुटेको थिएन । उनले भारत र नेपालका विभिन्न सहरका सुन्दरताको स्वाद चाखिसकेका थिए । तर, अधिकांश सहरका सुन्दरता कृत्रिम हुन्छन् । प्राकृतिक सुन्दरता त उनले मनाङ पसेपछि मात्र महसुस गर्न पाए । घुम्न निस्केको मान्छे हरेक दृश्यलाई क्यामेरामा कैद गर्न थाले ।

त्यतिबेला कमैसँग क्यामेरा हुन्थ्यो । त्यसैले मनाङको यो सुन्दरता बाँकी नेपाललाई, अझ संसारलाई देखाउनुपर्छ भन्ने सोच पलायो । फर्किएपछि ‘रफ’ भिडियो बनाएर साथीहरूलाई देखाए । “साथीहरूबाट सोचेभन्दा सकारात्मक प्रतिक्रिया पाएँ,” जसवन्त सम्झन्छन्, “झन् व्यवस्थित शैलीमा खिच्ने हो भने कति राम्रो हुन्छ भन्ने लाग्यो । त्यसैले फेरि मनाङ जाने निधो गरेँ ।”

जसवन्तको तीन वर्षको मिहिनेतपछि तयार भयो, स्वर्गजस्तै मनाङ । ७६ मिनेट लामो यो वृत्तचित्रमा चारवटा मौसममा परिवर्तन हुने तालको रंग, मनाङको स्थानीय जीवनशैली, रहनसहन, संस्कृति, शैक्षिक अवस्थाजस्ता पक्षलाई निकै जीवन्त शैलीमा देखाइएको छ । यसअघि यसरी सजीव चित्रण गरिएको मनाङसम्बन्धी वृत्तचित्र बनाइएको थिएन ।

नेपालमा त यसको चर्चा हुने भइहाल्यो, न्युयोर्क फिल्म फेस्टिभल, युरोपियन फेस्टिभल, हिमालय फेस्टिभलजस्ता विश्वका ठूलठूला महोत्सवमा पनि स्क्रिनिङको अवसर पायो, स्वर्गजस्तै मनाङले । सन् २००७ को न्युयोर्क फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्रीको अवार्ड जित्यो । त्यसलगत्तै उनले ९० मिनेट लामो अर्को डकुमेन्ट्री तयार पारे, ‘मुस्ताङ  : सेक्रेट्स वियोन्ड द हिमालय’ । यी दुई डकुमेन्ट्री स्क्रिनिङको सिलसिलामा उनी अमेरिका पुगेका थिए । त्यही बेला कोलोराडोको एक फिल्म प्रोडक्सन कम्पनीबाट कामको प्रस्ताव आयो ।

“सपना र विपना दुवैमा फिल्म मात्र देख्ने मान्छेलाई हलिउडबाट अफर आउनुजति खुसी के होला र !” उनले खुसी साटे, “त्यसैले सहर्ष रूपमा अफर स्वीकारेँ ।” उसो त उनले मुम्बई जानुअघि अमेरिकामा अभिनय सिक्न जान नखोजेका होइनन् तर नेपालस्थित अमेरिकी दूतावासले चारपटक उनको भिसा अस्वीकृत गरेको थियो । त्यतिबेला भिसा नपाएको देशबाट कामकै ‘अफर’ पाउनु पनि त गर्वको कुरा हो । त्यसपछि सन् २०११ बाट उनी स्थायी रूपमा अमेरिकामा छन् ।

निर्देशकका रूपमा अमेरिकाबाट प्रस्ताव आएको भए पनि जसवन्तको विशेष रुचि अभिनयमा थियो/छ । त्यसैले उनले अमेरिका पुग्नासाथ विश्वप्रसिद्ध एक्टिङ स्कुल द बिर्भली हिल्स प्लेहाउसमा अभिनय सिके र ग्रयाजुएसन सके । त्यस्तै, रक्की माउन्टेन थिएटरमा क्रिस थ्याचरसँग चेकोभ स्टाइलको अभिनय प्रशिक्षण पनि लिए । उनी अमेरिका पुगेको पहिलो ६ महिनामै स्क्रिन स्टार गिल्डको मेम्बरका लागि छनोट भएका थिए । द ब्रेकिङ डाउन अफ हाइवे सेभेन अमेरिकामा उनले अभिनय गरेको पहिलो फिल्म हो । २६ मिनेट लामो यो रोमान्टिक–थ्रिलर फिल्म अमाजोन र आई–ट्युन्समा पैसा तिरेर हेर्न पाइन्छ । त्यस्तै, उनी आफैँले लेखेको फिल्म द ट्रिजन भने उनको हलिउड यात्रामा कोसेढुंगा साबित भयो । यही फिल्मबाट उनले सन् २०१३ मा ब्लिस फिल्म फेस्टिभलमा बेस्ट एक्टरको अवार्ड जिते । यो फिल्मले ब्लिससँगै न्युयोर्क फिल्म फेस्टिभलमा बेस्ट अडियन्स अवार्ड पनि जितेको थियो ।

संसारभरका फिल्मप्रेमीको सपना हो, हलिउड । प्रतिस्पर्धा सधैँ खरो हुन्छ । त्यसैले सानो प्रोजेक्टमा छोटो भूमिका पाउनु पनि ठूलो सफलता मानिन्छ । झन् नेपालीका लागि त कुनै भूमिका नै छुट्याइएको हुँदैन । तर, भारतीयको बजार भने विस्तार हुँदै छ । जसवन्त तिनै भारतीय भूमिका मागिएको फिल्मको अडिसनमा जाने गर्छन् । एजेन्ट र म्यानेजरबिना त्यही अडिसनसम्म पुग्न पनि असम्भव छ । त्यसैले उनले पनि एजेन्ट र म्यानेजर राखेका छन् । अभिनयमा सीमित भएको भए हलिउडमा टिक्न हम्मेहम्मे पथ्र्यो । तर, उनी निर्देशन, लेखन र सम्पादनमा पनि उत्तिकै सक्षम छन् ।

उसो त हलिउडको आँखाबाट हेर्दा जसवन्तले पाएको सफलता त्यति ठूलो नलाग्न सक्छ । त्यहाँ हजारौँ जसवन्त संघर्षरत छन् । तर, एउटा नेपालीले संसारकै ठूलो फिल्म उद्योगमा उपस्थिति देखाउनु गर्व गर्न लायक प्रगति हो । फेसबुकको विज्ञापन उनको सफलताको अर्को सिँढी हो । यस्ता धेरै सिँढी उक्लने आत्मविश्वास छ उनमा । सफलतालाई क्षमता र अवसरको मिलन मानिन्छ । जसवन्तसँग क्षमता त छ, अब खाँचो भनेको उचित अवसर मात्र हो । यद्यपि, जति सफलता पाएका छन्, त्यसमै दंग छन् उनी । “हलिउडमा प्रत्येक दिन सफलताको सिँढी उक्लिरहेको छु जस्तो लाग्छ,” जसवन्त सन्तुष्ट सुनिए, “मलाई टम क्रुज र ब्राड पिटलाई रिप्लेस गर्नु मात्र सफलता हो जस्तो लाग्दैन ।”

७ अक्टोबर १९७५

ललितपुर, तिखेदेवलमा जन्म

सन् १९९२

मुम्बईमा अभिनयको औपचारिक प्रशिक्षण सुरु

सन् १९९९

हिन्दी फिल्म हम साथ साथ हैंको सहायक निर्देशन

सन् २०००

रविना टन्डनले राष्ट्रिय अवार्ड जितेको फिल्म दमनको मुख्य सहायक निर्देशन

सन् २०००

नेपाल फर्किएर म्युजिक भिडियो र टेलिभिजन कार्यक्रम उत्पादनमा सक्रिय

सन् २००२–०५

स्वर्गजस्तो मनाङ वृत्तचित्र निर्माण

सन् २००८

स्वर्गजस्तो मनाङ न्युयोर्क फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री अवार्ड जित्न सफल

सन् २००८–११

मुस्ताङ : सेक्रेट्स बियोन्ड द हिमालयज वृत्तचित्र निर्माण

सन् २०११

हलिउड प्रस्थान र ६ महिनापछिस्क्रिन स्टार गिल्डको सदस्यमा छनोट

सन् २०१४

ब्लिस फिल्म फेस्टिभलमा द ट्रिजन फिल्मबाट बेस्ट एक्टरको अवार्ड जित्न सफल

सन् २०१५

फेसबुकको अफिसियल विज्ञापन ‘द फस्ट डेट’मा अभिनय

सन् २०१५

एबीसी युनिभर्सल टीभीका लागि टीभी पाइलट द अनकभरिङमा अभिनय

प्रकाशित: श्रावण ३, २०७२